पुनर्कर्जा तीन गुणा बढयो

कान्तिपुर संवाददाता

काठमाडौं — आर्थिक वर्ष ०७३/७४ को तीन महिनासम्म २ अर्ब ५४ करोड रुपैयाँ रहेको पुनर्कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । यो करिब २ सय २५ प्रतिशत (करिब साढे ३ गुणा) वृद्धि हो ।

एक/दुई वर्षयता पुनर्कर्जामा बैंक तथा वित्तीय संस्थाको आकर्षण बढ्दै गएको छ । यसकारण चालु आर्थिक वर्षको पहिलो तीन महिनामै पुनर्कर्जाको आकार उल्लेख्य बढेको विज्ञहरू बताउँछन् । 

उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्‍याउने उद्देश्यले राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्ने ऋण पुनर्कर्जा हो । यसअन्तर्गत तोकिएका उत्पादनमूलक क्षेत्रमा ऋण प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजमा राष्ट्र बैंकबाट ऋण सुविधा पाउँछन् । यसरी प्राप्त गरेको ऋण राष्ट्र बैंकले तोकेको क्षेत्र र ब्याजदर सीमाभित्र रहेर लगानी गर्नुपर्छ ।

हाल राष्ट्र बैंकले सामान्यतया एक वर्षका लागि यस्तो सुविधा दिँदै आएको छ । एक वर्षपछि उक्त कर्जा नवीकरण गर्नुपर्छ । आवश्यकताअनुसार थप एक वर्ष नवीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । केही उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको पुनर्कर्जा ६/६ महिनामा पनि नवीकरण गर्नुपर्ने बैंकरहरू बताउँछन् ।

गत वर्ष वित्तीय क्षेत्रमा तरलता अभाव हुँदा बैंक तथा वित्तीय संस्थाले ल्याएको पुनर्कर्जा अहिले नवीकरण भएकाले छोटो समयमा धेरै ऋणप्रवाह देखिएको हुन सक्ने बैंकर्स संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए । ‘२/३ अर्ब जति नयाँ कर्जा पनि बढेको होला,’ उनले भने, ‘अधिकांश पुरानै कर्जाको नवीकरण हुन सक्छ ।’ पुनर्कर्जाको ब्याज सस्तो हुने भएकाले गत वर्ष तरलता संकटको बेलामा धेरै बैंक तथा वित्तीय संस्थाले उक्त सुविधा उपयोग गरेको उनले बताए ।

पछिल्ला वर्षहरूमा पुनर्कर्जामा बैंक तथा वित्तीय संस्थाको आकर्षण बढेकाले ऋण प्रवाहमा पनि वृद्धि भएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । ‘बैंकहरूको माग बढेपछि यो वर्ष पुनर्कर्जा कोषको आकार २० अर्ब बनाउन लागेका छौं,’ उनले भने । 
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पुनर्कर्जाको आकार २० अर्ब रुपैयाँ बनाउने घोषणा गरेको थियो । सोही घोषणाअनुसार राष्ट्र बैंकले करिब १५ अर्ब रुपैयाँ कोषमा जम्मा गरिसकेको छ । बाँकी रकम पुनरुद्धार कोष र अन्य सरकारी स्रोतबाट जुटाउने तयारी भएको प्रवक्ता पौडेलले बताए । 

भूकम्पबाट क्षति पुगेका उद्योगी व्यवसायीलाई ब्याज अनुदान र पुनर्कर्जा सुविधा दिने उद्देश्यले सरकारले पुनरुद्धार कोष स्थापना गरेको थियो । ५ अर्ब रुपैयाँको उक्त कोषमा केही रकम बाहिरिए पनि अधिकांश रकम बाँकी छ । राष्ट्र बैंकले त्यही रकम पुनर्कर्जा कोषमा ल्याउन थालेको हो । यसका लागि केही समय लाग्ने स्रोतले जनाएको छ । गत असोजसम्म साधारण पुनर्कर्जा ७ अर्ब ६१ करोड ५५ लाख र निर्यात पुनर्कर्जा ६७ करोड २४ लाख गरी कुल ८ अर्ब २८ करोड ७९ लाख रुपैयाँ पुनर्कर्जा लगानीमा रहेको राष्ट्र बैंकको तथ्यांक छ । गत वर्षको सोही अवधिमा साधारण पुनर्कर्जा २ अर्ब १६ करोड ९७ लाख र निर्यात कर्जा ३७ करोड ४४ लाख गरी कुल २ अर्ब ५४ करोड ४१ लाख रुपैयाँ प्रवाह भएको थियो ।

वार्षिक रूपमा हेर्दा गत वर्ष १४ अर्ब ६१ करोड रुपैयाँ पुनर्कर्जा प्रवाह भएको छ । उक्त अवधिमा साधारण पुनर्कर्जा १३ अर्ब ७८ करोड र निर्यात कर्जा ८३ करोड रुपैयाँ प्रवाह भएको थियो । अघिल्लो वर्ष साधारण पुनर्कर्जा ७ अर्ब ६० करोड र निर्यात पुनर्कर्जा १ अर्ब ३० करोड गरी कुल ८ अर्ब ९० करोड रुपैयाँ बराबरको पुनर्कर्जा उपयोग भएको राष्ट्र बैंकको तथ्यांक छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष ०१९/२० सालदेखि नै सहुलियतपूर्ण कर्जा (पुनर्कर्जा) सुविधा कार्यान्वयनमा ल्याएको हो । हाल तोकिएका उत्पादनशील क्षेत्र, विपन्न वर्ग, निर्यातलगायत क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रदान गर्ने नीति अवलम्बन गर्दै आएको छ । राष्ट्र बैंकले साधारण, विशेष, निर्यात, भूकम्पपीडितलगायत क्षेत्रमा विभिन्न दरमा पुनर्कर्जा सुविधा दिँदै आएको छ । जसमध्ये साधारण पुनर्कर्जा ९ प्रतिशतले, विशेष र निर्यात पुनर्कर्जा साढे ४ प्रतिशतले, साना तथा मझौला उद्यम कर्जा १० प्रशितले र भूकम्पपीडित आवास कर्जा २ प्रतिशत ब्याजदरमा ग्राहकले ऋण पाउँछन् । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट त्योभन्दा कम दरमा ऋण सुविधा पाउँछन् । 

प्रकाशित : मंसिर १९, २०७४ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्

काबेली कास्केड जलविद्युत् आयोजना सम्झौता हुँदै

कान्तिपुर संवाददाता

पाँचथर — ताप्लेजुङ र पाँचथरको सीमावर्ती कावेली खोलाबाट अर्को काबेली कस्केड जलविद्युत् आयोजना निर्माण हुने भएको छ । अरुणभ्याली हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनीले ९ दशमलव ९ मेगावाट क्षमताको काबेली कस्केड आयोजना निर्माणको लागि नेपाल विद्युत् प्राधिकरणसित सम्झौता प्रक्रिया अघि बढाएको जनाएको छ ।

पाँचथरको याङवरक गाउँपालिका–४ थर्पुस्थित पिपले र ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ थेचम्बोको सिमाना काबेली खोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको काबेली बी–१ जलविद्युत् आयोजना पूरा भएपछि सहायक आयोजनाको रूपमा अर्को आयोजना निर्माण गर्न लागेको प्रवद्र्धक अरुण काबेली पावर लिमिटेडका कार्यकारी निर्देशक कुवेरमणि नेपालले बताए ।

काबेली खोलावाट निर्माण हुने यो चौथो आयोजना हो । काबेली करिडोरमा नेपाल विद्युत् प्राधिकरणमार्फत बुटवल पावर कम्पनीको सहायक काबेली इनर्जी लिमिटेडको प्रवद्र्धन विश्व बैंकको दस अर्ब रुपैयाँ लगानीमा ३७ दशमलव ६ मेगावाट क्षमताको काबेली ए जलविद्युत् आयोजना र एक अर्ब ६० करोड रुपैयाँ लगानीमा ९ दशमलव ९ मेगावाटको इलाखोला जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

अरुण काबेली पावर लिमिटेडको चार अर्ब ३० करोड लगानीमा निर्माणाधीन काबेली बी–१ जलविद्युत् आयोजना आउँदो माघमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने गरी निर्माण कार्य भइरहेको छ । इवाखोला जलविद्युत् आयोजना २०७५ जेठ र काबेली ए जलविद्युत् आयोजना २०७६ असोजमा १३२ केभी काबेली करिडोर राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछन् । यी चारवटा आयोजनाले काबेली खोलबाट ८१ मेगावाट विद्युत् उत्पादन हुने रैराङ हाइड्रोपावर कम्पनीका निर्देशक कुवेरमणि नेपालले बताए ।

प्रस्तावित काबेली कस्केड आयोजना काबेली बी–१ को विद्युत्गृहदेखि फालिएको पानी याङवरक गाउँपालिका–५ पिपलेमा बाँध बाँधेर हिलिहाङ गाउँपालिका–१ अमरपुरस्थित धुसेनीसम्म २१ सय मिटर सुरुङमार्गबाट विद्यृत्गृहमा पानी खसालेर विद्युत् उत्पादन गरिने काबेली बी–१ का मुख्य इन्जिनियर व्यवस्थापक हस्तमान राईले बताए । 

प्रकाशित : मंसिर १९, २०७४ ०८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्