कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

१२ स्थानीय तहमध्ये ४ मा मात्र बैंक

घनश्याम गौतम

गुल्मी — आर्थिक वर्ष सकिन ५ महिना बाँकी छ । तोकिएका बैंक दुर्गमका स्थानीय तहमा नजाँदा धेरै उपभोक्ताको भुक्तानी र योजना कार्यान्वयनमा समस्या पर्ने गरेको छ । कारोबार समस्याले कर्मचारीसमेत हैरानीमा छन् । जिल्लाका १२ स्थानीय तहमध्ये ८ वटामा अझै वाणिज्य बैंक पुगेका छैनन् । 

तीन स्थानीय तहमा यसअघि नै वाणिज्य बैंकले काम गर्दै आएका थिए । अहिलेसम्म गुल्मी दरबार गाउँपालिकाको केन्द्र गौंडाकोटमा ग्लोबल आईएमई र चन्द्रकोट गाउँपालिकाको केन्द्र शान्तिपुरमा प्रभु बैंकले मात्र शाखा खोलेका छन् । स्थानीय तहले सबै कारोबार वाणिज्य बैंकमार्फत नै गर्नुपर्ने भएकाले उपभोक्तालाई योजना सम्झौता गर्न र खाता खोलेर कारोबार गर्न समस्या परेको हो ।

इस्मा गाउँपालिका ४ दोहोलीमा ३० हजार रुपैयाँका ३३ वटा योजना छन् । सबै योजनाको रकम भुक्तानीका लागि वाणिज्य बैंकमै खाता खोल्नुपर्छ । तर, स्थानीय तहमा बैंक अभावले ३० हजार रुपैयाँ भुक्तानीका लागि खाता खोल्न सदरमुकाम तम्घास नै पुग्नुपर्छ । खाता खोल्न जाउआउ गर्दा कम्तीमा १५ हजार खर्च लाग्ने समस्याले योजना सम्झौता हुन नसकेको वडा अध्यक्ष गनुप्रसाद अधिकारीले बताए । ‘३० हजारको योजना सम्झौता गर्न ३ पटक तम्घास जाउआउ गर्नुपर्छ,’ उनले भने, ‘तीनपटक जाँदाआउँदा सबै रकम सकिने भएपछि अहिले योजना नै सम्झौता गरेका छैनौं ।’ जहिले बैंक आउँछ, त्यतिबेलै योजना सम्झौता गरेर काम गर्ने गरी बसेको उनले बताए ।

इस्मा र मालिका गाउँपालिकामा मेघा बैंक जाने निर्णय भए पनि अहिलेसम्म गएका छैनन् । दुवै गाउँपालिकाले माइक्रो प्रोजेक्ट भन्दै ३० हजार रुपैयाँका झन्डै १ सय योजना वितरण गरेका छन् । ती उपभोक्ताका लागि छुट्टिएको रकम बैंक अभावले कार्यान्वयन नहुँदै अन्य खर्चमै सकिने अवस्था छ ।

धुर्कोट गाउँपालिका ४ जैसीथोकको मोटरबाटो उपभोक्ता समितिकी सचिव गीता केसीले खाता खोल्न र रकम निकाल्न गरी कम्तीमा २ पटक सदरमुकाम पुग्नैपर्ने बाध्यता भएको बताइन् । ‘पहिला खाता खोल्नकै लागि तम्घास पुगियो,’ उनले भनिन्, ‘अब रकम निकाल्न पनि तम्घासै पुग्नुपर्छ ।’ हरेकपटक तम्घास पुग्नैपर्ने बाध्यताले १० प्रतिशत रकम त्यसै खेर जाने उनले बताइन् ।

दुर्गमका धुर्कोट, मदाने, इस्मा, कालीगण्डकीमा आर्थिक कारोबारका लागि कुनै बैंक नै छैनन् । कालीगण्डकीको केन्द्र पुर्तीघाटबाट सामान्य बैंकिङ कारोबारका लागि एक व्यक्ति सदरमुकाम आउँदा कम्तीमा ५ हजार रुपैयाँ खर्च हुन्छ । सत्यवती, मालिकामा वाणिज्य बैंक नहुँदा समस्या छ । विद्युतीकरण, इन्टरनेट, सुरक्षा चुनौती, भवन अभाव देखाउँदै बैंकले गाउँ पुग्न आनाकानी गरिरहेका छन् ।

सदरमुकाममा सरकारीसहित ८ वाणिज्य बैंक र ४ विकास बैंकले आर्थिक कारोबार गर्दै आएका छन् । राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक हरि पाण्डेले स्थानीय तहमा बैंक नपुग्दा सेवाग्राहीले हैरानीसँगै विकासमा समस्या थपिएको बताए । ‘वाणिज्य बैंकहरू दुर्गम गाउँ पुग्नु जरुरी छ,’ उनले भने, ‘तर, पुग्न खोजेका छैनन्, त्यसले गाउँमै सेवाको पर्खाइमा रहेका उपभोक्ता हैरानीमा छन् ।’ मुसिकोट नगरपालिकाको वामीटक्सारमा शाखा विस्तारको तयारी गरेको वाणिज्य बैंकले केन्द्रको निर्देशन नआएकै कारण अझै गएको छैन ।

गाउँ जाने निर्णय गरेका बैंकले समेत अनेक समस्या देखाउँदै आउन नखोज्दा जनप्रतिनिधिदेखि सेवाग्राही सबैलाई समस्या परेको इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले बताए । ‘यहाँ आउने भनेको मेघा बैंकलाई पटकपटक आग्रह गर्‍यौं,’ उनले भने, ‘अनेक समस्या मात्र दर्साएर आउनै खोज्दैनन् ।’ बैंकिङ कारोबारको समस्याले धेरै योजना कार्यान्वयन हुन नसकेको उनले बताए । अधिकांश योजनाको कारोबार अहिले पनि सदरमुकाम तम्घासमा रहेको सरकारी वाणिज्य बैंकबाट मात्र हुने गरेको छ ।

प्रकाशित : माघ १७, २०७४ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?