कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विमानलाई भ्याइनभ्याई

मानसरोवर जाने यात्रु बढे
ठाकुरसिंह थारू

बाँके — मानसरोवर जाने भारतीय पर्यटकहरू नेपालगन्ज आउने क्रम बढेसँगै एयरलाइन्स कम्पनीलाई हवाई उडान गर्न भ्याइनभ्याई छ । पर्यटकको चाप बढी हुनुका साथै कर्णालीका स्थानीय यात्रुहरूसमेत हवाई यात्राका लागि पालोमा रहेकाले उडान भर्न एयरलाइन्सलाई हम्मेहम्मे परेको हो ।

विमानलाई भ्याइनभ्याई

नेपालगन्ज विमानस्थलबाट गोमा, सीता र तारा एयरलाइन्स कम्पनीले दैनिक ५ पल्टसम्म उडान गर्दै आएका छन् । तीन कम्पनीका तीन/तीन विमानले कर्णाली अञ्चलका लागि उडान भर्ने गरेका हुन् । तर, यात्रुहरू भने चाहिएको बेलामा टिकट नपाएर विमानस्थलमै अलपत्र पर्ने गरेका छन् । विमान कम्पनीले मानसरोवरका यात्रुहरूलाई बढी प्राथमिकता दिँदा कर्णालीका यात्रुहरूलाई कठिनाइ झेल्नुपरेको गुनासो छ । हुम्लाका कर्ण बुढाले एक साताअघि टिकट बुक गरे पनि घर फर्किन नपाएको गुनासो गरे । ‘सबै उडानमा भारतीय पर्यटकलाई महत्त्व दिन्छन् । हामी पैसा तिरेर पनि घर फिर्ता हुन पाउँदैनन्,’ उनले भने, ‘एयरलाइन्स कम्पनी कमाउ धन्दामा लागेका छन् । हरेक वर्ष यो समयमा यस्तै दु:ख पाउने गरिएको छ ।’

सीता एयरलाइन्सका नेपालगन्ज प्रमुख पंकज शाहले केही दिन मौसम प्रतिकूलताका कारण उडान रोकिँदा यात्रुहरू थपिएको बताए । उनले आइतबार कर्णालीमा सबैजसो उडान भएका कारण यात्रुको चाप घटेको जनाए । पर्यटक र कर्णाली अञ्चलका स्थानीय यात्रुहरूको चाप बढेपछि विवादसमेत हुने गरेको छ । गत शनिबार दिउँसो एयरलाइन्स कम्पनीका कर्मचारी र यात्रुबीच विवाद भएको थियो । प्रहरीले विवाद समाधान गरेका थिए ।

मानसरोवर तीर्थालुुलाई लक्षित गरी हाल दैनिक दुई दर्जन बढी उडान हुने गरेको छ । तर, मौसम प्रतिकूलताका कारण उडानहरू रद्द भएपछि विवाद हुने गरेको हो । मानसरोवरका यात्रुले एक साताअघि नै टिकट बुक गरे पनि समयमै उडान हुन नपाएको गुनासो गरेका छन् । ‘दुई दिनदेखि एयरपोर्ट धाइरहेका छौं । मानसरोवर कहिले पुग्ने अनिश्चित छ । एक सातादेखि नेपालमा दु:ख पाइरहेका छौं,’ मानसरोवरका लागि नेपाल आएकी भारतीय पर्यटक पल्बीले भनिन्, ‘एयरलाइन्सका कर्मचारीहरू आजभोलि भन्दै आलटाल गरिरहेका छन् ।’

प्रकाशित : श्रावण २३, २०७४ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?