कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय रेल्वेको जरिवाना ६ गुणासम्म बढ्यो

भूषण यादव

वीरगन्ज — भारतीय रेल्वेले सीमावर्ती रक्सौल स्टेसनको माल गोदाममा आउने र्याकको विलम्ब शुल्कमा भारी वृद्धि गरेको छ । पूर्व मध्य रेल समस्तीपुरले गत बिहीबार जारी गरेको सूचनाअनुसार विलम्ब शुल्क ६ गुणासम्म बढेको छ ।

यही जुन २४ शनिबारदेखि १० दिनका लागि नयाँ विलम्ब शुल्क लागू गरिएको रेल्वेले जनाएको छ । रेल्वेले अनलोडमा ९ घण्टा र गोदाममा राखिएको मालसामान हटाउन १२ घण्टा नि:शुल्क समय उपलब्ध छ । उक्त समयभित्र सामान हटाउन नसकेको खण्डमा एउटा बोगीको प्रतिघण्टा १ सय ५० भारतीय रुपैयाँको दरले जरिवाना लिने गरेको छ । एउटा रेल्वे र्याकमा ५९ वटासम्म बोगी हुन्छन् ।

आयातकर्ताका अनुसार ६ गुणा जरिवाना तिर्नुपरे एउटा र्याक नि:शुल्क समयभन्दा बढी रोकिएमा १० लाख ७९ हजार भारतीय रुपैयाँ जरिवाना दाखिला गर्नुपर्छ ।

वीरगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष ओमप्रकाश शर्माका अनुसार भारतीय रेल्वेले वृद्धि गरेको जरिवानाले आम नेपाली उपभोक्ता मारमा पर्ने छन् । ‘विलम्ब शुल्कको विरोध गरे पनि कतै सुनवाइ भएको छैन,’ उनले भने, ‘सरकारले नै सुनवाइ नगरिदिएपछि हाम्रो के नै लाग्छ र ?’ शुल्क वृद्धिले आयातित सामग्रीमा भर पर्नुपरेका नेपाली उपभोत्तामा असर पर्ने भएको छ । शुल्क वृद्धि बराबरको मूल्य उपभोग्य सामग्रीहरूमा थप हुनेछ ।
रक्सौल रेल्वे स्टेसनमा हाल क्लिंकर, जिप्सम, स्ल्याग, कोइलालगायतका वस्तु थुप्रिएका छन् । रेल्वेको पत्रमा तोकिएको समयभन्दा दुई घण्टासम्म ढिलाइ भएमा सामान्य दररेटमा जरिवाना लिइने उल्लेख छ । तर, त्यसपछिको विलम्ब समयमा जरिवानाको दररेट बढदै गएको छ ।

दुईदेखि चार घण्टासम्म दुई गुणा, चार घण्टादेखि ६ घण्टासम्म सामान्य दरको चार गुणा र ६ घण्टादेखि बढीमा ६ गुणा जरिवाना लिने उल्लेख छ । नयाँ दरमा आयातकर्ताले एक बोगीमा प्रतिघण्टा ९ सय भारतीय रुपैयाँ जरिवाना तिर्नुपर्छ । रक्सौल गोदामको मालसामान लोड गरी गन्तव्यसम्म लैजान कम्तीमा एक साता समय लाग्ने ती आयातकर्ताले बताए । त्यसमाथि केही दिनदेखि लगातारको वर्षाले रेल्वे स्टेसनको गोदामदेखि भारतीय कस्टम जोड्ने सडक हिलाम्मे बनेको छ । गोदाम वरिपरि पनि पानी जमेको छ । भारतीय रेल्वेले रक्सौल गोदाममा मालसामान थुप्रिने बित्तिकै जरिवाना दर बढाउने गरेको छ । नाकाबन्दी र महाभूकम्पको समयमा समेत जरिवाना बढाएको थियो ।

संविधान संशोधनबिना नै सरकारले दोस्रो चरणको निर्वाचन गरेको विरोधमा राष्ट्रिय जनता पार्टीले जेठ ३० देखि गरेको ५ दिन बन्दले सीमावर्ती रक्सोल रेल्वे स्टेसनको गोदाममा नेपाल आउने वस्तु थन्किएका छन् । आयातकर्ताका अनुसार थन्किएको वस्तु यथाशीघ्र ढुवानी गर्न दबाबका लागि भारतीय रेल्वेले जरिवाना वृद्धि गरेको हो । रक्सौल रेल्वे स्टेसनको गोदाममा अहिले ४६ हजार टन औद्यँेगिक कच्चा पदार्थ थुप्रिएको छ । उद्योगी व्यवसायीका अनुसार रेल्वेको गोदाममा ६ हजार र अन्यत्र ठाउँमा करिब ४० हजार टन नेपाल आउने मालवस्तु अलपत्र परेको छन् ।

गोदाममा सामान अनलोड गर्ने स्थान अभाव भएपछि रक्सौल रेल्वे स्टेसन नजिकै ९ वटा र्याक होल्डमा राखिएको छ । ‘यहाँको गोदाममा चाप बढेपछि रेल्वेको हाजीपुर कार्यालयले नेपाली मालसामान बोकेको ती र्याकलाई बाटोमै रोकिदिएको छ,’ संघका एक पदाधिकारीले भने, ‘एक र्याकमा करिब ३ हजार ८ सय टन कच्चा पदार्थ लोड हुने गरेको छ ।’ नेपालका लागि दैनिक ३ र्याक मालसामान रक्सौल स्टेसनमा आउने गरेको छ । केही दिनअघिसम्म भारतीय रेल्वेले मागको तुलनामा अति न्यून र्याक दिएपछि नेपालको आयात प्रभावित बनेको थियो । हाल चर्को जरिवानाको मारले सताएको छ ।

प्रकाशित : असार १२, २०७४ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?