कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४०

दक्षिण कोरिया आर्थिक विकासको सुत्र  

कोरिया सरकार र हाम्रो दूतावासले धेरै कोरियाली लगानी भित्र्याउनका लागि निरन्तर प्रयास गरिरहेको छ। नेपाल सरकारले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीमैत्री वातावरण सिर्जनाका खातिर अथक प्रयास गरिरहेको सम्बन्धमा हामी जानकार छौं।
पार्क थेयङ

नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९) गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनले नेपालको आर्थिक-सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने लागेको छ।

दक्षिण कोरिया आर्थिक विकासको सुत्र  

मैले नेपालका राजनितिज्ञ, अर्थ सरोकारवालासँग भलाकुसारी गर्दा कोरियाको आर्थिक विकासको रहस्य के हो ? भन्ने जिज्ञासा धेरै पटक पाएको छु । कोरिया विकासका विविध पक्षहरुमध्ये एक प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले चालेको सकारात्मक कदम र लगानीको सही सदुपयोग हो भन्ने लाग्छ।

शास्त्रीय अर्थशास्त्रलाई नियाल्ने हो भने, उत्पादनका आधारभूत पक्षका रुपमा श्रम, पुँजी र भूमिलाई लिने गरिएको छ। कोरियाको आर्थिक विकासको क्रममा पर्याप्त लगानी गर्ने पुँजी थिएन र जुटाउन सजिलो पनि थिएन । सरकारले पुँजी जुटाउनका लागि वैदेशिक ऋण तथा वैदेशिक लगानी आकर्षित गर्ने प्रयासलाई निरन्तरता दिँदै आएको छ। श्रम र भूमि भने हामीलाई उपलब्ध थियो।

कोरियाले देशको आर्थिक विकासको क्रममा प्रत्यक्ष वैदेशिक लगानीका विभिन्न फाइदाको बारेमा लामो अनुभव गरिसकेको छ। त्यसैले आजका दिनमा पनि केन्द्र र स्थानीय सरकारले वैदेशिक लगानी आकर्षित गर्नका लागि विभिन्न सुविधा तथा प्रोत्साहनलाई निरन्तरता दिएको छ।

वैदेशिक लगानीका का फाइदाहरू

कोरियाको अनुभव साट्नु पर्दा प्रत्यक्ष वैदेशिक लगानीबाट राष्ट्रिय अर्थतन्त्र र उद्योगले सकारात्मक लाभ लिन सकिन्छ भन्ने रहेको छ। त्यसैगरी हामीले वैदेशिक लगानी मार्फत् आन्तरिक रूपमा लगानी स्रोतको अभावबाट छुट्करा पायौं र आन्तरिक बजारमा यथेष्ट रोजगारी सिर्जना गर्न सफल भयौं। गत सेप्टेम्बरमा प्रकाशित एक अध्ययनको तथ्यांकअनुसार कोरियामा विगत १० वर्षमा प्रत्यक्ष वैदेशिक लगानी मार्फत् २ लाख ९५ हजार रोजगारी सिर्जना भएको देखाएको छ।

रोजगारी सिर्जनालाई सर्वोत्कृष्ट सामाजिक कल्याणकारी नीति मानिन्छ र रोजगारीले आर्थिक तथा सामाजिक रुपमा पनि सकारात्मक भूमिका खेल्न सक्छ। वैदेशिक लगानीले देशको आर्थिक विकासलाई उत्प्रेरित गर्न, उद्योग स्थापना तथा लगानी वातावरण सिर्जना गर्न र स्थानीय समूदाय र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दछ। वैदेशिक लगानीले स्थानीयको आम्दानी र क्रयशक्तिमा बृद्धि हुनगई देशको समग्र आर्थिक बृद्धिको नेतृत्व गर्न सक्दछ।

अर्को पक्ष, वैदेशिक लगानीमा स्थापित कम्पनीहरूको प्रविधि र ज्ञान लगानी गरेको मुलुकमा हस्तान्तरण हुनुका साथै प्राविधिक जनशक्ति उत्पादनमा पनि सकारात्मक भूमिक खेल्छ। दक्षिण कोरियाको सन्दर्भमा वैदेशिक लगानी रहेका उद्योगहरुमध्ये टेक्नोलोजी हस्तान्तरण भएका धेरै उद्योगहरु आज विश्वव्यापी रुपमा उदाएका प्रशस्त उदाहरणहरु छन्।

अन्य मुलुकमा व्यपार गर्नका लागि वैदेशिक लागनीमा सञ्चालन भएका उद्योगसँग आफ्नो देशकोबारेमा आवश्यक जानकारी हुने भएकोले व्यपार लक्ष्य सुनिश्चित गर्न अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएका उद्योग तथा लगानीको उपस्थितिले सकारात्मक भूमिका खेल्दछ। प्रत्यक्ष वैदेशिक लगानी मार्फत् अन्तर्राष्ट्रिय व्यापार सम्भव हुन सक्दछ। वैदेशिक लगानीले निर्यात विस्तारमा सकारात्मक प्रभाव पार्दछ र घरेलु बजारमा एकाधिकारको सट्टा प्रतिस्पर्धामा आधारित बजार निर्माण भई उपभोक्ता सम्म सहज पहुँच पुग्दछ । त्यसैगरी वैदेशिक लगानीमार्फत् उपलब्ध भएका सुविधा र उपकरणले लक्षित देशमा श्रमशक्तिको उत्पादकत्व बढाउन टेवा पुग्दछ।

विदेशीको नजरमा नेपालमा वैदेशिक लगानीको सम्भावना

विदेशीको नजरमा नेपाली अर्थतन्त्रलाई नियाल्दा, प्रत्यक्ष वैदेशिक लगानी आर्कषित गर्नका लागि सम्भावना तथा कमजोरी दुवै पक्ष रहेका छन्।

तुलनात्मक रूपमा प्रतिस्पर्धी श्रम बजार, ऊर्जा क्षेत्रमा ठूलो लगानीको सम्भावना, हिमालय तथा विविधताले भरिएको सांस्कृतिक सम्पदालगायत प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने नेपालको प्रचुर सम्भावनाका बारेमा सबैले मनन गरेकै विषय हुन्। नेपालमा वैदेशिक लगानीको आकर्षण बढाउन लगानी प्रक्रियामा सरलीकरण गर्नु पर्दछ। पर्याप्त दक्ष जनशक्ति उपलब्ध गराउनु र लगानी गर्ने कम्पनीहरुलाई स्वदेशी कम्पनी सरह समान व्यवहार आवश्यक देखिन्छ। यसक्षेत्रको सुधारका लागि नेपाल सरकारले दृढ इच्छाशक्तिका साथ सम्बन्धित कानून निर्माण चरणमा रहेको भन्ने विषय समय सान्दर्भिक रहेको छ।

नेपालमा रहेका विभिन्न देशका कूटनीतिक नियोगका पदाधीकारी मार्फत् नेपालमा वैदेशिक लगानीका लागि अनुकूल वातावरण रहेको छ र नीतिगत हिसाबले पनि सहज वातावरण रहेको छ भन्ने बारेमा सम्बन्धित मुलुकहरुमा जानकारी गराउने पक्ष अपरिहार्य छ। लगानीकर्ताको प्रमुख चासो भनेको सहज रुपमा लगानी गर्ने र मुनाफा आर्जन गर्ने र उक्त मुनाफा आफ्नो देशमा सहज रुपमा लैजान सक्ने विषय प्राथमिकतामा राखेका हुन्छन् ।

त्यसैगरी भैपरी आउने समस्या समाधानका लागि सरकारी पक्षले अविभावकको भूमिका खेलोस् भन्ने रहन्छ । अन्य विषयमा वैदेशिक लगानी भित्र्याउनका लागि महसुल छुट लगायतका सुविधाहरु उपलब्ध हुने विषयले पनि सकारात्मक भूमिका खेल्दछ । भिसा प्रणालीको सहजीकरण, शुरुवाती चरणमा कर छुट लतायतका विषयले पनि लगानीयोग्य वातावरण बनाउन मद्दत गर्दछ भन्ने लाग्छ।

कोरियाली कम्पनीको नेपालमा लगानी

कोरियाली कम्पनीहरूले नेपालमा आर्थिक लगानी सम्भाव्यताका बारेमा नजिकबाट नियालीरहेका छन्। केही कम्पनीले नेपालमा लगानी गरि सफल रुपमा व्यवसाय सञ्चालन गरेका उदाहरणहरु रहेका छन् ।

उदाहरणका लागि, कोरियाली ग्लोबल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले नेपालको गोल्छा अर्गनाईजेसनसँगको संयुक्त लगानीमा गत वर्ष अप्रिलदेखि अत्याधुनिक टीभी एसेम्बली प्लान्ट सञ्चालन गर्दै आएको छ। हुन्डाई मोटर कम्पनीले नेपालको एक स्थानीय कम्पनीसँगको साझेदारीमा नवलपरासा जिल्लामा अटोमोबाइल एसेम्बली प्लान्ट पनि स्थापना गरेर यहि वर्ष मे महिनामा व्यावसायिक उत्पादन सुरु गर्ने योजना रहेको छ।

नेपालमा जलविद्युत् उत्पादन क्षेत्रमा कोरियाको साउथ–इस्ट पावर कम्पनीले विश्वव्यापी वित्तीय संस्था समेतको साझेदारीमा ६५० मिलियन अमेरिकी डलर लगानी जुटाएर रसुवा जिल्लामा अपर त्रिसुली-१ , २१६ मेगावट क्षमताको जलस्रोत आयोजना निर्माण चरणमा रहेको छ। यस आयोजनाले सन् २०२७मा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ।

ठूला वैदेशिक लगानीको जति महत्त्व रहेको छ त्यति नै महत्त्व मझौला उद्योगहरुको लगानी पनि आवश्यक पर्दछ। नेपालको सन्दर्भमा कोरियाली साना तथा मझौला कम्पनीको लगानी पनि सक्रिय रहेको जानकारी गराउँदछु। रोजगारी सिर्जनाको सन्दर्भमा, साना तथा मझौला उद्योगहरुको भूमिका प्रभावकारी रहेको बारेमा स्मरण गराउन चाहन्छु। उदाहरणका लागि, नक्कली कपाल बनाउने प्रसिद्ध कोरियाली कम्पनी हाइमोले काठमाडौंमा मन्डुमो नामक स्थानीय कम्पनीमा १०० प्रतिशत लगानी गरेको छ । उक्त कम्पनीमा ६५०जना भन्दा बढी स्थानीय महिला कामदारलाई तालिम दिएर नक्कली कपाल उत्पादन गरी उत्पादित सबै सामान कोरिया र जापानमा निर्यात गरिरहेको छ।

हालै प्रकाशित नेपाल सरकारको वैदेशिक लगानी योजना प्रतिवेदनको आधिकारिक तथ्याङ्कअनुसार गतवर्षको जुलाईदेखि यो वर्ष मार्चसम्म आठ महिनामा कोरियाली कम्पनीहरूले नेपालमा सबैभन्दा बढी लगानी योजनाबारे जानकारी सार्वजनिक भएको छ। उक्त अवधिकमा कोरियाली लगानीकर्ताको तर्फबाट १२ अर्ब ८ करोड रुपैयाँको लगानी योजना सार्वजनिक भएको छ। नेपालमा वैदेशिक लगानी गर्ने मुलुकहरुमध्ये कोरिया लगानीको शीर्ष पाँच स्थान भित्र पर्दै आएको छ। नेपालमा लगानी गर्न कोरियाली कम्पनीहरूको चासो निरन्तर बढिरहेको आधारको रुपमा लिन सकिन्छ।

अन्त्यमा

कोरिया र नेपालबीच सन् १९७४मा कूटनीतिक सम्बन्ध स्थापना भई दुई देशबीच अत्यन्त सुमधुर सम्बन्ध रहिआएको छ। हामी हाम्रो विकासको अनुभव साट्दै, कोरियाले भोगेका अप्ठेरा अवस्था नेपालले भोग्न नपरोस भन्नेमा समेत सचेत रहेका छौं। रोजगारीको महत्व बुझेर नै सन् २००७मा दुई देशका सरकारबीच श्रम सम्झौता गरेर सरकारको सहभागितामा नेपाली श्रमिकहरुलाई कोरियामा रोजगारको अवसर प्रदान गर्दै आएका छौं ।

एक लाख भन्दा बढी नेपालीहरुले कोरियामा रोजगारको अनुभव गरिसकेका छन्। त्यसैगरी कोरियाली कम्पनीहरुले नेपालमा लगानी बढाउंदै गएको स्मरण गराउन चाहन्छु। नेपालमा सञ्चालन भएका कोरियाली लगानीका कम्पनीहरुमा हजारौं नेपालीहरुले रोजगारीको अवसर प्राप्त गरेका छन्। यहि वर्ष सन् २०२४मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठको सुनौलो अवसरको सदुपयोग गर्दै वर्षभरी नै विभिन्न कार्यक्रम आयोजना गरेर हाम्रो सम्बन्धलाई थप उच्च बनाउने लक्ष्य लिएका छौं । कोरिया सरकार र हाम्रो दूतावासले धेरै कोरियाली लगानी भित्र्याउनका लागि निरन्तर प्रयास गरिरहेको छ।

नेपाल सरकारले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीमैत्री वातावरण सिर्जनाका खातिर अथक प्रयास गरिरहेको सम्बन्धमा हामी जानकार छौं। सबै क्षेत्रका लागि सुहाउँदो लगानी मैत्री वातावरण बनेर विश्वभरका कम्पनीले नेपालमा सम्भावित लगानी क्षेत्रको बारेमा पुनर्मूल्याङ्कन गरी ठूलो मात्रामा लगानी गर्न र नेपालीलाई स्वदेशमानै रोजगारीको अवसर मिलोस भन्न चाहन्छु। यहि अप्रिल महिनाको अन्त्यमा हुन गईरहेको तेस्रो लगानी सम्मेलन सफलताको कामना गर्दै धेरै उपलब्धि हासिल हुने विश्वास लिएको छु।

(थेयङ नेपालका लागि दक्षिण कोरियाली राजदूत हुन्)

प्रकाशित : चैत्र ३०, २०८० १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?