कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आर्थिक विकासको उत्प्रेरक

पर्यटनलाई केन्द्रविन्दु बनाएर लुम्बिनी प्रदेशको गुरुयोजना बनाउन अब ढिला गर्नु हुँदैन । सांस्कृतिक, पुरातात्त्विक, धार्मिक, वन्यजन्तु र साहसिक पर्यटनको विकास गर्न सके नेपालकै उत्कृष्ट प्रदेशका रूपमा लुम्बिनी चिनिने निश्चित छ

लुम्बिनी प्रदेशको क्षेत्रफल २२ हजार २ सय ८८ वर्ग किमि रहेको छ, जसले नेपालको कुल क्षेत्रफलको १५.१ प्रतिशत भूभाग ओगटेको छ । यस प्रदेशमा तराईका पाँच जिल्ला रूपन्देही, कपिलवस्तु, नवलपरासी, बाँके र बर्दिया, पहाडका पाँच जिल्ला रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची र पाल्पा, भित्री मधेशको जिल्ला दाङ र हिमाली एक जिल्ला रुकुम पूर्व गरी १२ जिल्ला रहेका छन् ।

आर्थिक विकासको उत्प्रेरक

यस प्रदेशमा चार उप–महानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी १ सय ९ वटा स्थानीय तह रहेका छन् । यस प्रदेशको पूर्वमा गण्डकी प्रदेश, पश्चिममा सुदूरपश्चिम प्रदेश, उत्तरमा गण्डकी/कर्णाली प्रदेश र दक्षिणमा भारतसँग सिमाना जोडिएको छ । यस प्रदेशमा समथर भूमिदेखि सात हजार मिटरसम्म उचाइ भएको हिमाली क्षेत्र छ । यस प्रदेशमा देशकै महत्त्वपूर्ण वित्तीय तथा व्यापारिक केन्द्रहरू बुटवल, भैरहवा, नेपालगन्ज, दाङ आदि रहेका छन् । लुम्बिनी प्रदेश नेपालको समग्र आर्थिक विकासको उत्प्रेरक (कोशेढुंगा) बन्न सक्ने प्रचुर सम्भावना छ । यसका केही सबल पक्ष छन् । यो प्रदेशमा बर्दियादेखि नवलपरासीसम्म उर्वर भूमि भएको क्षेत्र र पहाडी खेतीहरूका लागि निकै उपयुक्त हुन सक्ने केही होचा पहाड छन् । केही उच्च पहाडी क्षेत्र पनि छन्, जहाँ जडीबुटीलगायतको प्रवर्द्धन गर्न सकिन्छ । यसकारण यो प्रदेश निकै सम्भावनाको क्षेत्र हो ।

भारतसँग एक सय किलोमिटरभन्दा बढी सिमाना जोडिएकाले पनि यो प्रदेश औद्योगिकीकरण, अन्तर्राष्ट्रिय व्यापार र अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि पनि निकै महत्त्वपूर्ण छ । यस प्रदेशको विकासको महत्त्वपूर्ण पाटो पर्यटन हो । लुम्बिनी भन्नेबित्तिकै नेपालमा अहिलेसम्म प्राप्त भएको सबैभन्दा पुरानो मानव पुर्खाहरू रामापिथेकसको अवशेष रहेको थलो भनेर बुझिन्छ । पुरातात्त्विक अध्ययनले पनि मानव जातिको सबैभन्दा पुरानो बस्ती लुम्बिनीको नजिकै रहेको देखाएको छ । आजभन्दा ३३ सय वर्षअघिका केही घरका अवशेष, माटाका भाँडालगायत सामग्री उत्खनन भएको अवस्था छ । पुरातात्त्विक अध्ययनका दृष्टिले पनि यो प्रदेश निकै महत्त्वपूर्ण छ । गौतम बुद्धको जन्मस्थान तिलौराकोट, उनले बाल्य र युवाकाल बिताएका थलो र धेरै बुद्धकालीन स्थलहरू छन्, जसले संसारभरका करिब एक अर्ब बौद्ध धर्मावलम्बी, बुद्ध दर्शन अध्ययन गर्न चाहने विद्यार्थी, अध्ययन, अनुसन्धानकर्तालगायतका लागि निकै महत्त्वपूर्ण क्षेत्र बन्न सक्छ ।

महर्षि कपिलले साङ्ख्य दर्शनको प्रतिपादन गरेको कपिलवस्तु यहीं छ । मानव पुर्खाहरू, अग्रजहरू, जहाँ ज्ञान, दर्शन तथा तत्कालीन अवस्थामा नयाँ अन्वेषणको स्थल पनि भएकाले संस्कृति अध्ययन र सांस्कृतिक पर्यटनका दृष्टिले पनि लुम्बिनी प्रदेशले असाध्यै ठूलो महत्त्व राख्छ । पर्यटकीय क्षेत्रको कुरा गर्दा बुटवलको जितगढी किल्ला, जहाँ नेपालीले अंग्रेज सेनालाई परास्त गर्ने बहादुरीपूर्ण कीर्तिमान राखेको इतिहास छ । नेपाल राष्ट्रको निर्माण र देशभक्तिको अध्ययन गर्न चाहनेहरूका लागि यो पनि एउटा महत्त्वपूर्ण थलो बन्न सक्छ । नेपालका चारवटा प्रसिद्ध धामहरूमध्ये रुरुक्षेत्र यही प्रदेशमा छ । स्वर्गद्वारी, रेसुंगा, सुपादेउराली, बाह्रकुने, धारापानीलगायत धार्मिक र पर्यटकीय स्थलहरू पनि यहीं रहेका छन् । वाइल्ड लाइफका हिसाबले पनि बर्दियाको राष्ट्रिय निकुञ्ज निकै प्रसिद्ध छ । खास गरी पाटेबाघको अध्ययनका लागि यो क्षेत्र निकै महत्त्वपूर्ण थलो बन्न सक्छ । काली गण्डकीलगायत विभिन्न नदीहरूमा जलपर्यटनको विकास गर्न सकिन्छ । साहसिक पर्यटकका हिसाबले पनि ती स्थानहरू निकै उपयोगी हुन सक्छन् । यसरी हेर्दा लुम्बिनी प्रदेश विकासको दृष्टिले निकै सम्भावना भएको क्षेत्र हो ।

यद्यपि, यो प्रदेशमा समान ढंगले विकास हुन पाएको छैन । भौतिक विकासमा मात्र नभई मानव विकास सूचकांकमा अग्रणी स्थानमा रहेका रूपन्देहीजस्ता जिल्ला पनि यहीं छन् । रुकुम, रोल्पाजस्ता जिल्ला मानव विकासका दृष्टिले धेरै पछि छन् । हिजो द्वन्द्वका कारणले ती क्षेत्र पछि परे, जहाँ द्वन्द्वका घाउ र पीडाहरू अझै मेटिएका छैनन् । विकासका दृष्टिले ती क्षेत्र पछि परेका छन् । यसकारण लुम्बिनीमा सन्तुलित विकासको निकै खाँचो छ । विकासको असमानता नै यो क्षेत्रको मुख्य चुनौती हो । यहाँ कृषि क्षेत्रको विकासका लागि कालीगण्डकी डाइभर्सनमार्फत नदी फर्काएर तिनाउमा झार्ने र नौमुरे बहुउद्देश्यीय परियोजनाको निर्माण सम्पन्न गर्नुपर्ने देखिन्छ । भेरी बबई डाइभर्सनको काम सम्पन्न भइसकेको छ भने दाङ उपत्यकाका लागि कुनै एउटा वैकल्पिक सिँचाइको प्रबन्ध गर्नुपर्ने छ । यति हुन सकेको अवस्थामा लुम्बिनी प्रदेशले देशकै आधा जनसंख्यालाई आवश्यक पर्ने खाद्यान्न उत्पादन गर्न सक्छ । यो विषयमा नीति निर्माताहरूको ध्यान जानुपर्छ ।

अहिले नेपालमा कृषिको विकास हुन नसक्नुका प्रमुख कारणमध्ये खुला सिमाना पनि एक हो । खुला सिमानका कारण भारतबाट आउने तरकारी, फलफूलहरूसँग नेपाली किसानले प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । किनभने, भारतमा कृषिमा असाध्यै धेरै अनुदान छ । धेरै अनुदान पाएकै कारण कृषि उपजको उत्पादन लागत निकै कम छ । नेपालमा त्यो तहको अनुदान छैन । यसकारण तुलनात्मक रूपमा नेपाली किसानको उत्पादन महँगो छ । नेपाली उत्पादन राम्रो छ, ताजा पाइन्छ तर ती उपजको संरक्षण गर्न सकिएको छैन । सरकारले कुनै न कुनै हिसाबले विदेशी कृषि वस्तुको आयात नियन्त्रण गरी स्वदेशी उत्पादनलाई संरक्षण, प्रोत्साहन र प्रवर्द्धन गर्नुपर्ने हुन्छ । यसका लागि भन्सारमा केही अतिरिक्त कर लगाउन सकिन्छ ।

यही कुरा औद्योगिकीकरणको हकमा पनि लागू हुन्छ । उद्योगहरूको प्रोत्साहनका लागि पनि सरकारले स्वदेशी उद्योग संरक्षणको नीति ल्याएर प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ । बाँकेलगायत अरु जिल्ला र स्थानमा पनि औद्योगिक क्षेत्रको शिलान्यास भएको छ । अहिले उद्यमीहरूले भोग्नुपर्ने ठूलो समस्या भनेको जग्गा अधिग्रहणको हो ।

यहाँको पर्यटन विकासका लागि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन निकै महत्त्वपूर्ण छ । यसमा भारतको सकारात्मक सहयोग भइरहेको छैन । नियर बोर्डर अपरेटिङ गाइड लाइनजस्तो सानो सहमतिमा भारतले अनुमति नदिँदा पूर्वाधार तयार भए पनि विमानस्थल पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन । यसकारण यति ठूलो लगानी रहेको विमानस्थल यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारले भारतसँग प्रभावकारी कूटनीतिक भूमिका खेल्नुपर्छ । विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिन्छ ।

बुद्धसँग जोडिएका विभिन्न स्थलको एकीकृत विकास गर्न जरुरी छ । बुद्धको अवशेष राखिएको भनिएको रामग्राम क्षेत्र निजी क्षेत्रलाई दिने निर्णय गरेर तत्कालीन पर्यटन मन्त्रीले धेरै नराम्रो काम गर्नु भएको थियो । यद्यपि, अहिले प्रक्रिया रोकिएको छ । झन्डै ९ हजार बौद्ध भिक्षुहरूको सामूहिक नरसंहार भएको भनिएको सग्रहवालगायत क्षेत्र पनि छ । ती सबैको संरक्षण र एकीकृत विकास आवश्यक छ ।

लुम्बिनीका पहाडी जिल्लाबाट बसाइँसराइ अत्यधिक छ । कतिपय गाउँ रित्तिइसकेका छन् । काम गर्ने श्रमशक्ति नहुने, जमिन बाँझिने, उत्पादन घट्दै गएपछि सहरप्रति परनिर्भरता (आश्रितता) बढिरहेको छ । रेमिट्यान्सले पनि पहाडलाई धेरै लाभ दिएको छैन, बरु पहाडको बसाइँ तराईतिर सारेको छ । लुम्बिनीको समृद्धिको कुरा गर्दा अब बसाइँसराइलाई नियन्त्रण गर्न सक्ने उपाय खोज्नु जरुरी छ । नत्र हामीले भन्दै आएको लुम्बिनीको सन्तुलित विकास झनै असन्तुलित बन्ने निश्चित छ । कृषिको रूपान्तर जसका लागि महत्त्वपूर्ण नदी डाइभर्सन र सबै महिना सिँचाइ हुने गरी विभिन्न आयोजना निर्माण गरेर उत्पादन वृद्धि, बजार मूल्य निर्धारण र प्रतिस्पर्धी बनाउन सकिन्छ ।

भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) लाई पूर्ण क्षमतामा सञ्चालन गर्न तथा स्थापित उद्योगहरूमार्फत निर्यात वृद्धि गर्नु, औद्योगिक विकासको कारण उद्योगहरूबाट निस्कने फोहोर एवं प्रदूषण व्यवस्थापन गरी अनुकूल वातावरण निर्माण गर्नु, सिमेन्ट उद्योगहरूले कच्चा पदार्थको रूपमा प्रयोग गर्ने चुनढुंगा उत्खनन हुँदा त्यसको प्रतिकूल प्रभावस्वरूप हुने भू–क्षय, पानीका मुहानको सुरक्षा लगायतका असर न्यूनीकरण गर्नु औद्योगिकीकरणका चुनौती हुन् । पर्यटनलाई केन्द्रविन्दु बनाएर लुम्बिनी प्रदेशको गुरुयोजना बनाउन अब ढिला गर्नु हुँदैन । सांस्कृतिक, पुरातात्त्विक, धार्मिक, वन्यजन्तु र साहसिक पर्यटनको विकास गर्न सके नेपालकै उत्कृष्ट प्रदेशका रूपमा लुम्बिनी चिनिने निश्चित छ ।

प्रमुख पर्यटक स्थलहरूमा छिमेकी मुलुक तथा तेस्रो मुलुकबाट आउने पर्यटकलाई सुरक्षाको पूर्ण प्रत्याभूति प्रदान गर्दै गुणस्तरीय पूर्वाधारको निर्माणसहित बसाइ अवधि लम्ब्याउन सकिन्छ । निर्माणाधीन कालीगण्डकी करिडोर हुँदै लुम्बिनी, रुरुक्षेत्र, गलेश्वरधाम, मुक्तिनाथ र मानसरोवरजस्ता प्रसिद्ध पर्यटकीय स्थल तथा तीर्थस्थलका लागि ट्रेकिङ र यातायात सेवासम्बन्धी व्यवसायको सम्भावना रहेको छ ।

रूपन्देही तथा बाँके जिल्लामा विशेष आर्थिक क्षेत्र तथा औद्योगिक क्षेत्रहरू रहनुका साथै प्रमुख भारतीय भन्सार नाकासमेत रहेकाले यस क्षेत्रका उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको सहज आपूर्ति हुन सक्ने हुँदा औद्योगिकीकरणको राम्रो सम्भावना रहेको छ । भारतीयका लागि सस्तो र सजिलो भ्रमण स्थल भएकाले पनि यहाँ केवलकार, फनपार्क, र्‍याफ्टिङ लगायतका अन्य मनोरञ्जनका माध्यमको निर्माण तथा विकास गरी पर्यटक आकर्षित गर्न सक्ने सम्भावना पनि उत्तिकै छ ।

(ज्ञवाली नेकपा एमालेका उपमहासचिव तथा पूर्वपर्यटन एवं परराष्ट्रमन्त्री हुन् ।)

प्रकाशित : चैत्र १८, २०८० १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?