कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिलाका सवाल र क्लारा जेट्किन

सुशीला शर्मा

विश्वमै महिलाका सवालबारे जति पनि बोल्न सक्ने भएका छौं, यो परिवर्तन सजिलै आएको होइन । महिला पृथ्वीका मानिस वर्गमै पर्ने भए पनि समयक्रमसँगै घरेलु र कमसल रूपमा हेरिने व्यवहार समाजले गर्दै आएको हो । अझै पनि महिलाका कैयौं मुद्दा ठाउँठाउँमा बल्झिरहेकै छन् । महिला मुक्तिका लागि आन्दोलन पनि भइरहेकै छन् ।

महिलाका सवाल र क्लारा जेट्किन

महिला पछाडि पारिनु र पर्नुमा समाजका कस्ता संरचना जिम्मेवार छन् भनेर शताब्दीअघिदेखि नै महिलाहरूकै अगुवाइमा विभिन्न आन्दोलन पनि भए । विश्वका तमाम महिलालाई सम्बोधन हुने गरी केही युगान्तकारी परिवर्तन ल्याउन त्यतिबेलाका नेतृत्व तहमा रहेका योद्धा महिलाको ठूलो योगदान छ । महिला दिवसको सप्ताह र महिना चलिरहँदा क्रान्तिकारी योद्धा क्लारा जेट्किनको नाम हामी सधैं स्मरण गरिरहन्छौं ।

क्लारा जेट्किनले उन्नाइसौं शताब्दीको उत्तरार्ध र बीसौं शताब्दीको प्रारम्भमा जर्मनीमा दुई सामाजिक राजनीतिक आन्दोलनको अगुवाइ गरिन्– समाजवाद र नारीवाद । उनले आफूलाई पहिले समाजवादीका रूपमा अर्थ्याए पनि महिला अधिकारका लागि सक्रियता र समाजवादी महिला नेताको रूपमा उनलाई महिलावादी पनि भन्न सकिन्छ । उनले नारीवादी लक्ष्य परिभाषित गर्न आफ्नो समाजवादी विचारधाराको प्रयोग गरिन् । समाजवादको समर्थनबाट नै महिला अधिकार प्राप्त हुन्छ र समाजवाद नै समाजका लागि उत्तम हुन्छ भन्ने क्लारा जेट्किनको मान्यताले नै उनलाई नारीवाद र समाजवाद दुवै आन्दोलनको नेतृत्वमा हेर्नु वाञ्छनीय हुन्छ ।

सन् १९०८ को एक मजदुर आन्दोलनपश्चात् नै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको थियो । सन् १९१० मा कोपेनहेगनमा कामकाजी महिलाहरूको एक अन्तर्राष्ट्रिय सम्मेलनको दौरान जेट्किनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने योजना बनाइन् । सम्मेलनमा १७ देशका एक सय महिला सहभागी थिए । सन् १९०८ मा महिलाहरूले न्युयोर्कमा मजदुरीको समय कम गर्ने र तलब बढाउने माग राखेर एक आन्दोलन गरेका थिए । त्यो हड्ताल यति प्रभावकारी भयो कि त्यहाँका सम्राट निकोलसलाई पद छोड्न बाध्य हुनुपर्‍यो । साथै अन्तरिम सरकारले महिलालाई मतदानमा अधिकार पनि दियो । महिलालाई यस आन्दोलनबाट सफलता मिल्नुका साथै एकवर्ष पछाडि सोसियलिस्ट पार्टी अफ अमेरिकाले यस दिनलाई राष्ट्रिय महिला दिवस घोषणा गर्‍यो ।

सन् १९१७ मा पहिलो विश्वयुद्धको दौरान २८ फेब्रुअरीमा रुसी महिलाले रोटी र शान्ति आन्दोलन गरेका थिए । ग्रिगेरियन क्यालेन्डरमा यो दिन ८ मार्च थियो । सोही दिनदेखि अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालियो । सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरल्यान्डमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो । सन् १९७५ मा संयुक्त राष्ट्रसंघले नै महिला दिवसको मान्यता दियो ।

क्लारा जेट्किनको जन्म ५ जुलाई १८५७ मा जर्मनीमा भएको थियो । सन् १९१० मा भएको समाजवादी अन्तर्राष्ट्रिय कोपेनहेगन सम्मेलनमा जर्मन कम्युनिस्ट जेट्किनको जोडदार प्रयासले सम्मेलनले महिला दिवसको अन्तर्राष्ट्रिय स्वरूप दियो । यो दिनलाई क्लाराले सार्वजनिक बिदाको माग पनि राखिन् । जेट्किन पिता एक विद्यालयका शिक्षक थिए । आमा फ्रन्सिसी मूलकी उच्च शिक्षित महिला थिइन् । क्लारा अध्ययनकै सिलसिलामा समाजवादी विचारबाट प्रभावित भइन् । अध्ययनपश्चात जेट्किनले सन् १८४७ बाट जर्मनीमा महिला आन्दोलन र श्रम आन्दोलनसँग सम्बन्ध विकास गरिन् । सन १८७८ मा उनी समाजवादी कार्यकर्ता पार्टीमा सामेल भइन् ।

सन् १८७८ मा विस्मार्कले जर्मनीमा समाजवादी गतिविधिमा प्रतिबन्ध लगाएपछि सन् १८८२ मा जेट्किन ज्युरिख गइन् र पुःन पेरिस फर्किइन् । त्यहाँ उनले पत्रकार तथा अनुवादकका रूपमा काम गरिन् । पेरिसमा उनले सोसियलिस्ट इन्टरनेसनल समूहलाई जीवित राख्न अहंभूमिका निर्वाह गरिन् । उनको राजनीतिक करिअर ओसिप जेट्किनसँग परिचय भएपछि सुरु भयो, जोसँग पछि उनले विवाह गरिन् । समाजवादी बैठकहरूमा भाग लिने र भाग लिएको केही महिनामै पार्टीप्रति प्रतिबद्ध भइन् । आफ्नो प्रेमी रुसी यहुदी ओसिप जेट्किनको नाम पनि अपनाइन् । ओसिप जेट्किन समर्पित मार्क्सवादी थिए । सन् १८८९ मा ओसिप गम्भीर बिरामी परे र त्यही वर्षको जुनमा उनको मृत्यु भयो । प्रेमी गुमाएपछि जेट्किन आफ्ना बच्चाहरूसँग स्टुटगार्टमा सरिन् ।

सन् १८८० को समयमा जर्मनीको राजनीतिक वातावरणका कारण जेट्किन स्विट्जरल्यान्ड र पछि फ्रान्समा निर्वासनमा गइन् । जर्मनी फर्केपछि एक दशकपछि उनी महिलाहरूका लागि जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टीको अखबार ग्लेइचाइट (समानता) को सम्पादक बनिन् । उक्त अखबार उनले २५ वर्षसम्म सञ्चालन गरिन् । सन् १८९८ तिर जेट्किनले क्रान्तिकारी रोजा लग्जेम्बर्गसँग मित्रता गाँसिन्, जुन २० वर्षसम्म चल्यो ।

सामाजिक समानताको आकांक्षा राख्ने श्रमजीवि महिला र महिला अधिकारका लागि लड्ने पुँजीवादी महिला आन्दोलनबीच तादात्म्य थिएन । पुँजीवादी महिला आन्दोलन बालुवाको घर हो र यसको वास्तविक आधार छैन भन्ने श्रमजीवि महिलाहरूको धारणा थियो । महिला मुक्तिको प्रश्न आफैंमा विद्यमान पृथक् प्रश्न नभएर ठूलो सामाजिक प्रश्नको अंश हो भन्नेमा श्रमजीवि महिला विश्वस्त थिए । पूर्ण सामाजिक रूपान्तरणपछि मात्र महिला मुक्तिकको बाटो खुल्छ भन्ने उनीहरूको ठम्याइ थियो । जेट्किनले नारीवादी आन्दोलनलाई मुख्यतः माथिल्लो वर्ग र मध्यम बर्गका महिलाहरू मिलेर बनेको ठानिन्, जुन श्रमिक वर्गका महिलाहरूको हितसँग मेल खाँदैनथ्यो । उनका अनुसार महिला उत्पीडन अन्त्य गर्ने एक मात्र उपाय समाजवाद थियो । उनको प्राथमिक लक्ष्यमध्ये महिलालाई घरबाट निकाल्नु र काममा ल्याउनु थियो ताकि उनीहरूले आफ्नो अवस्था सुधार गर्न ट्रेड युनियन र अन्य श्रमिक अधिकार संगठनमा भाग लिन सकून् । सन् १९२० मा उनले लेनिनको ‘महिलाको प्रश्न’ लाई लिएर अन्तर्वार्ता गरिन् ।

प्रथम विश्वयुद्धको अवधिमा स्विट्जरल्यान्डमा भएको अन्तर्राष्ट्रिय महिला शान्ति सम्मेलनमा कार्यकर्ता, क्रान्तिकारी र समर्थकहरू सम्मिलित भेलामा उनले सम्बोधन गरिन् । युद्धका क्रममा उनी धेरै पटक गिरफ्तार भइन् । सन् १९१६ मा उनलाई संरक्षणात्मक हिरासतमा लगियो तर बिरामका कारण उनलाई रिहा गरियो । सन् १९१६ मै जेट्किन स्पार्टासिस्ट लिग र जर्मनीको स्वतन्त्र सामाजिक लोकतान्त्रिक पार्टीको संस्थापक थिइन् ।

जेट्किनले अन्तर्राष्ट्रिय समाजवादी महिलाहरूको युद्धविरोधी सम्मेलन सन् १९१५ बर्लिनमा गरेकी थिइन् । युद्धविरोधी अवधारणाका कारण उनी धेरै पटक गिरफ्तारमा परेकी थिइन् । सन् १९१९ मा जर्मन क्रान्तिपछि जर्मन कम्युनिष्ट पार्टी स्थापना भयो । जेट्किन यसैमा आबद्ध भइन् र सन् १९२० देखि १९३३ सम्म तल्लो सदनमा पार्टीको प्रतिनिधित्व गरिन् । जेट्किन र पल लेभी तल्लो सदनमा प्रवेश गर्ने पहिला कम्युनिस्ट थिए । दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रिय सम्मेलन मस्कोमा भएको थियो र जेट्किनको अध्यक्षतामा मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवसको मिति तय भएको थियो । सन् १९२५ मा उनी जर्मन लेफ्ट विङ सोलिडारिटी अर्गनाइजेसनको अधक्ष्यमा निर्वाचित भइन् । जब एडोल्फ हिटलरको नाजीपार्टीले सत्ता हातमा लियो, सन् १९३३ मा तल्लो सदनमा आगलागीपछि जर्मन कम्युनिष्ट पार्टीलाई प्रतिबन्धित गरियो । जेट्किन अन्तिम पटक निर्वासनमा गइन् । सन् १९३३ मा उनको मृत्यु ७६ वर्षको उमेरमा भयो ।

जेट्किन सन् १९४९ पछि अत्यधिक लोकप्रिय बनिन् । जर्मनका प्रत्येक प्रमुख सहरहरू, गल्लीहरूको नाम उनको नाममा जोडिए । उनको नाम अझै पनि जर्मन डेमोक्य्राटिक रिपब्लिकको नक्सामा देख्न सकिन्छ । मस्कोको ट्रेन स्टेसन सिटीको नाम पनि उनको नामसँग जोडिएको छ । साथै दस र बीस रुपैयाँको जर्मन मार्कमा उनकै फोटो अंकित गरिएको थियो । जेट्किनले जर्मनीमा राजनीतिक व्यक्तित्वको रूपमा आफ्नो करिअरको धेरै समय महिलालाई राजनीतिक रूपमा संलग्न गराउन शिक्षा दिने कार्यमा बिताइन् ताकि उनीहरूले समाजवादी उद्देश्यलाई समर्थन गर्न सकून् । हाम्रो समाजमा महिला आन्दोलन कुन रुपमा लानुपर्ने हो भन्ने विचार गर्दै महिला दिवसहरू मनाउने गरिन्छ । यसको कारण बुझाउन सके मात्रै महिलाको सवालमा चर्चा परिचर्चा गर्दै अगाडि बढ्न सहज हुनेछ । र, कैयौं महिलाले दिवसको अर्थबारे जानकारी पाउने थिए ।

प्रकाशित : फाल्गुन २२, २०८० ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?