कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

कांग्रेस रुपान्तरणमा उठेका सङ्गिन सवाल

नेपाली कांग्रेसले दूरदर्शी भएर सोच्ने, यही बेला हो कांग्रेसले नागरिकको मन जित्ने गरी काम गर्ने । अनि समुन्नत नेपालको नवीन एजेन्डा लिएर नागरिकलाई भरोसा दिने पनि यही बेला हो । 
रञ्जित कर्ण

महामानव, प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको भनाइ छ, ‘हामीले आफ्नो सिद्धान्त त्यागेर कोही–कसैसँग पनि सम्झौता गर्नुहुँदैन ।’ वि.सं. २००३ मा नेपाली राष्ट्रिय कांग्रेस पार्टी स्थापनाको ७८ वर्ष पुग्दै गर्दा कांग्रेस महासमिति बैठकमार्फत बलियो सैद्धान्तिक धरातल, सांगठानिक सुदृढीकरणको नयाँशैली र समुन्नत राष्ट्र निर्माणको प्रष्ट वैचारिक दृष्टिकोण निर्माण गर्ने घडीमा आइपुगेको छ ।

कांग्रेस रुपान्तरणमा उठेका सङ्गिन सवाल

महामानव बिपीकै सिद्धान्त, मार्गदर्शन र पदचापमा आस्थावान ८ लाख ७० हजार कांग्रेसजन ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता ! स्वतन्त्रता, न्याय र समानता !! नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता !!!’ भन्ने नारा दिएर सुरु महासमिति बैठकमा हुने वैचारिक मन्थनमा आफ्ना मुद्दा समावेश हुन् र पार्टीलाई नवीन गति दिन सकियोस् भन्ने अपेक्षामा छन् ।

कांग्रेसजनको यो अपेक्षालाई महासमिति बैठकमा सहभागी पार्टीको केन्द्रीय नेतृत्व र झण्डै दुई हजार एक सय महासमिति सदस्यले पुरा गर्नेगरी दृष्टिकोण निर्माण गर्नुपर्छ । महासमिति बैठक सम्पन्न हुँदै गर्दा कांग्रेसभित्र नयाँ जागरण सिर्जना गर्नुपर्छ । यसका लागि अहिले सङ्क्रमणकालीन अवस्थामा रहेको कांग्रेसको नीतिलाई पूणतः नयाँ स्वरुप दिनुपर्छ र नेतृत्व ती एजेन्डा कार्यान्वयन गर्ने दृढ इच्छाशक्ति र संकल्पका साथ उभिनुपर्छ ।

संविधान निर्माणको झण्डै आठ वर्षपछि कांग्रेसले पार्टीको नीतिमाथि विमर्श गर्दैछ । २०६२/०६३ को जनआन्दोलनमार्फत स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नीतिगत विषय प्रष्ट पारे पनि कार्यान्वयनको सवाल अझै कमजोर छ ।

समाजवाद उन्मुख संविधानमा गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, सामाजिक न्याय र समानता, समानुपातिक र समावेशी शासन व्यवस्थालाई संस्थागत गर्ने सन्दर्भमा कानुन निर्माण नै सम्पन्न हुन सकेको छैन । मौलिक हकका सवालदेखि तीनखम्बे अर्थनीतिसम्मका विषयमाथि गम्भीर मन्थन हुनै सकेको छैन ।

राजनीतिक परिवर्तनपछि निर्वाचन गराउने र सत्ताको वरिपरि रहनुमा मात्रै सफलता देख्ने राजनीतिक प्रणाली स्थापित गर्ने प्रयास जबजस्त रुपमा भइरहेको छ । राजनीतिक रुपमा केही अभ्यास भए पनि संविधानको अक्षरशः कार्यान्वयनको थालनीसम्म भएको छैन ।

कोभिड–१९ महामारी र विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीले नेपाललाई असफल राष्ट्र बन्ने दिशातर्फ धकेलिरहेको छ । अर्थतन्त्र चलायमान बनाउने कार्यक्रम, दृष्टिकोण र दीर्घकालीन लक्ष्यमा आधारित रहेर कुनै योजना र कार्यक्रम बनेको देखिँदैन । अर्थतन्त्रमा बलियो हिस्सा भएको धार्मिक पर्यटन प्रवर्द्धनको असिम सम्भावनालाई सदुपयोग गर्न र पर्यटक भित्र्याउने ठोस कार्यक्रम बनेको छैन । जनतामा निरासा बढ्दो छ । यो अवस्थामा कांग्रेसले लिने बाटोले नै नेपालीका समग्र आर्थिक रुपान्तरणको आधारशिला तयार गर्छ ।

लोकतान्त्रिक गणतन्त्रको यात्रा

नेपाली राष्ट्रिय कांग्रेसको वि.सं. २००५ फागुन १८ गते सम्पन्न तेस्रो महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा ‘बाधाहरू अनेकन छन् । तर, प्रथम वर्षकोभन्दा सदस्य संख्या चौवर भएको छ’ भनिएको छ । प्रतिवेदनमा भूखण्ड र राणाशासकको निरंकुश र प्रगति विरोधी नीतिले कांग्रेसको संगठन विस्तारको मार्गमा तगारो हालेको पनि उल्लेख गरिएको छ । तर २०८० सम्म आइपुग्दा ती सबै तगारा विभिन्न चरणका क्रान्ति र आन्दोलनमार्फत तोडिसकेका छौँ ।

राणाशासन, पञ्चायती व्यवस्थादेखि तत्कालीन राजाको प्रत्यक्ष शासनकालमा कांग्रेसजनसँगै नागरिकले भोगेका पीडा र लोकतान्त्रिक गणतन्त्रका लागि दिएको बलिदानीकै कारण देशले परिवर्तन र यो उपलब्धी प्राप्त गरेको हो । २०६४ मा कांग्रेस महासमितिको संयुक्त बैठकबाट संवैधानिक राजतन्त्रको मुद्दा बिसाएर लोकतान्त्रिक गणतन्त्रको यात्रामा पार्टी अघि बढ्यो । जनचाहनाबमोजित नेपाल देशलाई सङ्घात्मक व्यवस्थामा लाने प्रस्थानबिन्दू नै त्यही थियो । अब नेपालमा कुनै पनि राजा–महाराजाले नागरिकको अधिकार खोस्न र संविधानमाथि धावा बोलेर निरंकुशता लाद्न पाउँदैनन् ।

यसलाई सुनिश्चित गर्ने कार्यको आरम्भ कांग्रेसको २०६४ को महासमिति बैठक नै थियो । त्यसैले नागरिकको निरासालाई विश्वासमा बदलेर समुन्नत राष्ट्र निर्माणका जनआकांक्षालाई सम्बोधन गर्नेगरी महासमिति बैठकमा विचार मन्थन गरी निर्णयमा पुग्नुपर्छ ।

नेपाली कांग्रेसकै नेतृत्वमा संविधान निर्माण भयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणपछि पछिल्लो आठ वर्ष राजनीतिक रुपमा उतारचढावपूर्ण रह्यो । संविधानमाथि धावा बोल्ने काम निर्वाचित राजनीतिक नेतृत्वबाटै पनि भयो । तर संविधानको रक्षा गर्दै निर्वाचन सम्पन्न भएपछि सरकारले नागरिकलाई दिनुपर्ने ‘डेलिभरी’मा खासै परिवर्तन आएन । संविधानका व्यवस्थामाथि प्रश्न गर्नेहरू एकाएक मुखर भएर अगाडि आए ।

संविधानमा भएका व्यवस्था कार्यान्वयन गरेर नागरिकमा विश्वासको सञ्चार गर्नुपर्ने राज्यको दायित्व पुरा हुन सकेन । पुरातन शक्तिको चलखेलले नागरिकमा पनि परिवर्तनकै लागि लडेको राजनीतिक नेतृत्वप्रति शंका उत्पन्न गराएको छ । समदूरीमा आधारित परराष्ट्र सम्बन्ध स्थापित हुन बाँकी नै छ ।

विश्वजगतमा नेपालको भूमिका प्रभावकारी रुपमा स्थापित हुनसकेको छैन । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी आयोगले कानुन निर्माण नहुँदा काम गर्न पाएका छैनन् । १० वर्षे सशस्त्र द्वन्द्वको घाउँ अझै मेटिन सकेको छैन । स्टन्टबाजी राजनीतिले प्रश्रय पाएको छ । यस्तै बेला हो नेपाली कांग्रेसले दूरदर्शी भएर सोच्ने, यही बेला हो कांग्रेसले नागरिकको मन जित्ने गरी काम गर्ने । अनि समुन्नत नेपालको नवीन एजेन्डा लिएर नागरिकलाई भरोसा दिने पनि यही बेला हो ।

कांग्रेस रुपान्तरणका सूत्र

संस्कृतमा एउटा भनाइ छ, ‘एको अहम् द्वितीयो नास्ति न भूतो न भविष्यति’ अर्थात् म नै एक सर्वत्र हुँ, दोस्रो कोही छैन । न त मजस्तो विगतमा नै कोही थियो, न त भविश्यमा नै कोही हुनेछ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वको कार्यशैली ठ्याक्कै यही भनाइसँग मिल्छ ।

पार्टीको महाधिवेशनले दिएको कार्यादेश र कार्यकर्ताको भावनासँग रतिभर चिन्ता छैन । संगठन सुदृढीकरणको योजना त छैन नै, भएको संगठन पनि ध्वस्त बनाउने अभिप्रायले काम गरेको प्रष्टै छ । त्यसैकारण नेतृत्वमा देखिएको संक्रमणबाट पार्टीलाई मुक्त गराउन महासमिति बैठकले तत्कालीन र दीर्घकालीन नीति र योजना बनाउनुपर्छ । बिपीले ‘हाम्रो विरोध कटुताहीन र सैद्धान्तिक हुनुपर्छ, तर व्यक्तिगत कहिल्यै हुनुहुँदैन’ भने पनि पार्टीभित्र फरक विचार राख्नेहरूलाई योजनाबद्ध रुपमै सिध्याउने काम भइरहेको छ । अहंकार र स्वेच्छाचारी प्रवृत्ति त्याग्ने प्रण नेतृत्वले गर्नुपर्छ । र पार्टी निर्माणमा सबैले भूमिका पाउनुपर्छ । यसका लागि आधारभूत रुपमा गर्नुपर्ने काम यहाँ प्रस्तुत गरिएको छ ।

क्रियाशील सदस्यको सम्बन्धमाः नेपाली कांग्रेसका क्रियाशील सदस्य ८ लाख ६९ हजारभन्दा बढी छन् । तर आफ्नो दायित्व पूर्ण रुपमा पालना गर्ने क्रियाशील सदस्यको प्रतिशत ज्यादै थोरै छ । त्यसैले क्रियाशील सदस्यता वितरण र नवीकरणअघि मापदण्ड निर्धारण गर्नुपर्छ, प्रशिक्षण र संगठन निर्माणको स्पष्ट कार्यादेश दिनुपर्छ ।

नेतृत्व विकासः कांग्रेस केन्द्रीय कार्यसमितिमा नयाँ पुस्ताको प्रतिनिधित्व न्यून भइरहँदा केन्द्रीय कार्यसमितिलाई अझै समावेशी र प्रभावकारी बनाउन ६० प्रतिशत प्रत्यक्ष निर्वाचित र ४० मनोनित हुने व्यवस्था गर्नुपर्छ । २५–४० वर्षका युवाको प्रतिनिधित्व २५ प्रतिशत केन्द्रीय कार्यसमितिमा गर्नैपर्छ ।

साथै बौद्धिक जगतलाई पार्टीको नेतृत्वमा स्थापित गर्न बुद्धिजीवी, चिकित्सक, चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियर, कानुनकर्मी, शिक्षासेवीसहित विभिन्न पेशा र सेवामा अनुभव प्राप्त अगुवालाई १० प्रतिशत सहभागी गराउनुपर्छ । प्रतिनिधि सभाको समानुपातिक प्रणाली खारेज गरी राष्ट्रिय सभालाई पूर्ण समानुपातिक बनाउनुपर्छ । र, सबै क्षेत्र, वर्ग, समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ । विधानमा व्यवस्था भएको समयसीमा कार्यान्वयन गरी दुई–दुई महिनामा बस्ने तय भएको केन्द्रीय कार्यसमिति बैठक बस्ने र विभाग र भ्रातृ एवं शुभेच्छुक संस्था गठनको मापदण्ड प्रभावकारी कार्यान्वयन गर्नुपर्छ ।

महासमिति बैठकले तय गर्नैपर्ने मुद्दा

नेपाली राजनीतिक तरलता, देशप्रति जनताको अविश्वास र विश्व मञ्चमा नेपालको नगन्य उपस्थितिजस्ता गम्भीर प्रश्न छरपस्ट हुँदा नेपाली जनताको राजनीति स्थापना गरेको शक्ति नेपाली कांग्रेस जिम्मेवार बन्नु जरुरी थियोे, छ र रहनेछ । तर, वैचारिक अस्पष्टता, व्यावहारिक प्रश्नप्रति अनुदार नेतृत्व र गैरजिम्मेवारीपनका बारेमा आफूलाई सुधार गरेर जनता र कार्यकर्तामा विश्वास पुनस्र्थापना गर्नु जरुरी छ ।

पार्टीभित्र वैचारिक आधार बिर्सिएको र व्यवहारतः नातावाद कृपावाद र आर्थिकवाद लागू भइरहँदा कांग्रेसप्रति जनविश्वास गुम्ने खतरा छ । पार्टीका सदस्यबीच भेदभाव र अन्याय हुँदा अन्याय गर्नेहरू नै नेतृत्वको वरिपरि जाने अवसर पाइरहेका छन् । रेष्ट्रोपोलिटिक्समा नेतागण रमाएको, २३ प्रतिशत गरिवीका रेखामुनी र ६५ प्रतिशत मध्यम तथा परम्परागत सम्पन्न वर्गप्रति अनुदार राजनीतिक नेतृत्व पाँच प्रतिशत विचौलिया, दलाल र सात प्रतिशत नवधनाढ्यको पक्षपोषणमा लागेका छन् ।

मेरिट, बलिदानी तथा डेडिकेसनलाई भन्दा भजनमण्डली गाउनेलाई पार्टी तथा सरकारको जिम्मेवार पदमा नियुक्ति दिने गरिएको छ । विचार र कार्यक्रममा कांग्रेसवाद र संस्कृति हराउँदै गएको छ । एकाध क्षमतावान, दक्ष, योग्यलाई पाखा लगाउन गाउँ–गाउँ, टोल–टोलमा बिचौलिया परिचालित छन् । भ्रष्ट, गैरराजनीतिक, गैरसामाजिक, किर्ते गर्ने, फौजदारी अभियोगमा जेल बसेका, प्रहरी वान्टेडमा परेकालाई राजनीतिक संरक्षण दिँदा नागरिकलाई आहत पुगेको छ ।

त्यसैले वैचारिक तथा चरित्रवान नेता स्थापित गर्दै लैजाने, शिक्षा स्वास्थ्यलगायत उत्पादनमूलक क्षेत्रमा कार्य गर्ने सदस्यलाई पार्टीको नीतिका रुपमा प्रोत्साहन गर्दै लैजाने नीति महासमितिले पारित गर्नुपर्छ । स्वमूल्याङ्कन समेत गरेर पार्टीको हितका खातिर एक वा एकभन्दा बढी पटक सार्वजनिक पदमा नियुक्ति पाएका, सांसद मन्त्री भएका, समानुपातिक सांसद् बनेका, राजदूत, कार्यकारी भूमिकालगायत राजनीतिक नियुक्तिमा रहेकाले आफै वा पार्टीको निर्णय गराएर पुनः नियुक्ति वा अवसर नलिने नदिने नीति लिनुपर्छ । यसले त्याग गर्न गराउन सिक्ने सिकाउने अवसर सिर्जना हुन्छ ।

अनवरत संघर्षरत तर अवसर नपाएका नेता कार्यकर्तालाई सम्मान गर्ने र क्षमता योग्यता अनुसार अवसर खोजेर दिने र सबैलाई एकै प्रकारको मात्र सदस्यता वितरण गर्ने प्रणाली लागू गर्नुपर्छ । राजनीतिक, सामाजिक र सांस्कृतिक चरित्र उच्च भएका इच्छुक सदस्य मात्र सबै तहमा उमेदवार बन्न पाउने व्यवस्था गर्नपर्छ । आस्था विश्वास तथा सकारात्मक कार्यका आधारमा कांग्रेस भएका हरेकले आफ्नो नेता छान्न पाउने अधिकार सुरक्षित गर्न सबैलाई मताधिकारको व्यवस्था गर्नुपर्छ ।

आफ्नो पालिकामा निश्चित प्रतिशत मत ल्याउने जो कोही सदस्य त्यस माथिल्ला पदमा उमेदवार बन्न पाउने लोकतान्त्रिक विधि लागू गर्नुपर्छ । महाधिवेशन प्रतिनिधि पद खारेज गरी जिल्लाभित्रका हरेक केन्द्रीय सदस्य त्यो जिल्लामा वर्षको २ महिना बस्नै पर्ने व्यवस्था लागू गर्नुपर्छ ।

कानुनविरुद्ध कार्य गरेका कसैलाई पनि राजकीय तथा पार्टीमा भूमिका दिनुहुँदैन । ‘कांग्रेस बुझ अनि मात्रै पद लेउ’ भनाइलाई लागू गराउनुपर्छ । राजनीतिक संस्कार र कांग्रेस संस्कृतिको विकासका दृष्टिकोण स्थापित गर्नुपर्छ । कांग्रेसको प्रशिक्षण कोर्षमा आमूल सुधार गरी सदस्यलाई कक्षा सञ्चालन गरेर प्रशिक्षित संगठन बनाउनुपर्छ । पार्टीको विधान र देशको संविधान संशोधन प्रक्रिया शुरु गर्ने नीति पारित गर्नुपर्छ । पार्टीको विधानमा व्यापक छलफल गरेर मात्रै गर्न सर्वपक्षीय विधान संशोधन समिति निर्माण गर्नुपर्छ । कांग्रेसको रुपान्तरणका लागि महासमिति बैठकबाट यी मुद्दा सम्बोधन हुने गरी निर्णय गर्नुपर्छ ।

(लेखक कर्ण नेपाली कांग्रेसका नेता हुन्)

प्रकाशित : फाल्गुन ८, २०८० २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?