सहर सबैको रहर


‘सात दिनको बाटो ढाक्रेले आयो बटौली नुन लिन
किन महँगो भयो नुन, सुब्बा साहेब ! किन महँगो भयो नुन ।’

पाल्पा, तानसेनका मखनटोल निवासी कवि त्रिरत्न बज्राचार्यले रचेको गीतको अंश हो यो । ००४/०५ सालतिर उनले यो गीत रचना गरेका हुन् । गीतले बटौलीको पुरानो स्वरूपलाई इंगित गरेको छ । पहाडबाट ढाक्रेहरू नुन, मट्टीतेल, कपडाजस्ता उत्पादन खरिद गर्न आउने बजार थियो– बुटवल । गाउँले रित्तै आउँदैनथे । घिउ, अदुवा, स्थानीय जडीबुटी आदि बोकेर ओर्लन्थे र नुन, तेल, कपडा आदि बोकेर उकालो लाग्थे । यहाँ हिमाली भेग मुस्ताङदेखि पहाडी भेग जाजरकोट, गुल्मी, अर्घाखाँची, प्यूठानका व्यापारी, ढाक्रेहरू ओइरो लाग्थे । त्यस्तै उत्तर भारतका साहू–महाजनहरू आइपुग्थे । यसरी पहाडका विभिन्न भूभाग र समथर जमिनका मान्छे बटुलिँदा बटुलिँदै बटौली हुँदै बुटवल बन्न पुग्यो ।
जब इतिहासको प्रसंग आउँछ, बुटवल आफ्नो गौरवगाथा सुनाउन थाल्छ । बुटवल सुनाउँछ– १८७२ सालमा अंग्रेजलाई हराएको कथा । कर्णेल उजिरसिंहको नेतृत्वमा बुटवलको जितगढी किल्लामा जनरल उडको नेतृत्वमा आएको अंग्रेज फौजलाई परास्त गरेकोवीर गाथा । उसो त बुटवलको पहाडी भित्तामा रामापिथेकसको बंगारा भेटिएको थियो । रामापिथेकस मान्छेकै पुर्खा त थिएन । तर, जीव विकासको क्रममा मान्छे र आदिम बानरको साझा पुर्खा भएको मानवशास्त्रले पुष्टि गरेको छ । यही रामापिथेकसको बंगारा औंल्याउँदै बुटवल आफ्नो साइनो प्राग्इतिहाससँग जोड्छ ।
बुटवलसँग सुनाउन अनेक कथा छन् । गर्मी मौसममा सिद्धबाबाको गल्छेडोबाट आउने शीतल बतासले हम्किँदै बुटवल तिनाउको कथा भन्न तयार छ । तिनाउ साक्षी हो– यो सहरको । यसका अनेक उतारचढावको । बस्ती बसाल्न मान्छेले गरेको संघर्षको । बाढीको विनाश र ज्योतिनगरको पहिरोको । ००४ सालमा राणाशासनको अँध्यारोमा महावीर पुस्तकालयमार्फत बाल्न खोजिएको ज्ञानको दीपको । ०४६ सालको आन्दोलन र नवराज–दिलीपकोसहादतको । ०५९ मा प्रतिगमनविरोधी आन्दोलनका क्रममा देवीलालको सहादतको ।
बुटवलका मुख्य धाँजा
इतिहासका पानामा अंकित हुने महत्त्वपूर्ण घटना त जगजाहेर भइहाल्छन् । ती पढिन्छन् गौरवका वा विस्मयका साथ । खासमा इतिहास त मान्छेले नै निर्माण गर्छ । सहर भौतिक भूगोल मात्र होइन । भौतिक भूगोलले मान्छेलाई स्थान उपलब्ध गराउँछ । उक्त स्थानलाई गुलजार गराउने मानवीय प्रयत्नले हो । मान्छे–मान्छेबीचको अन्तर्क्रिया, वस्तु र सेवाको विनिमय र साझा अभ्यास गरिने सांस्कृतिक कर्महरूले बस्तीको निर्माण गर्छ । मान्छेको यिनै प्रयत्नले भौतिक भूगोल मानवीय भूगोलमा परिणत हुन्छ । यस प्रक्रियालाई सामाजिक शास्त्रको भाषामा मानवीय भूगोल निर्माण (प्लेस मेकिङ) भनिन्छ ।
मानवीय भूगोल निर्माणका क्रममा बुटवल अनेक चरणबाट गुज्रिएको छ । ती चरणलाई मसिनो गरेर केलाउने हो भने समयको यात्रामा अनेक धाँजा देखापर्छन् । ती धाँजाका अनेक पृष्ठभूमि र सन्दर्भलाई केलाउने हो भने अनेकौं पाठ सिक्न सकिन्छ ।
आज बुटवल भन्नासाथ हाम्रो मस्तिष्कमा बन्ने चित्र निकै फराकिलो छ । बुटवल अहिले तीन महत्त्वपूर्ण भूगोलमा समेटिएको छ । एउटा, मुख्य बुटवल । मुख्य बजार र बस्ती समेटेको गोलपार्कदेखि योगीकुटीसम्म, रामनगरदेखि नेपालगन्ज रोडसम्मको क्षेत्रलाई मुख्य बुटवल मान्न सकिन्छ । यो मुख्य बजारको वरिपरि रहेको भागलाई परिधिको बुटवल हो । रानीगन्ज, बुद्धनगर, नयाँगाउँलगायतलाई परिधिमा गणना गर्न सकिन्छ । परिधिसँग जोडिएका र मुख्य बुटवलबाट अलि दूरीमा रहेका तर बुटवल उपमहानगरपालिकामा पर्ने भागलाई सीमान्त बुटवल भनी वर्गीकरण गर्न सकिन्छ । मोतीपुर, सेमलार, हीरापुर आदि सीमान्त बुटवल हुन् ।
हाम्रो वर्तमान मानसिकतामा बुटवल भन्नासाथ आउने चित्र यही हो । तर, बुटवल सधैं यस्तो थिएन । बुटवल त खासमा बटौली थियो । बटौली तिनाउको पश्चिमी किनारमा नुवाकोट डाँडाको फेदमा गुजुप्प परेको थियो । गणेश मन्दिरदेखि गढीटोलसम्म फैलिएको थियो । अहिले सानो लाग्ने त्यो आयतन कुनै बेला साह्रै गुलजार र विशाल लाग्थ्यो । त्यसैले त होला, १९९७ सालमा जेल तोडेर भागेका गणेशमान सिंह यही बाटो भारत जाँदा गुलजार बुटवल देखेर छक्क परेका थिए । काठमाडौंमा हुर्केका र कोलकाता पढेका गणेशमानलाई पनि बुटवलको घनत्वले विस्मित पारेको थियो । यो यस्तो ठाउँ थियो,जहाँ तराईले आफ्नो पहिचान गुमाउँथ्यो र पहाड बन्थ्यो । पहाडले पहिचान गुमाउँथ्यो र तराई बन्थ्यो । त्यसैले गणेशमानले आफ्नो संस्मरण ‘मेरो कथाका पानाहरू’माबऽटवललाई ‘प्रतीकात्मक’सहर सम्बोधन गरेका छन् ।
गणेशमानको प्रतीकात्मक सहरको पहिलो मोड भनेकै स्थायी बसोबासको सुरुवात हो । सेनकालीन ग्रीष्म बजारकारूपमा स्थापित बुटवल स्थायी बजार भने थिएन । मंसिरदेखि फागुन/चैतसम्म गुलजार हुने बुटवल गर्मी सुरु हुनासाथ औलोको भयले आ–आफ्नो भूगोलमा लाखापाखा लागिहाल्थ्यो । बुटवललाई स्थायी बनाउने यात्रा भन्सारको विस्तारसँग जोडिएको छ । पाल्पाका तत्कालीन बडाहाकिम खड्कशमशेरले आम्दानी बढाउने उद्देश्यले सेठ नारायणप्रसाद प्रधानलाई कार्य सुम्पेको रवीन्द्रप्रसाद प्रधानले ‘द यात्रा’ पुस्तकमा उल्लेख गरेका छन् । उक्त पुस्तकमा सामेल गरिएको दस्ताबेजका आधारमा १९५०सालबाट बटौलीले स्थायित्व पाएको पुष्टि हुन्छ । बुटवललाई स्थायित्व प्रदान गर्न यहाँ पहाडका मान्छे ओर्लिए । उत्तर भारतका व्यापारी आइपुगे । अवधीभाषी र मारवाडीको साथमा मुस्लिम पनि आइपुगे । त्यसैले त पुरानो बुटवलको सानो क्षेत्रफलमा गणेशमन्दिर पनि देख्न सक्छौं, पद्म चैत्य विहार र रजा–ए–मुस्तफा मस्जिदसम्म घुम्न सक्छौं ।
बुटवलको बस्ती विस्तार इतिहासमा अर्को मोड खस्यौलीको विकास हुनु हो । तिनाउ नदीपूर्वको खस्यौली परित्यक्त थियो । त्यहाँ केही भट्टीहरूमात्र थिए । त्यो परित्यक्त भूगोलमा २०२० सालबाट चहलपहल हुन थाल्यो । २०२० सालमा यहाँ बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) स्थापना भयो । दक्ष कामदारको उत्पादनका लागि बीटीआई स्थापना भएको थियो । यसको मुख्य श्रेय नर्वेका अड्हफ्टनलाई जान्छ ।२०२७ सालमा तिनाउ परियोजनाबाट विद्युत् उत्पादन सुरु भयो । सुरुवातदेखि विद्युत् घरायसी खपतका लागि मात्र नभई उद्योगका लागि पनि प्रयोग गरिएको थियो । एकातर्फ विद्युत् र अर्कोतर्फ दक्ष जनशक्तिको उत्पादनले उद्योग स्थापनाको सम्भावना बढायो । त्यसलाई साथ दियो, राजमार्ग निर्माणले ।
नौ वर्षको अथक प्रयत्नले निर्मित बेलहियादेखि पोखरासम्मको सिद्धार्थ राजमार्ग २०२९ सालमा उद्घाटन भएको थियो । बुटवल प्लाइउड, गोबर ग्यास प्रालि, बुटवल उड इन्डस्ट्रिज, नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक प्रालि, घिउ प्रशोधन उद्योगलगायत राइस मिल, साबुन फ्याक्ट्री, कपडा उद्योग आदि स्थापना हुन थाले । सडक, ऊर्जा र दक्ष जनशक्तिको उपलब्धताले उद्योगहरूको स्थापनालाई जोड दियो । त्यस्तैऔद्योगिक क्षेत्र स्थापना भयो । स्थायित्वको प्रयासपछि यो बुटवलको अर्को महत्त्वपूर्ण मोड थियो । बुटवल व्यापारको केन्द्रबाट औद्योगिक नगरको यात्रामा लम्कियो ।
ती कैयौं उद्योग अहिले बन्द भइसकेका छन् । आयात प्रतिस्थापन उद्योगको भूमिका खेलेका बुटवल उड इन्डस्ट्रिज, बुटवल प्याइउड फ्याक्ट्री, घिउ प्रशोधन उद्योगदेखि चर्चित बुटवल धागो कारखाना बन्द भइसकेका छन् । उद्योगतर्फ बुटवलले दरिलो पाइला चालेको थियो तर किन बन्द भए यी उद्योगहरू? यी उद्योग बन्द हुनुका कारणहरू खोतल्नाले नेपाली आर्थिक इतिहासको एउटा महत्त्वपूर्ण पाठको पट्टाक्षेप हुने सम्भावना देखिन्छ ।
सहर चुम्बकजस्तो हुन्छ । यसले मान्छेलाई सपना देखाउँछ । त्यही सपनाको खोजीमा मान्छेहरू गाउँबाट सहर आउँछन् । बुटवल पनि यस्तै रहरैरहरको सहर हो । एकपटक भलाकुसारीमा बुटवलका इतिहास अध्येता विमलबहादुर शाक्यले भनेका थिए, ‘बुटवलमा बाँच्न गाह्रो छैन । जे काम गरे पनि मान्छे बाँचिहाल्छ ।’
आन्तर्यमा जीवन ऊर्जा संरक्षण गरेको बुटवलमा डोकोमा फलफूल र तरकारी बेच्न हिँडेका महिलाहरू देखिन्छन् । हिउँदमा मुस्ताङदेखि जुम्लासम्मका घुमन्ते व्यापारी देखिन्छन् । भारतका विभिन्न ठाउँका मान्छेहरू चिया बेच्दै, रिक्सा चलाउँदै हिँडेका भेटिन्छन् ।
२०७६को पुसको चिसोमा पंक्तिकारले केही रिक्सा हाँक्ने मजदुरसँग कुराकानी गरेको थियो । कुराकानीको खास विषय इलेक्ट्रिक अटो रिक्साको प्रचलन प्रचऽर भएको बेलामा पनि उनीहरू किन पाइडल मारीमारी रिक्सा चलाइरहेका छन् भन्ने थियो । कुराकानीका सिलसिलामा एक मजदुरले बुटवल रोज्नुको कारण सुनाएका थिए । उनी भारतका विभिन्न सहर पुगेका रहेछन् । अनेकौं काम गरेका रहेछन् । उनकोअनुभवमा भारतकासहरमा अनुभव गर्न नसकेको अपनत्व उनले बुटवलमा पाएका थिए । उनलाई बुटवल सुरक्षित लाग्यो । बुटवलसँग यस्ता अनेकौं कथा छन् । बुटवलले धेरैलाई सहरिया बनाएको छ ।
पछिल्लो समय बुटवलमा होटल, क्याफेदेखि निजी अस्पतालहरूको थुप्रो लागेको छ । धरातलीय यथार्थबाट हेर्दा बुटवलले परनिर्भरताको खेती गरेजस्तो देखिन्छ । बुटवल झिलिमिली देखिन्छ । उन्मुक्त र स्वतन्त्र देखिन्छ । तर, सारमा बुटवल परनिर्भरताको चक्र चलाउने दलाल अर्थतन्त्रको केन्द्र बनेको छ । होटल, रेस्टुराँ, पब, बार आदिमा भएको लगानीले पुँजीलाई लगानी र पुनः लगानीको चक्रमा प्रयोग गरेको छैन । यसले केवल केहीछिनबजारलाई चलायमान गराएको छ । पुँजी यो सहरमा नाचेको छ र दोब्बर–तेब्बर भएर सीमा नाघेको छ । यसरी सहरले दलाल अर्थतन्त्रको पुनःउत्पादन गरिरहेको छ ।
उद्योगको जग बसाल्दै गरेको बुटवल औद्योगिक प्रगतितर्फ लम्कँदै गएको थियो । उद्योगले सेवा क्षेत्रलाई थप विस्तार गराउँदै जाँदा रोजगारीका अवसरहरू पनि सिर्जना हुने सम्भावना बढ्दो थियो । तर, यी सम्भावना खुम्चिँदै गएका छन् । सम्भावना खुम्चिँदै जाँदा सहरको आश्रय दिने क्षमता पनि कमजोर हुँदै जान्छ । बुटवलको यो क्षमता बढाउन हाम्रा राजनीतिक प्रयास पनि उत्तिकै आवश्यक छ । ऐतिहासिक विरासत बोकेको बुटवलको पहिचान के हो ? यो व्यापारिक थलो मात्र हो वा औद्योगिक नगरी पनि ? यो शिक्षाको केन्द्र बन्दै छ कि पर्यटन र होटल व्यवसायको ? बुटवलको दीर्घजीवनका लागि यसको पहिचान निर्दिष्ट हुन जरुरी छ ।
प्रदेश राजधानीको अवसर गुमेपछि बुटवल प्रशासनिक केन्द्र पनि बन्ने अवसरबाट वञ्चित भएको छ । त्यस्तै,वैकल्पिक सडक सञ्जालको विस्तारसँगै बुटवलको पहाड र मधेसका विभिन्न ग्रामीण भेगसँगको सम्बन्ध पनि खुकुलो बन्दै छ । अब दलाल अर्थतन्त्र पुनःउत्पादन गर्ने बजारमात्र बन्ने कि आत्मनिर्भरताको सम्भावना पनि बोक्ने भन्ने बुटवलको ज्वलन्त प्रश्न बन्न पुगेको छ ।
प्रकाशित : माघ २१, २०७९ ०७:५८