कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्यारासुट रिपोर्टिङ अनुभव : डोल्पाबासीको खुशी

सञ्जीव बगाले

काठमाडौँ — सुर्खेतमा इन्धन हालेर डोल्पा उड्ने क्रममा हेलिकप्टरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग छोटो कुराकानी गर्ने मौका मिल्यो । हेलिकप्टरबाट कर्णालीका डरलाग्दा भिर हेर्दै जाँदा उनले भने, यो ठाउमा जंगल बनाएर शिकार क्षेत्र बनाउनुपर्छ अनि बल्ल यो क्षेत्रको विकास हुन्छ ।

एउटा घर र अर्को घरको दुरीका कारण जनतालाई सेवा सुविधा दिन कठिन भएको भन्दै उनले एकीकृत बस्तीको विकास गर्नुको बिकल्प नरहेको समेत मलाई सुनाए ।


उनको यति कुरा सकिंदै गर्दा हेलीकप्टरले पनि आफ्नो उचाई घटाउदै लगेको थियो । जब भेरी नदीको थोरै मात्रै माथी—माथी हेलीकप्टर उड्दै थियो, तल सडकमा भने सर्वसाधरणको भिड लागेको देख्न सकिन्थ्यो । भर्खरै मात्र नेपाली सेनाले खनेको धुले सडकमा हेलिकप्टरको पंखाले उडाएको धुलोले सडक धुलोमय बनेको थियो ।


दुईतिर डरलाग्दो भिर बिचमा गहिरो गरि बगेको भेरी अनि भेरी किनारमा खनिएको सडक । यस्तो अत्यास लाग्दो भिर फोरेर ट्रयाक खोल्न नेपाली सेना कसरी सफल भयो होला? जो कोहीका मनमा पनि यो प्रश्न उठिहाल्छन् ।


भेरी नदीको किनारमा अवतरण गरेको हेलिकप्टरबाट ओर्लिएर सडकतिर लाग्दा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकका स्थानीयहरु यति धेरै खुशी थिए की जसलाई उनीहरुले व्यक्त गर्न नै सकेका थिएनन् । कोही खाली खुट्टै आएका थिए, कोही काखे बालक च्यापेर सडकमा गाडी हेर्न आइपुगेका थिए । हेलिकप्टरका दृष्यबाट भिर पखेरमा बनेका घरहरु देख्दा यहाँका जनता कति दु:खी होलान भन्ने मनमा लागेको थियो । तर गाडी देख्दा खुशी भएको उनीहरुको मन र हाँसिलो त्यो अनुहार देख्दा मलाई लाग्यो—संसारका सबै दु:ख लुकाउन सक्ने मनहरु यिनका अगाडी फिका हुन्छन् ।


कच्ची बाटो अनि अस्थाई रुपमा गाडी गुड्न सक्ने सडक बनेर पहिलो पटक घर नजिकै गाडी पुगेपछि त्रिपुरासुन्दरीको सिरवेन्डेमा बाजागाजासहित स्थानीय आएका थिए । उनीहरुले हेलिकप्टरबाट गाडी उद्घाटन गर्न पुगेका भिआइपीहरुलाई भव्य स्वागत गरे । धुलो उडाउदै गुडिरहेका जिप र ट्याक्टरका पछाडी कुद्दा उनीहरुलाई असीम आनन्द आइरहेको थियो । ट्याक्टरमा झुण्डिन पाउदा कति रमाए होलान म व्यक्त गर्न सक्दिन ।


६३ वर्षीय विश्वमती बोहराले जीवनमा गाडी देख्न पाउनु आफ्नो ठुलो भाग्य भएको बताइन् । उनले भनिन्, ‘अब त हाम्रा दु:खका दिन गए । बुढाबुढी भएपछि हिड्न गाह्रो हुन्छ । गाडी आयो अब सजिलो भयो ।’


कोही स्थानीय त भन्दै थिए, सहरबाट ठुला ठुला नेताज्युहरु आउनुभयो । हामीले देख्न पायौं । हामी धन्य भयौं । कसले सडकमा गाडी गुडाउने उद्घाटन गर्‍यो को—को आए धेरैलाई थाहा थिएन । धेरैलाई यति थाहा थियो की सडक बन्यो गाडी आयो ।


सडकको उद्घाटन गरेर रक्षा मन्त्री र प्रधानसेनापतिसहितको हेलिकप्टर उडेको केही बेरपछि पत्रकार, केही सरकारी कर्मचारी र विकास निर्माण निर्देशनालयका उच्च अधिकृत सहभागी हेलिकप्टर उड्यो । त्यो भन्दा पहिला हेलिकप्टरसम्म पुग्नका लागि केही बेर हिड्न परेको थियो । त्यही हिड्ने क्रममा म केही सर्वसाधरणसँग कुरा गर्न अल्मलिएँ । दुर्गम क्षेत्रका जनताका बोलीलाई समाचार बनाउन सकिन्छ की भनेर मैले एकजना स्थानीयसँग कुरा गर्दै थिएँ । त्यहीबेला माथीबाट सानातिना ढुगां खस्न थाले म निमेषभरमै क्यामेरा अफ नै नगरी कुदी हालें । अलिकति अगाडि आउदा त हामी जाने हेलीकप्टर उड्न ठिक्क परेको रहेछ । धन्न म कुद्दै गएँ र मलाई सुरक्षितसाथ सेनाका जमदारले हेलिकप्टरभित्र राखे । मलाई एकछिन दौडदा यति गाह्रो भयो भने दिनरात यहाँको भिरसँग जुध्ने डोल्पालीलाई कति गाह्रो होला । सानो ढुंगा खस्दा म त्यसरी भागे यहाँका बासिन्दाहरु यस्ता धेरै र ठुला—ठुला ढुगांलाई झुक्याएर बाचिरहेका छन् ।


लगभग पन्ध्र मिनेटमा हेलिकप्टर त्रिपुरासुन्दरीको छलगाडमा अवतरण गर्यो । त्यहा पनि स्थानीय उत्तिकै फुरुगं थिए । बालबालिकामा देखिएको खुशी त अझै लोभलाग्दो थियो । मैले आफ्नो बाल्यकाल सम्झिएँ झण्डै तीन दशक अघि गाउँमा डोजर पुग्दा हामी त्यसरी नै कुदेका थियौं । मलाई लाग्यो उनीहरुको गाउँ मेरो गाउँभन्दा तीस वर्ष पछाडि छ । मैले सोचे, सायद उनीहरुले कुनै दिन त्यो ठाउँमा कालोपत्रे भएको सडकमै गाडी गुडेको देख्नेछन् र रमाउन पाउनेछन् ।


त्यहाँ जाजरकोट दुनै सडक ट्रयाकको उद्घाटन गर्ने सिलालेख नै राखिएको थियो । त्यही सिलालेखको अनावरण गरेर रक्षामन्त्रीले जाजरकोट (दुनै) सडक खण्डको उदघाटन गरे । त्यसपछि झण्डै डेढ घण्टा जति भाषणको कार्यक्रम सुरु भयो । म भने क्यामेरा लिएर यता उता हिडे । यि नेता र मन्त्रीको भाषण काठमाडौंमै जति सुन्न पाइएको छ । यिनका आश्वासन पनि नयाँ लाग्दैनन् भनेर गाडी हेर्न आउनेका अनुभुतिहरु संगाल्न थाले । स्थानीयलाई गाडी आएपछि दुई थरी परिवर्तन हुन्छ भन्ने लागेको छ । कोही गाडी आएपछि डोल्पाका स्याउ, ओखरलगायतका उत्पादनहरु बिक्री हुने बताउछन् भने कोही भने गाडी आएपनि गरिबका लागि केही नहुने भनेर निराशा व्यक्त गर्छन । स्थानीयले बेच्न ल्याएको एउटा स्याउको पाँच र ओखरको पनि पाँचै रुपैया पर्थ्यो । यति सस्तो हुँदाहुँदै पनि बिक्री भइरहेको थिएन । के अब बन्ने सडकले यो स्याउ र ओखरको मुल्य दिन्छ होला ?


स्थानीयसँग कुरा गर्दे जाँदा थाहा भयो ट्रयाक खुलेपनि दुनैसम्म सवारी साधन पुग्न कठिन छ । छलगाडदेखि दुनैसम्मको १४ किमि ट्रयाक बिभिन्न संघसंस्था र सांसद विकास कोषको सहयोगमा जिल्ला विकास समितिले खोलेको छ । तीन मिटर मात्रै चौडा भएकोले त्यसलाई अझै स्तरोन्नती गर्नुपर्ने छ । त्यो सडक पनि सेनाले बनाओस भन्ने स्थानीयको चाहना छ । स्थानीयसँग कुरा गर्दै गर्दा मञ्चमा भाषण गरेको सुनियो, सिरानीमा सुन राखेर नुन खोज्ने डोल्पालीका दिन अब सुध्रन्छन् । मलाई भने पाँच वर्षअघि मुगुमा सडक पग्दा नेताहरुले यही बाक्य भनेको याद आयो । फरक यति हो त्यती बेला सेनाले खनेको सडकको उदघाटन गर्न प्रधानमन्त्री बाबुराम भट्टराई सहितको जम्बो टोली मुगु सदरमुकाम गमगढी पुगेको थियो । यस पटक भने सेनाले नै खनेको सडक उद्घाटन गर्न रक्षा मन्त्री इश्वर पोखरेलसहितको मिनि टोली त्रिपुराकोट आइपुगेको छ । नेताहरु आश्वासन कति सजिलै दिन्छन् तर पुरा कहिले हुन्छ कुनै ठेगान छैन । भाषण सकियो भिआइपीहरुसँगै हामी पनि फर्किन पर्ने भयो । डोल्पाको प्यारासुट रिपोर्टीङ पनि सकियो ।


जाजरकोटदेखि डोल्पा (दुनै)सम्मको ११७ किमि मध्ये नेपाली सेनाले दश वर्षमा १०३ किमि सडकको ट्रयाक खोल्ने काम सकेको हो । यद्यपी सुरुका दुई वर्ष जाजरकोट र रुकुमका स्थानीय वीचको रेखाङ्कन विवादले निर्माण कार्य अवरुद्ध भएको जजारकोट—डोल्पा (दुनै) सडक निर्माण कार्यदलका प्रमुख एवम् प्राविधिक प्रमुख सेनानी विश्बन्धु पहाडीले बताए । उनका अनुसार यो सडकमा साना ठुला गरि २० वटा पुल हाल्नुपर्छ ।

त्यो सडकमा तत्काल तीनवटा बेलीब्रीज हाल्न सके हिउँदमा दुनैसम्म गाडी चल्ने सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठको भनाई छ । तर, यो पुल हाल्ने काम सम्पन्न हुन पनि कुनै अभाव भएन भने ६ महिना लाग्छ । अहिले यो सडक ५ देखि साढे ५ मिटर चौडाको छ । यसलाई स्तरोन्नती गर्नका लागि कम्तीमा पनि ७ मिटर चौडा बनाउनुपर्छ ।

बजेट अभाव नभइकन काम गर्ने हो भने अब यो सडक कालोपत्रे हुन ४ वर्ष लाग्ने सडक पुर्वाधारका जानकारहरु बताउँछन् ।


त्यसका लागि २०७६/०७७ को बजेट भाषणमा यो आयोजना पर्नुपर्छ । त्यसपछि डिपीआर बनाउने र सडक स्तरोन्नतीको काम एकैसाथ अगाडि बढाउन सकिन्छ । यो काम तत्काल सुरु होला नहोला अनि सरकारले बजेट पनि छट्टाउला नछुट्टाउला त्यो सरकारको योजनामा भर पर्ने कुरा हो । तर, तत्कालका लागि तीनवटा बेलीब्रीज राख्न सके पनि ठुलै राहत हुनेछ । किनकि सडक पुग्दै नपुगेको भन्दा पुगेको राम्रो, कच्ची भएपनि सवारी साधन चलेको राम्रो, कालोपत्रे भएको त झनै राम्रो । म सोच्दैछु कालोपत्रे सडकमा भेरी किनारै—किनार हिड्दा मन कति रमाउछ होला । धुले सडक हेर्न आउने अधिकांश महिला र केटाकेटी थिए, सायद पुरुषहरु रोजगारीका लागि भारतका सहरहरुमा गएका छन् । यातायात सहितका पुर्वाधारले डोल्पालाई विकसित बनायो भने यहाँको स्याउ ओखर जडिबुटी सम्झेर युवाहरु विदेसीने छैनन् होला । बरु पर्यटक बनेर देशभरबाट छुट्टी मनाउन डोल्पा उक्लिनका भिड लाग्छ होला । त्यसपछि त यसरी प्यारासुट रिपोर्टिङको अवसर कुरेर बस्नै पर्दैन । प्रकाशित : मंसिर १६, २०७५ १२:०६

प्रतिक्रिया
पठाउनुहोस्

करछली छिनोफानो कहिले ?

कान्तिपुर संवाददाता

काठमाडौँ — १० महिनामा पालो आएको एनसेल करछली मुद्दाको सुनुवाइ फेरि सरेछ ।

यो मुद्दा रकमकलमका हिसाबले सबैभन्दा ठूलो भन्न मिल्ने र करको सम्बन्धमा विज्ञता हासिल गरेका मुलुकभरका व्यक्ति र करसँग सरोकार राख्ने संघसंस्थाको अधिक चासो रहेको विषय हो । यस्तो प्रकृतिको मुद्दाको सुनुवाइ घरि–घरि सर्नुले मानिसमा न्यायप्रति उदासीनता बढाउँछ ।
महेशप्रसाद ढुंगाना, नयाँबानेश्वर, काठमाडौं

प्रकाशित : मंसिर १६, २०७५ ११:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×