तातोपानी कुण्डबाट कमाइ- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तातोपानी कुण्डबाट कमाइ

तातोपानी कुण्डलाई चीन र जापानले झैं नेपालले पनि विकास गर्न सक्छ । स्नान पर्यटन मात्र होइन, वैकल्पिक ऊर्जासमेत हासिल हुन्छ ।
नारायण घिमिरे

काठमाडौँ — तीर्थ र आरोग्यका लागि संसारभर तातोपानी कुण्डमा ‘तातोपानी कुण्डयात्री’ धाउने परम्परा छ । तातोपानीको छहरामा नुहाउँदा होस् या कुण्डमा डुबुल्की मार्दा, तातोपना, मिनरल र सूक्ष्म तत्त्वले शरीरलाई दिने थेरापी स्वास्थ्यलाभको वैकल्पिक उपचार हो ।

पृथ्वीको धेरै तल पुगेको पानी म्याग्माका कारण बेसरी तातेको पत्थरसँग सम्पर्कमा आउँदा तुरुन्तै तातो वाफ बन्छ । ठूलो दबाबमा पृथ्वीको सतहतिरै धकेलिन्छ । तातोपानीको मूल र कतिपय अवस्थामा फोहोराका रूपमा त्यो सतहमा पुगी तातोपानी कुण्ड बन्छ ।


माथि आउने क्रममा पृथ्वीको भित्री तहका क्याल्सियम, बाइकार्बोनेट, सिलिकेट, आइरन, सोडियम, म्याग्नेसियम, सिलिनियम, आर्सेनिक, आल्मुनियम, कपर, जिंक लिएर आउँछ । यस बाहेक पानीसंँगै कार्बनडाइ अक्साइड, हाइड्रोजन डाइसल्फाइड, नाइट्रोजन, अक्सिजन ग्याससमेत मिसिन्छ । नेपालका तातोपानी कुण्डमा सल्फर, सल्फेट, बाइकार्बोनेट, क्लोराइड, म्याग्नेसियम, पोटासियम, सोडियम, आर्सेनिक र बोरोनसमेत भेटिएको छ । पानीको पीएच ७ देखि ९ सम्म पाइएको अधिकांश तातोपानी कुण्डलाई तातो सल्फर कुण्ड भन्न मिल्छ ।


तातोपानी कुण्डमा हुने सल्फर र सल्फेटले शरीरका धेरै विकृति विरुद्ध उपयोगी देखिए पनि यो छालामा भएको इन्फेक्सन, श्वास–प्रश्वास, छाला पोल्ने र इन्फ्लामेसनको उपचारमा सहयोगी मानिन्छ । पिउने पानीमा सल्फेट धेरै हुँदा पखाला लाग्ने भए पनि छालामा मलमका रूपमा दल्दा यसले मांसपेशीलाई आराम दिन्छ । छालाका घाउखटिरामा भएका किटाणु मारी निको पार्न सहयोग गर्छ । सल्फेट एक महत्त्वपूर्ण केमोथेरापिक एजेन्टमात्र होइन, प्रभावकारी प्राकृतिक एन्टिसेप्टिक ड्रगसमेत भएकाले श्वास–प्रश्वास समस्यामा सुधार गर्नसकेको हो ।


छालालाई सुरक्षा दिने केराटिन प्रोटिन शरीरको इम्युनिटी व्यवस्थापन गडबडीमा अत्यधिक उत्पादन हुने, प्रतिरक्षा कोषिकाले आफ्नै कोषिकालाई वैरी ठानी आक्रमण गर्ने र मृत कोषिका बन्ने गर्दा छालामा रातो धब्बा हुने, पोल्ने, चिरचिराउने र कतिपय फुटेर रगत आउने हुन्छ । तातोपानीले असामान्य र घाउखटिरा भएका छालामा रक्तकोषिकाहरूको घनत्व बढाउँछ र प्रेसरमार्फत रक्तनलीभित्र जमेको फोहोर फाल्न सघाउँछ । बाइकार्बोनेटले जमेको फोहोर घुलाएर छालाको अन्त्यसम्म रक्तसञ्चार गराउँछ । छालाको चरचराहटमा कमी आउने, रक्तचाप घट्ने र घाउखटिरा निको पार्न सहयोगी हुन्छ ।


तातोपानी कुण्डमा डुब्दा पानीको प्रेसरले ग्रेभिटी विरुद्ध काम गरी हड्डीबाट शरीरको भार हटाई जोर्नीलाई ३६० डिग्रीमै सपोर्ट दिएर हल्का र खुकुलो बनाउने हुँदा दुखेको हड्डीले पूर्ण विश्राम पाउँछ । प्रशस्त पानी पिएर लगभग यो अवस्थामा शरीरलाई २० मिनेटभन्दा बढी राख्नसक्दा सुन्निएको कममात्र हुँदैन, भित्री दुखाइ कम हुँदै रक्तसञ्चार बढ्छ । वरपर जमेका फोहोर सफा हुन्छन् । पानीमा हुने क्लोरिनले दिने लामो समयको भौतिक र मनोवैज्ञानिक राहतका कारण मानिसलाई बाथजस्ता रोगबाट छुटकारा मिल्न सक्छ । सुचारु रक्तसञ्चार बाथरोग, जोर्नी सुन्निँदा, यातना र भयका कारण पैदा भएका शारीरिक तथा मानसिक विकृति र हड्डी तथा पाठेघरको रोग सम्बन्धी समस्यामा समेत सहयोगी हुने आममान्यता छ ।


सोडियमले बाथरोगमा हुने पीडा कम गर्न र शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय राख्न उत्तेजित गरिदिने गर्छ । पोटासियमले मुटुको धुकधुकी स्थिर गराउने, उच्च रक्तचाप घटाउने र छालामा रहेको विषादी फाली छालालाई स्वस्थ राख्ने आमविश्वास छ । छालामा प्राप्त हुने म्याग्नेसियमले रगतमा भएको चिनीलाई इनर्जीमा बदल्न र छालालाई दुरुस्त राख्न सहयोग पुर्‍याउँछ । पानीमा आर्सेनिक धेरै हुनु शरीरलाई हानिकारक हुने भए पनि सूक्ष्म मात्रामा यसको उपलब्धताले प्लाज्मा र टिस्युको वृद्धिमा सहयोग गर्छ । सूक्ष्म मात्रामा हुने बोरोनले मांसपेशीको तौल बढाउने, हड्डी बलियो पार्ने र न्युरोनलाई चुस्त राख्न सहयोग पुर्‍याउँछ ।


जापानमा कम्तीमा २५ डिग्री सेल्सियस र जर्मनीमा कम्तीमा २० डिग्री सेल्सियस तापक्रम नभएको कुण्डलाई तातोपानी कुण्ड मानिँदैन । कुण्डले तातोपानी कुण्डको मान्यता पाउन कम्तीमा २५ डिग्री सेल्सियस हुनुपर्ने मापदण्ड तोकिएको छ । नेपालका हालसम्म पहिचान भएका २३ तातोपानी कुण्डमध्ये प्रख्यात १४ वटाको सतहको तापक्रम मापन गर्दा दार्चुलाको श्रीबगर (५७–७३), जुम्लाको लुमा दहचौरी (२४), तिला नदी (३६–४२), जोमसोम (२१), मुस्ताङ तातोपानी (७१), साधु खोला (६९), म्याग्दी (४०), रियोर (३३), सुरई खोला (३७), चिलिमे (५५) र कोदारी (४२) डिग्री सेल्सियस भेटिएको छ । सिना, चमेलिया र बझाङका तातोपानी कुण्ड मनतातोमा (२०–३० डिग्री सेल्सियस) भएको रेकर्ड छ ।


ग्लोबल वेलनेस इन्स्टिच्युटको रिपोर्ट अनुसार सन् २०१७ मा संसारका १ सय २७ देशमा रहेका अनुमानित ३४ हजार ५७ तातोपानी कुण्ड व्यवसायले १.८ मिलियन रोजगार दिँदै तातोपानी कुण्डयात्रीबाट मात्र ५६.२ बिलियन डलर आय गरे । त्यो सम्पूर्ण वेलनेस टुरिजमको आयको ८.८ प्रतिशत हो । वार्षिक वृद्धिदर ६.५ प्रतिशत रहेको तातोपानी कुण्डयात्राले सन् २०२२ मा पुग्दा ५६.२ बिलियन डलरको आय दिने अनुमान छ ।


संसारका तातोपानी कुण्डमध्ये २५ हजार ९ सय १७ (७६.१ प्रतिशत) एसिया प्रशान्त क्षेत्रमै पर्छन् । तातोपानी कुण्डयात्रीबाट सबैभन्दा धेरै आय गर्ने पहिलो र दोस्रो देश चीन र जापान हुन् । तातोपानी कुण्डयात्रीबाट सबैभन्दा धेरै आय गर्ने संसारका २० देशको सूचीभित्र एसियाका फिलिपिन्स, भियतनाम, इन्डोनेसिया र थाइल्यान्ड परे पनि भारत पर्दैन ।


नेपालमा कतिवटा तातोपानी कुण्ड छन् त ? यसबारे लेखाजोखा छैन । यद्यपि नेपाल र तिब्बतको सिमानामा मात्रै कम्तीमा ५० तातोपानी कुण्ड रहेको अनुमान छ । म्याग्दी, मुस्ताङ, सुर्खेत, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा आदि ठाउँमा तातोपानीको स्रोत रहेको खबर छ ।


म्याग्दीमा मात्रै १४ वटा (तापक्रम ५०–५८ डिग्री सेल्सियस) कुण्ड बनाउन सकिने तातोपानीका स्रोत छन् । तीमध्ये ५ वटा बेनी नगरपालिका भित्रको म्याग्दी खोला किनारमा छन् । ९ वटा मुडीको बगर, दर्बङको भाले बास्ने पोखरी, भुरुङ तातोपानी, हिस्तान र घासाको कालीगण्डकी खोलाको तीरमा रहेका छन् । म्याग्दीमा वार्षिक २० हजारभन्दा बढी तातोपानी कुण्डयात्री पुग्ने सामान्य आँकडा हेर्दा काठमाडौंलाई मन्दिरै–मन्दिरको सहर भनेजस्तो नेपाललाई तातोपानी कुण्डै–कुण्डको मुलुक भनी संसारभरका तातोपानी कुण्डयात्रीलाई आकर्षण गर्न सकिने ठाउँ छ ।


तातोपानी कुण्डका मुख्य ग्राहक धेरैजसो बेबी बुमर छन् । नेपालका प्रकृति निर्मित लाभा र चिसो पानीसमेत नमिसिएको तातोपानी कुण्ड यातना, मानसिक आघात, युद्धका कारण तनावपूर्ण जीवन बिताइरहेकाहरूलाई आराम दिलाउन अब्बल ठानिन्छ । पृथ्वीको गर्भको लाभाबाट तातेका, पीएच ७ वा सोभन्दा माथिको क्षारीय पानी रहेको नेपालका तातोपानी कुण्ड उत्कृष्ट गन्तव्य हुन् । कुण्डका तमाम मिनरल्स पृथ्वीको भित्री भागबाट प्राकृतिक रूपमै आएकाले प्राकृतिक चर्म चिकित्साका लागि अब्बल गनिएका हुन् ।


संसारका पर्यटन संस्थाहरूले कुनै पनि मुलुकमा दिगो पर्यटनका लागि हुनुपर्ने १० आधारभूत खम्बामा होटल, यातायात, स्मारक, दर्शनीय स्थलकै हाराहारीमा तातोपानी कुण्डलाई समावेश गरेका छन् । पर्यटन नै नेपालको दिगो विकासको आधार भनी सुगारटान भइरहे पनि दोस्रो नेपाल भ्रमण वर्ष मनाइरहँदासमेत आफ्नो नाभीको कस्तुरीको पहिचान र सदुपयोग गर्न नसक्ने रोग हामीमा छ । तातोपानी कुण्ड स्नानका लागिमात्र होइन, विश्वले इन्धनका रूपमा प्रयोग गरिरहेका कोइला, पेट्रोलियम, युरेनियम, आणविक ऊर्जा आदि सकिने वा वैकल्पिक ऊर्जाको खोजी हुने अवस्थामा जियोथर्मल इनर्जीको स्रोतसमेत बन्न सक्छ ।


narayanghimire@yahoo.com

प्रकाशित : माघ ५, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्

३०८६१ हावाल्यान्ड

सिउँडी
विमल निभा

काठमाडौँ — बिदाको दिनमा पनि केटाकेटीहरूलाई स्कुलमा बोलाइएको थियो । कुनै महत्वपूर्ण कार्यक्रम नै हुनुपथ्र्याे । यससम्बन्धमा कसैलाई पनि केही जानकारी दिइएको थिएन । त्यसैले कुरो गोप्य नै थियो । सबैलाई स्कुल पछाडिको घाँसेचउरमा भेला गरिसकेपछि नयाँ स्काउट मास्टरसाबले भने, ‘तिमीहरूलाई किन बोलाइएको हो, थाहा छ ?’

‘थाहा छैन सर ।’ सबै केटाकेटीहरूले एकसाथ जवाफ दिए ।
‘आज हामी एउटा खास ठाउँमा जाँदैछौं भाइबहिनीहरू हो ।’
‘कहाँ सर ?’
‘सधैंजसो हाफपाइन्ट नलगाएका स्काउट मास्टरसाब दौरासुरुवाल र ढाकाटोपीमा मुस्कुराए । यो मुस्कानबाट कुनै भेउ पाउन नसकेर केटाकेटीहरूले उँचो आवाजमा दोहोर्‍याए, ‘कहाँ सर ?’

‘मैले भने नि, हामी एउटा खास ठाउँमा जाँदैछौं ।’ यसपटक स्काउट मास्टरको मुस्कान गहिरिएकोले उनको बाक्लो जुंगा हल्लियो, ‘हामी ठूलै ठाउँमा जाँदैछौं भाइबहिनीहरू ।’
‘नगरकोटमा हो सर ?’ ६ क्लासको मिङमाले सोध्यो ।

‘होइन, होइन ।’
‘त्यसो भए पिकनिकमा जाने होला सर ।’ चार क्लासकी नयनताराले सानो स्वरमा भनी ।
‘त्रिभुवन पार्कमा हो सर ?’ तीन क्लासको रामाशिषले पनि सोध्यो ।

‘होइन, होइन, मैले अघि नै भनें नि, हामीलाई ठूलै ठाउँबाट बोलाइएको छ ।’ स्काउटमास्टरको ओठको मुस्कान रोकिएको थिएन ।
‘कुन ठूलो ठाउँबाट सर ?’ सबैका आवाज फेरि एकैचोटी गुन्जियो ।

‘हामीलाई बालुवाटारबाट निम्तो आएको छ भाइबहिनीहरू ।’
‘के बालुवाटार सर ?’

यो प्रश्न सुनेर स्काउटमास्टरसाब एक्कासी गम्भीर भए । उनले घाँसेचउरमा गोलाकार भएर उभिएका केटाकेटीहरूलाई पालैपालोसँग हेरे । अनि आफ्नो भारी आवाजमा भने, ‘भाइबहिनीहरू, बालुवाटार कुनै सानो ठाउँ होइन । हाम्रो मुलुकको ठूलो मानिस बस्ने ठूलो ठाउँ हो । यति पनि तिमीहरूलाई थाहा छैन ?’

‘थाहा छैन सर ।’
‘राजा बस्ने ठाउँ हो सर ?’ एक क्लासको अष्टमानले सोध्यो ।
‘होइन, मन्त्री बस्ने ठाउँ हो ।’ यसको जवाफ दुई क्लासको अनवरले दियो ।
‘तर कसरी जाने सर ?’ अष्टमानले तुरुन्तै भन्यो, ‘हाम्रो स्कुलको बस त बिग्रिएको छ ।’

‘हो सर, बस बिग्रिएको एक महिनाभन्दा बढी भइसकेको छ सर ।’ सबैले लगत्तै ठूलो स्वर पारेर भने, ‘हाम्रो बस कहिले बन्छ सर ?’
‘बस बिग्रिएर केही भएको छैन ।’ अलिकति तल ढल्किएको ढाकाटोपीलाई हातले मिलाउँदै स्काउटमास्टरले भने, ‘हामीलाई लिन बालुवाटारबाट ठूलो गाडी आएको छ ।’

हावाको रफ्तारमा हुइँकिएर पहेँलो रंगको ठूलो गाडी अघि बढ्यो । त्यसपछि सहिदगेट, रत्नपार्क, दरबारमार्ग, नक्साल र गैरीधारा हुँदै भाटभटेनी पुग्यो । स्काउट मास्टरसाब गाडीको ड्राइभरसँगै अघिल्तिरको सीटमा बसेका थिए । र केटाकेटीहरू भने आआफ्ना सीटमा बसेर रमाइरहेका थिए । पुरै सडक खाली थियो । किनभने बालुवाटारको पहेँलो रंगको ठूलो गाडी देखेर सबै साइकल, ट्याम्पु, माइक्रोबस, मिनिबस आदि सडकछेउमा रोकिएका थिए । केहीबेरपछि बालुवाटार पनि आइपुग्यो ।

‘भाइबहिनीहरू, विस्तारै लाइन लगाएर ओर्ल ।’ केही बलिया पुलिसजस्ता देखिनेहरू गेटमा उभिएका थिए ।
‘यहाँ आइपुग्न तिमीहरूलाई कुनै अप्ठ्यारो त भएन ?’ एक मोटे पुलिसले केटाकेटीहरूसँग सोध्यो ।
‘कसरी अप्ठ्यारो हुन्छ ?’ एक्कासी फुच्ची नयनताराले भनी ।

‘किन नानी, किन अप्ठ्यारो भएन ?’
‘बाटो त खालि थियो नि ।’ नयनताराले जवाफमा भनी ।
‘हो, हाम्रो बाटोमा कोही पनि थिएन ।’ सबैले एक स्वरमा नयनताराको कुरामा सही थापे ।

सबै केटाकेटीहरूलाई भित्र हलमा लगियो । त्यहाँ लामोखाले सीसाको टेबुलमा थरीथरीका खानेकुराहरू सजाएर राखिएको थियो । मिठाइ, विस्कुट, फलफूल, पाउरोटी, मोमो, केक, चाउचाउ, सेल, तरकारी, भुजिया, चिउरा इत्यादि । केटाकेटीहरूले आआफ्नो मन परेको खाना पेटभरि खाए ।

एक घन्टापछि कालो चस्मा लगाएको एक जना त्यहाँ देखापर्‍यो । पुक्क परेको गाला । केही उक्सेको पेट । (हलुका मुस्कानसहित) । एक्कासी सबै जर्‍याकजुरुक खडा भए । र पुलिसजस्ता देखिनेहरूले फटाफट स्यालुट मारे । हाम्रो स्काउट मास्टरसाबले पनि यही मुद्रामा सँगसँगै भुइँमा जुत्ता बजारे । त्यसपछि उनले केटाकेटीहरूलाई विस्तारै फुसफुसाएर के जानकारी दिए भने ‘उहाँले नै माया गरेर तिमीहरूलाई यहाँ आउने निम्तो दिनुभएको हो ।’ सबै केटाकेटीहरूलाई देखेर पुक्क गाला भएको व्यक्ति मुसुमुसु मुद्रामा हाँसिरहेका थिए ।

वास्तवमा यिनै बालुवाटारका वडाहाकिमद्वारा विशेष भाषण दिने कार्यक्रम थियो । यही सिलसिलामा स्कुलका केटाकेटीहरूलाई बालुवाटार बोलाइएको थियो । अन्य स्कुलका थुप्रै केटाकेटीहरू पनि अर्काे मुख्य हलमा जम्मा थिए । त्यहाँ ठूलै मञ्च बनाइएको थियो । र केटाकेटीहरूलाई बस्नका लागि लहरै रंगीचंगी कुर्सीहरू । सबै केटाकेटीहरू कुर्सीमा बसिसकेपछि बालुवाटारका बडाहाकिमले माइक समातेर भाषण दिन थाले ।

भाइबहिनीहरू हो, तिमीहरूलाई यहाँ बोलाइएको कारण के हो भने सानैदेखि नै भाइबहिनीहरूले केही कुराहरू राम्ररी बुझ्नुपर्ने हुन्छ । सबैलाई थाहै छ, म मुलुकलाई राम्रो बनाउन लागेको छु । हाम्रो समृद्ध मुलुक । यही प्रयासमा काम धेरै अगाडि बढिसकेको छ । कहाँसम्म भने हामीले मुलुकको सीमालाई नै नाघिसकेका छौं । यति मात्र होइन, यो पृथ्वीभन्दा माथि पुगिसकेका छौं ।

अब म यसलाई अझ राम्ररी भन्छु, ध्यान दिएर सुन भाइबहिनीहरू । हेर, यहाँभन्दा पाँच प्रकाश वर्ष पर एउटा ग्रह छ । त्यसलाई मैले नै खोज्न लगाएको हुँ । र प्रकाश वर्षबारे तिमीहरूले आआफ्नो विज्ञानकक्षामा पढेको हुनुपर्छ । मैले पनि आफ्नो स्कुलकालमा पढेको छु । यो प्रकाश झन्डै तीन लाखप्रति सेकेन्डको हिसाबले अघि बढ्ने गर्छ । यही गतिमा हिंड्ने हावाको जहाज पनि हामीले तयार गरिसकेका छौं । यो आरएनएसीको हवाइजहाज जस्तो होइन नि ! यही हावाजहाजमा बसाएर सबै देशबासीलाई त्यो ग्रहमा लैजाने मेरो योजना हो । त्यो पृथ्वीजस्तै आफ्नै सूर्यको ह्याबिटेबल जोनमा रहेको छ । हाम्रो नयाँ पृथ्वी । र त्यसको नाम हो– ३०८६१ हावाल्याण्ड ।

हावाल्याण्ड कुनै सामान्य खालको ग्रह होइन । जस्तो कि नामले नै थाहा हुन्छ– ३०८६१ हावाल्याण्ड हो । ३०८६१ को माने के हो भने हाम्रो यहाँको ३०८६१ दिन बराबर त्यहाँ एक दिन हुन्छ । र हामी त्यहाँ एक दिनमा ३०८६१ दिनको काम गरिसक्नेछौं । त्यो हावाल्याण्डमा सबै काम यही हावाको बेगमा हुनेछ । अनि हामी हावाको सहर बसाउने छौं । हाम्रो हावाको राजधानी हुनेछ । त्यहाँ हावाका सडकहरू हुनेछन् । हामी हावाको घरमा बस्नेछौं । हावाको भान्साकोठा हुनेछ । र हामी सबै हावाको खाना खानेछौं । अनि हावाको मोटरमा बसेर हावाको सडकमा सरर गुड्नेछौं । सबथोक हावाको हुनेछ । हावाको फ्याक्ट्री । र त्यहाँ हावाको मेसिनहरू हुनेछन् । त्यसको उत्पादन हावाको हुनेछ । हामी हावाको व्यापार गर्नेछौं । र यसरी हावाको उन्नति हुनेछ ।

हावाको ३०८६१ हावाल्याण्डको खोज किन गरिएको हो भने त्यो ठ्याक्कै हाम्रो मुलुक नेपालजस्तो रहेको छ । उही आकारको । नक्सामा उही आकारको देखिए पनि असलमा ३०८६१ हावाल्याण्ड हाम्रो मुलुकभन्दा हजारौं गुना ठूलो रहेको छ । र यसलाई म अझ ठूलो बनाउन लगाउनेछु । हावाको भएकोले जति पनि ठूलो पार्न सकिनेछ । मलाई सानो मुलुक मन पर्दैन । त्यसैले हाम्रो ३०८६१ हावाल्याण्ड धेरै नै ठूलो हुनेछ । र हामी सबै ठूलो मुलुकको बासिन्दा हुनेछौं । ३०८६१ हावाल्याण्डको नागरिक ।

भाइबहिनीहरू, तिमीहरू सबै तयार भएर बस । सबभन्दा पहिले म ससाना केटाकेटीहरूलाई ३०८६१ हावाल्याण्डमा पठाउने छु । त्यसपछि विस्तारै ठूलाहरूका पालो आउनेछ । यसरी हामी सबै त्यो ग्रहमा पुग्नेछौं । त्यही हाम्रो असल मुलुक हुनेछ । अब त्यो दिन टाढा छैन भाइबहिनीहरू । हाम्रो समृद्धिको हावाल्याण्ड । जय ३०८६१ हावाल्याण्ड !

प्रकाशित : माघ ५, २०७५ ०९:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×