वामपन्थी पुस्तकका पाठक

नेपालमा वामपन्थी सिद्धान्त र साहित्यमा समर्पित पुस्तक पसलहरू कि बन्द भइसकेका छन् कि आफूलाई बजारको माग अनुसार ढाल्न बाध्य भएका छन् ।
शिशिर वैद्य

काठमाडौँ — ‘अनुभव भएकाहरूले पनि सिद्धान्तको अध्ययनमा लाग्नैपर्छ र गम्भीरतापूर्वक पढ्नैपर्छ । अनिमात्र उनीहरू आफ्नो अनुभवलाई व्यवस्थित पार्न तथा सार रूप दिन र सिद्धान्तको स्तर उठाउन समर्थ हुनेछन् ।’के आजका कम्युनिष्ट/वामपन्थी/मार्क्सवादी/लेनिनवादी/ या माओ विचारधारामा विश्वास राख्नेहरू कसैले पनि माओत्सेतुङका उपरोक्त उक्ति अनुशरण गर्छन् ?

सैद्धान्तिक पुस्तक अध्ययनमा रूचि राख्छन् ? कस्तो छ वामपन्थी र कम्युनिष्ट साहित्यको वर्तमान नेपाली बजार ?


पुस्तकप्रेमी भन्छन्– ‘पुस्तक पसल सुमधुर संयोगको अखडा हो । नयाँ, पुराना लेखकहरू, नयाँ विचारहरू, धारणाहरू पुस्तकाकृत भएर बसेको हुन्छ, त्यहाँ ।’ पुस्तक कारोबारले पढ्नेको संख्या र प्रवृत्ति थाहा पाउन मद्दत गर्छ । तर नेपालमा वामपन्थी सिद्धान्त र साहित्यमा समर्पित पुस्तक पसलहरू कि बन्द भइसकेका छन् कि आफूलाई बजारको माग अनुसार ढाल्न बाध्य भएका छन् । बजारको माग अर्थात् स्कुल, कलेज, लोकसेवा तयारी, पत्रपत्रिका र स्टेसनरी आदि सामग्री ।


बागबजारस्थित ‘प्रगति पुस्तक’का भूपनारायण पोखरेलले आफ्नो पसलबाट वामपन्थी सिद्धान्त र साहित्यका पुस्तक विस्तारै घटाउँदै गएका छन् । प्रकाशक समेत रहेका पोखरेलले वामपन्थी सिद्धान्तका पुस्तक प्रकाशन नगरेको वर्षौं बितेको छ । भन्छन्– ‘बिक्री नै हुँदैन, कोही खोज्नै आउँदैनन् । छापेर थन्क्याउन किन लगानी गर्ने ।’ पोखरेलका अनुसार हप्तामा एक–दुई अलि पाका र पुराना वामपन्थी केही नयाँ पुस्तक छ कि भनी सोध्दै आउँछन्, नत्र लगभग शून्य छ, बिक्री । नयाँ पुस्ता ? उनी तर्किंदै भन्छन्– ‘पढ्दैनन्, कोही पढ्दैनन् । सबै कमाउन लागेका छन् ।’ पोखरेल बेला–बेला पसल बाहिर टेबलमा वामपन्थी साहित्य र सिद्धान्तका पुराना पुस्तक पसार्छन् । कहिले दस रूपैयाँ मूल्य तोक्छन्, कहिले बीस । पढ्ने रूचि भएका कार्यकता नभएपछि जतिसुकै कम मूल्यमा पुस्तक पसारे पनि बिक्री नहुँदो रहेछ भन्छन् उनी ।


अद्वैत मार्गमा ‘पुस्तक संसार’ सञ्चालन गरिरहेका गुणप्रसाद आचार्यको जवाफ पनि उस्तै छ । आचार्य पहिले वामपन्थी सिद्धान्त र साहित्य बिक्री गर्न कलकत्ता, दिल्लीसम्म पुग्थे । बुटवल, झापा, चितवन, जनकपुर आदि स्थानमा भएका कुनै पनि सभा–समारोहमा हजारौं पुस्तक बिक्री गरेको सम्झना छ उनलाई । हाताहात बिक्री हुन्थ्यो । तर अहिले परिस्थिति त्यस्तो छैन । बिहान ५:३० मा खुल्ने उनको पसलमा वामपन्थी साहित्य र सिद्धान्तका पुस्तक खोज्न विरलैमात्र छिर्छन्, ग्राहक । पसलमा न्युन संख्यामा छन्, यस्ता पुस्तक । पछिल्लो चरणमा वामपन्थी पुस्तक प्रकाशनमा अलि नाम चलेको संस्था हो, ‘जागरण प्रकाशन’ । अद्वैत मार्गमै रहेको यस प्रकाशन गृहले पनि वामपन्थी पुस्तक प्रकाशन कम गरेको छ । थुप्रै वामपन्थी पुस्तक प्रकाशन गरिसकेको जागरण प्रकाशनको प्राथमिकता अहिले फेरिएको छ ।


बागबजारमा रहेको ‘विश्व नेपाली पुस्तक पसल’ वामपन्थी र कम्युनिष्ट साहित्यको प्रचार–प्रसारमा डटेर लाग्ने प्रणका साथ सुरु गरिएको थियो । एकीकृत वामपन्थी साहित्य प्रकाशन गृहका रूपमा विकास गर्न । यसको उद्देश्य थियो– वामपन्थी साहित्य र सिद्धान्तका पुस्तकको प्रकाशनमा चलिरहेको अस्वस्थ प्रतियोगिताको समाप्ति । प्रतियोगिता समाप्त त भएन, तर विश्व नेपाली आफै अर्को एक प्रकाशकका रूपमा बजारमा थपियो । स्वामित्व हस्तान्तरणको क्रम र केही वर्षको प्रकाशन र वितरण कार्यपछि उक्त पसल पनि वामपन्थी पुस्तक पसल रहेन ।


अहिले भूपनारायण र गुणप्रसादहरूले भोगिरहेको वामपन्थी साहित्य बिक्रीको शून्यता मैले तीन दशकअघि भोगिसकेको थिएँ । अलिअलि अक्षर चिन्ने भएदेखि पढ्न जानेका शब्दहरू थिए– माक्र्स, एंगेल्स, लेनिन, स्टालिन, माओ, होची मिन्ह, चाओ एनलाई, तेङ सियाओपिङ, किमइल सुङ, गोर्की, लुसुन, टोल्सटोय आदि । नेपाली नेताहरू र लेखकहरूमा पुष्पलाल, शम्भुराम, कृष्णदास श्रेष्ठ, मोदनाथ प्रश्रित, खगेन्द्र संग्रौला, शान्तदास मानन्धर, केवलपुरे किसान, रघु पन्त, मञ्जुल, रामेश, नकुल सिलवाल, सिद्धेश्वरमान श्रेष्ठ आदि । घरका दुई कोठा पुरै यस्तै र यिनै लेखकहरूका पुस्तकले भरिएका हुन्थे । दुई मध्ये एक कोठामा छिर्न हामीलाई वर्जित थियौं । बुबाले पसल सुरु गर्दा नेपालमा वामपन्थी साहित्य बेच्नु अपराध थियो । मानिसहरू पसलमा छिर्न हिच्किचाउँथे ।


त्यसैले चिनियाँ साहित्यिक पत्रपत्रिकाको आडमा अन्य पुस्तक पत्रिका बिक्री–वितरण हुन्थ्यो । विस्तारै चीन, भियतनाम, रूस, कोरिया आदि देशका साहित्य नेपालीमा अनुवाद र प्रकाशन हुनथाले । बिक्री–वितरणको केन्द्र थियो, वैद्य दाइको पसल अर्थात् ‘प्रगतिशील पुस्तक भण्डार, भोटाहिटी’ । मेरो अनुभवमा वामपन्थी साहित्य र सैद्धान्तिक पुस्तकका पाठक त्यो समयमा पनि कम नै थिए । त्यतिबेला बन्द समाज, कम्युनिष्ट पुस्तक किन्न र पढ्न असहजताको प्रमुख कारण थियो ।


तर जब–जब आन्दोलन हुन्थ्यो, आमसभाहरू हुन्थे, पुस्तकको बिक्री ह्वात्तै बढ्थ्यो । २०४६ सालको आन्दोलन लगत्तै वामपन्थी पुस्तकको माग एकाएक बढ्यो । जिल्ला–जिल्लाबाट आएको माग धान्न धौधौ पथ्र्यो । धनकुटा, धरान, विराटनगर, इटहरि, दमक, विर्तामोड, लहान, जनकपुर, वीरगन्ज, नारायणगढ, बुटवल, बाग्लुङ, पाल्पा, पोखरा, स्याङजा, नेपालगन्ज, भैरहवा, सुर्खेत आदि स्थानमा व्यापक रूपमा पुस्तक जान्थे । चीनबाट अंग्रेजीमा प्रकाशित माओ, लेनिन, स्टालिनका रचना एवं विभिन्न पत्रपत्रिका कलकत्ता, चेन्नई, दिल्ली, लखनऊ आदि भारतीय सहरहरूमा पठाइन्थ्यो ।


चीनबाट आउने एकमात्र राजनीतिक विचारधारा सहितको पत्रिका थियो, ‘पेकिङ रिभ्यु’ । थुप्रै नेता छद्म नाममा ग्राहक बनेका थिए । हरेक पत्रिका अञ्चलाधीश कार्यालयबाट सेन्सर गराएपछि मात्र बिक्रीका लागि राख्न पाइन्थ्यो । २०४७ सालको अन्त्यसँगै पुस्तक बिक्रीको ग्राफ एकाएक घट्यो । २०५२ सालमा माओवादी युद्ध सुरु भएसँगै माओका रचना र कम्युनिष्ट साहित्यको माग बढ्न थाल्यो । तर प्रशासनलाई माओको म उच्चारणले पनि तर्साउँथ्यो । पुस्तक बोक्नु, पढ्नु खतरनाक !

वरिष्ठ लेखक, बुद्धिजीवी एवं नेता कृष्णदास श्रेष्ठ कम्युनिष्ट भनेर चिनिने नेता–कार्यकर्तामा आएको पठन शून्यताप्रति चिन्ता व्यक्त गर्छन्, ‘कसले पढ्छ, अब माक्र्सवादका पुस्तक, सब पद र पैसाका पछाडि लागेका छन् । नेताहरूलाई वास्तै छैन । यही क्रमले त नेपाली परिवेशमा माक्र्सवादको विउ जोगाउनै समस्या भइसक्यो ।’ २०३५ सालदेखि माक्र्सवाद सम्बन्धी पुस्तक लेखन र अनुवाद सुरु गरेका श्रेष्ठ यस अघि भूमिगत नाममा पुस्तक लेख्थे, अनुवाद गर्थे ।


माओवादी युद्धको उत्कर्षमा कार्यकर्ताहरू पुस्तकका लिष्ट बोकेर पसल–पसल चहार्थे । लुकी–लुकी भए पनि पुस्तक खोज्दै पढ्नेहरू थिए । अहिले अवस्था त्यस्तो छैन । पुस्तकहरू खुल्लमखुल्ला पाइन्छ । तर पाठक छैनन् । किन घट्दैछन् त पाठक ? किन पढ्दैनन् त कार्यकर्ता ? जब नेताहरू नै पढ्न छाड्छन्, कार्यकर्तालाई के पढ्न सुझाउन् उनीहरूले भन्छन् भूपनारायण पोखरेल । वरिष्ठ लेखक खगेन्द्र संग्रौला भन्छन्– ‘नवउदारवाद आएपछि मानिसहरू उपभोक्तावादी भए । छिटो आर्जन गर्ने, छिटो भोग गर्ने, मोज गर्ने प्रवृत्ति बढ्यो । पढ्ने–लेख्नेप्रति कसैको वास्ता भएन । पार्टीका नेताहरूले नै पढ्न छाडेपछि कार्यकर्ताले पढ्ने कुरै भएन ।’


युवा विश्लेषक एवं लेखक उज्ज्वल प्रसाईंको विश्लेषण पनि उस्तै छ– ‘जब पार्टीभित्र विचार र सिद्धान्तको बहस हुन छाड्छ, पार्टी प्रशिक्षण क्षणिक र सीमित विषयमा संकुचित हुन्छ, कार्यकर्ताले पढिरहनुपर्ने आवश्यकता देख्दैनन् । नेताको जयगान गाए विभिन्न पदमा पुग्ने भएपछि पढेर ज्ञानी भइरहनुपर्ने आवश्यकतै रहँदैन ।’ नेकपा (ने.क.पा.) का नेता एवं विश्लेषक घनश्याम भुषालले हालै एक बहसमा आफूहरू नयाँ पिढीलाई माक्र्सवाद पढाउने र पुरानालाई पुनर्ताजगी गराउने अभियानमा लागेको बताए । उनले बहसमा बोलेका पूर्व संकेतले वास्तविक रूप पाइसकेको छ । हालै भक्तपुरको खरिपाटीमा मदन भण्डारी एसियाली विद्यालय सञ्चालनमा आएको छ । कम्युनिजम पढाउने विशेष विद्यालय स्थापित भएको छ ।


माक्र्सवाद, लेनिनवाद र कम्युनिजमका बारेमा कार्यकर्ताहरूमा घट्दै गएको पठन संस्कृतिलाई उकास्न विद्यालय खुलेको छ । तर वर्तमान पुस्तक बजारको बिक्री शून्यताले दिने सन्देश भनेको चैं– ‘जब विचार र सिद्धान्तको बहसलाई समृद्धि र आर्थिक विकासका सपनाले अँचेट्छ, पाठकहरू त्यसै हराउन थाल्छन् ।’ प्रकाशित : आश्विन १३, २०७५ ०८:०६

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अरनिकोलाई खोजौं

इतिहास
शिशिर वैद्य

काठमाडौँ — तिब्बतमा बौद्धमार्गी र नेवारी तान्त्रिक कला विषयका अध्येता ब्रिटिस नागरिक रोबर्ट वियरका अनुसार विश्वका विभिन्न देशका संग्रहालयमा अरनिकोका कृति संगृहीत छन् । चिनियाँ सम्राट कुब्लाई खाँ र रानी छावीको चित्र ताइवानको राष्ट्रिय संग्रहालय पुगेको छ ।

अवलोकितेश्वरी ताराको चित्र अमेरिकाको क्लिभल्यान्ड कला संग्रहालयमा छ । महाँकालको मूर्ति पेरिसको संग्रहालयमा छ ।

ललितपुर महानगरपालिकाको प्रांगणमा महिनौंदेखि प्लास्टिकको घुम्टो ओढेर बसेको एउटा मूर्ति अनावरणको पर्खाइमा छ । मूर्ति राष्ट्रिय विभूति अरनिकोको हो । बलबाहु, आनिक, पालापु थुप्रै नामहरू रहे पनि नेपालीको मनमस्तिष्कमा बसेको नाम हो अरनिको । ‘सय जना कालीगढको नाइके बनेर तिब्बत गएका थिए उनी । सत्र वर्षकै उमेरमा नै चित्रकला, मूर्तिकला, संगीतकला, ढलोटकला आदि अनेक शिल्पकलामा निपुण थिए उनी । बौद्ध दर्शनमा समेत राम्रो दख्खल राख्थे । अद्वितीय कला प्रवीणता, कार्यकुशलता र विद्वता भएका अरनिकोले तिब्बतमा स्वर्ण स्तूपा निर्माण गरे । चीनका सम्राट कुबलाई खाँको इच्छा एवं आदेशबमोजिम राजधानी तातु (हाल बेइजिङ) मा पाई था अथवा ‘श्वेत चैत्य’ बनाए । उच्च ओहदा लिएर चीनमै घरजम गरेर बसे... ।’ सबैले पढेको अरनिको–कथा यही हो । तर अरनिको अझै मिथ नै छन् हाम्रा लागि ।


‘श्वेत चैत्य’ लाई नेपाल–चीन मित्रताको द्योतक मानिन्छ । देशको यश बढाउने काम गरेका थिए यी अनेक प्रतिभाका धनी, वास्तुविद्ले । ‘अरनिकोले आफ्नो शिल्पकलाले नेपालको वास्तुशैली र ललितकलाका विभिन्न विधालाई तिब्बत, चीन अनि दक्षिण पूर्वी एसियाका अन्य देशहरूमा फैलाए । शिल्पकलाको क्षेत्रमा यी देशहरूलाई उनले नेपालको ऋणी बनाए,’ इतिहास शिरोमणि बाबुराम आचार्यले लेखेका यी पंक्तिले अरनिकोको देन तिब्बत र चीनमा मात्र सीमित थिएन भन्ने प्रमाणित गर्छ ।


तर किन अझै मिथ छन् त अरनिको ? उनका कृतिहरूका केही अवशेष किन भेटिंदैन यहाँ ? भए, कस्तो अवस्थामा होलान् ? किन शोध र अनुसन्धान भएन उनको बारेमा ? कसबाट सिके होलान् उनले कलाकारिता ? कस्ता थिए होलान् उनी ? आनिक, बलबाहु, पालापु, अरनिको, के होला उनको खास नाम ? उनी जन्मेको सही साल कुन होला ? (कसैले १२४३ लेखेका छन्, कसैले १२४४ (इसं) । जन्म स्थान ? कुल ? के थियो ? तिब्बत र चीनमा उनले बनाएका अन्य कलाकृति कहाँ कस्तो अवस्थामा छन् ? यस्ता थुप्रै विषयअझै अनुत्तरित छन् । नेपाली वास्तुविद्, कलाकार तथा राज्य किन मौन छ यस विषयमा ?


यिनै खुल्दुली मेट्ने प्रयासमा भेटिएको थियो संस्कृतिविद् सत्यमोहन जोशीलिखित पुस्तक ‘कलाकार अरनिको–द वेलनन नेपाली आर्किटेक्ट’ । तीन दशकअघि २०४४ सालमा प्रकाशित पुस्तक अरनिकोको विषयमा लेखिएको पुस्तकमा लेखकले चीनमा बस्दा अरनिकोका बारेमा भेटेसम्मको इतिहास संकलन गरेका छन् । जोशीले ‘नेपालया राष्ट्रिय विभूति कलाकार अरनिकोया श्वेत चैत्य’ शीर्षकमा महाकाव्य नै लेखेका छन् । महाकाव्य नेपालभाषामा लोकशैलीमा लेखिएको छ । जोशीका कृतिमा संकलित अभिलेख तथा तस्बिरहरू कीर्तिपुरस्थित नेपाल भाषा प्रतिष्ठान हलको भित्तामा सजिएका छन् । मीनबहादुर शाक्यको अरनिकोलाई जीवित राख्ने यो प्रयास सराहनीय छ । अरनिको र नेपाली वास्तुकलाको इतिहासमा जोशीको यो अतुलनीय देन हो ।


चीनका लागि नेपालका पूर्वराजदूत निरञ्जन भट्टराईलिखित २०१८ सालमा प्रकाशित ‘चीन र त्यससित नेपालको सम्बन्ध’ पुस्तकमा अनुसन्धानात्मक छुट्टै एक परिच्छेद छ पुस्तकमा, आनिक शीर्षकमा । भट्टराई लेखेका छन्, ‘आनिकको विषयमा पूर्ण अनुसन्धानको निम्ति युवान साम्राज्यकालको इतिहास र समकालीन सम्बन्धित साहित्यको अध्ययन अत्यन्त आवश्यक छ ।’ भट्टराईले लेखेजस्तै अरनिको र उनको कृतिका विषयमा हामी जति पनि कुरा गर्छौं ती सबको आधार चिनियाँहरूले लेखिदिएको इतिहास रहेको देखिन्छ ।

अर्थात् अरनिकोको विषयमा हामी चिनियाँ इतिहास र इतिहासकारमा आश्रित छौं । हाम्रो इतिहासले अरनिकोका बारेमा ठोस बोलेको कहीं कतै भेटिंदैन । त्यसैले संस्कृतिविद् जोशीले लेखेका छन् ‘चिनियाँ इतिहासले नेपाली कलाकार अरनिकोको जीवनी र अमर कलाकृतिलाई सुनको अक्षरले लेखेर वास्तवमै नेपालीहरूलाई ऋणी बनाएका छन् । किनभने यदि अरनिकोको बारेमा उनीहरूले पनि केही उल्लेख नगरिदिएको भए उनको बारेमा हामी अनभिज्ञ नै हुने थियौं । न नेपाली वंशावलीमा चीन गएका कलाकार अरनिकोको बारेमा कहीं कतै उल्लेख छ, न उनले बनाएको कलाकृति भनेर चिन्ने कुनै वस्तु नै छ ।’


के छ त चिनियाँ इतिहासमा ? हामी अरनिको भन्छौं, चिनियाँहरू आनिक भन्छन् । श्वेत चैत्यलाई उनीहरू पाइथा भन्छन् । अरनिकोसँग सम्बन्धित युवान साम्राज्यकालको चिनियाँ इतिहास खोज्ने क्रममा भेटिए केही पुस्तक र इन्टरनेट सर्च गर्ने क्रममा पाइए केही अनुसन्धानपत्र । चिनियाँ पुरातत्त्व अन्वेषक तथा इतिहासकारहरूले चीनमा भेटिएका शिलापत्र तथा विभिन्न शासकहरूको वंशावलीमा कुँदिएका विवरणका आधारमा अरनिकोबारे थुप्रै खोजमूलक पुस्तक तथा अनुसन्धानपत्र तयार पारेका छन् । केही अंग्रेजीमा र धेरैजसो चिनियाँ भाषमा । तर चिनियाँ इतिहासकारहरूले प्रस्तुत गरेका केही तथ्य आपसमा बाझिन्छन् । कतै श्वेत चैत्य अरनिकोले पुनर्निर्माण मात्र गरेको लेखिएको भेटिन्छ । कतै अरनिको तिब्बत गएको साल त कतै उनको जन्ममिति फरक भेटिन्छन् । तर त्यसका बाबजुद पनि बिर्सन नहुने कुरा के हो भने, चीनले शताब्दीऔं अघि आफ्नो देशमा आएका नेपालका बहुप्रतिभाशाली कलाकार तथा वास्तुविद् र उनले तयार पारेका कृतिहरूलाई निकै सम्मानका साथ संरक्षण
गरेको छ ।


२०२९ सालको पहिलो दिन पहिलो टाँचा लागेको हुलाक टिकटमा अंकित थियो उनै अरनिकोको प्रतिमा । टिकटले सात सय वर्षअघिदेखि मिथका रूपमा रहेका एक यशस्वी कलाकारलाई आधिकारिक कदर प्रदान गरेको थियो । आधिकारिक यसकारण कि यो राज्यको तर्फबाट तयार पारिएको थियो ।


ठिटौलो केटो, दौरा–सुरुवाल लाएको, कम्मरमा पटुकी, देब्रे काँधमा गम्छा, भादगाउँले टोपी अनि हातमा कुची, औजार र कागजको बिटो । कसरी गरे होलान् कलाकारले कुनै ठोस प्रमाणबेगर आकृतिको कल्पना ? मनमा उर्लेका तर्कनाले फेरि अर्कै मोड लियो । यो त कुनै पनि कलाकारका लागि सजिलो काम अवश्य हुँदैन ! बुझ्दै जाँदा थाहा भयो । पैंतालीस वर्षअघि अरनिकोलाई हुलाक टिकटमा सजीवजस्तै लाग्ने गरी प्रतिमाकृत गरेका थिए, वरिष्ठ कलाकार कान्छाकुमार कर्माचार्य (केके कर्माचार्य) ले । कसरी बन्यो त यो आकृति ? कर्माचार्यसँगको भेटमा पहिलो जिज्ञासा यही थियो । अरनिकोलाई प्रतिमाकृत गर्नुअघि भेटेसम्म स्रोतहरूको अध्ययन गरेका थिए कर्माचार्यले । तर अध्ययन त्यति सजिलो थिएन । न कुनै अनुसन्धान भएका थियो, न कुनै ठोस प्रमाण थिए । थिए त केवल केही किंवदन्ती र लोकोक्ति ।


ह्षीकेश शाहको पुस्तक ‘हिरोज एन्ड बिल्डर्स अफ नेपाल’ मा भेटिएको अरनिकोको एक स्केच थियो उनीसँग । कलाकार अमर चित्रकारको कृति । त्यसबाहेक थियो पचास मिटर अग्लो ‘पाई था’ अर्थात् ‘श्वेत चैत्य’ को तस्बिर । केही रंगीन केही श्यामश्वेत । चिनियाँ भाषाका शिलापत्र र चिनियाँ इतिहासका केही पुस्तकहरू प्रमाणका रूपमा भए पनि ती नेपाली वा अंग्रजीमा थिएनन् । त्यसैले ती हुनु र नहुनुको कुनै अर्थ थिएन । आकृति बनाउनुअघि केही समकालीन र केही वरिष्ठ कलाकारहरूसँग सल्लाह लिन खोजे उनले । तर चित्तबुझ्दो सल्लाह कतैबाट पाएनन् । श्वेत चैत्य भ्रमण गरेर फर्केका नेपालीहरूसँगको छलफल कर्माचार्यका लागि निकै फलदायी रहयो । मुहार चित्र कर्माचार्यको विशेषता हो । तर अरनिकोको मुहार कस्तो बनाउने भन्दा पनि सात शताब्दीअगाडि कस्तो पहिरन थियो भन्ने चिन्ताले बढी पिरोलेको थियो उनलाई । यसका लागि उनी मानवशास्त्री डोरबहादुर विष्टसँग सल्लाह लिन पुगे । सल्लाहपछि उनी अरनिकोलाई नेपालीपन झल्किने आवरण दिने निष्कर्षमा पुगे । र तयार भयो अरनिकोको आकृति । अरनिकोको आकृतिसहितको टिकट डिजाइन गरिसक्दाको आत्मसन्तुष्टि कर्माचार्यको मुहारमा अझै देखिन्छ ।


कर्माचार्यकै आकृतिमा आधारित अरनिकोको पूर्ण कदको सालिक बेइजिङस्थित श्वेत चैत्य परिसरमा प्रतिस्थापित छ । ‘यो चिनियाँहरूले गरेको मेरो कलाको सम्मान हो,’ कर्माचार्य भन्छन् । धुलिखेलमा रहेको अरनिकोको अर्धकदको सालिक र ललितपुर महानगरको प्रांगणमा अनावरण हुन बाँकी सालिक कर्माचार्यकै चित्रमा आधारित छन् ।


नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्ले अरनिकोको मूर्ति बनाउने निर्णय पारित गरेको वर्षौं बितिसकेको छ । बजेट पनि निकासा भइसकेको छ । तर प्रथम प्राज्ञ परिषद्को कार्यकाल सकिएपछि मूर्ति बनाउने निर्णय फाइलमा थन्किएको छ । यसले प्राज्ञहरूबीचको कलहले एक महान् कलाकारले राज्यको तर्फबाट पाउने सम्मान ओझेलमा परेको छ ।


‘इतिहास लेख्ने परम्परा नरहेको परिप्रेक्ष्यमा अरनिकोका ती अमूल्य सांस्कृतिक सम्पदाबाट हामी वञ्चित मात्रै हुनुपरेको होइन, त्यससम्बन्धी यथार्थ तथ्य र जानकारीबाट पनि अनभिज्ञ हुनुपरेको छ । अरनिको हाम्रा लागि यस्ता दृष्टान्त हुन् जसको सम्बन्धमा हाम्रो इतिहास केही बोल्दैन । हाम्रोमा त्यसको वृत्तान्त कतै पाइँदैन ।’ साहित्यकार कृष्णचन्द्रसिं प्रधानले नेपाली इतिहासकारहरूलाई अरनिकोका विषयमा खोज गर्न तीस वर्षअघि नै यसरी झकझकाइसकेका थिए । तर अझै पनि अरनिको खोज्न हामी चिनियाँ इतिहास पल्टाउन बाध्य छौं । न ललितकला, न वास्तुकला, उच्च शिक्षाका कुनै पनि पाठयक्रममा अरनिको विषय समाविष्ट छैन । यति महान् वास्तुविद् एवं कलाकारको विषय पाठयक्रममा किन समावेश नगरिएको होला ? कला शिक्षकहरू भन्छन्, ‘के पढाउने ? पढाउनलाई केही त हुनुपर्‍यो नि स्रोत सामग्री ?


तिब्बतमा बौद्धमार्गी र नेवारी तान्त्रिक कला विषयका अध्येता ब्रिटिस नागरिक रोबर्ट वियरका अनुसार विश्वका विभिन्न देशका संग्रहालयमा अरनिकोका कृति संगृहीत छन् । चिनियाँ सम्राट कुब्लाई खाँ र रानी छावीको चित्र (पेन्टिङ) हाल ताइवानको राष्ट्रिय संग्रहालय पुगेको छ । अवलोकितेश्वरी ताराको चित्र अमेरिकाको क्लिभल्यान्ड कला संग्रहालयमा छ ।


महाँकालको मूर्ति पेरिसको संग्रहालयमा छ । तीन ठूला स्तूपा, नौ बौद्ध मन्दिर, चिनियाँ धर्म गुरु कम्फुसियसको चिहान, ताओ मन्दिर आदि थुप्रै कृतिहरू अरनिकोले बनाएका थिए । चिनियाँ अभिलेखहरूमा भेटिने यी कृतिहरू कस्तो अवस्थामा छन् ? कहाँ–कहाँ छन् ? यसबारे भेटिंदैनन् ।


सन् १३०६ मार्च ११ मा अरनिकोको मृत्यु भएको हो भनी उनको समाधिस्थलमा लेखिएको छ । तर जन्म कुन महिना र गतेमा भएको थियो भन्ने अझै यकिनसाथ भन्ने आधारहरू छैनन् । यसले नेपाली वास्तुविद्, कलाकार र इतिहासकारहरूका सामु अरनिकोबारे थुप्रै प्रश्नको जवाफ खोज्ने दायित्व बाँकी रहेको देखाउँछ ।

प्रकाशित : चैत्र ३, २०७४ १०:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×