उत्तर कोरियाबारे भुल्न नहुने मुद्दा

द न्यूयोर्क टाइम्स

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच हुने भेटको सिंगापुरमा अन्तिम तयारी भइरहेको छ । उक्त भेटवार्ताको प्रमुख एजेन्डा आणविक हतियार नै हुनेछ । तर बिर्सन नहुने कुरा भनेको उत्तर कोरिया विश्वकै सबैभन्दा सर्वसत्तावादी शासन प्रणाली भएको राष्ट्र हो ।

तसर्थ राष्ट्रपति ट्रम्पले किमलाई म्याकडोनाल्डको फ्रेन्चाइज खोल्ने अनुमति दिँदैमा देश ‘आधुनिक राष्ट्र’ बन्दैन भनेर बुझाउन सक्नुपर्छ । उत्तर ‘आधुनिक’ हुन त्यहाँका नागरिकमाथि भइरहेको अत्याचारलाई अन्त्य गर्दै स्वतन्त्रता दिन पनि तयार हुनुपर्छ ।

संयुक्त राष्ट्र संघको २०१४ को एक प्रतिवेदन अनुसार उत्तर कोरियामा मानव अधिकार उल्लंघनको घटनाहरूको स्थिति निकै भयावह छ, जसको तुलना अरु कुनै पनि राष्ट्रसँग गर्न सकिँदैन ।

उत्तर कोरियालीहरूले मलाई बताए अनुसार त्यहाँका प्रहरीले समय–समयमा अपार्टमेन्टहरूको विद्युत आपूर्ति बन्द गरिदिन्छ र कोठाको खानतलासी गर्न थाल्छ । यसको मुख्य उद्देश्य कसैले अवैध रूपमा ल्याइएको विदेशी भिडियो वा डिभिडी प्रयोग गरिरहेको छ वा छैन भनेर छानबिन गर्नु हुन्छ । यदि यस्तो खानतलासीका बेला कसैको घरबाट दक्षिण कोरियालीहरू अभिनित भिडियो भेटिएमा त्यस परिवारका सबै सदस्यलाई दण्ड दिन कठोर श्रम शिविरमा पठाइन्छ ।

कुनै पनि देशले प्रविधि, प्रोपोगान्डा (संगठित प्रचार) र प्रहरीलाई नागरिकमाथि आधिपत्य जमाउन त्यो हिसाबमा प्रयोग गर्दैनन् । त्यहाँ राज्यले गर्ने संगठित प्रचार साह्रै उग्र हुन्छ । हरेक नागरिकको घरमा लाउड स्पिकर हुन्छ, नभए समुदायलाई नै हुनेगरी पोलमा लाउड स्पिकर राखिएको हुन्छ र त्यसबाट उत्तर कोरियाका सर्वोच्च नेताका गाथाहरूमात्रै बजाइन्छ ।

१९९० मा जब उत्तरमा अनिकाल लागेको थियो, त्यसबेला त्यहाँको राष्ट्रिय सञ्चार माध्यमले डाइटिङका फाइदाहरूलाई जोडतोडका साथ प्रचार गरेको थियो । यस्तै त्यहाँको राष्ट्रिय नारा ‘दिनमा दुईपटक मात्रै खाना †’ बनाइएको थियो । टेलिभिजनमा धेरै भात खाने मानिस पड्किएको वृत्तचित्र देखाइएको थियो । यस्तै त्यहाँका रेडियो र टेलिभिजनमा उत्तरकै स्टेसन र च्यानल बाहेक अन्य केही पनि सुन्न र हेर्न नमिल्ने बनाइएको हुन्छ । यद्यपि कालोबजारमा भने यस्ता टेक्निसियनहरू भेटिन्छन्, जसले त्यस्ता रेडियो/टिभीमा केही परिवर्तन गरी चिनियाँ र दक्षिणी कोरियाली प्रसारण समात्ने बनाइदिन सक्छन् । तर पक्राउ परेको खण्डमा भने परिवारकै बास श्रम शिविरमा हुन्छ । यस्ता श्रम शिविरमा एक लाखभन्दा बढी नागरिक रहेको अनुमान छ ।

नाजी क्याम्पमा परेर बाँचेका र अन्तर्राष्ट्रिय बार एसोसियसनबाट उत्तर कोरियाका जेलहरूको अध्ययन गर्न बनेको समितिका सदस्य थोमस ब्युरेंगथालले भनेका थिए, ‘मेरो विचारमा उत्तर कोरियाका श्रम शिविरको अवस्था हिटलरको नाजी क्याम्पको भन्दा कठोर र क्रूर छ ।’

त्यहाँको मानव अधिकारको अवस्थामा सुधारको मागले वार्ता भंग हुने सम्भावना छ भने अहिलेको प्राथमिकता आणविक हतियार नै हुनुपर्छ । तर ट्रम्पले किमलाई उत्तरले आफ्नो शासन प्रणाली र मानव अधिकारको अवस्थामा सुधार नगरे विश्वले उनीहरूलाई हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन आउने छैन भन्ने कुरा बझाउन सक्छन् र त्यो प्रयत्न गर्नुपर्छ ।

१९९४ मा उत्तरसँग सम्झौताका लागि खाका तयार पारेका रोबर्ट गालुचीका अनुसार पनि अहिलेको मुख्य विषय भनेको आणविक हतियार नै हो । ‘तर अन्तत: यो सामान्यकरणलाई दिगो बनाउन त्यहाँको मानव अधिकारको विषयलाई पनि सम्बोधन गर्न जरुरी छ,’ उनले भने । यस्तै इन्टरनेसनल क्राइसिस ग्रुपका रोबर्ट म्याल्ले पनि आणविक हतियार सम्बन्धको छलफलमा मानव अधिकारको विषयलाई प्रवेश गराएर त्यसलाई जटिल बनाउनहुन्न भन्ने पक्षमा छन् । तर उनी त्यसमा केही थप्छन्, ‘यदि बाहिर देखिए जस्तै उत्तरको प्रमुख लक्ष्य भनेको अमेरिकी प्रतिबन्धलाई हटाएर सामान्य द्विपक्षीय सम्बन्ध विस्तार गर्नु रहेको छ भने उनीहरूलाई थाहा हुनुपर्छ, त्यहाँको शासन सत्ताले नागरिकमाथि दमन गर्न नछोडेसम्म यस्तो हुन सक्दैन ।’

केही समययता उत्तरका अधिकारीहरू त्यहाँको मानव अधिकारको अवस्था सुधार हुनुपर्छ र त्यसका लागि छलफल गर्न सकिन्छ भन्ने पक्षमा रहेको देखिन्छ । त्यहाँका केही उच्च अधिकारीहरूको बयानहरूमा उनीहरू यो विषयलाई समय अनुसार सम्बोधन गर्ने पक्षमा रहेको चित्रित हुन्छ । यद्यपि उनीहरू पश्चिमाहरूले त्यहाँका जेल तथा श्रम शिविरका बारे बढाइ–चढाइ गरेर प्रतिवेदनहरू बनाएको आरोप लगाउन भने पछि पर्दैनन् ।

त्यसैले ट्रम्पले किमलाई आणविक हतियार निशस्त्रीकरणका साथै त्यहाँका जनताको जीवनस्तरमा सुधार गर्नका लागि केही काम गर्न मनाउन सक्छन् । किनभने विश्वमा रहेका केही आणविक हतियार सम्पन्न राष्ट्र मध्येको एकमात्र नभई उत्तर निरंकुश राष्ट्र पनि हो र वार्ता हतियारसँग मात्र नभई त्यहाँका मान्छेको जीवनसँग जोडिएको छ ।

निकाेलसक्रिष्टोफ

द न्युयोर्क टाइम्सबाट अनूदित

प्रकाशित : जेष्ठ २९, २०७५ ०७:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मान्छे र उसको रोटी

भात खानेहरूलाई सजिलो छ । चामललाई छड्किन छाडिदियो अनि त्यो पाकुन्जेलसम्म अर्को काम गर्‍यो । तर रोटी पकाउँदा मोबाइलमा आएको मेसेजमात्रै हेरियो भने पनि कित रोटी काँचै हुन्छ कि डढ्छ ।
द न्यूयोर्क टाइम्स

काठमाडौँ — केही वर्ष पहिला पाकिस्तानी टिभीमा हेरेको एउटा विज्ञापनले म र म जस्तै कैयौंलाई तनाव दिएको थियो । त्यसमा एउटा सानी केटी पिठोलाई डल्लो पारेर रोटी बेल्दै गरेकी हुन्छे र उसकी आमाले हर्षित हुँदै परिवारका अन्यलाई भन्छिन्, ‘छोटी की पहेली गोल रोटी ! (सानीको पहिलो गोलो रोटी !)’

आफैं पुँजीपति भएकाहरूले भर्खरै फाइटर जेट उडाउन र परराष्ट्र मन्त्रालय हाँक्न थालेका केटीहरूलाई भान्छाको दासमात्रै बनाउन गरेको प्रयास देखेर म निराश भएँ । रोटी उत्तर भारत र पाकिस्तानको प्रमुख खाना हो । मानिसहरू बिहानको नास्तादेखि, दिउँसो र रातिको खाना सबैमा रोटी नै खान्छन् । मांसाहारी हुन् या शाकाहारी, जे भए पनि खानामा रोटी भने हुन्छ । यो हाम्रो खानाको केन्द्रविन्दु नै हो ।

मेरो गृहराज्य पन्जाब (पाकिस्तान) मा ‘खाना खाउँ’ भन्नुपरे हामी ‘रोटी खाउँ’ वा ‘मेरो घरमा रोटी खान आउनुस् न’ भन्छौं । त्यसको मतलब खानामा अन्य विभिन्न परिकारसँगै धेरै रोटी पनि खाइन्छ ।

रोटी सधैं ताजा नै खाइन्छ । रेस्टुरेन्ट र ढाबाहरूमा प्राय: गरेर पुरुषहरूले नै माटोको भट्टीमा धेरै संख्यामा रोटीहरू पकाउँछन् । तर घरमा भने दिनमा तीनपटक आगो छेउमा बसेर पसिना चुहाउँदै रोटी पकाउने काम महिलाकै हुन्छ ।

मलाई ती सानी नानीले राम्रो गोलाकारको रोटी बनाएको देखेर चिन्ता लाग्यो । किनभने अब उसले पनि अन्य लाखौं महिलाझैं आफ्नो जीवनभर तातो तावामाथि रोटी सेकाइरहनु पर्नेछ ।

म आफ्नै संघर्षलाई सम्झिरहेको छु ।

दुई दशकभन्दा केही अघि जब म मेरो भविष्यकी पत्नीको हात माग्न गएको थिएँ । त्यसबेला मेरो हुनेवाला ससुराले हाम्रो जोडीलाई खासै रुचाएका थिएनन् । मेरो पेसाको खिसी गर्दै उनले भर्खर टुसाउँदै गरेको हाम्रो प्रेमको दिगोपन बारे ठूलै वादविवाद गरेका थिए । उनले मलाई आफ्नो छोरीसँग छुटाउनका लागि भनेका थिए– ‘मेरो छोरीलाई रोटी त पकाउन आउँदैन ।’

मैले जवाफ दिएको थिएँ– ‘मलाई पनि आउँदैन । त्यसैले त हामी दुईको कुरा मिल्छ ।’

यद्यपि हामीले मध्यम वर्गको सत्यबारे भने केही कुरा गरेनौं । नभए उनले सोध्न सक्थे– ‘तिमीले रोटी बेल्न र पकाउन जान्ने कुनै केटा चिनेका छौ ? घरमा काम गर्नेहरू किन राखिएका हुन् ?’

बढ्दो उमेरसँगै म चिसो विदेशी भूमिमा बस्न थालेंँ । त्यहाँका एसियाली पसलमा पाइने ‘पित्ता’ (बाक्लो रोटी) र पाउरोटी खाँदा–खाँदा मेरो मुखलाई घरको स्वादिलो ताजा रोटीको न्यास्रो लाग्न थालेको थियो । पाकिस्तानको मध्यम वर्गको सुखसयलमा जन्मिएर काम गर्नेले पकाएर दिएको रोटी खाने बानी परेको मैले आफ्नोलागि आफैं रोटी पकाउन कम्मर कसेंँ । सुरुआत निकै कठिन थियो । मैले एउटा गोलो रोटी बेलेर पकाउन निकै संघर्ष गर्नुपर्‍यो । म आज पनि ती दिन सम्झन्छु ।

म बीसको हुँदा केही वर्ष प्लेन उडाउन सिक्न प्रयास गरेंँ । राम्रो रोटी पकाउन नजान्नाले मलाई प्लेन उडाउन सिक्दाको आधारभूत गल्तीहरूको सम्झना दिलायो । म प्लेन टेकअफ राम्रोसँग गर्थें, तर मेरो अवतरण भने खत्तमै थियो ।

मलाई थाहा थियो, केही कलाका लागि प्राकृतिक गुण र आँखा–हातको सन्तुलनको विशेष भूमिका हुन्छ । तर हामीलाई सिकाइएको थियो, कुनै यात्रामा निस्कनका लागि पहिला विमान चढ्नुपर्छ । आज पनि म कहीँ औपचारिक छलफल वा साहित्य मेलामा भाग लिइरहेको बेला राम्रो गोलाकार रोटी बनाइरहेको कल्पना गर्छु । मेरो दिमागमा मेरो रोटी जहिले पनि गोलाकार नै हुन्छ, छेउछेउमा केही कडा र तावामा सेक्दै गर्दा बेलुनजस्तै फुलेको ।

प्लेन उडाउनु जस्तै रोटी पकाउन पनि पूर्णरूपमा एकाग्रता आवश्यक पर्छ । केही समयका लागि पनि तपाईंले यताउता ध्यान लगे रोटी डढेर प्वाल पर्छ र त्यो बेलुन कहिल्यै उठ्दैन ।

भात खानेहरूलाई सजिलो छ । चामललाई छड्किन छाडिदियो, अनि त्यो पाकुन्जेलसम्म अर्को काम गर्‍यो । तर रोटी पकाउँदा मोबाइलमा आएको मेसेजमात्रै हेरियो भने पनि कित रोटी काँचै हुन्छ कि डढ्छ ।

त्यसैले म सोच्छु– ‘मेरी आमाले मलाई किन यसको लागि तयार गरिनन् ?’ र अनगिन्ती पटक आफैंलाई भन्छु, यो पिठो नै ठिक छैन । हुन त पिठोमा पानी वा पानीमा पिठो हाल्ने हो । तर केही थोपा बढी पानी हालियो भने पिठो थप्नुपर्छ, पिठो धेरै भएपछि फेरि पानी हाल्नुपर्छ । दुवैको मात्राको अड्कल भएन भने पिठो मुछ्ने काम कहिल्यै सकिँदैन ।

राम्रो रोटी पकाउनेले गोलो रोटी बनाउन बेल्ना र चक्लाको प्रयोग गर्दैनन् । मुछेर गोलो बनाएको पिठोको डल्लोलाई हातमै यताउति गर्दै पिटेर, फर्काएर गोलाकार रोटी बनाउँछन् र तातो तावामा फट्कारिदिन्छन् । त्यसैले त रोटीको अर्को नाम ‘चपाटी’ हो । चपाटीको अर्थ पिटेर बनाइएको वस्तु हो । म बच्चा हुँदा बिहान त्यसरी नै हातमा फर्काइ–फर्काइ रोटी बनाउँदा निस्कने आवाजबाट बिउँझन्थेंँ र लाग्थ्यो, आज मिठो खाना पाक्दैछ ।

आमाले कहिलेकाहीं सबै घरपरिवार जम्मा हुँदा एक पटकमा ५० वटासम्म रोटी पकाउनुपथ्र्यो । मलाई त्यो बेला कहिल्यै रोटी पकाउनु ठूलो काम हो जस्तो लागेन । तर अहिले जब म आक्कल–झुक्कल ५ वटा रोटी पकाउँछु, मलाई लाग्छ, म अद्भुत मान्छे हुँ र मलाई यसका लागि मेडल नै दिइनुपर्छ ।

म जस्ता धेरै पुरुषहरू छन्, जो आफू विकसित भएको ठान्छन् । मेरै समकालीनहरू यस्ता पनि छन्, जो आफूले पकाउन जान्ने कुरा सुनाउँदै हिँड्छन् । र केही आफूले बनाउने तरकारी र पिस्ने मसलाबारे बयान गरेर थाक्दैनन् । यस्तै केही आफूलाई मासु पोल्नेहरूको राजा मान्छन्, लाग्छ यो पृथ्वीमा उनीहरूले नै मासु पोल्न सुरु गरेका हुन् । तर रोटी पकाउन आउँछ भनेर सोध्यो भने, उनीहरू भान्छामा आफ्नोलागि रोटी पकाइदिनेतर्फ औंला तेस्र्याउँछन् वा रेडिमेड मैदाको पित्ताको प्याकेट देखाउँछन् ।

पुरुष हुनुको साँचो उपलब्धि मैले तबमात्रै बुझेंँ, जब एकजना वयोवृद्ध पुरुषलाई आफ्नो डाइनिङ टेबुलमा बसिरहँदा एक महिला भान्छाबाट हातमा तात्तातो रोटी लिएर दौडँदै गरेको देखेंँ । त्यसपछि उक्त पुरुषले रोटीलाई बीच भागबाट च्यात्यो र तरकारीमा चोपेर खायो । त्यो रोटी आधा नहुँदै उसको प्लेटमा अर्को तातो वाफ उड्दै गरेको रोटी आइसक्यो । र त्यो मान्छेले रोटीको बीच भागमात्रै खायो, अरु त्यही प्लेटमा छोडिदियो ।

मेरो साढे ३ वर्षको छोरोको खाना खाँदा किचकिच गर्ने बानी देखेर म आजित भइसकेंँ । तैपनि ऊ आफूलाई खान मनलागेको तीनथरी रोटीको नाम लिन सक्छ । कहिले त मलाई लाग्छ, म छोरामा त्यही वृद्ध मानिसजस्तै आफ्नो श्रीमतीलाई सताउने बानीको विकास गर्दैछु । त्यो हो पनि । तर जीवनभरको सम्पूर्ण रूपमा राम्रो रोटी बनाउने प्रयासको विफलतापछि मैले मेरी श्रीमतीलाई उनी राम्रोसँग पिठो मुछ्न भने अब्बल छिन् भनेर आश्वस्त पारेको छु । अब रोटी पनि राम्रो बन्यो भने त मैले मेडल नै पाइहालेंँ । नभए पनि केही छैन, किनकि मुछेको पिठोमै केही समस्या छ ।

(द न्युयोर्क टाइम्सबाट अनुदित यस लेखका लेखक माेहम्मद हानिफ पाकिस्तानी मूलका बेलायती उपन्यासकार हुन् ।)

प्रकाशित : जेष्ठ १२, २०७५ ०७:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×