शिक्षा, अराजकता र सीमा

विश्वविद्यालयहरू ज्ञान र व्यवहारको अनौठो द्वन्द्वमा परेका छन् । हामी भने शिक्षा उत्पादन र प्रयोगका अनिश्चित सीमामै अल्झिँदै गएका छौं ।
अभि सुवेदी

काठमाडौँ — नेपाली मिडियामा एकाएक शिक्षाको कुरा उठ्छ । शासकहरू पठित हुनुपर्छ कि पर्दैन, कस्ता मानिसलाई पठित र शिक्षित भन्ने जस्ता बहस उठेका छन् ।

कति शिक्षा पाएका मानिसले कति काम गर्न सक्छन् भन्ने एकाध बहसका बुँदाहरूले निकै चर्चा पाएको अवस्था छ । उचित छलफलको विषय हो । तर योभन्दा पनि खासगरी उच्च शिक्षाको अवस्था, शिक्षा दिने र लिने थलोहरूका गति अनि शिक्षा लिने थलोहरूका अवस्थाबारे भिजुअल मिडिया, खासगरी टेलिभिजनमा समाचार आउँछन् । शिक्षा लिने र दिने कर्ममा जीवन लगाएको मानिस म सबै कुरालाई खुसी र विस्मयले हेर्छु र पढ्छु । अमूक क्याम्पसमा परीक्षामा चिट चोराइरहेका दृश्यहरू टिभी क्यामेराले समातेर देखाउँछन् । परीक्षा हलका अनिश्चित समयका आकाशमा ससाना चिट उडिरहेका छन् । एकजना राजनेता भित्र पस्छन् । जाक डेरिडालाई सम्झिन्छु ।

ती भन्छन्, प्रजातन्त्र र शिक्षा सोझै जोडिएका विषय हुन् । नेपालको राजनीतिक प्रजातान्त्रिक परिवर्तन उनले भनेका कुरासँग मेल खाँदैन । प्रजातान्त्रिक परिवर्तनपछि उदाएका नेता शिक्षालाई उपेक्षा गर्ने कर्ममा लागिपरेका सानादेखि ठूला उदाहरण देखिँंदैछन् । शिक्षामा कसको चाख छ र कस्ता मानिस शिक्षित हुनुपर्छ, अनि लोकतन्त्रसँग शिक्षाको सम्बन्ध के छ ? अनुत्तरित प्रश्नहरू छन् । नेता परीक्षा दिइरहेका विद्यार्थीको छेउमा पुगेर जुत्ता खोल्छन्, अनि जुत्ताभित्र लुकाएका चिट झिकेर सगर्व विद्यार्थीलाई दिन्छन्, मानांै तिनको फित्ता काटेर उद्घाटन गर्ने बानी बसेको छ । उद्घाटन हुन्छ । बाहिर एउटा आमसहमति छ, परीक्षा पनि हुनुपर्छ, अनि परीक्षामा विद्यार्थीलाई चिट पनि दिनुपर्छ । चिट दिनेमा अन्तरदलीय र सर्वदलीय सहमति कायम हुन्छ । प्रश्न गर्छौं, परीक्षा नै किन लिनुपर्‍यो ? यो उपहास किन गरिरहनुपर्‍यो ? यो एउटा दृश्य हो, तर यो अहिले चलेको चलन नै भएको छ, नेपालमा । राजनीतिज्ञहरू पनि शिक्षित हुनुपर्छ भन्ने कुरा सिधै जोडिन्छ, यहाँ ।

अरू सन्दर्भ सम्झिन्छु । युजीसी (युनिभर्सिटी ग्रान्ट कमिसन) को हलमा देशका विभिन्न विश्वविद्यालय र उच्च शैक्षिक संस्थाका पदाधिकारी आ–आफ्ना कुरा सुनाउँछन् । विश्वविद्यालय जहाँ खुलेको भए पनि त्यसले देशभरि सम्बन्धन दिन पाउनुपर्छ । त्यस अर्थमा सबै राष्ट्रिय तहकै उच्च शैक्षिक संस्था वा विश्वविद्यालय भएको दाबी गर्छन्, ती । एउटा युवक उठ्छ, अनि भन्छ, ऊ संस्कृतको भारी विद्वान हो, तर वर्षौंदेखि उसले पढाउन पाएको छैन । तर ऊ तलब खान्छ, शिक्षकको । अर्को भन्छ, ऊ आयुर्वेदी डाक्टर हो, जागिर छ, तर उसले काम गर्न नपाएको वर्षौं भइसक्यो । अरू यस्तै अनेक छलफलमा हुन्छु । सुन्नु मात्र मेरो दायित्व हो । वर्षौंदेखिका आफूले सुनेका शिक्षामा परेका गाँठाहरू त्यहाँ देख्छु । ती गाँठा झन् कसिन्छन् । साधारण रूपले डायरीमा लेख्छु । अकिञ्चन नेपाली शिक्षा प्रणालीका हविगत यी अनेक मिटिङ र बहसहरूमा देख्छु ।

शिक्षामै जीवन बिताएको मानिस, योभन्दा अर्को उज्यालोको खेती गर्ने माध्यम नदेखेको मलाई एकाएक चिन्ताहरूले घेर्छन् । मेडिकलपट्टिका ठूला मानिसका कुरा सुन्छु । चिन्ता अर्कै छन् । यो क्षेत्र अत्यन्त गाँठ आउनेमा गनिन्छ । धेरै फिस लिन पाइने, जतिसक्यो फाइदा लिन सकिने । राजनीतिका कर्णधार मानिनेहरूका चाख छन्, यतातिर । तर झस्किएर विचार गर्छु, यो आम मानिसको स्वास्थ्यको विषय यसरी व्यापारीकरण कसरी हुनसक्छ ? एकाएक थाहा पाउँछु, म र मजस्तै केही मानिसका प्रश्नहरू अरण्यरोदन मात्रै हुन् ।

अरू शिक्षण संस्थाबारे पनि जानकारी बढ्दै जान्छन्, मेरा । थाहा हुन्छ, एउटा जुत्तामा चिट लिएर परीक्षा हलमा विद्यार्थीलाई दिने मानिसदेखि विश्वविद्यालयका उच्च पदमा बसेका त्यस्तै मानिससम्म राजनीतिक दल र सरकारहरूद्वारा संरक्षित छन् । जति शिक्षामा भ्रष्टाचार गर्दै जान्छन्, ती त्यति नै निरञ्जन निर्विकार हुँदै जान्छन् । ती देखिन्छन्, तर देखिंँदैनन् । यी सबै कुराको पछिल्तिर धन छ, राजनीतिक अभिष्ट छ, अनि छ, अमूक समूहको स्वार्थ ।

कर्मचारी, विद्यार्थी अनि पदाधिकारी सबै वाटरमेलोनका चिराजस्तै दलका चिरामा विभाजित छन् । जीवनको गम्भीर दार्शनिक पक्ष, शिक्षालाई लिएर मानिस जानकार हुने, जीवन र जगतबारे चिन्तन गर्न सक्ने हुने क्षमताको निम्ति शिक्षा ग्रहण गर्ने उद्देश्यहरू अहिले खासै बाँकी छैनन् भन्ने लाग्न थाल्छ । अथवा लगभग सकिन लागेको अवस्थामा छन्, ती । किनभने शिक्षित हुनु र नहुनुका सीमाहरू विस्तारै हराउँदै गएका छन् । शिक्षित हुनुको अर्थ हराउनु भनेको शिक्षा लिने र दिने थलोहरू र कर्मको उचित प्रयोग नहुनु हो । त्यो प्रस्ट हुँदै गएको छ ।

माथिका यिनै चिन्ताहरूले ग्रसित अनि शिक्षाका कमिसन र आयोगहरू र अध्ययन टोलीहरूका निरर्थक र देखावटी कर्मकाण्डहरूमा बस्तै जाँदा अत्यन्त निराशा हुन्छ । लाग्छ, थाहा नपाएको राम्रो । मेरो शिक्षामा संलग्नताका आकार निश्चित छन् । म पढ्छु, पढाउँछु । विद्यार्थीलाई शोधकर्म गराउँछु । समय अनुसारका शास्त्र र जर्नलका लेखहरूका अध्ययन गर्छु । अनि जहाँ गुणवत्ता छ र गुणग्राही छन्, त्यहाँ आफ्नो ज्ञान बाँड्छु । अरू विषयका मेरा मित्रहरू पनि त्यही गर्छन् । तर तिनका कर्मको अर्थ दिनदिन कमजोर हुँदै गएको छ । ती समय अनुसार चल्न नसक्ने शिक्षाका दुग्ध बट्टामा टाँसेका डेट गइसकेका लेबलजस्तै हुन के बेर ।

एक दिन एउटा महाभिनिष्क्रमण गर्न मन लाग्छ । आफूलाई मनपर्ने आयरल्यान्डका उपन्यासकार जेम्स ज्वायसको युलिससको सम्झनामा लियोपोल्ड पात्र भएर एउटा महायात्रामा जान मन लाग्छ, मलाई । कहाँ जान्छौ ? आपैंmलाई प्रश्न गर्छु । भरे उत्तर आउँछ, तिमीले शिक्षण गरेका ४५ वर्ष नाघिसके, अब कहाँ जाने भनेर किन प्रश्न गरिबस्छौ ? अर्को प्रश्न गुञ्जिन्छ, अलकापुरी कान्तिपुरीको धुलाक्रान्त आकाशमा । उत्तर बुझेर आफ्नो शिक्षा यात्राको गन्तव्य कीर्तिपुर बहुमुखी क्याम्पस जहाँ केन्द्रीय विभागहरू विद्यमान छन्, त्यतातिर लाग्छु । केही समयअघि महाराजगन्जको भित्री रिङरोड छेउको एउटा कफी गृहमा कफी सेवन गरेर बसेका बेला बाहिर राखेको मेरो आफ्नो ज्याङ्गो साइजलाई नमिल्ने निकै वर्षअघि अनेक गरेर जोरेको, एउटा क्रुद्ध युवक साँढेले बेसरी घुमी–घुमी हानेर पुरै कुच्याएको तर मर्मत गर्न नसकेको निर्विकार कार चलाएर कीर्तिपुर क्याम्पसभित्र पस्छु । एउटा महायात्रा हो यो सम्झिन्छु । यो सधैं गरेको यात्रा हो, के भो र मन खोलेर जान्छु भन्ने लाग्छ । यो केन्द्र हो शिक्षाको, केन्द्रीय विभागहरूको थलो । पस्ने बित्तिकै सबैतिर विशृङ्खल निर्माणका वस्तुहरू छरिएका छन् । कुनै कुराको लय मिल्दैन । सबैतिर धुलो र फोहोरका डङ्गुर देख्छु । बाहिरका गाडीहरूका र त्यहीं अनुदानमा निर्माण भइरहेका भवनहरूका बग्रेल्ती आकारहरूले मलाई एकाएक छोप्छन् । कुनै कुराको चित्र प्रस्ट छैन । अलिकता अगाडि पुगेपछि दाहिनेतिरको भूकम्पले भत्काएको विदीर्ण भवन न गैहाल्नु न गरिखानुको स्थितिमा खडा छ । त्यसका सबै कुनाकाप्चासँग परिचित भए पनि आज किन–किन मनमा त्यसको धुमिल चित्रले छोप्छ । त्यो थलोबाट विश्वविद्यालय चलेका धेरै वर्ष बितेका हुन् । त्यही मन लिएर गएको छु । सम्झनाहरूले छोप्ने नै भए ।

माथितिर प्रतिभाशाली नेपाली क्रिकेट टिमका युवासँग जोडेर क्रिकेट मैदानलाई हेर्छु । विशृङ्खल र सफा नगरेको हारहुर मैदान र परिवेश देखिन्छ । मानविकीपट्टिको क्याम्पसको आँगनमा पुग्छु । अनि एकाध मित्र र भूतपूर्व विद्यार्थीसँग कुरा गर्ने योजना छ । केही सानो रिपोर्ट नभनौं, टिपोट गर्नु पर्नेछ । मित्रहरू अमूक विषयका विभागहरूको विषयमा भन्छन् । शिक्षक छन्, विद्यार्थी छैनन् । कोठाहरू छन्, मानिस छैनन् । देख्छु अंग्रेजी विभागमा विद्यार्थीका सलबल छन्, केही नेपाली र समाजशास्त्र, उता अर्थशास्त्र र जनसंख्या विभागमा केही हलचल छन् । उतातिर माथि नेपाल एसियाली अनुसन्धान केन्द्रतिर लाग्छु । बाटामा शिक्षाशास्त्र अध्ययन संस्थानमा पातलो गरेर विद्यार्थी र शिक्षकहरू घुमिबसेका देख्छु ।

भवनहरू पुराना हुंँदै गएका छन् । हिजोका भिडहरू देख्तिन । सिनासको भवन सुनसान छ । बाहिर डोरबहादुर विष्ट दाइले लगाएका वृक्षलतादिले छुँदा सिक्सिको लागेजस्तो गेरेर भवन खडा छ । एकाध खिन्न मनुवा भेट्छु । त्यो भवनमा तिनीहरू कतै नजोडिएका जस्ता लाग्छन् । भित्र सिनासका किताब किन्ने गरेको एउटा कोठामा एकजना अनिश्चित र अकिञ्चन मानिसले लिएर जान्छन् । केही मिलेको छैन । धुलोको चाङबाट झिकेर स्तरहीन जस्तो लाग्नेगरी छापेर बाइन्डिङ गरेका मरन्च्याँसे किताब बढाएर थुप्रै चर्को दाम भन्छन्, ती । माथि पुस्तकालयमा एक जनाले लिएर जान्छन् । पुस्तकालय होइन, डङ्गुरालय भएको रहेछ । तलतिर अघिका वृक्षहरू क्रमश: सफाया गरेर विज्ञान भवनहरू ‘आउटडेट’ भएका प्रयोगशालाले धानेर उभिएका छन् । डिलमाथि हामी विद्यार्थी हुंँदा दशकौं अघि रोपेका वृक्षहरू धुमिल आकाशमा अकिञ्चन उठेका छन् । आजको युगमा विश्वविद्यालयहरू ज्ञान र व्यवहारको अनौठो द्वन्द्वमा परेका छन् । हामी भने शिक्षा उत्पादन र प्रयोगका अनिश्चित सीमामै अल्झिँदै गएका छौं ।

प्रकाशित : चैत्र १२, २०७४ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्

घाँटी हेरी हाड निलौं

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘सिंहदरबारभित्रै अर्बौं रकमका गाडी अलपत्र’ हुनु दु:खद हो । करोडौं रकम पर्ने एउटै गाडी मर्मत गरेर चलाउनुको सट्टा नयाँ किन्नेतिर लाग्नु साँच्चै गैरजिम्मेवार कार्य हो ।

हो, नेतृत्वले आर्थिक समृद्धितिर ध्यान दिई अहिलेसम्म मुलुक विकसित भएको भए, कार त के हेलिकप्टरमै अवागमन गरे पनि सायद कसैको आपत्ति हुने थिएन । तर मुलुक अझै अविकसितको सूचीमा छ । हामी साधन र सुविधा पूर्ण विकसित देशकै जस्तो खोज्छौँ । यो कसरी सम्भव छ ? हामी आफ्ना निजी सवारी साधन भए त्यसलाई कैयौँपटक मर्मत गर्दै चलाउँछौँ र चलाउनु पनि पर्छ । तर राज्यको सम्पत्तिमाथि चाहिँ मतलबै नराख्ने, अनदेखी गर्ने नेतागण र कर्मचारीहरूको व्यवहारलाई कसरी जवाफदेही मान्ने ? राज्यको सम्पत्ति पनि त आफ्नै जत्तिकै माया गरेर त्यसको उपयोग गर्दा देश उँभो लाग्थ्यो । देशचाहिँ डुब्ने अनि आफूमात्रै सान र मानले बाँच्ने कसरी हुन सक्ला ? कमिसनकै प्रलोभनमा यसो गरिएको भए त्यो दण्डनीय कार्य हो । त्यसमा अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रको ध्यान जानु जरुरी छ । मर्मत गरेर चलाउनसके अर्बौं रकम जोगिन्छ । त्यो रकम विकास निर्माणमा उपयोग हुन सक्छ । पिछडिएको समाजको उत्थानमा लगाउनसके उनीहरू राष्ट्रिय मूल प्रवाहमा आउन सक्छन् । स्वास्थ्योपचारमा उपयोग गर्नसके पनि हुने थियो ।

– डा. धनपति कोइराला
कावासोती, नवलपुर

प्रकाशित : चैत्र १२, २०७४ ०८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्