कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीको आपत्तिजनक अभिव्यक्ति

सम्पादकीय

काठमाडौँ — गैरकानुनी क्रियाकलापबाट आर्जित सम्पत्ति शुद्धीकरण गर्ने प्रयासलाई गम्भीर आर्थिक अपराध मानी नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय पहल चलिरहेका बेला पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘अवैध धनलाई वैध हुन दिनुपर्ने’ बताएका छन् ।

ओलीको आपत्तिजनक अभिव्यक्ति

सबभन्दा ठूलो राजनीतिक दलको अध्यक्ष मात्र नभएर करिब एक महिनामै मुलुकको कार्यकारी प्रमुख हुने तर्खरमा रहेका राजनीतिज्ञबाट यस्तो अभिव्यक्ति आउनु गैरजिम्मेवार र आपत्तिजनक छ । नेपाल चेम्बर्स अफ कमर्सको नवनिर्वाचित कार्यसमितिलाई सोमबार सम्बोधन गर्ने क्रममा ओलीले अवैध कारोबार–आर्जनलाई प्रोत्साहन पुग्ने गरी सम्पत्ति शुद्धीकरण (अवैधलाई वैध बनाउने) प्रक्रियालाई नै सहयोग पुग्ने पक्षमा धारणा सार्वजनिक गरेका हुन् । यसले या त उनी सम्पत्ति शुद्धीकरणमा लचकता अपनाउँदा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा आइपर्ने बहुआयामिक असरबारे जानकार छैनन् वा अवैध कारोबारीको प्रभावमा परेर त्यही उद्देश्यका साथ जानाजान बोलिरहेका छन् भन्ने अनुमान लगाउन सकिन्छ । जुनसुकै दृष्टिकोणले भए पनि उनको अभिव्यक्ति मुलुकको आर्थिक अनुशासनलाई कमजोर बनाउने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको गरिमा घटाउने खालको छ ।

अवैध रूपमा कमाएको रकम प्रत्यक्ष वैदेशिक लगानी, घरजग्गा, सहकारी, सेयर बजारलगायत क्षेत्रमार्फत शुद्धीकरण भइरहेको विभिन्न प्रतिवेदन तथा सरकारी अधिकारीहरूको अनुमान छ । केही ठूला कारोबारीका विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले अनुगमन गरी अनुसन्धानसमेत गरिरहेका छन् । ओलीको अभिव्यक्तिले अनुसन्धान गरिरहेका कर्मचारीको मनोबलमा असर गर्ने र आर्थिक अपराधमा संलग्न व्यवसायीको अवैध आर्जनलाई वैध सम्पत्तिमा रूपान्तरण गर्ने प्रयत्नलाई सघाउ पुग्नेछ । ‘अन्डरग्राउन्ड मनीलाई सर्फेसमा आउन दिने’, ‘त्यसलाई वैध हुने बाटो दिने’ भन्नेजस्ता उनका अभिव्यक्तिलाई कुनै पनि दृष्टिकोणबाट जायज मान्न सकिँदैन ।

सम्पत्ति शुद्धीकरणको विषयमा अनुगमन, छानबिन तथा कारबाही गर्नैपर्ने बाध्यात्मक अवस्था हामीसामु छ । यी काम गर्न नसके सम्पत्ति शुद्धीकरणसम्बन्धी हेर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई कालोसूचीमा राख्ने जोखिम छ । कालोसूचीमा परे अन्तर्राष्ट्रिय स्तरमा नेपाल ‘टयाक्स हेवन’ (करका लागि अनुकूल स्थान), गैरकानुनी क्रियाकलाप गरी धनआर्जन गर्ने मुलुकका रूपमा चिनिनेछ । नेपाली बैंकहरूले खोलेको प्रतीतपत्र धेरै अन्तर्राष्ट्रिय बैंकले स्वीकार नगर्ने हुँदा अन्तर्राष्ट्रिय व्यापारमा समस्या सिर्जना हुनेछ । दातृ निकायहरूले पनि मुलुकलाई सहायता रोक्ने हुनाले अर्थतन्त्रमा जटिलता उत्पन्न हुनेछ । नेपालमा सम्पत्ति शुद्धीकरण निवारणका लागि जे–जति कानुनी तथा संरचनागत पहल भएका छन्, ती एफएटीएफको दबाबमा भएका हुन् । नेपालमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनै नबनाएको, संरचना खडा नगरेको भेटिएर कालोसूचीमा राख्ने अवस्था सिर्जना भएपछि त्यसबाट जोगिन २०६४ सालमा सम्पत्ति शुद्धीकरण निवारण ऐन ल्याइएको थियो । र, त्यसैअन्तर्गत सम्पत्ति शुद्धीकरण विभाग गठन गरिएको हो । एफएटीएफले दुई वर्षभित्रै अर्को पारस्परिक मूल्यांकन गर्न लागेको अवस्थामा नियम–कानुन परिमार्जन गर्दै सम्पत्ति शुद्धीकरण निवारणमा कडिकडाउका साथ लाग्नुपर्नेमा उल्टै त्यसका पक्षमा जिम्मेवार नेताबाट अभिव्यक्ति आउनु उदेकलाग्दो छ ।

सन् १९८९ मा गठन भएको एफएटीएफले सम्पत्ति शुद्धीकरणलाई गम्भीर आर्थिक अपराधका रूपमा परिभाषित गरेर नियन्त्रणका लागि विश्वव्यापी पहल गरिरहेको छ । नेपालले पनि अवैध आर्जन रोक्न सम्पत्ति शुद्धीकरण निवारण ऐन, भ्रष्टाचार निवारण ऐन, कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐनलगायतका विभिन्न कानुन निर्माण गरेको छ । सम्पत्ति शुद्धीकरणको विषयमा काम गर्ने एसिया–प्रशान्त क्षेत्र समूह (एपीजी) को बैठक अगामी साउनमा नेपालमै गर्ने निर्णय भइसकेको छ । यो बैठकमा सदस्य राष्ट्रहरूले सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा गरिरहेको गतिविधिबारे जानकारी गराउँछन् । अनुगमन, अनुसन्धान, विस्तृत अनुसन्धान, मुद्दा दायर र त्यसको फैसलाबारे जानकारी गराउँदा कमजोर देखिए मुलुकको साख गुम्नेछ ।

मुलुकको साख जोगाउन सरकारी निकायहरूबाट केही नीतिगत प्रयासहरूसमेत भइरहेका छन् । सहकारी विभागले सोमबार मात्रै सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार सहकारीहरूका लागि छुट्टै निर्देशिका जारी गरिसकेको छ । यो पृष्ठभूमिमा हालसम्म भएका नीतिगत व्यवस्था सरकारले कार्यान्वयन गर्नुपर्छ, त्यसलाई उल्टाउने होइन । किनभने, सम्पत्ति शुद्धीकरणले मुलुकको वित्तीय प्रणालीको स्वरूप, सन्तुलन तथा विकासमै नकारात्मक असर पार्छ । मुद्रा सटही दर र ब्याजदरलाई विकृत बनाउन सक्छ, कर छल्ने प्रवृत्ति मौलाउँछ । सरकारले अवैध सम्पत्तिलाई वैध बनाउन छुट दिनु भनेको मुलुकलाई संकटमा जाक्नु हो । मुलुकमा आर्थिक सुशासन र पारदर्शिता कायम गर्न सरकारले सबै खाले अस्त्र प्रयोग गर्नैपर्छ ।

आवश्यकताअनुसार कानुन परिमार्जन गर्दै र कानुनबमोजिम गठन भएका संरचनालाई सक्रिय पार्दै आर्थिक अपराध नियन्त्रणमा दृढ बन्नुपर्छ । शंकास्पद कारोबार गरेको देखिए छानबिन गरेर स्रोत नखुलेका सम्पत्ति जफत गर्न सक्नुपर्छ । सीमित व्यवसायीको स्वार्थ र प्रभावमा परेर अवैध कारोबारलाई कतैबाट प्रोत्साहन गरिनु हुन्न ।

प्रकाशित : माघ १७, २०७४ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?