कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

पहेँलो गुलाफको एउटा पत्र

श्रद्धाञ्जली

काठमाडौँ — ‘गुलाफ फुलिसकेछ । कति राम्रो, दुइटा मात्र फुलेछ । कहिलेदेखि पर्खेको मैले यो पहेंँलो गुलाफलाई । अझ अरू त फुलेकै छैनन् । यी नफक्रेका कोपिलालाई कति आनन्द छ अहिले, एउटा प्रगाढ निद्रा, अनन्त शान्ति । यी फक्रेका फूल कठै ! फेरि झुसिलकिरा लागेछ । मेरो कामै झुसिलकिरा टिपेर फ्याँक्ने भइसक्यो ।’

पहेँलो गुलाफको एउटा पत्र

नेपाली साहित्यका क्षेत्रमा पाइला चाल्दै गर्दा १८ वर्षे उमेरमा प्रेमा शाहले लेखेकी थिइन्, एउटा उम्दा कथा— पहेंँलो गुलाफ । एउटी नारीको मानसिक उतार–चढाव र सँगै उभिएको पुरुषको यौन अतृप्तिको मनोविज्ञानलाई झुसिलकिरा लागेर पत्रपत्र खस्दै गरेको पहेंँलो गुलाफको फूलसँग तुलना गरिएको त्यस्तो कथानक आफैंमा अनौठो थियो । २०२० सालतिर भर्खरै क्याम्पस पढ्दै गरेकी प्रेमालाई सिग्मन्ड फ्रायड वा फ्राइडियन शैली त्यति पत्तो भैसकेको थिएन । उनी भन्थिन्, ‘म त हाम्रै गोठाले, भिक्षु, विजय मल्ल वा बीपी कोइरालाका कथा मन दिएर पढ्ने गर्थेँ । बाहिरी कथावस्तु वा शैली पनि त्यस्तो थाहा थिएन । धेरै अर्थमा एउटा पुरुष पात्रको दृष्टिकोण र विम्ब–चेतना फूलमा झुम्मिने झुसिलकिरा जस्तै भन्ने ठानेर, त्यो अर्थमा पहेँलो गुलाफ लेखेकी थिएँ । कथा निकै चल्यो, उपल्लो कोटीको प्रयोग भनियो । मैले त्यस्तो प्रयोग गरौंला अथवा ‘कुछ होला’ भनेर लेखेको जस्तो लाग्दैन ।’

प्रोफाइल लेखनका क्रममा भेटघाट हँुदा कथाकार प्रेमा शाह जे भन्ने गर्थिन्, त्यो सुनिरहुँ जस्तो लाग्थ्यो । पछिल्लो समय झन्डै एक दशकयता अमेरिकावासी बनेकी प्रेमाको यो साता निधन भएको खबर आएपछि मात्रै ती हक्की र प्रयोगपरक लेखिकाको एकैसाथ स्मरण भैरहेको छ । वीरगन्जको श्रीपुरमा २००२ सालमा जन्मिएकी गिरिराजलक्ष्मी शाह कालान्तरमा नेपाली साहित्य जगतमा प्रेमा शाह बनेर कसरी उभिइन् भन्ने कथा आफैंमा रोचक छ ।

वीरगन्जमा जन्मिए पनि बाल्यकालीन र पछिको धेरै समय काठमाडौंमा मावली परिवारमा बिताएकी प्रेमा शाह आफ्नो स्वभाव र पारिवारिक पृष्ठभूमिका कारण पनि धेरैजसो अन्तरमुखी झैं रहिन् । नेपाली समाज र त्यसमाथि लेखन, प्रयोग र शैलीमा ‘खुलापन’ खोज्ने नारी हस्ताक्षर भएपछि अरू के चाहियो ? एक पटक चेतना र विद्रोहको संकेतमा ‘आऊ, मलाई सम्भोग गर’ भन्दै कविता वाचन गरेकै भरमा उनलाई भिन्न दृष्टिकोणले हेर्नेहरू पनि निकैजना निस्किएका रहेछन् । अक्सर आफ्नो लेखाइ र अरूको बुझाइको तारतम्य नमिल्ने गरेकोमा प्रेमा भन्थिन्, ‘यहाँ धेरैजसो व्याख्याभन्दा बढी अपव्याख्या हुन्छ । मेरो स्वभाव र समस्या के छ भने म व्याख्या गर्दै हिंँड्न रुचाउन्न ।’

‘पहेंँलो गुलाफ’कै कुरा गर्दा यसलाई नारीवादी चेतनादेखि लेखाइको ‘एक्टिभिजम’सम्म भनिएको प्रेमा सम्झिरहेकी हुन्थिन् । हरेक लेखाइ, पात्र र चरित्रले लेखक उभिएको समयलाई समाउने गरेको हुन्छ भन्ने यथार्थमा उनी सहमत थिइन् । ‘पहेंँलो गुलाफ’ विचलित र विक्षिप्त एउटी नारीको मात्रै होइन, अब पुरुषको पनि प्रतीक बनिसकेको उनको परिमार्जित धारणा थियो । ‘अब त के नारी, के पुरुष भन्ने भैसक्यो,’ प्रेमाले एउटा लिखित प्रश्नोत्तरको जवाफमा भनेकी छन्, ‘अहिले प्रेमको परिभाषा बदलिएको छ, मान्छे–मान्छेबीच सम्बन्धको पुल नै छैन । सतही छ धेरै कुरा, सम्भँmदा पनि दिक्कै लाग्ने ।’

वीरगन्जको एउटै पृष्ठभूमि र लेखनशैलीमा पनि नवीनता रुचाउने मिल्दो स्वभाव भएकाले प्रेमाले आदरपूर्वक सबैभन्दा धेरै सम्झने लेखक ध्रुवचन्द्र गौतम थिए । गौतमसँग २०२१ साल यताको प्रेमाको साहित्यिक संगत सधैंभर रह्यो । त्यही संगत र साहचर्यले २०३१ सालमा प्रेमा सहितका १० लेखक मिलेर नेपाली साहित्यमा एउटा अनौठो प्रयोगपरक संयुक्त लेखन आयो, ‘आकाश विभाजित छ’ नामको उपन्यासका रूपमा । त्यो प्रयोगमा गौतम र शाहसहित परशु प्रधान, ध्रुव सापकोटा, केदार अमात्य, दौलतविक्रम विष्ट, मञ्जु काँचुली, पुष्कर लोहनी, शैलेन्द्र साकार, शंकर कोइरालासमेत जोडिएका थिए । यो प्रयोगमा पारिजात र शंकर लामिछाने पनि जोडिने भनेर केही समय लेखक समूहले पर्खिएका थिए, तर पछि त्यत्तिकै उपन्यास तुरियो । ‘नारी हस्ताक्षरमा पारिजातपछि सबैभन्दा उम्दा र चर्चाका हिसाबले अग्रणी थिइन् प्रेमा,’ उपन्यासकार ध्रुवचन्द्र गौतम सम्झन्छन्, ‘कथा लेखनमा प्रेमाले भित्र्याएको यौन मनोविज्ञानको सूक्ष्म शैलीको म प्रशंसक हुँ ।’ समयान्तरमा अभिनेत्री जल शाहकी आमा भनेर चिनिएकी प्रेमाले छोरीलाई हुर्काउन र सही मार्गदर्शन दिलाउन गरेको त्याग–समर्पण साँच्चै उल्लेख्य रहेको गौतमको सम्झना छ ।

‘तपाईका कथामा फिल्म बनाएर यसलाई खेल्न भन्नुपर्‍यो’ भन्दै छोरी जललाई लिएर प्रेमा आफूलाई भेट्न आउने गरेको बितेको समय सम्झिरहेका छन्, गौतम । २०१६ सालमा पहिलोपटक ‘शारदा’ पत्रिकामा ‘प्रतिक्रिया’ शीर्षक कथा लेखेर साहित्यिक जगतमा आएकी प्रेमाका कथा संग्रहहरू ‘पहेंँलो गुलाफ’ र ‘विषयान्तर’ तथा उपन्यास ‘मम्मी’ प्रकाशित छन् । समीक्षकहरूले प्रेमाको लेखनमा परम्परागत शैलीभन्दा एकदमै भिन्न खुराक पाइने भन्दै ‘पहेंँलो गुलाफ’लाई यस्तै ‘अकथा’ मानेका छन् । यो अकथाभित्र डायरी लेख्ने क्रममा उब्जिएको एकालाप र आत्मालाप छ । यो भन्दा अलग विधामा प्रेमाका झन्डै एक दर्जन बालकथा र उपन्यास पनि प्रकाशित छन्, जुन बजारमा अप्राप्य छन् ।

आफ्नो जन्मथलो वीरगन्जमा नारायणी वाङमय प्रतिष्ठान स्थापना गराउनेदेखि आञ्चलिक साहित्यको श्रीवृद्धिमा उनी खुलेरै लागिपरेकी थिइन् । एउटा लेखकका निम्ति आफ्नै जीवनको भोगाइ पनि लेखन स्रोत र ऊर्जा बन्न सक्ने ‘आम बुझाइ’मा प्रेमा सहमत थिइनन् । उनी भन्थिन्, ‘मैले आफ्नो होइन, अरूका दु:ख, संघर्ष र संवेदनामाथि कलम चलाएकी छु ।’

‘कल्पनाशील मान्छे कि रंगमा कि मसीमा रमाउने रहेछ’ भन्दै बनारसको काशी हिन्दु विश्वविद्यालयसम्म पुगेर प्रेमाले चित्रकला प्रशिक्षण लिएकी थिइन् । सास्ती र जी–हजुरी लेख्ने तथा पद र कुर्सीकै लागि आफ्नो लेखन धर्मलाई उपयोग गर्ने जोकोही लेखकलाई ‘क्षणिक’ भन्ठान्थिन्, प्रेमा । उनको

भनाइ हुन्थ्यो, ‘नाराको पर्चा र पोष्टर होइन, साहित्य ।’

प्रेमाले २०२८ र २०३८ सालमा दुईपटक बिहा गरिन् । तर सधैंभर जीवनमा रोजेका बाटा र बेहोरेका भोगाइ ‘व्यावहारिक’ बन्न सक्छन् भन्ने आधार सबैमा मान्य हुँदैन । दुबै विवाह सफल नभएपछि उनले छोरी जललाई हुर्काउन र पढाउन सर्लाही, नेपालगन्ज, वीरगन्जतिर शिक्षिका बनेर केही वर्ष बिताएकी थिइन् । त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एमए गरेकी प्रेमाले वीरगन्जको ठाकुरराम र नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा केही समय प्राध्यापन गरेकी थिइन् । एकल महिलाले बेहोरेको संघर्ष र खेप्नुपरेको हैरानीका माझ यही कारण प्रेमाको साहित्यिक ऊर्जा क्रमश: दुर्लभ बन्दै गयो र अमेरिका पुगेपछि त उनी हराएझैं बनिन् । पछिल्ला वर्षमा उनी आफ्ना कविताको संकलन निकाल्ने तयारीमा थिइन्, यसमा छोरी जलले साथ दिइरहेकी बताउने गर्थिन् ।

प्रेमा आफ्नो लेखन, शैली र विषय–वस्तुमा झैं उमेरको रूप–सौन्दर्यमा पनि तिख्खर थिइन् । क्याप्टेन जनकबहादुर राणा (प्रथम नेपाल सुन्दरी रुवि राणाका पिता) ले ‘रचना’ पत्रिकाको एउटा स्मरण लेखमा भनेका थिए, ‘प्रेमा शाह कुनै अज्ञात मूर्तिकारले कँुदेको भिनस–डे–मिलोको प्रतिमाझैं सुन्दर थिइन् । सेनाबाट वार्षिक विदामा वीरगन्ज फर्केका बेला म प्रायश: बिहान क्याम्पस लाग्ने समयमा ठाकुरराम क्याम्पसको गेटनिर पुग्थेंँ, प्रेमाको एक झलक पाउन । तर पछि प्रेमाले एउटा अभूतपूर्व कविता सिर्जना गरेर ठाउँ–ठाउँमा, कवि गोष्ठीमा ताल ठोकेर वाचन गर्न थालेकी थिइन्, ‘आऊ, मलाई सम्भोग गर...†’

यो कविताको कुरा सुनेर म माथिदेखि तलसम्म कामेको थिएँ । लाहुरे भए पनि म कासानोभा (स्त्रीगमनमा हुरुक्क हुने) पुरुष थिइन, न आइलाग्नेलाई जाइलाग्ने किसिमको थिएँ । तर यहाँ कुरा एकदमै फरक भैदिएको थियो । जसप्रति एउटा अति नाजुक धारणा स्थापित गरेको थिएँ, उसैले लाठे जँुगेमुठेहरूको सभामा मुख फोरेर लल्कारेकी थिइन्, ‘आऊ मलाई सम्भोग गर...!’

त्यस दिनपछि बिदामा वीरगन्ज फर्केको बेला, कहिल्यै ठाकुरराम क्याम्पसतिर मुख फर्काएको थिइन ।’

[email protected]

प्रकाशित : पुस ८, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?