कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जसले देशका लागि ज्यान अर्पे

८२ वर्षीय वृद्ध शुक्रराजका पिता माधवराज जोशीले राणाशासकले झुन्ड्याएको छोराको लास हेरेपछि भने, ‘छोरा, तिमी देशको सपूत रहेछौ, तिमीले ज्यान दिएर नेपाल माताको सेवा गर्‍यौ, धन्यवाद ।’ 
जगत नेपाल

काठमाडौँ — आठ दशक यताका राजनीतिक घटना अध्ययन गर्दा राजनीतिमा मूल्य, मान्यता र आदर्श निरन्तर खस्किँदै गएको छ । देश सेवाका लागि गरिने राजनीति आजभोलि अर्थ आर्जनको आकर्षक व्यवसायमा परिणत भएको छ भने सहिद शब्द १० लाख रुपैयाँमा धमाधम बिक्री भइरहेको छ ।

जसले देशका लागि ज्यान अर्पे

सरकारमा बस्नेहरूले आफ्ना कार्यकर्तालाई १० लाख दिलाउन हचुवाको भरमा जथाभावी सहिद घोषणा गर्ने प्रतिस्पर्धा गरिरहँदा १०४ वर्षे राणाशासन अन्त्यका लागि बलिदानी दिएका चार सहिदका साथै विभिन्न कालखण्डमा मुलुक र लोकतन्त्रका पक्षमा ज्यान आहुति गर्ने सपुतहरूकै अपमान भइरहेको छ ।

१९९३ जेठ २० गते राणाको अत्याचार विरुद्ध टंकप्रसाद आचार्य, दसरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्मा र जीवराज शर्मासहित युवाले प्रजापरिषद्को स्थापना गरे, त्यो पनि शिरमा गीताको पुस्तक राखी प्राण आहुति दिने प्रतिज्ञापत्रमा रगतले सहीछाप गरेर । पार्टीको अध्यक्ष नतोकिए पनि टंकप्रसादलाई सबैले प्रमुख मानेका थिए ।


त्यहीताका शुक्रराज शास्त्रीले भारत पुगेर महात्मा गान्धीलाई भेटे भन्ने भारतीय पत्रपत्रिकामा प्रकाशित खबरले काठमाडौंमा सनसनी फैलियो । संस्कृत र अंग्रेजीका विद्वान शास्त्रीलाई सिंहदरबारमा हाजिर गराई प्रधानमन्त्री जुद्धशमशेरले उनको जागिरमात्र खोसेनन्, चार भञ्ज्याङ (काठमाडौं उपत्यका) बाहिर नजान आदेशसमेत दिए । बिरामी भएका कारण शास्त्रीले उपचारका लागि कलकत्ता जाने अनुमति माग्दै सरकारमा पेस गरेको निवेदनमाथि पनि सुनवाइ भएन । राणाहरू जन्मदै जर्नेल पदवि पाउँथे भने जनतालाई बहिदार, खरिदार हुँदै बडाकाजी भन्दा माथिको पदमा लगिँदैनथ्यो । राणाको बोली नै कानुन सरह थियो । कसैलाई पुरस्कृत गर्न होस् वा मृत्युदण्ड दिन, बोलिदिए पुग्थ्यो ।


धार्मिक मान्यतामा शासनसत्ता चलाएका राणा डराउने एउटै कुरा थियो, पाप । त्यसैले जनतालाई जागरुक बनाउन शुक्रराज शास्त्रीको अगुवाइमा असन, इन्द्रचोकमा पुराण वाचन गर्ने अभियान चलाइयो । गीता पुराण अभियानमा बढ्दो जनसहभागिता देखेर चाकरी–चाप्लुसीमा रमाएका राणा त्रसित थिए । त्यसबाट उनीहरूको निद्रा हराम भइरहेको थियो ।


तर धार्मिक कार्यक्रममा सिधै धावा बोल्ने आँट गर्नसकेका थिएनन् । वाचकहरू पनि राणाको नाम नलिएर उनीहरूको अत्याचार विरुद्व जनता जागरुक बनाउनेगरी राजाहरूका अन्याय, अत्याचारका कथा सुनाउँथे । इन्द्रचोकमा शुक्रराजको प्रवचन सुनेका बीएल शर्मा लेख्छन्, ‘गीतामा कृष्णले अर्जुनलाई भनेको श्लोकको अर्थ लगाउँदै शास्त्रीले भने, मर्‍यौ भने स्वर्ग पुग्छौ, बाँच्यौ भने पृथ्वीमा राज्य गर्नेछौ । तसर्थ हे अर्जुन । तिमी युद्वको लागि दृढनिश्चय भएर उठ ।’ केही समयपछि अनुमतिविना भाषण गरेको र नेवार भएर गीता वाचन गरेको आरोपमा शुक्रराजलाई पक्राउ गरी जेल हालियो ।


राणा विरुद्ध छरिएको पहिलो पर्चा

राणा विरुद्ध जनआक्रोश बढिरहँदा टंकप्रसाद आचार्यले लुकाएर एउटा लिथो प्रेस काठमाडौं खाल्डोमा भित्र्याए । अनि १९९७ असार ९ गते भोटेजात्राका दिन राति पहिलोपटक प्रजापरिषद्का अध्यक्षको नाममा राणा विरोधी पर्चा काठमाडौंका तीनै सहरमा छरियो । सरकारका प्रमुख व्यक्ति र बुद्धिजीवीकहाँ खामबन्दी पर्चा हुलाकबाट समेत पठाइयो । राणा विरुद्ध सार्वजनिक रूपमा वितरण गरिएको त्यो नै पहिलो लिखित दस्तावेज थियो । पर्चाले राणाहरूको आत्मबल कमजोर त भयो नै, आधा शक्तिसमेत घटाइदियो । पर्चा बाँड्नेहरूसँंग ठूलो जनशक्ति र हतियार पनि छ भन्ने हल्ला चलेकाले राणाहरू चिन्तित थिए । १९९७ साउन ११ गते गोर्खापत्रमा प्रजापरिषद्का सदस्यबारे सूचना दिने व्यक्तिलाई ५ हजार इनाम दिने र जाहेर गर्ने मानिस प्रजापरिषद्कै सदस्य भए कारबाही नहुने व्यहोराको इस्तिहार जारी भयो । सरकारले इनाम घोषणा गरेको सातादिन नपुग्दै साउन १७ गते पुन: पर्चा छरिए ।


पथ्वीनारायण शाहले इन्द्रजात्राका बेला काठमाडौंमा विजय गरेको स्मरणमा उत्सव मनाउने चलन चलाएका थिए । त्यसलाई निरन्तरता दिँदै त्यस दिन राणाहरू पनि सहर घुम्ने गर्थे । तर इन्द्रजात्रामा बम हानेर राणालाई खत्तम गर्ने हल्ला व्यापक चलेकाले त्यो वर्ष प्रधानमन्त्री जुद्धशमशेरसहित भाइभारदार यति डराएका थिए कि भएभरका सबै हातहतियार, तोप, मेसिनगन आदि परेडमा लगे ।


पोल खोल्ने सहिदकै आफन्त

पर्चा अभियान चलाएको तीन महिना नपुग्दै इनामको प्रलोभनमा प्रजापरिषद्कै एक सदस्य शुक्रराज शास्त्रीका भाइ रामजी जोशीले पोल खोलिदिएपछि कात्तिक २ गते बिहान ७ बजे पहिलोपटक राजा त्रिभुवनका व्यायाम प्रशिक्षक धर्मभक्त माथेमा पक्राउ परे । घर खानतलासी गर्दा फेला परेको डायरीका आधारमा केही घन्टाभित्रै दसरथ चन्द, गंगालाल श्रेष्ठ पक्राउ परे भने कात्तिक ५ गते गणेशमान सिंह पनि गिरफ्तार भए ।


हस्तलिखित पर्चामा टंकप्रसाद आचार्यको हस्ताक्षर थियो । आचार्य आफैले भनेका छन्, ‘मलाई पक्रन्छ भनेर साथीहरूले पर्चा छर्नुअघि नै बनारस पठाएका थिए । म काठमाडौंबाट आउने खबर लिँदै थिएँ । अचानक जनकपुरबाट एउटा तार आयो, ‘तिम्रो पिताजी सिकिस्त हुनुहन्छ, तुरुन्त आऊ ।’ कुनै षडयन्त्र त होइन ? आशंका लागेर साथीहरूसंँग सल्लाह गरे उनले । उनका पिता जलेश्वरमा जागिरे थिए । पिताजी सिकिस्त भए जानैपर्‍यो, बरु जयनगर पुगेर बुझ्छु भन्दै उनी बनारसबाट हिँडे । सीमा नजिक पुग्नासाथ सिपाहीको फन्दामा परिहाले । आचार्यलाई जेल चलान गरियो ।


प्रजापरिषद्का सदस्यहरूलाई गाथगादी ताकेको, मुलुकको अमनचैन खलब्ल्याएको जस्ता गम्भीर आरोप लगाएर क्रूर र अमानुसिक यातना दिइयो । टंकप्रसाद जेलमै रहँदा उनका पिताको निधन भयो । उनले जेलमै काजकिरिया गरे ।


पर्चा आन्दोलनले सयवर्षे हुकुमी राणाशासनको जग हल्लाइदिएको थियो । जयजयकार बाहेक कहिल्यै आफ्नो विरोध नसुनेका राणाहरू अत्तालिएका थिए । जनतामा विस्तारै चेतानाको विकास हुँदै थियो । पुस्तकालय, स्कुल खोल्नुपर्ने माग उठ्न थालेका थिए ।


प्रजापरिषद्का सदस्यलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा राय लिन १९९७ माघ ६ गते जुद्धशमशेरले सिंहदरबारमा इतिहासकै ठूलो भारदारी सभा बोलाए । ‘सबै राजबन्दीलाई नेल, सिक्री र हत्कडी लगाएरै सैनिक घेराबन्दीमा फुटबल खेल्ने चौरमा राखियो । राणा र भारदारहरू पालमा थिए । प्रधानमन्त्रीको सुरक्षा दस्ता बिजुली गारदलाई तम्तयारी अवस्थामा राखिएको थियो । प्रजापरिषद्लाई राजाको सहयोग छ भनेर तर्साउन केही समयपछि राजा त्रिभुवन, युवराज महेन्द्र, अधिराजकुमार हिमालयलाई त्यहाँ उपस्थित गराइयो । ‘छातीमा पेस्तोल तेस्र्याउँदै नरशमशेरले त्रिभुवनलाई बस्ने ठाउँतिर लगे । दुई छोरा केही नबोली पिताको पछि लागे । महाराज जुद्धशमशेर बडो तामझामसाथ कडा सुरक्षाबीच भारदारी सभा पुगे । राजालाई सलाम गरे । अनि इन्द्रबहादुर कार्कीले उनको हातमा मुद्दा सम्बन्धी कागज राखिदिए । सभालाई सम्बोधन गर्दै जुद्धशमशेरले भनेका थिए ।


‘भारदारहरू † आज तिमीहरूको रायका लागि मैले बोलाएको हुँ । मेरा सामुन्ने उभिएका तिनीहरूलाई हेर, प्रजापरिषद्का मानिस हुन् । जनताको स्वीकृतिबाट हामीले सय वर्षदेखि चलाइआएको शासन यिनीहरूले उल्टाउने रे । यस्ता देशद्रोहीहरूलाई के गर्ने ? हिन्दुस्तानका निच सोसलिष्टहरूको इसारामा हाम्रो गाथगद्दी ताकिरहेका यी देशद्रोहीहरूलाई के कस्तो दण्ड दिनुपर्ला ?’


सभा स्तव्ध भयो । कोही बोलेनन् । जुद्धशमशेर एकोहोरो बम्किरहे । उनले राजा त्रिभुवनतिर हेर्दै भने– ‘यिनीहरू को हुन्, थाहा छ ? हाम्रो चिहान खन्न आएका रक्तपात मण्डली हुन् ।’ उनी आक्रोश पोख्दै थिए– ‘यो सब कुराको बिउ छर्नेचाहिँ ऊ त्यो शुक्रराज भन्ने ज्यापु हो । भारतमा एउटा गान्धी भन्ने छ नि । त्यसैको लहैलहैमा लागेर यहाँ उसैले रैती भड्काउने काम गरेको छ ।’ महाराजका कुरा बीचैमा काटेर शुक्रराज शास्त्रीले भने, ‘यो के तमाशा हो, महाराज ? यतिका भाइभारदार राखेर उनीहरूको रायसल्लाह नबुझी हामीलाई देशद्रोहीको संगिन आरोप लगाउनु त भएन नि । हामीले पनि बोल्ने मौका पाउनुपर्छ ।’


जुद्धशमशेर गर्जिए, ‘के रे ज्यापु, के रे ? धेरै नेपरिएर बोल्छस्, ज्यापु तँ ? मेरा मान्छे लाएर तँलाई अहिले कुल्चेर मारिदिऊँ ?’ सिपाहीहरू शुक्रराजलाई चुप लाग, चुप भनिरहेका थिए । तर क्रान्तिकारी शुक्रराज पनि के कम फुर्तीसाथ भन्नथाले– ‘म सजाय भोग्न तयार छु, महाराज । म महाराजसँंग न्याय मागिरहेको छु, दया होइन ।

यत्रा भाइभारदार जम्मा गरेर बोल्नै नदिई देशद्रोही भन्न पाइन्छ ?’


महाराज भन्न थाले– ‘झन्डै किराले हीरा बिगार्न लागेका थिए । यिनलाई के सजाय दिने तिमीहरू नै भन ।’ गुरु हेमराज र पण्डित सोमनाथले मनुस्मृतिका धार्मिक श्लोक वाचन गर्दै ‘राजद्रोही ब्राह्मण नै किन नहोस्, उसलाई मृत्युदण्ड दिन सकिन्छ सरकार’ भन्ने राय राखे । कर्णेल यज्ञविक्रम धमलाले भने, ‘भाँचाखुसी’ बन्द भएकाले हेपेका हुन् । सरकार तरबार बक्सियोस्, म आफैं सबैलाई काटिदिन्छु ।


अन्त्यमा जुद्धशमशेरले राजा त्रिभुवनतिर फर्केर सोधे– ‘के सजाय गर्नुपर्ला ?’ ‘राजाले भने– ‘कन्सिडर गर्नुपर्छ ।’ सभा सकिएर पछि गणेशमानका बाजे रत्नमानलाई सजाय सुनाउन भनियो । तर आँट नभएर उनी बोल्नै सकेनन् । सबभन्दा पहिला शुक्रराज शास्त्रीलाई सर्वस्वसहित फाँसीको सजाय सुनाइयो, अनि दसरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई पनि ।


राणाकालमा चरम यातना भोगेका गणेशमानले भनेका छन्– ‘राजबन्दीलाई दुई हातमाथि ठड्याएर बाँसमा बाँधेर कोर्रा लगाउँथे । चरम अमानवीय यातना दिइएपछि सहिद दसरथ चन्दले भनेका थिए– ‘मलाई मार । तर म भूत भएर पनि राणालाई त खान्छु–खान्छु ।’


अर्का सहिद गंगालाललाई दिइएको यातनाबारे गणेशमानले भनेका छन्– ‘चोकमा बाँस तयार थियो । त्यसैमा बाँधेर दुईतिर दुई जनाले उचाल्ने र एउटा गोडामा कोर्रा हान्ने गर्नथाले । बाँसमा बाँधिएका गंगालाललाई उचाल्नेहरू थाकेर केही बेरपछि बाँसै नै छाडिदिन्थे । अनि डोरी छिनेर बाँस र मानिस छुट्टिन्थे । त्यो बेला गंगालालको अवस्था गुलेली लागेर भुइँमा झरेको चराजस्तै हुन्थ्यो । जसरी चरा चुच्चो भुइँमा गाडेर र्‍याल काड्छ, त्यसैगरी पछाडि फर्काएर हात बाँधिएका गंगालालको मुख भुइँमा जोतिन्थ्यो र मुख तथा नाकबाट र्‍याल र सिँगान एकसाथ झर्न थाल्थ्यो । त्यस्तो अवस्थामा समेत लात्ती, जुत्ता, कोर्रा हान्न छाड्दैनथे ।’


गणेशमानलाई पनि पानीमा पहिले नै भिजाएर राखिएको कोर्रा एकै दिनमा ६ सय ३ पटकसम्म लगाइएको थियो । उनले भनेका छन्– ‘पिँडुलामा जब कोर्राको मार पथ्र्याे, त्यो खुट्टामा फनफन्ती बेरिएर छालामा च्याप्प टाँसिन्थ्यो । कोर्रा प्रहार गर्दा जति दुख्थ्यो, त्यसलाई तान्दा त्योभन्दा बढी पीडा हुन्थ्यो ।’ उनलाई कोर्रा लगाइएको दृश्य हेरेका एक सिपाहीले भनेका छन्– ‘कतिऔं कोर्रामा गणेशमान बेहोश भए थाहा छैन ।’


त्यो बेलासम्म राजाको लालमोहर नभई मान्छे मार्न पाइँदैनथ्यो । तर गंगालाल, धर्मभक्त, शुक्रराज र दसरथ चन्द माथिको मृत्युदण्ड कार्यान्वयनका बेला लालमोहर लगाइएन । मनुस्मृतिले ‘ब्राह्मणलाई मृत्युदण्ड नदिनु भनेकाले टंकप्रसाद र रामहरि बँचे । चारपाटा मुड्नु ब्राह्मणहरूका लागि मृत्युदण्ड सरह हुन्छ भन्ने मनुस्मृतिमा लेखिएकाले उनीहरूलाई चारपाटा मुडेर छाडियो । जात च्युत गरियो ।


आचार्य र शर्माको फैसला सुनाउँदै बहादुरशमशेरले भनेका थिए– ‘बाहुन भएर बाँचिस्, नत्र हेर, तेरो छाला काडेर चौटा–चौटा पारेर कौवा, चिल र गिद्धलाई ख्वाउँथेँ, बुझिस् ।’ मृत्युदण्ड कार्यान्वयन गर्नुअघि गंगालाल, धर्मभक्त, दसरथ चन्द र शुक्रराज शास्त्रीलाई माफी माग्न भनियो । चारै सहिदले भने– ‘हामीले केही विराएका छैनांै, देश तिमीहरूको पेवा होइन ।’ राणा जर्नेललाई तिमी भनेर अपमान गरेको आरोपमा बेस्सरी पिट्न आदेश दिइयो ।


फाँसी दिनुअघि शुक्रराजलाई उनको अन्तिम इच्छा सोधियो । उनले भने– ‘पवित्र वाग्मतीमा स्नान गरी गीता पढ्न पाऊँ ।’ राणाहरू उनको अन्तिम इच्छा पूरा गर्न दिने वा नदिने भनेर अकमकाए । अन्त्यमा उनको इच्छा पूरा हुनदिए । शुक्रराजलाई फाँसी भयो भन्ने हल्ला सुनेर लगनटोलबाट दौडिँदै पचली पुगेका राजा त्रिभुवनका निजी सचिव दयारामभक्त माथेमाले भनेका छन्– ‘रातो रंगको भोटो र गम्छा लगाएको मानिसलाई झुन्ड्याइराखेको देख्यौं । उनको छातीमा झुन्ड्याइराखेको कागजमा राणाको विरोध गर्नेलाई यस्तै सजाय हुन्छ लेखिएको थियो । रुख नजिक कसैलाई जान दिइएन ।’ टाढाबाट नियालिरहेका माथेमाले पातला–दुव्ला एक वृद्ध लट्ठी टेक्दै रुखैमुनि पुगेको देखे । गेरुवस्त्र लाएका ८२ वर्षीय ती वृद्ध शुक्रराजका पिता माधवराज जोशी थिए । छोराको लास हेरेपछि उनले भने– ‘छोरा, तिमी देशको सपुत रहेछौ, तिमीले ज्यान दिएर नेपाल माताको सेवा गर्‍यौ, धन्यवाद ।’ उनको परिवारलाई लास लैजान दिइएन । अनि परिवारजनले ‘समयमा शव जिम्मा नदिनेले नै दाहसंस्कार गरोस्, हामी लास बुझ्दैनौं’ भन्ने जवाफ दिए । त्यसपछि शुक्रराजको घरमै प्रहरी पठाएर उनका भाइ वाक्पतिराजलाई लछारपछार पार्दै मुन्ट्याउँदै र गलहत्याउँदै जबर्जस्ती लास जिम्मा लगाइयो । लास जलाउन आर्यघाटमा ठाउँसमेत दिइएन । नदीको बीचमा दाउरा ओछ्याएर चिता खडा गरी दाहसंस्कार गरियो ।


माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा झुन्ड्याइयो । माघ १६ गते गंगालाल श्रेष्ठ र दसरथ चन्दलाई मार्न शोभाभगवती लगियो । अनि सुरुमा चन्दको तिघ्रामा गोली हानियो । उनले चर्को स्वरमा भने– ‘तिघ्रामा गोली किन हान्छस् ? हिम्मत भए छातीमा हान् ।’ अब पालो आयो गंगालालको । प्रजापरिषद्को अभियानमा कस–कसको सहयोग छ भनेर बकाउन उनलाई दिनहुँ बाँसमा झुन्ड्याएर कोर्रा लगाई साविती बयान गराउने प्रयास भइरहेको थियो । पीडा सहन नसकेपछि उनी भन्ने गर्थे– ‘भो अब नपिट, सबै कुरा भन्छु ।’ अनि पुलिसहरू डोरी खोलिदिन्थे । गंगालाल भन्थे– ‘पहिला पानी देऊ, खाएर भन्छु ।’ माघको जाडोमा एक करुवा चिसो पानी खाएपछि उनी भन्थे– ‘मलाई केही थाहा छैन ।’ फेरि यातनाको शृङ्खला सुरु हुन्थ्यो । कोर्रा लगाउँदा शरीरबाट आएको रगतले लुगा रातै हुन्थे । गंगालाललाई मृत्युदण्ड सुनाइएकाले उनकी गर्भवती पत्नी हसिनादेवी भयभीत थिइन् । कैयौं दिन खाना नखाएर रातभर जाग्रामै बसिन् । पतिको ज्यान जोगाउन सकिन्छ कि भनेर रुँदै जुद्धशमशेरको दरबारमा आफूले भेट्न चाहेको खबर पठाइन् । महाराजले भेट दिनु त के उल्टै खबर पठाइदिए, ‘उमेर छँदैछ । जसले पनि लगिहाल्छ । पोइल जा भनिदेऊ ।’ हसिना निराश भएर रुँदै फर्किइन् । नेपाली आमाका चार सपुतलाई मारेपछि राणाहरूले ‘देशद्रोही’ जोकोहीको हाल यस्तै हुन्छ भनी व्यापक प्रचार–प्रसार अभियान चलाए ।

प्रकाशित : माघ १६, २०७४ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?