लोग्नेमान्छेका पीडा

लोग्नेमान्छेहरू पनि चट्टान होइनन् होला, धेरै लोग्नेमान्छेसँग पनि छन् होला, दु:खका पहाड । भोक निलेर भोकै हिँड्ने पुरुष पनि छन्, यो समाजमा । 
राधिका अधिकारी

काठमाडौँ — यो साता नेपाली मिडियाको ठूलो हिस्सा मनोज–मिनाले ओगटे । कलाकारितामा आफ्नो राम्रो स्थान बनाएका सफल कलाकार मनोज गजुरेलले आफ्नो पारिवारिक जिन्दगी भने सफल बनाउन सकेनन् । उनले श्रीमती मिना ढकालसँगको २२ वर्ष लामो सहयात्रामा पूर्णविराम लगाए ।

‘सेलिब्रेटी’का हिसाबले उनको पारपाचुकेको खबरले स्थान पाउनु ठूलो कुरा भएन र लागेन पनि । तर ‘डिभोर्स’पछि मनोजकी पूर्वपत्नी मिना एकाएक चर्चामा आइन् । सबैभन्दा बेसी मिनाले यु–ट्युब च्यानलमा स्थान पाइन् । उनी कतै रोइन्, कतै मज्जाले दिल खोलेर हाँसिन् । मिनाका आँसु र हाँसोले लाखौं ‘भिअर्स’ पाए । यु–ट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आउन सफल भए उनका आँसु र हाँसोको कथा ।

तर मिनालाई भन्दा धेरैले चिनेका मनोजका आँसु कुनै यु–ट्युबमा फेला परेनन् । मनोजलाई खोज्दै खोजेनन् अथवा रुन र हाँस्न चाहेनन्, यो समयमा । त्यो फरक कुरा भयो । तर यहाँ मिनाकै झैँ विभिन्न समयमा, विभिन्न तरिकाले महिलाका पीडा, कुण्ठा र आक्रोशको व्यापार भएको छ ।


केही समयअघि रूपन्देहीकी युवती मीना यादवलाई उनका पिताले निर्घात रूपमा कुटेको एक भिडियो एकाएक यु–ट्युबमा चर्चामा आयो । कारण थियो, प्रेम गरेको दोष । त्यो पनि तल्लो जातको (भनिने) युवासँग । स्थानीय युवा दिनेश लोधसँग प्रेम सम्बन्ध गाँसेकी उनलाई एकान्तमा भेटेको निहुँमा बाबुले मर्नेगरी कुटे, गाउँलेको अगाडि नै, लाठै–लाठाले ।


घटना त्यति मात्रै थिएन । उनीसँगै कुटिएका थिए, उनका प्रेमी दिनेश पनि । यो घटना २०७४ असार १९ गतेको हो । घटना भएको करिब १५ दिनपछि सार्वजनिक भएको भिडियो सामाजिक सञ्जालभर फैलियो । मीनाले असाध्यै धेरै सहानुभूति पनि पाइन् । भिडियोले धेरैलाई तरंगित बनायो । चौतर्फी आलोचनापछि स्थानीय प्रशासन पनि तात्यो र कुटपिटमा संलग्न ५ जनालाई हिरासतमा लियो ।


महिला हिंसा, महिलामाथि निर्घात कुटपिट लगायतका ‘ट्याग’मा समाचार र भिडियोले सर्वत्र बजार पिट्यो । तर मीनासँगै पिटिएका दिनेशको खासै चर्चा भएन । प्रेम गरेकै आधारमा कुटाइ खाएर उल्टै १ लाख क्षतिपूर्ति तिरेका दिनेश माथिको अन्याय यो समाजले देख्यो कि देखेन ? देखेको थियो भने मीनालाई जस्तै दिनेशको नामलाई किन स्थान दिइएन ? कि पुरुष हिंसाको वकालत हुँदैन ? भाटा बजार्दा पुरुषलाई नदुख्ने भन्ने पनि हुन्छ र ? होइन भने मिडियाकर्मीको समेत त्यसतर्फ ध्यान किन पुग्न सकेन ?


प्रेमीसँगै कुटिएकी एउटी छोरीको आँसुको व्यापार गर्दै उसमाथि थप परेको अन्यायको विषयमा के सोच्यो समाजले ? छोरी कुटेको समाचारका आधारमा जेल परेका बाबुले जेलबाट फर्किएपछि त्यही घरमा छोरीलाई आश्रय सहजै देलान् ? प्रेमीले उनीसँग विवाह नगर्ने भनिसकेका छन् । सार्वजनिक रूपमा प्रेम अपराधमा कुटिएकी मीनालाई विवाह गर्न अर्को पुरुष तयार हुन्छ या हुँदैन ? मीनाको अबको बाँच्ने आधार के ? उनको आँसुको व्यापार गरेर केही पैसा कमाएका यु–ट्युबले उनको भविष्यको ठेक्का लिन्छन् ? समाचार लेख्दा किन पीडितलाई झन् पीडा दिनेगरी लेखिन्छ ?


मीना ढकाल र मीना यादवहरू त यो समाजका प्रतिनिधि पात्रमात्रै हुन् । यो समाजले कहिले बेच्छ, ज्योति मगरहरूका अर्धनग्न शरीर । र उदाङ्गो बन्न सिकाउँछ, समाजलाई । कहिले बेच्छ, अर्चना पनेरुहरूका सपना, कुसुमहरूका सुन्दरता र यौवन, मूकदर्शक बन्छ र हेर्छ समय । कहिले बेचिन्छन्, शारदा भुषालहरूका एकोहोरो कुण्ठा । र बदनाम गरिन्छ, कसैको । त्यही पनि कहिल्यै खुल्दैनन्, हाम्रा आँखा । छ्यापछ्याप्ती पार्छौं, कञ्चन शर्माहरूका एकोहोरो विलाप र धज्जी उडाउँछौं– कसैको जीवन, विवशता र इज्जतको । फेरि हामी भन्छौं, सभ्य भएका छौं । हामी र सुरक्षित छन्, हाम्रा चेलीहरू । हिजो सुदूर गाउँबाट बम्बई पुर्‍याइन्थ्यो, छोरीहरूलाई (अहिले केही कम होला, तर चेली बम्बई पुग्ने क्रम रोकिएको छैन), आज सहरका चोक–चोक र गल्ली–गल्लीबाट सामाजिक सञ्जाल मार्फत संसारभर व्यापारका लागि राखिन्छ, छोरी मान्छेको अस्मिता र आँसु । फरक छ, हिजो छोरीको शरीर बेचिन्थ्यो, आज आँसु, कुण्ठा, जवानी, रहर र सपना बेचिन्छन् ।


हुन त शारदा भुषालको पीडालाई आत्मकथाको नाम दिएर प्रकाशन र

बिक्री गरेका मञ्जरी प्रकाशनका कृष्ण अविरल यो व्यापार नभएर न्यायका लागि चालिएको कदम भन्छन् । ‘कोही महिला पीडित छु भन्दै आउँछिन्, उनको पीडा पुष्टि हुन्छ भने किन प्रकाशित नगर्ने भनेर प्रकाशित गरिएको हो । व्यवसायसँगै सामाजिक उत्तरदायित्व निर्वाह गरेका हौं । तिम्रो दृष्टिमा मञ्जरी प्रकाशनले टन्नै कमायो भन्ने रै’छ, धरातलबाट । सारमा भन्नुपर्दा व्यावसायिक दृष्टिले उक्त पुस्तक औसत रह्यो’– कृष्ण अविरलले मलाई लेखेरै दिएको जवाफ हो, यो । तर बुुझ्न नसकेको कुरा उनको यो आत्मकथाले केही थान मान्छेका अगाडि भुषाललाई चरित्रहीन बनाउनुभन्दा अरु कुनै उपलब्धि गरेकै छैन । त्यही हो, उनले केही रकम उठाए होलान्, उनको यौनको व्यापार गरेर । उनले भुषाललाई न्याय दिन भन्दै प्रकाशन गरेको ‘धरातल’ ले मोदनाथको जीवनमा कुनै असर गर्नै सकेन । उल्टै शारदा भुषालले मानसिक रोगीको बिल्ला भिर्नुपर्‍यो, चरित्रहीन आइमाई बन्नुपर्‍यो । यो पुस्तक प्रकाशन गरेर मीना यादवका पितालाई जति पनि कारबाही गर्न सकिएन ।


कञ्चनको घटना अलिक फरक रह्यो । उनका श्रीमानले उनलाई राहत दिए । त्यो अलग कुरा हो । तर अहिले तिनै कञ्चन सहरको कुन कुनामा छिन्, हिजो उचाल्ने मिडियाकर्मीहरू नै बेखबर छन् । फेरि पनि समाजलाई किन हतारो हुन्छ, छोरी मान्छेका आँसु बेच्न ? कञ्चनको कुरा सुनेर कञ्चनको अघि उनका श्रीमानको पीडा सुनाएको भए यो समाज त्यसैगरी कोकोहोलो गरेर पछि लाग्थ्यो या लाग्दैनथ्यो ? मनोज गजुरेलका आँसुहरूले उत्तिकै भि–अर्स पाउँथे या पाउँदैनथे । यसको प्रयोग कसले गर्ने ? लोग्नेमान्छेहरू पनि चट्टान होइनन् होला, धेरै लोग्नेमान्छेसँग पनि छन् होला, दु:खका पहाड । भोक निलेर भोकै हिँड्ने पुरुष पनि छन्, यो समाजमा । किन सक्दैन, यो समाजले ती लोग्नेमान्छेहरूका आँसु, पीडा, अभाव र दुखाइहरूको व्यापार गर्न ? कृष्ण अविरलहरू किन अघि सर्दैनन्, तिनका आत्मकथा प्रकाशन गर्न ? नारीका आँसु, पीडा, वेदना, कुण्ठा र जवानीको व्यापार गरेर किन कहिल्यै अघाउँदैन, यो समाज ? र बारम्बार रमिता बनिरहन्छन्, यहाँ चेलीहरू ।

[email protected]

प्रकाशित : माघ १७, २०७४ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?