नेपाली अर्थतन्त्र यति बेला इतिहासकै कठिन अवस्थामा छ । केन्द्रीय बैंक र विकास साझेदारहरूको तथ्यांकले अर्थतन्त्रको अवस्था सामान्यीकरण हुँदै गएको देखाए पनि वास्तविकता भने फरक छ ।
यस वर्षको बजेट निजी क्षेत्रले निकै कुरेर बसेको थियो । अहिलेको अवस्था एकदमै अप्ठ्यारो भएकाले बजेट एकदमै उद्धारमुखी, बाहिरी तथा आन्तरिक लगानी भित्र्याउनेलगायत नीतिगत व्यवस्था बजेटमा आउने आशा थियो । तर बजेट विरोधाभासका रूपमा देखिएको छ । निजी क्षेत्र एकदमै उदासीन भएको अवस्था छ ।
नेपालमा व्यावहारिक रुपमा व्यवसाय गर्ने वातावरण नै छैन । व्यवसाय सञ्चालन गर्न धेरै नीतिगत उल्झनहरु छन् । नीतिगत उल्झनकै कारण उत्पादनमूलक उद्योगहरुलाई अगाडि बढाउन सकेका छैनौं । सरकारी तथा बाहिर अन्य मुलुकका व्यक्तिहरुले पनि नेपालमा उत्पादनमूलक, उद्योग व्यवसायभन्दा व्यापार किन सहज छन् भनेर प्रश्न गर्छन् । साँच्चै नेपालमा व्यापार गर्न सहज छ । नीतिगत उल्झनका कारण उद्योगबाट पलायन हुँदै व्यापारतर्फ आकर्षण बढेको छ । व्यापार घाटा अझै बढ्दै जानेछ ।
कोभिड महामारीको कहर अझै बाँकी छ । दोस्रो लहरको समाप्तिसँगै महामारीको असर कम भए पनि निश्चिन्त भइहाल्ने अवस्था छैन । भ्याक्सिनको विकास, विस्तार र उपयोगिताबाट लाभ लिन सकेका कारण नेपालमा महामारी नियन्त्रणकै अवस्थामा छ । महामारीका आर्थिक–सामाजिक बाछिटा भने अझै पनि उत्तिकै त्रासदीपूर्ण छन् ।