कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

को हुन् त्रिविका नवनियुक्त रजिष्ट्रार रिजाल र रेक्टर केसी

काठमाडौँ — प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले शुक्रबार त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा केदार रिजाल र रेक्टर (शिक्षाध्यक्ष) मा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेका छन् ।

को हुन् त्रिविका नवनियुक्त रजिष्ट्रार रिजाल र रेक्टर केसी

उपकुलपतिको सिफारिसका आधारमा उनीहरु नियुक्त भएका हुन् । रिजाल र केसीको नाम नियुक्तिका लागि उपकुलपति केशरजंग बरालले चैत १५ गते सिफारिस गरेका थिए । उपकुलपतिले सार्वजनिक सूचनाबाट व्यक्तिगत विवरण माग गरी प्राध्यापकहरुमध्येबाट दुई जनाको नाम सिफारिस गरेका थिए ।

त्रिवि ऐनमा उपकुलपतिले गरेको सिफारिसको आधारमा कुलपतिले रेक्टर र रजिष्ट्रार नियुक्ति गर्ने व्यवस्था छ । तर प्रधानमन्त्री दाहाल र सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले सिफारिसमा पुनर्विचार गर्न दबाब दिएपछि नियुक्तिमा ढिलाइ भएको थियो । सिफारिस गरेका व्यक्तिलाई नियुक्त नगरे उनीहरुलाई ३ महिने जिम्मेवारी दिने अडान उपकुलपति बरालले लिएका थिए । उनको अडानपछि कुलपतिले सिफारिस गरिएकै व्यक्तिहरुलाई नियुक्ति गरेका हुन् । यसअघि राजनीतिक भागबन्डाको आधारमा पदाधिकारी चयन हुने गरेको भन्दै रेक्टर, रजिष्ट्रार नियुक्ति उपकुलपतिको सिफारिसमा गर्दै उनलाई टिम बनाउने अधिकार दिनुपर्ने आवाज उठेको थियो । उपकुलपति बरालले त्रिविलाई नियुक्तिमा भागबन्डा मुक्त गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।

रिजाल र केसीले शुक्रबार नै नियुक्तपत्रसमेत बुझेको बरालले जनाए । नवनियुक्त रजिष्ट्रार रिजाल नेपाल खुला विश्वविद्यालय विज्ञान, स्वास्थ्य र प्रविधि संकायका डिन हुन् । त्रिवि वातावरण विज्ञान विभागका प्राध्यापक उनी एक वर्षअघि डिन नियुक्त भएका थिए । त्यसअघि पदपूर्ति समितिका सदस्य थिए । २०४९ सालमा त्रिचन्द्र क्याम्पसबाट उपप्राध्यापकका रुपमा उनले प्राध्यापन सुरु गरेका थिए । त्रिवि र अस्ट्रेलियाबाट स्नातककोत्तर रिजालले भारतको पुणे विश्वविद्यालयबाट वातावरण विज्ञानमा पीएचडी गरेका छन् । ६१ वर्षीय उनी धादिङ निवासी हुन् ।

त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका संस्थापक प्रमुख केसी २०५३ सालदेखि पृथ्वीनारायण क्याम्पस पोखराबाट प्राध्यापन पेसामा सक्रिय थिए । त्रिविबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर उनले जापानको नागासाकी विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको बोर्ड पूर्वसदस्य रहेका उनी पर्वत निवासी हुन् । ५६ वर्षीय नवनियुक्त रजिष्ट्रार केसी सरकारले गठन गरेको गृह प्रशासन सुधार उच्चस्तरीय कार्यदलका सदस्यसमेत छन् । रिजाल कांग्रेस र केसी एमाले निकट मानिए पनि उनीहरु प्राध्यापक संगठनलगायत कुनै पनि भ्रात संगठनमा भने आबद्ध छैनन् ।

त्रिविमा कात्तिकदेखि रेक्टर र पुसदेखि रजिष्ट्रार निमित्त थिए । पूर्वउपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल कात्तिकमा सकिएपछि तत्कालीन रेक्टर शिवलाल भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो । भुसाल निमित्त उपकुलपति बनेपछि कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डिनले निमित्त रेक्टरको जिम्मेवारी पाएका थिए ।

त्यस्तै पुसमा पूर्वरजिष्ट्रार पेशल दाहालको कार्यकाल सकिएपछि कानुन संकायका डिन कृष्णप्रसाद बस्याललाई निमित्तको जिम्मेवारी तोकिएको थियो । फागुन ११ गते बराल उपकुलपति नियुक्त भएपछि रेक्टर, रजिष्ट्रारको नियुक्ति प्रक्रिया अघि बढेको थियो । उपकुलपतिसहित उनीहरुको कार्यकाल ४ वर्षको हुनेछ ।

प्रकाशित : चैत्र ३०, २०८० १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×