कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

काठमाडौं विश्वविद्यालयमा अन्तर्राष्ट्रिय उपकुलपति सभा

काठमाडौँ — धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) मा अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा नेपाल-भारत उच्च शिक्षा शिखर सम्मेलन हुने भएको छ । आगामी बिहीबार र शुक्रबार हुने कार्यक्रममा नेपाल, भारत, बंगलादेश, मलेसिया, थाइल्याण्ड लगायत देशका १ सय ५० जना उपककुलपति र शिक्षाविद्को सहभागिता रहने केयूले जनाएको छ।

काठमाडौं विश्वविद्यालयमा अन्तर्राष्ट्रिय उपकुलपति सभा

सभा तथा सम्मेलनमा विश्वले उच्च शिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा, भुमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण मुल बिषय रहने काठमाडौं विश्वविद्यालयका प्रवक्ता एकुमाया पुनले बताइन् । उनका अनुसार अधिकांश सहभागीहरु भारतीय विश्वविद्यालयबाट हुने र युरोप, अफ्रिकाका विश्वविद्यालयको प्रतिनिधिहरुको पनि सहभागिता रहनेछ ।

सम्मेलनले उच्च शिक्षण संस्थामा भुमण्डलीकरणको प्रभाव पत्ता लगाउने, अन्तर्राष्ट्रिय सहयोग र विचारहरुको आदानप्रदानलाई प्रोत्साहित गरिने पुनको भनाइ छ । सभाले साझा सञ्जाल निर्माण, साझेदारी अभ्यास तथा पारस्परिक सहयोग आदानप्रदानको वातारण समेत बनाउने आशा गरिएको उनले बताइन् ।

‘सभाले विभिन्न क्षेत्रका शैक्षिक समुदायहरु बिशेष गरी दक्षिण एसियाली क्षेत्र भित्रका शैक्षिक समुदायहरुबीच सांस्कृतिक विचार आदानप्रदानलाई पनि बढवा दिनेछ,’ सोमबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता पुनले भनिन्, 'सभाको अवधिमा सहभागीहरुले उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रभावकारी रणनीतिहरु बारेमा छलफल गर्नेछन्, जसमा विद्यार्थी आदानप्रदान, संयुक्त अनुसन्धान र पाठ्यक्रम विकास सहितका बिषयहरु समावेश छन् ।’

अन्तराष्ट्रिय उपकुलपति सभामा ३ वटा प्राविधि सत्रहरु सञ्चालन हुने जनाइएको छ । सहभागीहरुबीच अनुसन्धान साझेदारी, विद्यार्थी आदानप्रदान कार्यक्रम, संयुक्त डिग्री र प्राज्ञिक साझेदारीको फाइदाबारे छलफल हुने पुनले बताइन् । ‘उच्च शिक्षाको क्षेत्रमा अन्तराष्ट्रिय सहयोगका साझा मार्ग निर्माणमा केन्द्रीत हुनेछ,’ उनले भनिन् ।

दोस्रो सत्रमा नियमन र नीति निर्माणका साझा मुद्दाहरु, गुणस्तर, सुनिश्चितता तथा प्रत्यायन संयन्त्र, विदेशी मान्यता, सामन्जस्य जस्ता बिषयमा छलफल गरेर विश्वव्यापी उच्च शिक्षामा नियमन र नीतिगत प्रष्टता पहिल्याउने प्रयास हुने उल्लेख छ ।

तेस्रो सत्रमा विद्यार्थीको गतिशिलता र त्यसको विविधताका अन्तराष्ट्रिय अनुभव बारे छलफल गरिने उनले बताइन् । ‘विश्वविद्यालयमा समावेशिता, सदासयता, सांस्कृतिक विविधताका विविद्य पक्षको शैक्षिक बातावरण विकास गर्दै वैश्विक तादात्म्य खोज्ने कार्य हुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘आआफ्ना विशिष्ट अनुभव र दृष्टिकोणलाई उच्चशिक्षाको साझा समृद्धिमा रुपान्तरण गर्दै भूमण्डलीकृत संसारमा साझा सफलता खोज्नु, अन्तराष्ट्रिय उपकुलपति सभाको मुख्य उद्देश्य हो ।’

भारतीय विश्वविद्यालय संघको आयोजना तथा काठमाडौं विश्वविद्यालयको तत्वावधानमा कार्यक्रम आयोजना हुने जनाइएको छ । संघ सन् १९२५ मा स्थापित लामो र ऐतिहासिक विकासत भएको संस्था हो । यसमा केयू सहित बंगलादेश, भुटान, काजकिस्तान, मलेसिया, मरिसस, थाइल्याण्ड, संयुक्त अरब, बेलायतका १३ विश्वविद्यालयहरु एसोसिएट सदस्य छन् । नेपालका विश्वविद्यालयका उपकुलपतिहरु पनि सभा तथा सम्मेलनमा सहभागी हुनेछन् ।

प्रकाशित : माघ २९, २०८० १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×