कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मधेश कृषि विश्वविद्यालयमा तालाबन्दीले पढाइ प्रभावित 

अवधेशकुमार झा

राजविराज — सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयमा जनमत पार्टीका कार्यकर्ताहरुले लगाएको ताला अझै खुलेको छैन । विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रमुख अतिथिसम्बन्धी विवाद भएपछि जनमत पार्टीका कार्यकर्ताहरुले गत माघ ७ गते तालाबन्दी गरेका थिए । 

मधेश कृषि विश्वविद्यालयमा तालाबन्दीले पढाइ प्रभावित 

मधेश प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको कृषि विश्वविद्यालयमा तालाबन्दी हुँदा पढाइ प्रभावित भएको विश्वविद्यालयका रजिष्टार डा. भगवान ठाकुरले जानकारी बताए ।

तालाबन्दीका कारण कृषिको स्नातक तहको दोस्रो सेमेष्टरको पढाइ, फर्म रजिस्ट्रेसन, नयाँ भर्नासहित दैनिक प्रशासनिक कार्य अवरुद्ध भएको रजिष्टार ठाकुरले बताए । पढाइ प्रभावित भएपछि विश्वविद्यालयले मंगलबार ताला लगाउने पक्षलाई वार्तामा आउन आह्वान गरेको छ ।

‘वार्ता र संवादद्वारा समाधानका लागि समबन्धित पक्षसँग आहृवान गर्दछौं,’ मंगलबार रजिष्टार ठाकुरद्वारा जारी अनुरोध पत्रमा भनिएको छ ।

प्रदेश सरकारले २०७८ मंसिर २७ गते राजविराजमा मधेश कृषि विश्वविद्यालयको स्थापना गरेको थियो । कृषि, पशु, माछा र खाद्यप्रविधि विज्ञान संकायमा पढाइ गर्ने गरी स्थापना भएको विश्वविद्यालयको भवन निर्माणका लागि राजविराज नगरपालिकाले २६ बिघा ८ कठ्ठा जग्गा राजविराज नगरपालिका १२ मा दिएको थियो ।

सोही जग्गामा शिलान्यासका लागि विश्वविद्यालयले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि असन्तुष्ट बनेको जनमत पार्टीले राजविराज-३ स्थित विश्वविद्यालयको कार्यालयमा तालाबन्दी गरेको थियो । शिलान्यास कार्यक्रमका दिन प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडपसमेत भएको थियो । सोही प्रकरणमा जनमत पार्टीले मधेश प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउँदै प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो ।

प्रकाशित : माघ २४, २०८० १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×