कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.५५°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

‘विश्वविद्यालयको उद्देश्य गुणस्तरीय शिक्षा प्रदान गर्ने मात्रै नभएर विद्यार्थीलाई उद्यमशील बनाउने पनि हुनुपर्छ’ 

काठमाडौँ — काठमाडौं विश्वविद्यालय देशकै एक अब्बल विश्वविद्यालयमध्ये एक हो । यद्यपि अन्य विश्वविद्यालयमा जस्तै काठमाडौं विश्वविद्यालयमा पनि सिट संख्याअनुसार विद्यार्थी भर्ना हुन छाडेका छन् । विद्यार्थीको रोजाइ विदेशी शिक्षण संस्था हुन पुगेका छन् । गुणस्तरको सुनिश्चितता नभएर हो वा रोजगारीको अवसर नभएर हो, नेपालका विश्वविद्यालयका क्याम्पसमा विद्यार्थी घट्दै गएको छ ।

‘विश्वविद्यालयको उद्देश्य गुणस्तरीय शिक्षा प्रदान गर्ने मात्रै नभएर विद्यार्थीलाई उद्यमशील बनाउने पनि हुनुपर्छ’ 

गत मंगलबार कान्तिपुर एजुकेसन समिटको ‘नेपालमै गुणस्तरीय उच्च शिक्षा कसरी ?’ विषयक सत्रमा कान्तिपुरकर्मी श्रद्धा अर्यालले काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्ट्सका डिन एकुमाया पुनसँग गरेको कुराकानीको सम्पादित अंश :

तपाईं काठमाडौं विश्वविद्यालयमा हुनुहुन्छ । अन्य विश्वविद्यालयभन्दा केयुमा विद्यार्थीको आकर्षण बढी देखिन्छ । यहाँको शुल्क महँगो छ, गुणस्तर चाहिँ कस्तो छ ?

केयु स्थापना भएको ३२ वर्ष पूरा भयो । स्थापना मितिका हिसाबले केयु नेपालको तेस्रो विश्वविद्यालय हो । मंसिर २५ मा ३२ औं स्थापना दिवस मनाउँदै गर्दा हामीले यो अवधिको समिक्षा पनि गर्यौं । उच्च शिक्षामा हाम्रो योगदान कति छ भनेर हेर्यौं, अन्य विश्वविद्यालयसँग पनि आफूलाई दाँज्यौं । गुणस्तरीय शिक्षा दिने विश्वविद्यालयका रूपमा केयु जनमानसमा परिचित रहेको पाएका छौं । उच्च शिक्षामा हाम्रो योगदान ४ प्रतिशत मात्रै छ । हाम्रा वर्तमान उपकुलपती डा. भोला थापाले यो ४ लाई ६ प्रतिशत बनाउने लक्ष्य लिनुभएको छ । एक वर्षमा केयुका सबै शैक्षिक कार्यक्रममा ६ हजारको हाराहारीमा सिट उपलब्ध छ । तर, हरेक शैक्षिक वर्ष हाम्रो भर्ना सतप्रतिशत भने हुँदैन, ९० प्रतिशतको लक्ष्य लिने गरेका छौं । कोभिडको बेलामा भर्ना प्रतिशत ७० प्रतिशतभन्दा कममा झर्यो । गत वर्ष ७२ प्रतिशत थियो भने यसपाली अगस्ट सेसनमा ८७ प्रतिशत पुगेको छ । अरूको तुलनामा हाम्रो भर्ना प्रतिशत बढेको छ । तर यसैमा हामी ढुक्क भएर बसेका छैनौं ।

हामीकहाँ निजी र सरकारी विश्वविद्यालयका विषयमा धेरै चर्काचर्की हुने गरेको छ । यसमा काठमाडौं विश्वविद्यालय चाहिँ कहाँनिर उभिने भन्ने स्पष्ट छैन । किनभने न यो निजी हो न त सरकारी । केही उत्सुक शिक्षाशास्त्रीहरूको समूहले हाम्रो विश्वविद्यालय स्थापना गरेका हुन् र हामी आफूलाई पब्लिक विश्वविद्यालयका रूपमा चिनाउँछौं । हाम्रो कुल बजेटको १० प्रतिशत मात्रै सरकारबाट फन्डिङ हुन्छ भने हामीले विद्यार्थी शुल्कबाट ६० उठाउँछौं र ३० प्रतिशत हाम्रा प्राध्यापक साथीहरूले गर्ने अनुसन्धान र दातृ निकायसँग लबिइङ गरेर ल्याउँछौं । यस्तो किफायती मोडलमा यो विश्वविद्यालय चलेको छ । हाम्रो अस्तित्व के हो भनेर हामीले खोज्न थालेका छौं । नयाँ उच्च शिक्षा विधेयक आउँदा हाम्रो स्थान कहाँ हुन्छ भन्ने प्रश्न छ ।

पछिल्लो समय विद्यार्थीहरूले राख्दै आएका गुनासाहरूलाई हामीले जायज मानेर र त्यसलाई सम्बोधन गर्न सकिन्छ भन्ने लागेर नै केयु स्थापना भएको थियो । ३२ वर्षअघि हाम्रा संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माले देशभित्रै विज्ञान र प्रविधिमा विश्वासिलो, गुणस्तरीय शिक्षा दिनुका साथै यी विषय अध्ययनका लागि विदेश जानुपर्ने बाध्यता रोक्न सकियोस् भन्ने उदेश्यले विश्वविद्यालय स्थापना गर्नुभएको थियो । आजका दिनसम्म हामी त्यही मिसन र भिजनमा काम गरिरहेका छौं । नेतृत्वका लागि गुणस्तरीय शिक्षा र मावन सेवा हाम्रो उद्देश्य हो ।

गुणस्तरीय शिक्षा दिनका लागि कस्ता चिजको खाँचो छ भनेर मनन गर्दा सुरुमा भौतिक पूर्वाधारको पनि कुरा आउँछ । भौतिक पूर्वाधार समावेशी र समतामूलक छ कि छैन, सेफ लर्निङको वातावरण छ कि छैन, समय र देश सुहाउँदो छ/छैन भन्ने पनि हेर्नुपर्छ । अर्को भनेको प्राध्यापक हुन् । अध्यापन गराउने साथीहरूलाई विश्वविद्यालयमा आबद्ध गराउँदा उहाँहरूको प्राज्ञिक विद्वताका आधारमा गर्ने कि राजनीतिक दबाब वा भागबण्डका आधारमा लिने, यसमा हामी सजग छौं । आफ्नो क्षेत्रमा विशेषज्ञता हासिल गरेका र अध्ययन-अध्यापनमा समर्पित प्राध्यापक हाम्रा चाहना हुन् । त्यसको लागि उहाँहरूलाई समयसापेक्ष तालिम, अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी गराइ उहाँहरूको क्षमता अभिवृद्धि गर्न हामीले बजेटमै ‘फ्याकल्टी डेभलपमेन्ट’ शीर्षक राखेका छौं । यसअनुसार हाम्रा प्राध्यापकहरूलाई जति सक्दो अन्तराष्ट्रिय एक्स्पोजर र रिसर्च एक्स्पोजर दिने गर्छौं । हाम्रो रिसर्च डेभलपमेन्ट रिसर्च सेन्टर छ, त्यसलाई पनि वार्षिक रूपमा बजेट प्रवाह गर्छौं । विद्यालय तहमा पनि अनुसन्धान शीर्षकमा बजेट राखेका छौं र आफ्ना विद्यार्थीसँगै शिक्षकहरूलाई एक लाख रुपैयाँको भए पनि रिसर्च फेलोसिप दिने गरेका छौं ।

महँगो कलेजमा पढ्यो भने गुणस्तरीय शिक्षा पाइन्छ भन्ने एउटा भ्रम छ मानिसहरूमा । तपाईंहरूको कलेजमा पढेपछि प्राप्त हुने प्रतिफल वा ‘रिटर्न अफ एजुकेसन’ के हो ?

केयुबाट दीक्षित भएर निस्किएका विद्यार्थी नेपालमै कति बस्छन् भन्नेबारे हामीसँग ठ्याक्कै आँकडा त छैन तर हाम्रो अनुमानमा केयुका ८० प्रतिशत ग्र्याजुएट नेपालमै छन् । गुणस्तरीय शिक्षा दिएर मात्रै विद्यार्थीहरूलाई यहाँ टिकाउन सकिँदैन । उहाँहरूको रोजगारीको व्यवस्था नभएसम्म हामीले टिकाउन सक्दैनौं । त्यसकारण राष्ट्रिय स्तरमै अहिले के बहस हुनुपर्छ भने गुणस्तरीय शिक्षा मात्रै प्रदान गर्ने होइन, हाम्रा विद्यार्थीलाई उद्यमशील पनि बनाउनुपर्छ । उनीहरू आफैं उद्यमी भएर बजारमा गई अरूलाई पनि रोजगारी दिनसक्ने किसिमको क्षमतावान् बनाउनेतर्फ ध्यान दिनुपर्छ । यो हाम्रा लागि चुनौती हो । केयुले गत वर्षदेखि ‘काठमाडौं विश्वविद्यालय इम्प्लोयमेन्ट स्किम’ नीति ल्याएको छ । त्यसअन्तर्गत हामीले अन्डरग्र्याजुएट तहका सर्वोत्कृष्ट विद्यार्थीहरूलाई विश्वविद्यालयभित्र र केयुका अन्य संस्थाहरूमा पनि रोजगारी सिर्जना गरेका छौं । तर सर्वोत्कृष्ट विद्यार्थीहरूलाई एक वर्षका लागि कामको प्रस्ताव गर्दा उनीहरू आएनन् किनभने उनीहरू पहिले नै कतै आवद्ध रहेछन् । त्यसपछि हामीले दोस्रो, तेस्रो, चौथो सर्वोत्कृष्ट खोज्दै दसौं सर्वोत्कृष्टलाई रोजगारी दिने अवस्थामा पुग्यौं । यो हाम्रो सानो प्रयास हो ।

नेपालको मेडिकल क्षेत्रमा जति पनि प्रोफेसनल छन्, त्यसमध्ये ५० प्रतिशत हाम्रो विश्वविद्यालयबाट ग्र्याजुएट भएका हुन् । यसले पनि हाम्रो गुणस्तर पुष्टि गरेकै छ । तर हामीले मात्रै हाम्रो शिक्षा गुणस्तरीय छ भन्ने दाबी गरेर हुँदैन, देश र अन्तरराष्ट्रिय समाज र अन्तरराष्ट्रिय विश्वविद्यालयहरूले पनि भन्नुपर्छ भन्ने लागेर हामीले हाम्रा शैक्षिक कार्यक्रमहरूलाई अन्तर्राष्ट्रियकरण गर्न अग्रसर भएका छौं । यसका लागि हामीले हरेक वर्ष भर्ना खुला गर्दा १० प्रतिशत कोटा जसरी भए पनि विदेशी विद्यार्थीलाई छुट्याउन थालेक छौं । अर्को १० प्रतिशत चाहिँ सामाजिक समावेशिकरणअन्तर्गत नेपालका विद्यार्थीका लागि कोटा छुट्याएका छौं । यसमा केही नतिजा देखापरेको छ । हाल मेरै स्कुल, स्कुल अफ आर्टसमा मास्टर्स इन मिडिया स्टडिज विषयमा दुईजना चिनियाँ विद्यार्थी पूरा शुल्क तिर्ने गरी भर्ना हुनुभएको छ । ब्याचलर्स इन कम्युनिटि डेभलपमेन्टमा ब्राजिलका विद्यार्थी भर्ना भएका छन् भने ब्याचलर इन योगिक साइन्स एन्ड वेल विइङमा चीन र ताइवानबाट आएका विद्यार्थी अध्ययनरत छन् ।

सानै रुपमा भए पनि विदेशी विद्यार्थी आर्कषण गर्न सफल भएका छौं । हालै सम्पन्न २९ दीक्षान्त समारोहमा भाग लिए ४३ हजार विद्यार्थीमध्ये १३ प्रतिशत विदेशी विद्यार्थी थिए । हाम्रो विश्वविद्यालयको कार्यक्रम अन्तरराष्ट्रिय स्तरमा अगाडि बढिरहेकोबारे अर्को एउटा उदहारण दिन्छु— भारतको तिरुपतीस्थिक एक संस्थासँगको सहकार्यमा हामीले हाम्रो योगिक साइन्स एन्ड वेल विइङ कार्यक्रम त्यहाँ चलाइरहेका छौं । हङकङको संस्थासँग मिलेर त्यहाँ पनि हाम्रो बुद्धिस्ट स्टडीमा भर्ना सुरु गर्ने भनेर समझदारी गरिसकेका छौं । अरू देशका विश्वविद्यालयसँग विज्ञान र प्रविधिमा प्रतिश्पर्धा गर्न नसके पनि केयुले हाम्रो मौलिक कार्यक्रममा विश्वलाई केही न केही दिनसक्छौं भन्ने अठोटसाथ अघि बढिरहेक छौं ।

हाम्रो समग्र शिक्षा क्षेत्रको सुधारका लागि के कुराको खाँचो तपाईंले देख्नुभएको छ ?

यसको लागि सरोकारवाला सबैबीचको सहकार्य र समझदारी आवश्यक छ । यही कुरा बोध गरेर हामीले नोभेम्बर २४ मा ‘नेपाल भीसी मिट’ कार्यक्रम गरी यससम्बन्धी बहस गर्यौं । त्यसको निचोड पनि के थियो भने नेपालका प्रत्येक विश्वविद्यालयहरू एकअर्काका प्रतिस्पर्धी नभइ साझेदारका रुपमा अगाडि बढ्नुपर्छ र सहयोग गर्ने ठाउँ पहिचान गर्नुपर्छ भन्ने थियो । अर्को, हामीले सहयोग र सहकार्य गर्ने हो भने शैक्षिक पात्रो पनि एकाकार गर्नुपर्यो र न्यूनतम मापदण्डहरूमा एकरुपता ल्याउनुपर्यो । नेपालमा पढाइ हुने कार्यक्रमहरूलाई अन्तर्राष्ट्रिय तहमा लैजान हामीले मिलेर पहल गर्नुपर्यो भन्नेमा हामीले जोड दियौं ।

विश्वविद्यालयहरूले गुणस्तरीय शिक्षा दिनु मात्रै नभएर हाम्रा ग्र्याजुएटहरू देशमै बसून् भन्ने लक्ष्य राख्नुपर्छ । त्यसका लागि विश्वविद्यालय एक्लैले गर्न सक्दैन । सरकारको नीति नियम र रोजगारी उपलब्ध गराउने व्यवासय क्षेत्रसँग पनि हामीले सहकार्य गर्नुपर्छ । यही प्रयोजनका लागि हामीले डिसेम्बरमा २९ मा ‘एकेडेमिया इन्डस्ट्री मिट’ कार्यक्रम गरेका थियौं । निजी क्षेत्र, सरकारी निकाय र शैक्षिक उद्योग मिलेर अघि बढ्नुपर्छ भन्ने हाम्रो बुझाइ हो ।

प्रकाशित : पुस २१, २०८० १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?