गीतमा झल्कियो सुगमको राष्ट्रप्रेम- कला - कान्तिपुर समाचार

गीतमा झल्कियो सुगमको राष्ट्रप्रेम

कान्तिपुर संवाददाता

काठमाडौँ — गायक सुगम पोखरेलको स्वरमा नयाँ गीत ‘किन हुँदैन’ सार्वजनिक भएको छ । साहस शाक्यको संगीत रहेको गीत गायनमा सुगमलाई गायिका संगीता प्रधानले साथ दिएकी छन् । गीतको शब्द चन्द्र प्रसाईं ‘परिष्कृत’ ले कोरेका हुन् ।

राष्ट्रिय भावनाले भरिएको गीतले स्वदेश वा विदेश जहाँ रहेर भए पनि नेपालको हितमा काम गर्न सकिन्छ भन्ने हो । गीतमा नेपाललाई माया गर्न र गर्‍यो भने देशमै सबै सम्भव भएको भावना व्यक्त गरिएको छ । देश सफल र सबल बनाउन एकता आवश्यक पर्ने गीतको सन्देश छ ।

गीतको आलाप आरसी रिमालले गाएका छन् भने कोरसमा साहस शाक्य, आरसी रिमाल र सौगात खनालले साथ दिएका छन् । गीतको भिडियोमा गायक पोखरेलसँगै, ल्याङ्दी दादा, सीता सुवेदीको मुख्य अभिनय छ । सुरेन्द्र बसेलको निर्देशन रहेको भिडियोको छायांकन दिनेश पराजुली र सम्पादन नवीन निरौलाले गरेका हुन् । भिडियोको प्रोडक्सन हेड सरोज पोखरेल हुन् भने निर्माता तेजी प्रसाईं रहेकी छन् ।

गीतकार प्रसाईंकै च्यानल प्रसाईं सन इन्टरटेनमेन्ट युट्वुबबाट सार्वजनिक गीतमा देशका कलासंस्कृतिसमेत समेटिएका छन् । एक दशक अगाडिदेखि गीत लेखन गर्दै आएका गीतकार परिष्कृतका शब्दमा थुप्रै गीत बजारमा आइसकेका छन् ।

प्रकाशित : माघ २३, २०७९ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्

बिल गेट्सले मंगलग्रह परियोजनाको विरोध किन गरे ?

एजेन्सी

वासिङटन — माइक्रोसफ्टका सहसंस्थापक तथा अर्बपति बिल गेट्सले स्पेसएक्सका मालिक इलन मस्कको मंगलग्रहमा जाने परियोजनाको चर्को विरोध गरेका छन् । उनले उक्त परियोजना पैसाको सदुपयोग नभएको र त्यसले राम्रो नतिजा नदिने भन्दै विरोध गरेका हुन् ।

‘मंगलग्रहमा जानु खासमा निकै महँगो छ । उक्त रकमले तपाईंले कैयौं खोप किन्न र मानिसहरूको जीवन बचाउन सक्नुहुन्छ,’ बीबीसीले लिएको एक अन्तर्वार्ताका क्रममा गेट्सले भनेका छन् । मंगलग्रहमा जानका लागि पैसा खर्च गर्नुभन्दा आवश्यकता परेका मानिसलाई खोप उपलब्ध गराउनु बढी महत्त्वपूर्ण भएको उनको भनाइ छ । ‘मंगलग्रहमा पुग्न धेरै खर्चिलो छ । तर हजार डलर पर्ने दादुराको खोप किनेर कसैको जीवन बचाउन सकिन्छ,’ उनले भने ।

कार निर्माण कम्पनी टेस्लाका मालिका मस्कले मंगलग्रहमा बस्ती बसाउने परियोजना अघि सारेका छन् । त्यसका लागि उनले ‘स्पेसएक्स’ कम्पनी सञ्चालन गरिरहेका छन् । त्यस्तै अर्का अर्बपति तथा अमेजनका संस्थापक जेफ बेजोस पनि उक्त दौडमा छन् । ‘ब्लू ओरिजिन’ कम्पनीका प्रमुख बेजोसले सन् २०२१ मा छोटो समयका लागि अन्तरिक्षको यात्रासमेत गरेका थिए । त्यस्तै, अन्तरिक्षको दौडमा बेलायती अर्बपति सर रिचार्ड ब्रान्सन पनि छन् । अन्तर्वार्ताका क्रममा गेट्सले मस्कलाई आफूले ‘महान् दाता’ का रूपमा नलिएको समेत बताएका छन् । पछिल्लो समय गेट्स भने ‘बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन’ मार्फत विश्वव्यापी रूपमा समाजसेवामा सक्रिय छन् ।

मस्क समाजसेवामा लाग्ने विषयमा भने गेट्सले त्यस्तै सम्भावना नदेखेको बताएका छन् । ‘कुनै दिन मस्क महान् दाता हुन सक्लान् । तर मंगलग्रहमा जाने उद्देश्य राख्ने मस्कले मानिसहरूको जीवनका लागि पैसा खर्च गर्लान् जस्तो मलाई लाग्दैन,’ धनाढ्य दाताहरूको क्लबमा मस्क सामेल होलान् त ? भन्ने प्रश्नको जवाफ दिँदै उनले भने । यसअघि पनि गेट्स र मस्कबीच मतभेद भएको थियो । गेट्सले जलवायु परिवर्तनका असरहरू न्यूनीकरणका लागि सहकार्य गर्ने प्रस्ताव राख्दा मस्कले आफ्नो कम्पनी टेस्लाले त्यसका लागि सबैभन्दा बढी भूमिका खेलेको जवाफ दिएका थिए ।

प्रकाशित : माघ २३, २०७९ ०९:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×