२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

चिनियाँ नयाँ वर्ष कसरी बन्यो विश्व पर्व?  

गत डिसेम्बर २२ तारिख संयुक्त राष्ट्रसङ्घीय महासभाको ७८औँ अधिवेशनले चन्द्रमासको नयाँ वर्षलाई दिवसका रूपमा अपनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेपछि बल्ल चिनियाँ ‘सफ्ट पावर’ प्रस्फुटन भएको छ ।
लक्ष्मी लम्साल

बेइजिङ — ईश्वी सन् पात्रो अनुसार जनवरी १ तारिखलाई विश्वभर नयाँ वर्षका रूपमा मनाइरहँदा ५ हजार वर्ष पुरानो सभ्यता बोकेको चीनले बल्ल ‘स्प्रिङ फेस्टिभल’ लाई राष्ट्रसंघीय दिवसको रूपमा सूचीकृत गर्न सफल भएको छ। व्यवहारमा पश्चिमा ईश्वी संबत् प्रचलित रहेपनि चीनमा साँस्कृतिक रीतिरिवाजचाहिँ लुनार पात्रो अनुसार निर्धारण गरिन्छ।

चिनियाँ नयाँ वर्ष कसरी बन्यो विश्व पर्व?  

चिनियाँ पात्रोको नयाँ वर्ष प्रायः जनवरी वा फेब्रुअरीतिर पर्दछ। जस्तै सन् २०२४ मा फेब्रुअरी १० तारिख चिनियाँ ड्रागन वर्ष प्रारम्भ हुँदैछ।

एउटा काल्पनिक जनावर ‘ड्रागन’ चीनको मांगलिक जीव हो। चन्द्र पात्रोका १२ राशीमध्ये ड्रागनले शुभमंगल र सौभाग्यको बिम्ब बोक्दछ। आकाशलाई तोड्नेदेखि समुद्रमा डुब्नेसम्मको क्षमता भएको ड्रागनजस्तै चीनले आफ्नो चमत्कारलाई चारै दिशा हल्लाउने गरी उजागर गर्न खोजेको विश्लेषकहरू ठान्दछन्।

पश्चिमा चाडबाडको बोलबाला रहेको विश्व पात्रोमा अब एसियाली पावर हाउस चीनको नयाँ वर्ष, चिनियाँमा ‘छुन् च्ये’, अङ्ग्रेजीमा ‘स्प्रिङ फेस्टिभल’ र नेपालीमा वसन्त चाडले स्थान पाएको छ।

गत डिसेम्बर २२ तारिख संयुक्त राष्ट्रसङ्घीय महासभाको ७८औँ अधिवेशनले चन्द्रमासको नयाँ वर्षलाई दिवसका रूपमा अपनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेपछि बल्ल चिनियाँ ‘सफ्ट पावर’ प्रस्फुटन भएको छ। यस कदमलाई संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू र संयुक्त राष्ट्र सचिवालयका कर्मचारीहरूले उत्साहका साथ स्वागत गरेका थिए। संयुक्त राष्ट्रसंघका लागि चिनियाँ स्थायी नियोगका कार्यवाहक राजदूत ताई पिङले भने, ‘परम्परागत चिनियाँ लोकपर्व वसन्त चाडले शान्ति, सद्भाव र मानिस र प्रकृतिको सुमधुर सहअस्तित्वजस्ता सम्पूर्ण मानवजातिका साझा मूल्यमान्यतालाई आत्मसात गरेको छ।’

महासभाको प्रस्तावमा उल्लेख भए अनुसार संयुक्त राष्ट्रसंघका धेरै सदस्यहरूले वसन्त चाड मनाउँछन्। भियतनाम, दक्षिण र उत्तर कोरिया, इण्डोनेसिया, मलेसिया र अन्य देशहरूले वसन्त चाडलाई कानुनी विदाको रुपमा तोकेका छन्। चीनमा वसन्त चाडको उत्पत्ति भएको हो तर कतिपय देशहरूमा वर्षको सबैभन्दा महत्त्वपूर्ण चाडमध्ये एकको रुपमा बनेको छ। अङ्ग्रेजी नयाँ वर्ष, क्रिसमस जस्तै केही देशहरूले यसलाई आधिकारिक बिदाका रूपमा समावेश गरेका छन्। थाइल्याण्ड, पानामा, सिंगापुर, मलेसिया र इन्डोनेसियाले वसन्त चाडमा आ-आफ्नो परिस्थिति अनुसार सार्वजनिक बिदा दिने गरेका छन्।

राष्ट्रसंघीय दिवस बनेपछि स्प्रिङ फेस्टिभल अब चीनको मात्रै नभएर विश्वको भयो । ढिलै सही चीनले आफ्नो गुमेको साख र स्वाभिमान फर्काएको ठहर्छ । पछिल्लो समय चिनियाँको सबैभन्दा ठूलो र लामो बिदाले विश्व समुदायलाई हलचल गरिरहेको थियो। यो विश्वव्यापी पर्व हुनुपर्ने धेरै कारण छन् । किनभने चीन आफैंमा एउटा ठूलो भूगोल, जनसंख्या, अर्थतन्त्र र उपभोक्ता बजार हो जसका हर गतिविधिले विश्व सिधै प्रभावित हुन्छ।

पहिलो कुरा चिनियाँ पर्यटक यही लामो बिदामा संसार घुम्छन् र विश्व पर्यटनको स्रोतका लागि योगदान गर्छन्। कोभिड १९ महामारीपछि पुनः यो उभारिने बाटोमा छ। नेपालमा गत जनवरीमा भारतपछि चीनबाट पर्यटक गएका थिए।

चीनका लामो पर्व बिदा भनेका पर्यटन क्षेत्रका लागि भेलबाढी आउने समय हो यो बेला जसले आकर्षक ढडिया थाप्न सक्छ, उसकै पोल्टामा धेरै कुराहरू पर्नसक्छन्। यही बुझेर विश्वका कैयन् देशले स्किमहरू अघि सारेका छन्।

जनवरी २५ तारिख बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता वाङ वनपिनले एउटा जानकारी सार्वजनिक गरे, ‘चीन र सिंगापुरबीच पारस्परिक भिसा छुट सम्झौतामा हस्ताक्षर भएको छ।’ यसअनुसार राहदानी वाहक जो कोहीले एकअर्को देशमा एक महिना बिना भिसा घुम्न पाउनेछ। यसअघि चीन र न्यूजिल्याण्डले पनि यस्तैखाले समझदारी गरेका थिए। चीनको छिमेकी नेपालले त झन् कैयन् वर्ष अगाडि नै चिनियाँका लागि निःशुल्क अनअराइभल भिसाको व्यवस्था गरेको थियो । प्रतिवर्ष चिनियाँहरू करोडौंको संख्यामा विश्वपर्यटनमा जान्छन् र ती देशको आर्थिक भरथेगमा टेवा पुगेका कुरा वर्षेनी निस्किने तथ्यांकले देखाउँछन् नै ।

शुभकामना कूटनीति

धेरै मानिसले विचार गरेको हुनुपर्छ, विश्वमा कहीँ कतै कुनै मांगलिक वा आकस्मिक घटना हुँदा चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश पुगिहाल्छ। त्यो चिठी, टेलिफोन वा सम्बन्धित ठाउँमा रहेको चिनियाँ दूतावास किन नहोस्। यसबाट सुखदुःखमा हेरविचार गर्ने र आत्मीयता बटुल्ने सीको एउटा रणनीतिक पहल देखिन्छ। चीनको नयाँ वर्ष लाग्ने बित्तिकै सी चिनफिङले विभिन्न स्थलगत भ्रमण गर्छन् र समाजका हरेक वर्ग, समुदायलाई शुभकामना साटासाट गर्छन्। बाह्य समाजले पनि चिनियाँ नयाँ वर्षको शुभकामना दिन्छ। संयुक्त राष्ट्रसंघदेखि शक्तिशाली राष्ट्रका नेताहरूको ध्यान एकपटक चीनतर्फ तानिन्छ र शुभकामना मार्फत् सम्बन्धमा पुनर्ताजगी गर्छन्।

चिनियाँ वसन्त चाड विश्वव्यापी हुने अर्को कारण पनि छ। यस बिदामा चिनियाँहरूले संसार ढाकिदिन्छन् भने विदेशीहरूले यसै बेला चीनको भ्रमण गरेर साँस्कृतिक रोमाञ्चकता महसुस गर्छन्। विदेशी पर्यटकलाई तान्न चिनियाँ सम्बन्धित निकायहरूले एकपछि अर्को सुविधा र स्किमहरू सार्वजनिक गरिरहेका हुन्छन्। खुद घरेलु पर्यटकले नै चिनियाँ महत्वपूर्ण पर्यटकीयस्थल भरिभराउ हुन्छन् भने पर्यटकीय आम्दानीले ठूलो उपलब्धी देखाउँछ। महामारीपछिको यो सिलसिला झनै उकालो लागेको छ।

पृथ्वीमा मानवीय हलचलको अवधि मानिने भएकाले चिनियाँ सरगर्मी निकै बढ्दछ। चीनमा ‘छुन युन’ भन्ने शब्द निकै लोकप्रिय छ। वसन्त चाड सुरु र अन्त्यपछिको यातायात जुन ४० दिनको हुन्छ यस अवधिमा करोडौं चिनियाँले जल, थल र हवाई यातायातमार्फत् आउजाउ गर्छन्। सामान्य दुर्घटनाबिना नै सुरक्षित गन्तव्यमा पुर्याउनका लागि चिनियाँ यातायात पूर्वाधार भरपर्दा मानिएका छन् । यो अवधिमा सार्वजनिक सवारी साधनबाट यात्रा गर्ने ठूलो परिमाणका चिनियाँले धर्तीमा केही उतारचढाव सिर्जना गरिदिन्छन्। यस वर्षको छुन युनको पहिले १ सातामा १ अर्ब ३५ करोडले यात्रा गरेको तथ्यांकले देखाउँछ।

चिनियाँहरू संसारमा फैलिने क्रममा आफ्नो मौलिकता पनि बोकेर गएका छन्। विभिन्न देशमा चाइना टाउन खडा गरेका छन्। उनीहरूका ठूला समूहले सिंह नाच, ड्रागन नाच, कवाज, लालटिन, सौभाग्यशाली गाँठो सडक गल्लीमा प्रदर्शन गरेबाट सम्बन्धित देशको ध्यानकर्षण हुने गरेको छ। सन् १८५१ को फेब्रुअरीमा अमेरिकाको सान्फ्रान्सिस्कोमा पुगेको चिनियाँ जमातले पहिलोपटक भव्य वसन्त कवाज देखाएर समुद्रको एक छेउदेखि अर्को छेउसम्म वसन्त रौनक पुर्याएको इतिहास छ। अहिले संसारभरि नै वसन्तोत्सव गतिविधि हुन्छन् त्यसमा चिनियाँहरूकै उत्तराधिकार रहन्छ। पृथ्वीको एक-पाँचौ जनसंख्याले यो चाड मनाउने देखिन्छ।

सन् १९८० को दशकदेखि चिनियाँ टेलिभिजनमा निरन्तर प्रत्यक्ष प्रसारण हुँदै आएको वसन्त गाला कुनै बेला चिनियाँहरूको मात्रै अनिवार्य अंग थियो। यस वर्ष यसको परिमाण थप विश्वव्यापी भएको देखिन्छ। गालाको प्रवर्द्धनात्मक भिडियो विश्वका महत्वपूर्ण स्थान र व्यक्तिको संलग्नतासम्म पुगेको देखिन्छ। जस्तो कि फेब्रुअरी १ तारिखदेखि प्रवर्द्धनात्मक भिडियो कम्बोडियाको अङ्कोर अन्तर्राष्ट्रिय विमानस्थलको ठूलो स्क्रिनमा देखाइएको छ भने शाही राजकुमारी नोरोद्दोम जेन्नाले गालासम्बन्धी सांस्कृतिक उपहार देखाएकी छन्।

इटालीको राष्ट्रिय टेलिभिजनमा पहिलोपटक प्रसारणदेखि दुबईको खालिफा पार्क वा संयुक्त राष्ट्रसंघको जेनेभास्थित कार्यालय अर्थात् प्यालेस अफ नेशन्समा समेत प्रवर्द्धनात्मक गतिविधि आयोजना गरिएको छ। यो सिलसिलाले तीव्रता लिनुको अर्थ स्प्रिङ फेस्टिभलको महत्व अनुमोदित हुनु हो।

वसन्त चाडले चीन र विश्वमाझ पस्किने उपहार

संसारमा सांस्कृतिक धनी मुलुकहरूमाझ चीन र भारतको दबदबा कम छैन। त्यसबीचमा रहेको नेपाल पनि सांस्कृतिक विविधताको मुहान नै हो। तर यसलाई अन्तर्राष्ट्रियकरण गर्न चुकेबाट नेपालले प्रतिष्ठा बढाउन सकेको छैन। त्यसकारण छिमेकी देशहरूले सांस्कृतिक संरक्षणमा लिएको अग्रसरताबाट केही सिक्न जरुरी छ।

सांस्कृतिक संरक्षणले कुनै पनि देशको अर्थतन्त्र बलियो हुनुका साथै राष्ट्रिय स्वाभिमान उँचो हुन्छ। यसको उदाहरण स्वयं चीन हो। चिनियाँ सभ्यताले पूर्वी र दक्षिण पूर्वी एसियामा जरा गाडेको छ भने त्यसमा वसन्त चाडको एक हिस्सा छ। यसकारण चिनियाँले विश्वमञ्चमा आफ्नो सम्मान पुनःप्राप्ति गरेका छन्।

सभ्यताहरूको विविधीकरणबाट आदानप्रदान बढ्छ। एकअर्काको सिकाइ बन्छ र पारस्परिक सिकाइबाट यसको परिष्करण र ग्राह्यता बढ्छ। तब एक चमकदार मानव सभ्यता विकास हुन्छ। विगतमा पश्चिमा दिवसले संसारलाई ढाके। अब स्प्रिङ फेस्टिभल विश्वको सम्पदा भयो। विश्वले एसियाली सभ्यतामा चासो बढाउन थालेको छ। वसन्त चाड पूर्वी र पश्चिमी सभ्यताबीचको ताजा पुलभन्दा पनि हुन्छ। चिनियाँहरूका लागि यो पारिवारिक पुनर्मिलन पुरानो वर्षको विदाई र नववर्षको स्वागत मात्रै नभएर विश्वमाझ सद्भाव बाँड्ने औजार बनेको विश्लेषण हुन थालेका छन्। चीनको आत्मविश्वास बढेको संकेत हो भने चिनियाँहरू उभिँदै गरेको गरिबीमुक्त भएर बलियो राष्ट्र बन्दै गरेको लक्षण हो।

गत एक दशकमा चीनले पर्यावरणीय सुधारमा चमत्कार गरेको छ। यसअघि नभएको आत्मसम्मान र दृढता चिनियाँमा देखिएको छ। चीनको विकास फड्को विगतभन्दा अझ तीव्रतर भएको छ। यी सबै सांस्कृतिक उत्थानका बाछिटा नै हुन्।

मानव सभ्यता विकासमा चीनको योगदानलाई विश्वले समयानुकूल ठानेको छ भने साझा भाग्य समुदाय निर्माणमा चिनियाँ तत्परता बीआरआई मार्फत् मुखरित भएको झल्किन्छ। चीनको सांस्कृतिक विकास अरु मुलुकका लागि राम्रो पाठ हो। समकालीन विश्वका लागि पछ्याउन लायक ज्ञान हो।

प्रकाशित : माघ २१, २०८० १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महालेखापरीक्षकको प्रतिवेदनअनुसार गत वर्षभन्दा यसपाली करिब सवा २ खर्ब बेरूजु रकम बढ्नुको संकेत के हो ?