कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

इजरायल-हमास चार दिने युद्धविराम कसरी अघि बढ्छ ?

काठमाडौँ — गत अक्टोबर ७ मा हमासले अप्रत्यासित रूपमा इजरायलमाथि आक्रमण गरेसँगै सुरु भएको युद्ध अन्तत: चार दिनका लागि विराम भएको छ । उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको समेत ज्यान गएको थियो भने एक जना अझै हमासले नै बन्धक बनाइराखेको छ ।

इजरायल-हमास चार दिने युद्धविराम कसरी अघि बढ्छ ?

इजरायल र हमासबीच अस्थायी युद्धविरामको सम्झौता शुक्रबारदेखि लागू भएको छ । अहिलेसम्मको अवस्था हेर्दा कतारद्वारा मध्यस्थता गरिएको सम्झौताको दुवैले पालना गरिरहेका छन् र कुनै पक्षबाट गोलीबारी भएको सार्वजनिक भएको छैन । युद्धविराम अगाडि बढेसँगै बिहानदेखि साहयता सामग्री बोकेका ६० वटा ट्रक गाजा प्रवेश गरेको छ ।

हमासले शुक्रबार १३ जना बन्धकलाई रिहा गर्ने बताइएको भए पनि त्यस सूचीमा नेपाली बन्धकको नाम छैन । तर आगामी दिनमा सबै विदेशी बन्धकलाई हमासले रिहा गर्ने आशा भने कायमै छ ।

के छ सम्झौतामा ?

सम्झौतामा युद्धलाई कम्तीमा चार दिनका लागि विरामको दिन दुवै पक्ष सहमत भएका छन् । त्यस समयमा, अक्टोबर ७ मा इजरायलबाट हमासले अपहरण गरेका लगभग २ सय ४० जनामध्ये कम्तीमा ५० जना महिला र बालबालिकाहरू इजरायली पक्षलाई बुझाउने छ । यसको बदलामा इजरायली जेलहरूमा कैद गरिएका १ सय ५० प्यालेस्टिनी महिला र नाबालिगहरूलाई इजरायले छोड्ने अपेक्षा गरिएको छ ।

सम्झौतामा गाजाका लागि मानवीय सहायतामा वृद्धि पनि समावेश छ । तर कतारको विदेश मन्त्रालयले विस्तृत विवरण भने जारी गरेको छैन । हमासका अनुसार चार दिनको विराम अवधिमा प्रत्येक दिन राहत सामग्री बोकेका २०० ट्रक र चार इन्धन ट्रकहरू गाजा प्रवेश गर्नेछन् । इजरायली अधिकारीहरूले भने यसमा तत्काल टिप्पणी गरेका छैनन् ।

इजरायलले युद्धविरामको अवधिसम्म दक्षिणी गाजामा आफ्ना युद्धक विमानहरू उडान नगर्ने र प्रत्येक दिन छ घण्टासम्म गाजाको उत्तरी भागमा उडान नगर्ने बताएको छ ।

यसलाई कसरी अगाडि बढाइएको छ ?

युद्धविराम शुक्रबार गाजा समयअनुसार बिहान ७ बजेदेखि सुरु भएको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता, माजेद अल-अन्सारी र हमासले पनि यसलाई पुष्टि गरेको छ । अल-अन्सारीका अनुसार दिउँसो ४ बजे हमासले १३ बन्धकहरूको पहिलो समूहलाई रिहा गर्ने छ । यसको बदलामा इजरायलले कति संख्यामा प्यालेस्टिनी कैदीहरूको रिहा गर्छ त्यो भने खुलाइएको छैन ।

इजरायल र हमास दुवैले संकेत गरेअनुसार प्रत्येक १० इजरायली बन्धकहरूको बदलामा ३० प्यालेस्टाइनीहरूलाई साटासाट गरिनेछ । विरामको प्रत्येक दिन, इजरायल र हमासले रिहा गरिने बन्धक र बन्दीहरूको सूची प्राप्त गर्नेछन् । अल-अन्सारीका अनुसार कतारले तिनीहरूलाई दुई पक्षबीच आदानप्रदान गर्नेछ । उनका अनुसार बन्धकहरूलाई लिन रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई तोकिएको छ । यद्यपि उनले समूहको भूमिका वा बन्धकहरूले सीमा पार गर्नेबारे थप विवरण दिएका छैनन् ।

इजरायली सरकारले युद्धविरामको क्रममा चार समूहमा बन्धकहरूलाई मुक्त गर्ने बताएको छ, प्रत्येकमा कम्तीमा १० जना छन् । एक इजरायली अधिकारीका अनुसार हमासले बन्धक बनाएकाहरूलाई रिहापश्चात् उनीहरूलाई सुरुमा अस्पताल लगिनेछ र गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट ल्याइनेछ । १२ वर्ष मुनिकाहरूलाई उनीहरूको परिवारले सीमामा नै भेट्नेछन् । जबकि वृद्ध बन्धकहरूले उनीहरूका परिवारलाई अस्पतालमा भेट्नेछन् । जहाँ उनीहरूसँग सुरक्षा नियाकहरूले परामर्शसमेत गर्ने छ ।

को हुन् प्यालेस्टिनी बन्दी ?

इजरायली सरकारले यसै हप्ता रिहा गर्न मिल्ने ३ सय नामको सूची प्रकाशित गरेको छ । ती सबै १८ वर्ष वा कम उमेरका व्यक्तिहरू र महिलाहरू छन् । सुरुमा रिहा गरिने १ सय ५० मध्ये को-को हुनेछन् भन्ने जानकारी सार्वजनिक गरिएको छैन ।

सूचीमा भएका सबै 'सुरक्षा कैदीहरू' वा इजरायलको राष्ट्रिय सुरक्षा विरुद्धको अपराधमा पक्राउ परेका व्यक्तिहरूको रूपमा वर्णन गरिएको छ । कैदीहरूमाथि आतंकवादलाई समर्थन गर्ने, हिंसात्मक गतिविधि गर्ने र ढुंगा हान्नेजस्ता अपराधको अभियोग लगाइएको छ । सूचीमा हत्या प्रयासको अभियोग लागेकाहरू पनि छन् । त्यस सूचीमा ३२ महिला र केटीहरू छन् । जसमा दुई जना १८ वर्षीया र एक १५ वर्षीया छन् । केटाहरूमध्ये, १ सय ४४ जना १८ वर्षका छन् भने १ सय २३ जना १४ देखि १७ उमेर समूहका छन् ।

बन्धकहरु को-को रिहा हुन्छन् ?

इजरायली प्रधानमन्त्रीको कार्यालयले रिहा हुने बन्धकहरूको नामको प्रारम्भिक सूची प्राप्त गरेको र उनीहरूका परिवारलाई सम्पर्क गरेको बताएको छ । उक्त सूचीमा कति जनाको नाम थियो भन्ने खुलाइएको छैन ।

कम्तीमा ३६ बालबालिका र किशोरकिशोरीहरू, बाल्यकालदेखि हाई स्कुलको अन्तिम वर्षसम्मका, गाजामा बन्धक बनाइएको छ । उनीहरु सबैको अवस्थाबारे केही जानकारी नभएको पनि बताएको छ ।

युद्धविराम पछि के हुन्छ ?

इजरायलले युद्धविराम समाप्त भएपछि फेरि लडाइँ सुरु गर्ने र गाजाको हरेक भागमा हमासलाई सत्ताबाट निकाल्न चाहेको बताएको छ । तर केही विश्लेषकहरूका अनुसार भने अब फेरि इजरायलको लागि गति प्राप्त गर्न गाह्रो हुनसक्छ । यसका साथै इजरायलका साझेदारहरूले लामो युद्धविरामको लागि पनि दबाब दिन सक्छन् ।

- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित : मंसिर ८, २०८० १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?