कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सहकारी ठगीको समाचार लेखकै आधारमा गृहमन्त्रीले सिरोहियालाई पक्राउ गरे : ऋषि धमला

' हाम्रो गृहमन्त्रीले कहिल्यै पनि विरोध सहन सक्नु भएन । जब कान्तिपुर र सबै मिडियाले भन्छु म सहकारी ठगी प्रकरणमा उहाँको नाम मुछियो भनेर लेख्न थालेपछि उहाँ आत्तिनुभयो, डराउनुभयो ।'

काठमाडौँ — रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले कान्तिपुरले सहकारी ठगीको समाचार लेखेकै आधारमा अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको बताएका छन् । बुधबार सेन्ट्रल बिजनेस पार्क परिसरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ऋषि धमलाले सिरोहियालाई हचुवाका आधारमा पक्राउ गरिएको बताएका हुन् ।

सहकारी ठगीको समाचार लेखकै आधारमा गृहमन्त्रीले सिरोहियालाई पक्राउ गरे : ऋषि धमला

प्रतिशोध साधेर मिडिया उद्योगमाथि आक्रमण गर्नु आफूहरूलाई सह्य नहुने पनि अध्यक्ष धमलाले बताएका छन् । 'कैलाश सिरोहियाको गिरफ्तारी गलत भएको छ । जुन किसिमको नियत राखेर गिरफ्तार गरिएको छ, त्यसमा समाचार सम्प्रेषण गरेकै कारणले, समाचार लेखेकै कारणले गिरफ्तारी गरियो भन्ने हाम्रो निष्कर्ष र ठम्याइ हो,' धमलाले भने ।

प्रक्रिया पूरा गरेर जोसुकैलाई पनि छानबिनको दायरामा ल्याउन मिल्ने भए पनि कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई बदनियतपूर्वक गिरफ्तार गरिएको धमलाको भनाइ छ । 'नागरिकताबारे छानबिन गर्न पाइन्छ । प्रक्रिया पूर्‍याएर छानबिन गरौँ तर प्रतिशोध साध्ने र बदनियतपूर्वक नेपाली मिडिया इन्डस्ट्रीमाथि जुन किसिमले आक्रमण गरियो । त्यो हामीलाई सह्य हुँदैन । त्यसका लागि हामी जस्तोसुकै मूल्य चुकाउन पनि तयार छौँ,' उनले भने ।

गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध समाचार लेखेकै कारण सञ्चार जगत्‌लाई तारो बनाएको पनि उनको भनाइ छ । 'गृहमन्त्री रवि लामिछानेले जहिले पनि मिडिया उद्योग र सञ्चारकर्मीलाई तारो बनाउनुभयो । उहाँले बोल्दाखेरी जहिले पनि नेपाली मिडिया र सञ्चारकर्मीमाथि नै आक्रमण गर्नुभयो । लोकतन्त्रको सुन्दरता भनेको आलोचना हो विरोध हो । हाम्रो गृहमन्त्रीले कहिल्यै पनि विरोध सहन सक्नु भएन । जब कान्तिपुर र सबै मिडियाले भन्छु म सहकारी ठगी प्रकरणमा उहाँको नाम मुछियो भनेर लेख्न थालेपछि उहाँ आत्तिनुभयो, डराउनुभयो,' उनले भने ।

गृहमन्त्री लामिछानेलाई सुझाव दिँदै धमलाले भने, 'यदि म गृहमन्त्री थिएँ भने ममाथि छानबिन गर, म तत्काल पद छोड्दिन्छु । छानबिन गरेर सत्यतथ्य पत्ता लगाउनू भन्थेँ । उहाँले त उल्टो प्रतिष्ठित मिडिया हाउस कान्तिपुरका सञ्चालकलाई कार्यकक्षबाटै पक्राउ गर्नुभयो । आजसम्म कुनै पनि लोकतान्त्रिक मुलुकमा मिडिया सञ्चालक र पत्रकारलाई पक्राउ गर्दा निश्चित विधि, प्रक्रिया र मापदण्ड पुर्‍याइन्छ । हचुवाका भरमा गिरफ्तार गरिँदैन ।'

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको हो ।

स्वतन्त्र प्रेसको कार्यालयमा राज्यका सुरक्षा निकाय प्रवेश नगर्ने लोकतान्त्रिक अभ्यासलाई कुल्चिँदै काममा रहेका बेलामा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालयको आठौं तलाको कार्यकक्षमै पुगेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कार्यकक्षमा प्रवेश गरेका थिए ।

मंगलबार कान्तिपुरमा गोर्खा मिडियामा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएको अवधिमा मात्रै सहकारीहरूबाट ८० करोड ३१ लाख रुपैयाँ गोर्खा मिडियामा आएको दस्ताबेजबाट पुष्टि शीर्षकमा समाचार छापिएको थियो । लगत्तै बिहानैदेखि कान्तिपुरको कार्यालय परिसर र थापाथली सडकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

कान्तिपुर कार्यालय परिसरमा पत्रकार महासंघ, मिडिया सोसाइटी, कानुन व्यवसायी, नागरिक अगुवा, सांसदहरू, विभिन्न मिडिया प्रकाशक तथा पत्रकारहरूको उपस्थितिका बीचमा बर्दीधारी प्रहरीले सिरोहियालाई लगेका हुन् ।

प्रकाशित : जेष्ठ ९, २०८१ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×