‘मैले २ करोड सानु भण्डारीलाई बुझाएँ'

कान्तिपुर संवाददाता

काठमाडौँ — नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गिरोह सञ्चालन गर्नेका प्रमुख सहायक बेलबारी, मोरङका गोविन्द चौधरी मंगलबार पक्राउ परेलगत्तै उनीसँग पीडितहरूले लिएको बयानको भिडियो प्राप्त भएको छ ।

गिरोह सञ्चालनमा रहेका दोस्रो तहका मतियारमध्येका चौधरीले २ दर्जनभन्दा बढी मानिसबाट उठाएको २ करोड रुपैयाँ गिरोहका नाइके सानु भण्डारीलाई बुझाएको भिडियोमा उनले खुलाएका छन् । पीडित स्रोतबाट प्राप्त भिडियोमा चौधरीले सुरुमा नक्कली शरणार्थीको आवेदन भराएर परिचय पत्र लिँदै प्रक्रिया अघि बढ्ने र अमेरिका छिट्टै उडाइने भनेर भण्डारीले भनेको आधारमा पैसा उठाइएको खुलाएका छन् । पीडितहरूले केही महिनाअघि काठमाडौंमा चौधरीलाई समातेर सोधपुछ गरेका थिए । त्यही क्रममा भिडियो पनि लिएका थिए ।

पीडितको यही समूहले सचिव टेकनारायण पाण्डे गृह मन्त्रालयमा रहेका बेला आफ्नो गुनासो मन्त्रालयमा दर्ता गर्न खोज्दा पाण्डेले ‘मैले भण्डारीको टिमलाई चिनेको छु, तिमीहरूको पैसा फिर्ता गराउँला । निवेदन दर्ता गर्नुपर्दैन‚’ भनेर फिर्ता पठाएको बताएका छन् । चौधरीले पीडित १७ जनाको समूहबाट १ करोड १२ लाख रुपैयाँ र बाँकीबाट गरेर जम्मा २ करोड रुपैयाँ भण्डारीलाई बुझाएको बताएका छन् ।

भण्डारीले यो समूहलाई भने अमेरिकासँगको ‘गभरमेन्ट टु गभरमेन्ट’ प्रक्रियामा अमेरिका पठाइने भनेर चौधरीलाई माध्यम बनाएर पैसा उठाउन लगाएका थिए । पीडितले यही निवेदन उपत्यका अपराध अनुसन्धान कार्यालयमा दर्ता गरेको आधारमा चौधरी पक्राउ गरिएको हो ।

प्रकाशित : वैशाख २७, २०८० १०:१७
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वगृहमन्त्री खाँण पक्राउ

मातृका दाहाल

काठमाडौँ — भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । 

भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरी परिसर टेकु लगिएको छ ।

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका थिए ।

आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।


भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई लगिँदै । तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

सम्बन्धित समाचार

प्रकाशित : वैशाख २७, २०८० १०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×