२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बिछ्यौनामा चक्र बाँस्तोलाका चार वर्ष

कांग्रेसका प्रभावशाली नेता चक्र २०६९ पुसदेखि अचेत छन् । विमान अपहरण हुँदै पछिल्लो शान्तिवार्तासम्म राजनीतिको केन्द्रभागमा रहेका उनको एकान्तवासका चार वर्ष यस्ता रहे :

पटना, भारतमा तीन साताअघि आयोजित दुई दिने सेमिनारमा भारतीय नेता र बौद्धिकले बीपी कोइराला र कृष्णप्रसाद भट्टराईपछि सर्वाधिक दोहोर्‍याएको नाम थियो– चक्रप्रसाद बाँस्तोला । साँच्चि, उनको हालखबर के छ होला !

बिछ्यौनामा चक्र बाँस्तोलाका चार वर्ष

व्यस्त काठमाडौं । छिनछिनमै तरंगित भइरहने शक्तिकेन्द्रका कोठाचोटाहरू । अनि अदलबदल भइरहने राजनीतिको तीव्रता । यस्तोमा कसले सम्झिरहोस् चक्रलाई ! राष्ट्रिय जीवनको दैनिकीबाट उनी सुट्ट हराएको यो बिहीबार चार वर्ष पुग्दै छ ।

२०६९ पुस १४ गते मोरङ विराटचोकको बाँस्तोला कुलपूजामा भाग लिँदैगर्दा कांग्रेसका यी बौद्धिक नेतालाई मस्तिष्काघात (ब्रेन ह्यामरेज) भएको थियो । त्यसयता उनी अचेतको अचेत ढलिरहेका छन् । कहिले सिलिगुडी, केहिले मेदान्त अस्पताल गुडगाँव, कहिले न्युरो अस्पताल बाँसबारी, अनि आजकाल घरैमा नर्सहरूको रेखदेख । पत्नी कुसुम दिनरात नभनी अनवरत् यी ४८ महिना खटिन् । चार वर्षको सम्झना सुनाउँदासुनाउँदै आफूलाई थाम्न सकिनन् उनले ।

भक्कानिइन्, ‘आज बिहान खाना खुवाउँदै मैले उहाँलाई भनें— बाबा, चार वर्षअघिको यही पुसदेखि म हरेक दिन यसरी नै पाइपबाट खाना खुवाउँदै छु तपाईंलाई । तपार्इंलाई थाहा छ ? मलाई त भर्खरै चार दिनमात्रै भयोजस्तो लागिरहेको छ ।’ कुसुम भल्भल्ती आँसु बहाउँदै भित्र गइन् ।

दु:ख बाँडे आधा, खुसी बाँडे दोब्बर– कहिलेकाहीँ त यो केवल भन्दिनलाई भन्ने कुराजस्तो लाग्छ । जीवनको भाग्यचक्रले कसलाई कतिखेर समाउँछ, मानिस आफैंलाई थाहा हुने भए सायद ईश्वरको परिकल्पना हुने थिएन ।

गत मंसिरबाट ७३ वर्ष लागेका चक्र कतिपय महत्त्वाकांक्षा र कमजोरीसहितकै मानिस थिए, जस्तो कि सबै मानिस हुन्छन् । यति हुँदाहुँदै पनि उनी नेपालको प्रजातान्त्रिक आन्दोलन र कांग्रेस राजनीतिमा एउटा खास नेता थिए । बीपीले आफ्ना सबै राजनीतिक पुस्तकमा उनको नाम पटक–पटक लिएका छन् । चक्रलाई छुटाएर कांग्रेसको क्रान्तिकथा लेखिनै सक्दैन ।

विमानकाण्डले चर्चित
बीपीको आह्वानमा २०१७ सालबाट प्रजातान्त्रिक आन्दोलनमा हिँडेका चक्रबारे पहिलोपल्ट देशविदेशमा हल्लीखल्ली भयो— २०३० जेठ २८ गते । विराटनगरबाट ३० लाख रुपियाँ भारु बोकेर काठमाडौं ल्याइँदै गरेको प्लेन अपहरण गर्ने टोलीमा गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, दुर्गा सुवेदी, वसन्त भट्टराईसँगै उनी पनि एक थिए । पैसा हाल्न भनेर बीपीले चढ्ने गाडी लिई पटनाबाट फारबिसगन्ज पुगेका थिए चक्र । त्यो पैसा लुटेर दार्जिलिङ गए उनीहरू ।

आफूलाई बीपी स्कुलको अनुयायी मान्ने चक्र कोइराला परिवारका सम्बन्धी पनि हुन् । बनारस पढ्दा बीपीको सान्निध्य पाएका उनी कालान्तरमा उनकी भान्जी शैलजाका बहिनी ज्वाइँ बन्न पुगे । दरबार हत्याकाण्ड हुँदा गिरिजाप्रसाद क्याबिनेटका परराष्ट्रमन्त्री चक्रले घटनाभन्दा केही दिनअघि राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यसँग विमानभित्र खिचेको फोटो खुमलटार निवासको भित्तामा अझै झुन्डिइरहेको छ । राजारानीको हस्ताक्षर पनि त्यसमा छ ।

सुशील कोइरालासँग विहारको भागलपुर जेलमा डेढ वर्ष थुनिएका चक्र भारतीय राजनीतिक नेतृत्वसँग घनिष्ठ सम्बन्ध भएका थोरै नेपाली नेतामध्ये एक थिए । पोहोर कांग्रेस महाधिवेशनमा शुभकामना दिन आएका विहारका मुख्यमन्त्री नीतीशकुमारले उद्घाटन सत्रमा चक्रसँगै जेल परेको बेलाका सम्झना केही मिनेट सुनाएका थिए ।

अंग्रेजीमा बलियो कमान्ड भएका चक्रले २०४६ को जनआन्दोलनका बेला नयाँ दिल्लीमा बसेर अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता जुटाउन असाधारण मिहिनेत गरेको बताउँछन्, त्यस बेला उनीसँगै दिल्लीमा रहेका पत्रकार किशोर नेपाल । ‘चक्र दाइको बौद्धिक व्यक्तित्वका अगाडि त्यहाँका नेता र कूटनीतिज्ञहरू कायल हुन्थे,’ नेपाल भन्छन्, ‘एकपल्टको कुराकानीमै उहाँले नेपालमा त्यस बेला पञ्चायतले कसरी प्रजातन्त्रविरोधी काम गरेको थियो, त्यसविरुद्ध कसरी जनआन्दोलन भइरहेको छ भनी भारतीय र अरू समुदायलाई सम्झाउन सक्नुहुन्थ्यो ।’

जनआन्दोलन लगत्तै २०४८ को चुनावमा पराजित चक्र भारतका लागि नेपाली राजदूत भएर दिल्ली गए । नेपाल मामिला हेर्न अक्सर कर्मचारीवृत्त सक्रिय हुने भारतीय परम्परामा उनले राजनीतिक स्तरमा सम्बन्ध बनाउन भूमिका खेलेका थिए । भुटानी मामिला भारतबाटै हेरिने प्रचलनबीच चक्र भर्खरै नेपाल पसेका शरणार्थीबारे दिल्लीमै चरणबद्ध कुराकानीमा सक्रिय थिए । त्यस बेला गृहमन्त्री शेरबहादुर देउवाले दिएको टिप्पणी विवादमा आएपछि उनले आफ्नै मन्त्रीविरुद्ध कटाक्ष गरेथे । राजदूतको अवधि सकिएपछि उनले कृषि, पर्यटनलगायत मन्त्रालय सम्हाले ।

शान्तिवार्ताका सूत्रधार
चक्रको यता गिरिजाप्रसादसँग प्रेम र घृणाको सम्बन्ध रहिरह्यो । अन्तरपार्टी संवाद गर्नुपरे चक्र चाहिने । आतंकवादी घोषित माओवादीसँग भित्रभित्रै कुराकानी गर्नुपरे उनै नभई नहुने ।

वार्ताको सुरुवाती कालखण्डमा गिरिजाप्रसादले चक्रलाई अगुवाइ गर्न दिए । गिरिजा र माओवादी अध्यक्ष प्रचण्डबीच दिल्लीमा पहिलो भेट गराउने सूत्रधार उनै थिए । चक्र त्यस्तो घडीमा प्रचण्ड र गिरिजाप्रसादको भेट गराउँदै थिए, जुन बेला माओवादी ‘कांग्रेस खोजी–खोजी, एमाले रोजी–रोजी’ को नीति लिएर सिध्याउन अघि सरेको थियो, अनि कांग्रेस सरकार माओवादी नेताको टाउकाको मोल तोक्दै थियो । राजा ज्ञानेन्द्रले पनि माओवादीमाथि त्यसै नीतिलाई निरन्तरता दिएका थिए ।

गिरिजाप्रसाद आफ्ना लागि विश्वासपात्रको खोजीमा थिए । चक्रको समस्या– उनी आफैं नेता थिए । उनको भूमिका कालक्रममा कोही अर्को नेताले पायो । कांग्रेस नेता महेश आचार्यले केही समयअघि यो पंक्तिकारसँग भनेका थिए, ‘सुरुमा सबै ठीकै थियो, पछि शान्ति प्रक्रियाको जस लिने कुरामा गिरिजाबाबु ‘एक्स्क्लुसिभ्ली’ जान खोज्नुभयो, त्यसपछि तलमाथि भइहाल्यो ।’

गिरिजाप्रसादको बलेंसीभन्दा बाहिर पुगेका चक्र कांग्रेसको संगठनात्मक दैनिकीमा गयल पर्दै गए । यति हुँदाहुँदै पनि २०६४ चैतमा पहिलो संविधानसभा चुनाव हुने भएपछि चक्र कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजक छानिए । ‘पार्टी कार्यसमितिका बैठकमा जहिले पनि नयाँ–नयाँ कोणबाट राजनीतिक विश्लेषण गर्ने क्षमता उहाँमा थियो,’ चक्रलाई ब्रेन ह्यामरेज भएको केही महिनापछि नरहरि आचार्यले यो पंक्तिकारसँग भनेका थिए, ‘राज्य पुनर्संरचना हुनुपर्छ भन्ने एजेन्डा उहाँले ०५९ सालमै राख्नुभएको थियो, त्यसबारे पार्टीमा गम्भीर बहस पनि चलेको थियो ।’

२०६२ मा भएको कांग्रेसको एघारौं महाधिवेशनमा तेस्रो धार खडा गर्दै उनी, नरहरिले भीमबहादुर तामाङलाई पार्टी सभापति उठाए । सुशील कोइराला र शेरबहादुर देउवाको कडा प्रतिस्पर्धाबीच सानो समूहबाट तामाङलाई किन उठाउनुभएको भनी मैले अन्तर्वार्ताको क्रममा सोध्दा उनले भनेका थिए, ‘भीमबहादुर दाइलाई सभापतिमा उठाउनुका पछाडि कांग्रेसलाई अलग पहिचान दिने जमर्को थियो । ‘ए, कांग्रेसको सभापति तामाङ पनि हुन्छ ?’ भन्नेपट्टि मान्छेको ध्यान तानिन्थ्यो ।

अनि उहाले कांग्रेसको पुरानो र नयाँ इतिहास पनि जोड्नुहुन्थ्यो ।’ चुनावी नतिजा के भयो, सबैलाई थाहै छ । चक्रको टोलीले महाधिवेशन प्रतिनिधिको ‘जय नेपाल’ पायो, ‘भोट’ पाएन ।

बीपी विचारको पुनर्जागरण
जन्मशताब्दी तयारी समिति पनि चक्रकै अध्यक्षतामा पुनर्गठन भयो । ब्रेन ह्यामरेज हुनुभन्दा एक महिनाअघि चक्रसँग स्टडी रूममा दुई घण्टा कुराकानी चल्यो । बीपीको जन्मशताब्दी एक वर्षभरि मनाउने गरी प्रदीप गिरि, भीमबहादुर तामाङ र नरहरि आचार्यसँग सल्लाह गरेको बताए ।

नयाँ बानेश्वरमा कार्यालय राख्नका लागि फ्ल्याट खोजिरहेको भन्दै उनले के कस्ता कार्यक्रम देशभरि चलाउनु उपयुक्त होला भनी मेरो राय जान्न चाहे । अनि केही अंग्रेजी कविताहरू पढेर सुनाए । बोल्दाबोल्दै भावुक भए भने अंग्रेजीमा धाराप्रवाह सुरु गर्थे । ‘जीवनभरि कांग्रेस भएर बाँचे, अब ‘म’ भएर पनि बाँचिहेरूँ न,’ उनले भनेका थिए ।

झापा, विराटनगर र पोखरामा बीपीका लागि म्युजियम, अध्ययन केन्द्र आदि निर्माण गर्ने उनको सोच थियो ।

‘बीपी जन्मशताब्दी जिल्ला र गाउँसम्मै मनाउने, पार्टीभित्र ‘मर्दै गएको’ समाजवादी मूल्यमान्यता ब्युँझाउने अवसरका रूपमा त्यसलाई उपयोग गर्ने, अनि बीपीको प्रभाव रहेका भारतलगायत केही देशमा समेत कार्यक्रम राख्ने,’ चक्रले भनेका थिए, ‘सात सालको क्रान्तिका बेला बीपीलाई राणाले समातेर थुन्न विराटनगरबाट काठमाडौं ल्याएको बाटो, अनि प्रजातान्त्रिक योद्धाहरूले उत्सर्ग गरेको ठाउँमा पैदलयात्रा गर्ने, समाजवादको विचार त्यसै अभियानका क्रममा दिंदै हिँड्ने ।’

चक्रले चिताएअनुसारको योजना हुबहु साकार हुन सकेन । बरु बर्मेली प्रजातन्त्रवादी नेतृ आङ सान सु ची निम्त्याएर काठमाडौंमा बीपी सम्झना गरियो । त्यसै बीचमा तामाङ बिते । चक्र त्यसअघि नै अचेत भइगए ।

कस्तो दु:खद संयोग ! उनै नरहरि समेत पोहोर माघदेखि मस्तिष्काघातकै कारण थलिएका छन् । उनको स्वास्थ्यमा भने केही सुधार आइरहेको छ । तामाङको निधन भइसक्यो । प्रदीप गिरि राजनीतिमा छन्, तर छैनन् । राजनीति शब्दले आजभोलि अर्कै अर्थ पाइसक्यो ।

ब्रेन ह्यामरेज हुनु दुई दिनअघि चक्रले झापा बुधबारेबाट फोन गरे । ‘म खेतको आलीमा बसेर तिमीलाई फोन गर्दै छु,’ उनले भनेका थिए, ‘काठमाडौंमा धेरै बस्नुहुन्न । त्यहाँ मानिसहरू व्यस्त हुन्छन्, तर गति हुँदैन ।’ पर्सिपल्ट अप्रिय समाचार आयो ।

त्यसपछि एकान्तवास
२०६९ पुस दोस्रो साता काठमाडौंबाट झापा गएको भोलिपल्ट चक्र बिर्तामोडवरिपरि सानी नातिनी घुमाउँदै हिँडे । पर्सिपल्ट बिहान बास्तोलाहरूको कुलपुजामा विराटचोक पुगेको केही बेरमा शरीरमा असामान्य बाधा परेर उनी ढल्न खोजे । कुसुमले देखिहालिन् । ढल्न लाग्दालाग्दै कुदेर समाउन आइपुगिन् ।

घोपा अस्पताल धरानले आफूसँग आईसीयू बेड नभएको भन्दै सिलिगुडी रेफर गरिदियो । त्यहाँ पनि पार नलाग्ने भएपछि कुसुमले तत्काल एयर एम्बुलेन्स बोलाएर दिल्ली उडाइन् । डाक्टरको कडा निगरानीमा तीन महिना दिल्लीमा, त्यसपछि न्युरो हस्पिटल बाँसबारीमा सात महिना उपचार भयो । त्यसयता उनी छेउमा जाने मानिसहरूलाई कताकति ठम्याएजस्तो गर्छन्, तर वाक्य फुट्न सक्दै सक्दैन । बिछ्यौनामै लेटिइरहन्छन् ।

दुई साताअघि गृहमन्त्री विमलेन्द्र निधि चक्र भेट्न खुमलटार पुगे । चक्रको हविगत देखेर बच्चाले झैं धेरै बेर रोइरहे । ‘चक्र दाइ, म विमल । तपाईंले बाह्रबुँदे गराउनुभएथ्यो नि । आज शान्ति र संविधान आएको छ । तपाईंले उठेर यो सबै हेर्नुपर्छ,’ निधिले चक्रलाई भनेको कुसुमले सुनाइन् ।

सुशील सरकारले चक्रलाई ५० लाख रुपियाँ उपचार खर्च छुट्यायो । प्रधानमन्त्री छँदा केपी ओली घरमै पुगेर चक्रलाई भेटे । अघिल्लो फागुनमा प्रचण्ड पुगेर सम्झे, ‘हामी युद्धकालपछि सार्वजनिक हुँदै गर्दा यही घरमा चक्रजीले एउटा गम्भीर बैठक राख्नुभएको थियो, हाम्रो सुरक्षाको कारणले बाहिर अरूलाई थाहा दिइएन । चक्रजीले भन्नुभएको थियो— मेरोमा आउनुस् रिङरोड बाहिर यहाँ एकान्त पनि छ ।’

कान्तिपुर टिम खुमलटार पुग्दा कूटनीतिज्ञ दिनेश भट्टराई चक्रलाई हेर्न पुगेका थिए । ‘माओवादीप्रति विश्वास भएर चक्र दाइले त्यो बेला वार्ता थाल्नुभएको थिएन,’ उनले भने, ‘उनीहरूलाई अरू कुनै शक्तिकेन्द्रले उपयोग गर्नुभन्दा पहिल्यै नेपालको राज्यले इन्गेज गर्नुपर्छ भन्ने उहाँको सोच दूरगामी रणनीतिक महत्त्वको थियो । उहाँ पछाडिसम्मको आकलन गर्न सक्ने नेता हो ।’

राजनीतिको तीतो सत्य ! चक्र शक्तिमा हुँदा आँगनमा आगन्तुकको खुट्टो राख्ने ठाउँ हुँदैनथ्यो । आज दुई नर्सहरू पालैपालो देखभाल गर्छन् । अरू बेला कुसुमसँग बात मार्ने पनि कोही हुँदैन । ‘मलाई यस्तो कुरामा बानी परिसक्यो, त्यसमा मेरो केही गुनासो छैन,’ कुसुमले भनिन्, ‘नजिकका शुभचिन्तकहरू भने आइरहनुहुन्छ ।’

पत्नी मधु बितेपछि चक्रले ढिलो गरी कुसुम भित्र्याए । आमा भने पनि, ईश्वर भने पनि अब चक्रका लागि उनै कुसुम । यो चार वर्षमा उनको जीवनशैली एकनास छ, मानौं घडीका काँटाहरूमा समय टक्क रोकिएको छ । बिहान साढे पाँच बजे उठेर चक्रलाई दूध पिलाउँछिन् । राति साढे दस नबज्दासम्म कुसुम केही न केही खुवाइरहेकी हुन्छिन् । ह्विलचेयरमा राखेर बगैंचा घुमाउनु । पुस्तकालय कोठामा लगेर पुराना तस्बिर देखाइदिनु । क्लासिकल संगीतहरू सुनाइदिनु । दुई घन्टापिच्छे शरीरको साइड फेरिदिनु । अनि नब्युँझिन्जेलसम्म आँखाका ढकनी कतिखेर खुल्छन्, निर्निमेष हेरिबस्नु । घरीघरी आँखा खोल्ने चक्रको मुख चल्दैन । कुसुम इसाराहरूको अर्थ लगाउँछिन् ।

यस्तोमा चार दिन नै चार वर्षजस्तो हुँदैन र ! अझै कति वर्ष इसारामा कुराकानी चलिरहने हो ! तर कुसुमले फिक्री मानेकी छैनन् । जे भए पनि आँखाअघिल्तिर सानो बालकझैं चक्र छन् । जीवन अझै सुन्दर छ ।

प्रकाशित : पुस ९, २०७३ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?