कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

राजन राष्ट्रिय बुद्धिचाल च्याम्पियन

काठमाडौँ — झापाका राजन सुवेदी राष्ट्रिय बुद्धिचाल प्रतियोगिताबाट नयाँ च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा ११ औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई हराएपछि ८ अंकसहित उपाधि जितेका थिए ।

राजन राष्ट्रिय बुद्धिचाल च्याम्पियन

उनले ७ जित, २ बराबरी र २ हारको नतिजा निकालेका थिए । ३५ वर्षीय राजनले च्याम्पियन भएसँगै सेप्टेम्बरमा हंगेरीमा हुने ४५औं चेस ओलम्पियाडका लागि स्थान सुरक्षित गरेका छन् ।

देशका उत्कृष्ट १२ खेलाडी प्रतिस्पर्धी राष्ट्रिय प्रतियोगितामा राजनले १९२३ रेटिङ प्रेमकृष्णविरुद्ध पूरा अंक लिएका थिए । झापाकै सुश्रुत दाहाल र पूर्व नेपाल च्याम्पियन क्षितिज भण्डारी दोस्रो र तेस्रो स्थानमा रहे । उनीहरू पनि ओलम्पियाडलाई छनोट भए । समान साढे ७ अंक भए पनि क्षितिज टाइब्रेकरमा सुश्रुतसँग पछाडि परेका थिए । सुश्रुतले फाइनल चरणमा युवा खेलाडी पुरुषोत्तम सिलवाललाई पराजित गरे भने क्षितिजले दोलखाका राजीव कार्कीलाई माथ दिएका थिए ।

राष्ट्रिय प्रतियोगिताबाट शीर्ष ३ पुरुष र उत्कृष्ट ४ महिला खेलाडी ओलम्पियाडका लागि छनोट भएका हुन् ।सिन्दिरा जोशी महिलातर्फ अन्तिम चरणको खेलमा कृतिसारा अधिकारीसँग पराजित भए पनि ९ अंकसहित दोस्रो पटक नेपाल च्याम्पियन हुन सफल भइन् । सिन्दिराले ११ औं चरणसम्म ८ खेलमा जित र २ खेलमा हार बेहोरिन् । झापाकी कृतिसरा अधिकारी उपविजेता र कास्कीकी पूजा भण्डारी तेस्रो भए । शान्ति धिमालले पनि चौथो स्थानमा रहेर ओलम्पियाडका लागि स्थान सुरक्षित गरिन् ।

खेलाडीलाई नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, प्रायोजक लुम्बिनी इभेन्ट मेनेजमेन्टका प्रबन्धक निर्देशक सुबोधराज शेर्पालीलगायतले पुरस्कृत गरे ।

प्रकाशित : जेष्ठ २५, २०८१ ०५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×