कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

चाँदनी पासवानलाई हिसाब आउँदैन

रेणुका जिसी

चाँदनी पासवानलाई
ढाकीमा गोबर सोहर्न आउँछ 

चाँदनी पासवानलाई हिसाब आउँदैन

र गुइँठा बनाउन आउँछ,

घोंघी खोज्न र जाँड बनाउन आउँछ,

अधिया“मा पालेको मालिकको बकरी चराउन र मुझैला बुन्न आउँछ,

खसमको चप्पल, लालाबालाका लुगा

र, फाटेको आफ्नै मनलाई एकसाथ सिउन पनि आउँछ ।

उनलाई आफ्नो अनुहार र पहिचानै छोपिने गरी

घुँघटले ढाकिएको शिरमा

अनेक किसिमका बोझा बोक्न पनि आउँछ,

चुल्होमा दाउरा नबलेर

पुत्पुताउने पिरो न पिरो धूवा“मा सास फेर्न पनि आउँछ,

उनको छाप्रोमा छैनन् अनाज राख्ने कोठी

या किम्मती सामान लुकाउने बाक्सा,

तर, उनलाई आफ्ना आँसुलाई मनको अज्ञात कुनामा

लुकाएर राख्ने तरिका आउँछ ।

सुखको गीत नआए पनि

उनलाई छठी माईको भजन आउँछ,

जिन्दगीको स्वाद थाहा नभए पनि

चामलको गुरी र बयरको स्वादिलो चटनी बनाउन आउँछ ।


उनलाई तमसुकमा ’अँगुठाछाप’ लगाउन पनि आउँछ,

अभाव र महँगीले सधैं उत्तानो पछारे पनि

उनलाई शीतलहर र लूसित लड्ने कला आउँछ,

जीवनका रहलपहल सुख बगाइलाने

बाढीबाट बाँच्ने कौशल पनि आउँछ,

उनलाई त कहिल्यै आशीर्वाद नदिने देउताको

भित्तेचित्र बनाउन पनि आउँछ ।


बस्, उनलाई नआउने त हिसाब नै हो

उनलाई नआउने त आफ्नै जीवनको अंकगणित नै हो,

उनलाई दुईको पहाडा सोध्नुस्, आउँदैन !

उनलाई तीन र तेह्रको योगफल कति हुन्छ सोध्नुस्, आउँदैन !

उनले पाएकी छैनन् ज्याला

त्यसैले उनलाई मेरो श्रमको मूल्य यति हो भन्न पनि आउँदैन ।

’अब त अति भएन र ?’

अचानक एकदिन उनले आफैंसित प्रश्न गरिन्

र, आत्तिइन् युगौं लामो आफ्नो मौनतासित ।

अनि सम्झाइन् आफैंलाई–

’ए, चाँदनी पासवान !

तँलाई हिसाब नआएर के भो ?

युगौंदेखि जसले तेरो भागको खुसीमा कब्जा जमाएका छन्

ती सबैसित हिसाब बराबर गर्न त आउँछ नि !’


त्यसै दिनदेखि

हो, ठीक त्यसै दिनदेखि

चाँदनी पासवान अर्कै अर्कै भएकी छन् ।

अचेल उनले आफ्नो अपमान, दुःख

र गरिबीको इतिहास खोतल्न थालेकी छन् ।

अचेल उनले ती सबैलाई खोज्न थालेकी छन्,

जसले उनीमाथि उक्लन सक्ने

हरेक सिढी भाँचिदिएका थिए,

अब उनलाई ती सबैसित यही प्रश्न सोध्नुछ —

’तिमीहरुले कहाँ लुकाएका छौ मेरो भागको उज्यालो

र, मेरो सुखको बहीखाता ?’

प्रकाशित : असार २२, २०८१ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×