कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

‘भूपी र काइँला ओभररेटेड कवि’

दीपक सापकोटा

हरि अधिकारीलाई चिनाउने केही व्यक्तित्व छन्– खरो समीक्षक, कथाकार, कवि । नेपाली चेतनाका आवाज हुन्, उनका कविता । समाजको विरोधाभास लेखिरहने अधिकारीले ५ दशकको अवधिमा लेखेका करिब सबै कविता संकलित छन्, उनको नयाँ किताब ‘कवितासँग पाँच दशक’ मा । यो किताब उनका प्रतिनिधिमूलक कविताको पूर्णकोश हो ।

‘भूपी र काइँला ओभररेटेड कवि’

ती कवितामार्फत बहुविध नेपाली समाज अध्ययन गर्न सकिन्छ । नेपाली कविताका आयामहरूमाथि हरि अधिकारीसँग दीपक सापकोटाको वार्ता :

तपाईंको बहुचर्चित कविता छ– ‘हरि अधिकारी कुनै नाम होइन’, तर कवितामै लेख्नुभएको छ– ‘हुन सक्छ हरि अधिकारी एउटा गतिलै कविको नाम होस्’ । त्यो कविताको रचनागर्भसहित भनिदिनुस् न– असलमा हरि अधिकारी के हुन् ?

मलाई आफ्नो व्यक्तित्वका अनेक आयाममध्ये कवितासँग जोडिएको आयाम सबैभन्दा प्रिय लाग्छ । मैले साहित्यको आराधनाको आरम्भ नै कविता लेखेर गरेको हुँ । कालान्तरमा कविता कम र गद्यमा आधारित कथा र निबन्धजस्ता विधामा बढी लेखेको भए पनि मेरो सबैभन्दा प्रिय विधा कविता नै हो । कुनै दिन कसैले मेरा समग्र रचनावलीको अध्ययन गर्ने कष्ट उठायो र विधागत रूपमा मेरा उत्कृष्ट रचना छान्ने प्रयत्न गर्‍यो भने मलाई विश्वास छ, उसले मैले रचेका कविताहरूलाई अन्य विधाका रचनाभन्दा माथिल्लो स्थानमा राख्नेछ ।

‘हरि अधिकारी कुनै नाम होइन’ भन्ने त्यो कविता २०२८ सालमा रचिएको हो, जतिबेला म मध्यमाञ्चल शिक्षा निर्देशनालयमा खरिदारको पदमा कार्यरत थिएँ । मेरो शाखाकी हाकिम थिइन्– अधिकृत नीलम प्रधान । उनले कसैगरी मेरो कवि व्यक्तित्वका बारेमा थाहा पाइछन् र मलाई ‘कवि’ भनेर जिस्क्याइरहन्थिन् । उनको त्यो व्यवहार र साथीहरूले पनि ‘कवि कवि’ भनेर बोलाउने गरेबाट ‘अफेन्डेड’ भएको मैले आफ्नो कवि व्यक्तित्वलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्न त्यो कविता लेखेको थिएँ । त्यसमा प्रतिभाशाली कविका रूपमा उभारमा आउँदै गरेको एकजना सामान्य कर्मचारीको व्यक्तित्वका ती दुई फरक पाटाहरूका बीचको अस्वाभाविक घालमेललाई उजागर गर्ने प्रयत्न गरेको छु । मानिसहरूले मेरो लेखक व्यक्तित्वलाई सराहनाका रूपमा नहेरेर उपहासका दृष्टिले हेरेजस्तो पनि लागेको हुनुपर्छ मलाई । म के हुँ र कस्तो छु भन्ने चाहिँ मलाईभन्दा तपाईंहरूलाई बढी यकिनसाथ थाहा छ । मैले आफ्नोबारे भन्नू नै पर्‍यो भने चाहिँ म भनुँला– हरि अधिकारी आजको जीवन र जगत्का समस्त जटिलतासँगसँगै हिँडिरहेको एक सामान्य मान्छे र अविश्रान्त साहित्यप्रेमी हो ।

‘कवितासँग पाँच दशक’ पुस्तकको भूमिकामा तपाईंको स्वीकारोक्ति छ– ‘कविता–लेखनको ५४ वर्षे अवधिमा औसतमा वर्षको पुगनपुग २ थान कविता लेखेछु । म संख्यात्मक रूपमा निक्कै गरिब एक अल्छी कवि हुँ ।’ तर, घमण्ड पनि छ– ‘पाँच दशकसम्म निरन्तर समानस्तरका कविता रच्न सक्नु कविका रूपमा उपलब्धि हो कि ?’ स्वीकारोक्ति र घमण्डबीच कविताको स्तर कसरी मापन गर्ने ?

म कम कविता लेख्ने कवि हुँ भनेर मैले गरेको जुन स्वीकारोक्ति छ, त्यो प्रामाणिक सत्य कुरो भएकाले त्यसलाई लिएर प्रतिरक्षात्मक हुनुपर्ने कुनै कारण देख्दिनँ । मलाई राम्रोसँग थाहा छ म गद्यकविताको चन्द्रप्रसाद न्यौपाने वा रमेशचन्द्र अधिकारी होइन । साथसाथै यो पनि भन्छु म भूपी शेरचन वा बैरागी काइँला जत्तिकै थोरै लेख्ने कवि पनि होइन । गद्यमा काम गर्ने आफ्नो अदम्य चाहना र अपनाएको पेसाले मागेको हुँदैनथ्यो भने मैले थप धेरै थान कविता लेखेको हुन्थें होला । नियतिले मबाट त्यो अवसर खोसेर लिएकाले म धेरै गद्यरचना र थोरै कविता लेख्ने लेखक बन्न पुगें । तपाईंले घमण्ड ठानेको र मैले उपलब्धिका रूपमा लिएको, मेरा अधिकांश कविताको लगभग समानस्तरको जुन विषय छ, त्यसबाट म पूर्णतः सन्तुष्ट छु र आफ्नो धारणाप्रति दृढ पनि । यो संग्रहमा मैले लेखेका समग्र कविता संकलित छन् । राम्रोसँग पढेर मेरा कविताको लगभग समरूप स्तरको जुन दाबी मैले गरेको छु, त्यसबारे राय बनाउन सक्नुहुनेछ ।

२०२७ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको कविता महोत्सवमा तपाईंको कविताले प्रथम भएर स्वर्णपदक जित्दा तपाईं १८ वर्षे जवान हुनुहुन्थ्यो । अब ती दिन रहेनन्, यो ५ दशकका नेपाली कवितामाथि तपाईंको मूल्यांकन के छ ?

बितेका पाँच दशकमा नेपाली समाजमा विशद् परिवर्तन आएको छ । यहाँको राजनीति, कला, साहित्य, चिन्तन, जीवन–शैली र हाम्रो समाजको मनोविज्ञानमा पनि वर्णनातीत पार्थक्य देखापरेको छ । नेपाली कवितामा पनि स्वाभाविक रूपले त्यो परिवर्तनको प्रभाव परेको छ । कविताको भावभूमिको निर्माण कविको समाज, उसले देखेको, भोगेको जीवन र उसँगसँगै बाँचिरहेका मान्छेहरूका कथा–व्यथाबाटै तयार हुने हुनाले समयको प्रवाहसँगै कविताको विषय–वस्तु, अभिव्यक्तिको भंगिमा, विम्ब–विधान एवं प्रतीक, उपमा र उपमेयहरूको छनोटमा पनि व्यापक विविधता आएको छ । समयले प्रयोगधर्मितालाई प्रोत्साहन गर्ने हुनाले नेपाली साहित्यका हरेक विधामा नयाँनयाँ प्रयोग भएका छन् । त्यस्तै प्रयोग नेपाली कवितामा पनि भएको छ । नेपाली कवितामाथि मूल्यांकन गर्न भन्नु भएर तपाईंले मबाट एउटा असम्भव कामको अपेक्षा गर्नुभएको छ । सानो कुराकानीमा त्यो काम पूरा गर्न सम्भव छैन । यति मात्रै भन्न सक्छु, बितेका पाँच दशकमा नेपाली कविताले लामो र अग्रगामी यात्रा तय गरेको छ ।

तपाईंका केही कविताका पात्र छन्– गार्मेन्टकी गायत्री, इँट्टा बनाउने रुकुमकी युवती, क्याबिनकी कल्पना...। यी पात्रले बहुबिध नेपाली समाज पढाउँछन् । तपाईंका लागि कवितामा यी पात्रको मूल्य के ? के कविता लेखेर तिनको जीवनमा बदलाव आउला ?

एउटा कुरा सुरुमै प्रस्ट पार्न चाहन्छु दीपकजी, म मैले लेखेको कविताले कसैको पनि जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्नेमा अलिकति पनि विश्वास गर्दिनँ । मैले आफ्ना कविताको विषय–वस्तुका रूपमा नेपाली नारीहरूका विविध स्वरूप र अवस्थालाई लिएको चाहिँ कुनै पनि राष्ट्रको आधा आकाश मानिने नारीहरूका व्यथा–कथा, चाहना, संघर्ष, जीजीविषा, कमनीयता, जित र हारको एउटा सम्पूर्ण कोलाज मेरो कविताको फलकमा टाँगियोस् भनेर हो । मेरा यी कविताहरूलाई तपाईं–हामी लोग्नेमान्छेहरूलाई प्रेम, साथ, सम्बल एवं रगत र आँसुको सगुन दिएर बचाइरहेका नारीहरूप्रतिको वन्दनाका रूपमा पनि लिन सक्नुहुन्छ ।

हुन त लेखक सधैं सत्ताको विपक्षमा बसेकै सुहाउला । आक्रोश र विद्रोह तपाईंका कविताका स्वर हुन् । कवितामा ती तत्त्वको आयु कति हुन्छ ?

कविता भनेकै विद्रोहलाई वाणी दिने कलात्मक माध्यम हो । असल कवि जहिले पनि विपक्षमै टिकिरहेको हुन्छ । जुनसुकै प्रकारको सत्ताले पनि तृणमूलका साधारण मानिसहरूको आवाजलाई दबाएरै राख्न चेष्टा गर्ने हुनाले लेखक–कविहरू ती अकिञ्चनहरूको आवाज बनेर अगाडि आउनुपर्ने हुन्छ । कविताका माध्यमबाट मैले गरिरहेको पनि त्यति मात्र हो । कवितामा व्यक्त आक्रोश र विद्रोहजस्ता तत्त्वहरूको आयु कति लामो वा छोटो हुन्छ भन्ने प्रश्नको किटान उत्तर दिन सायद सम्भव छैन । कविले त्यस्तो आक्रोश र विद्रोहलाई कति राम्रोसँग वा भाँती मिलाएर कवितामा प्रस्तुत गरेको छ, त्यसले ती तत्त्वको आयु निर्धारण गर्छ भन्न सकिन्छ ।

आक्रोश मात्रै होइन, तपाईंका कवितामा कोमलता पनि छ । तपाईं विद्रोही कवि कि कोमल ?

एउटा कविता कुन परिस्थितिमा, कवि कुन मनोदशामा भएको बेलामा र कुन विषयमाथि लेखिएको छ ती कुराहरूले कवितामा कोमलता वा आक्रोश र विद्रोही कठोरता ल्याइदिन्छन् । म कवि र व्यक्ति दुवै रूपमा कोमल नै छु तर कविता लेख्दा विषयवस्तु अनुसारकै भाव सम्प्रेषण गरिरहेको हुन्छु ।

एकैछिन साहित्य र राजनीतिमाथि विमर्श गरौं । साहित्य जीवनकै खोजी हो, राजनीति जोडिइहाल्छ । वर्तमान नेपाली कवितामा राष्ट्रको राजनीति कसरी लेखिएको छ ?

आजको नेपाली कविता आजको नेपाली राजनीतिबाट निरपेक्ष छैन । अभिव्यक्तिको एउटा सशक्त माध्यमका रूपमा त्यसो हुन सम्भव पनि थिएन । तर राजनीतिक कविताले कलात्मक सीप र लालित्य गुमाउने जोखिमका कारण हाम्रा धेरै कविहरू पूर्णरूपेण राजनीतिक कविता लेख्नबाट बच्ने प्रयत्न गरिरहेकाजस्ता देखिन्छन् । पछिल्लो समयमा पहिचानको राजनीतिमा केन्द्रित भएर भने अनेक सामर्थ्यवान् कविहरूले कविता लेखेका छन् । त्यस छिमलका कविहरूले आफूलाई दोहोर्‍याउन थालेका हुन् कि जस्तो पनि लागिरहेको छ मलाई ।

राजनीतिले साहित्यलाई प्रभावित पार्छ भनिन्छ । हाम्रो साहित्यमा राजनीतिले कत्तिको प्रभावकारी भूमिका खेलेको छ ?

राजनीतिले साहित्यलाई मात्रै किन, तपाईं–हाम्रो जीवनका सम्पूर्ण आयामलाई प्रभावित मात्रै होइन नियन्त्रण नै गर्न खोजिरहेको हुन्छ । तर, राजनीतिको साहित्यमाथिको प्रभाव अत्यन्त छिपछिपे मात्र हुन्छ । यसको विपरीत शक्तिशाली साहित्यिक रचनाले राजनीतिको दिशा र गतिसम्म बदल्न सक्छ । आजको नेपाली राजनीतिले साहित्यमाथि पारेको प्रभावको कुरो गर्दा, प्रज्ञा प्रतिष्ठानजस्ता संस्थाहरूमा सत्ताधारी दलहरूका झोलेहरूलाई जागिर खुवाउन र सरकारी निकायहरूले वितरण गर्ने पुरस्कार नामक हन्डी आफ्ना भृत्यहरूलाई बाँड्नमै सीमित देखिन्छ ।

तपाईं कविता, कथा, निबन्ध, समालोचना विधामा सक्रिय हुनुहुन्छ । नेपाली सन्दर्भमा चाहिँ कुन विधा बढी प्रभावशाली छ ?

नेपाली साहित्यमा सबैभन्दा बढी फस्टाएको विधा कविता हो, जुन विधामा विश्वस्तरीय रचना उपलब्ध भएका छन् । अन्य विधालाई लिएर भने यस्तो दाबी गर्न उपयुक्त हुन्छ जस्तो लाग्दैन । केही दशकयता आएर नेपाली साहित्यका निबन्ध, रम्यरचना, समालोचना जस्ता विधा खुम्चिएर गएको देख्छु । आजको घडीमा महाकवि देवकोटा, जनकलाल शर्मा, राजेश्वर देवकोटा, शंकर लामिछाने, भैरव अर्याल, यदुनाथ खनाल, रामकृष्ण शर्माहरूले लेखेजस्ता प्राञ्जल गद्यरचना पढ्ने चाहना राख्नु नै पनि धृष्टता हुने डर छ ।

समीक्षकका रूपमा नेपाली कविताको वर्तमान कस्तो देख्नुहुन्छ ? अहिले लेखिरहेका कवि र आफ्ना समकालीनप्रतिको टिप्पणी के छ ?

नेपाली कविताको वर्तमानलाई लिएर मसँग कुनै गुनासो छैन । मेरा समवयी, मभन्दा थोरै कान्छाहरू र त्यसभन्दा अल्ली पछिका कविहरू अहिले पनि लेखिरहेका छन्, ठीकैठीकै लाग्छन् । विक्रमको २०३० दशकमा देखापरेका र एक समय निक्कै ठूलो आशा जगाएका केही कविहरूले भने जगाएको त्यो आशा अनुरूप लेख्न सकेनन् । त्यो थोरै निराशा जगाउने कुरो भयो । पछिल्लो पुस्तामा भने निक्कै राम्रा कविहरू आएका छन् । ती प्रतिभाशाली कविहरूलाई समेटेर म छिट्टै एउटा कविता संग्रह निकाल्दै छु ।

नयाँ पुस्ताका कविहरूका शक्ति र सीमा के हुन् ? उल्लेख्य कविहरू को–को हुन् ?

नयाँ पुस्ताका नेपाली कविहरूको सबैभन्दा ठूलो काव्यिक शक्ति तिनीहरूले आफूले लेख्ने कवितालाई राम्रो कविताको गुणबाट सम्पन्न गराउन गरेको प्रयत्न नै हो भन्ने लाग्छ मलाई । यी युवा कविहरूमध्ये धेरैमा शब्दानुशासन पनि देख्छु म । नाराबाजीबाट पनि बाँचेका देखिन्छन् । नयाँ पुस्ताका अधिकांश कविहरू आसलाग्दा नै छन् । खासगरी मौन आवाज, शरद पोखरेल, नवीन प्यासी, नीरा शर्मा, शान्ति प्रियवन्दना, निर्भीकजंग रायमाझी, सन्तोष थेबे आदिको नाम लिन चाहन्छु । यी कविहरूको सीमा भने देखिन नै बाँकी छ ।

नेपाली कवितामा ‘ओभेररेटेड’ र ‘अन्डररेटेड’ कवि पनि त होलान् नि ?

मेरो विचारमा नेपाली कविमध्ये सबैभन्दा ‘ओभररेटेड’ भूपी शेरचन र बैरागी काइँला हुन् । ‘अन्डररेटेड’हरूको नाम लिन चाहन्न ।

उहाँहरू चाहिँ किन ओभररेटेड नि !

भूपी शेरचन र वैरागी काइँलालाई उहाँहरूको वास्तविक रचना-सामर्थ्यभन्दा धेरै गुना बढी सराहना गरेर अधिमूल्याङ्कन गरिएको विषयमा मलाई कुनै सन्देह छैन । उहाँ दुवै कविहरू संख्यात्मक र गुणात्मक दुवै दृष्टिले अहिले पाइरहेको वाहवाहीको सही हकदार हुनुहुन्न । उहाँहरूको अधिमूल्यन हुनाका केही निश्चित कारण छन् र दुवैका हकमा फरक-फरक छन् ।

भूपी शेरचनको चर्चा गर्दा उहाँले हल्का-फुल्का, व्यङ्ग्यको पुट भएका सरल, चुट्किला जस्ता लाग्ने कविताका माध्यमबाट लोकप्रियता आर्जन गरेकाले धेरै पाठकले उहाँका कमजोर कवितालाई नै गतिला कविताका नमुना ठानेका हुन सक्छन् । कुनै कवितामा लोकप्रियताको तत्व प्रचूर हुनु नै त्यो उत्कृष्ट कविता हुनु होइन ।

भूपीको उदार व्यक्तित्व र साथीहरूको स्नेहले उद्भाषित जीवन-शैलीले पनि उहाँका कविताले बढी नै महत्त्व पाएको हुनसक्छ । भूपीको एउटा कविताको शीर्षक 'यो हल्लै हलाको देश हो' भन्ने छ । उहाँलाई पनि हल्लै हल्लामा महान् कवि बनाइएको हो भन्दा अत्योक्ति हुँदैन ।

वैरागी काइँलालाई भने नेपाली कवितामा त्यसभन्दा पहिले प्रयोग नगरिएका केही अपरिचित विम्बको प्रयोग गरेर कविता लेखेकाले समालोचकहरूले के-के न जस्तो ठानेको र अधिमूल्यन गरेको हो जस्तो लाग्छ । 'तेस्रो आयाम' आन्दोलनका एक स्तम्भ भएकाले पनि काइँलाले थप महत्त्व पाएको हुनुपर्छ । पछिल्लो समयमा उहाँले गर्दै आएको पहिचानको राजनीतिले भने काइँला-कविको कदलाई थप उचाइ दिएको छ ।

भनिन्छ– कविले प्रारम्भमा अग्रज कविकै सिको गरेको हुन्छ । तपाईंको आरम्भिक कवितामा कुन अग्रज कविको प्रभाव थियो ?

म सुरुमा गोपालप्रसाद रिमाल र वासु शशीबाट प्रभावित थिएँ । ती दुवै कविहरू अहिले पनि मन पर्छन् । तर, मोहन कोइराला र उनका समकालीन कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठ, मदन रेग्मीहरूका कविता पढेपछि भने म उनीहरूको प्रशंसक भएँ । विशेषगरी मोहन कोइराला मेरा सर्वाधिक प्रिय कवि बनेका छन् ।

तपाईं नेपाली साहित्यको खरो समीक्षक मानिनुहुन्छ । लेखक र पाठकबीच समालोचकको भूमिका के रहन्छ ?

राम्रो समालोचकले पाठकलाई असल पुस्तकको चयन गर्न सहयोग गर्न सक्ने हुनाले पाठकका लागि समालोचक एक पथप्रदर्शक बन्न सक्छ ।

हाम्रोमा समालोचनाको स्तर कस्तो छ ? समीक्षा सम्यक् छ कि त्यो पूर्वाग्रही छ ?

नेपाली साहित्यमा समालोचनाको मृत्यु भइसकेको छ भन्दा अत्युक्ति हुनेछैन । एउटा मृत विधालाई सम्यक् वा पूर्वाग्रही भनेर कसरी वर्गीकरण गर्नु ?

प्रकाशित : असार २२, २०८१ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×