कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

किराले लुटेको गरिबको सपना

तल हेरे रिङ्गटा लाग्ने छङ्गाछुर भीर, माथि हेरे नाक ठोक्किएलाझैं अजङ्गको पहरा ! मुस्किलले आधा पैताला टेक्न मिल्ने बाटोको निसानी पछ्याउँदै हिँडिरहेको छ– यार्चा टिप्ने लर्को ।

किरा (यार्चा) को खोजीमा निस्किएका साइपाल गाउँपालिका–२ धलौनका २१ वर्षे लक्ष्मण धामी कुज्जड वनमा मूर्छित अवस्थामा भेटिए, गत जेठ २७ गते राति । उनका दाइ धनराज धामी निक्कै अत्तालिए । 

किराले लुटेको गरिबको सपना

साँझ एकै पालमा सुतेका दुई भाइ बिहान सातै बजे खाना खाएर छुट्टिएका थिए । धलौनमै बढी किरा भेट्टाउनेमध्येमा कहलिएका लक्ष्मण कुज्जड वनतिर लागे, दाजु धनराज धलौन वनतिर । साँझ पालमा फर्किएका धनराजले दुई भाइका लागि खाना पकाए, भाइलाई कुरी बसे । तर, अबेरसम्म लक्ष्मण आइपुगेनन् । वनहरू चाहर्दै खोजिपस्दा एउटा भीरको पुछारमा लक्ष्मण लडिरहेका भेटिए ।

रातभरि बोकेर उनलाई २८ गते बिहान १० बजे गाउँ पुर्‍याइयो । गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय हेलिकोप्टरको खोजीमा लागे । नेपाली सेनाको हेलिकोप्टर हेली आउन नसक्ने भनियो । अन्त्यमा पालिकाले निजी कम्पनीको हेली बोलायो । साँझ साँढे ५ बजे मात्रै हेलिकोप्टर पुग्यो । घाइते लक्ष्मणलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगियो । दुर्भाग्य ! अस्पतालले भोलिपल्ट उनलाई मृत घोषणा गरिदियो । सँगै गएका दाजु धनराजले उनलाई भेरी किनारमा सदाका लागि बिदा गरेर फर्किए ।

बझाङका संकलकहरूले भन्ने किरा अर्थात् यार्चालाई विश्व बजारमा जीवनबुटीको नामले चिनिन्छ । यार्चाको नियमित–व्यवस्थित सेवनले यौन दुर्बलतादेखि दम, कलेजो, मृगौलाको समस्या निको हुने भनिन्छ ।

लक्ष्मणका लागि किरा उनका मूर्छित सपना ब्युँझाउने सञ्जीवनी थियो । छिमेकी तलकोट गाउँपालिकाकी एक युवतीसँग प्रेमसम्बन्धमा रहेका उनी असारमै विवाह गर्ने तयारीमा थिए । विवाहको एक, दुई वर्षपछि विदेश जाने सपना थियो । तर, सपनाको सञ्जीवनी खोज्न हिँडेका लक्ष्मणलाई बचाउन कुनै हनुमान प्रकट भएनन् । ‘यो वर्ष किरा टिपेको पैसाले विवाह गर्छु, त्यसपछि एक/दुई वर्ष मात्रै हो, यहाँ आउने,’ उनले भीरबाट लड्नु अघिल्लो रात पालमा दाजु धनराजदाइलाई भनेका थिए, ‘दुई वर्ष किरा टिप्यो भने विदेश जाने पैसा जुटिहाल्ला, नपुगेको तपाईंले थपिदिनु है ।’

संयोगले तिनै लक्ष्मणसँग २०७८ साल वैशाख अन्तिम साता मेरो धलौनमा भेट भएको थियो । यार्चा संकलन क्षेत्रमा रिपोर्टिङका लागि हिँडेको म धलौनको उकालो काटेर गाउँको सिरानीमा रहेको उनको घर नजिक पुगेको थिएँ । धलौनबाट काँकरकोट जाँदा करिब डेढ घण्टा उकालो छिचोलेपछि गाउँको अन्तिममा उनको घर भेटिन्छ । मैले भेट्दा उनी किरा–खोजीमा हिँड्न लेकको सरजाम बन्दोबस्ती गर्दै थिए ।

लक्ष्मणको दुर्घटनाको खबरले तीन वर्षअघिको त्यो भेट सम्झना आयो । उनको तस्बिर कतै भेटिन्छ कि भनेर मेरा कम्प्युटरका पुराना ‘फोल्डर’ चाहरें, भेटिनँ । सायद तस्बिरै खिचेको रहेनछु । तस्बिर–भिडियो हेर्दै गर्दा यार्चा संकलन क्षेत्रमा संकलकहरूसँग बिताएका ती दिनहरू मस्तिष्कमा ओहोरदोहोर गरिरहे ।

यही सिजनमा जेठ १७ गते मथिङ्गल रिंगाउने अर्को घटना भएको थियो । बझाङकै सुर्मा गाउँपालिका–५ सैनगाउँका दीपेन्द्र बोहरा जेठ १६ गते यार्चा संकलनका लागि घरबाट निस्केका थिए । २३ वर्षीया श्रीमती रविनाको साथ लेक हिँडेका उनको डेढ महिना जति धौलढुंगा लेकमा बस्ने र यार्चा टिप्ने योजना थियो । सानैमा आमाबुवा गुमाएका दीपेन्द्रले त्यो अवधिमा हेरचाह गरिदिनका लागि आठ वर्ष र चार वर्षका दुई छोरा फुपूको जिम्मा छोडेर गएका थिए । यो सिजनमा टिपेको यार्चा बेचेर घर बनाउँदा लागेको ऋण तिर्ने बोहरा दम्पतीको योजना थियो ।

विडम्बना, दीपेन्द्र दम्पतीका योजना पूरा हुन पाएन । धौलढुंगा लेक पुगेको भोलिपल्टै बिहानै सात बजे यार्चा खोज्न हिँडेका ३१ वर्षीय दीपेन्द्र हिउँमा चिप्लेर लडे । एउटा यार्चा नभेट्टाउँदै उनको मृत्युसँग भेट भयो । यार्चा टिपेर श्रीमान्सँगै खुसी बोकेर फर्किने उज्यालो सपना बुनेर गएकी रविनाले श्रीमान्को लाससँगै अँध्यारो भविष्य बोकेर फर्किनुपर्‍यो । उनको खुसी सदाका लागि उतै कतै लेकमा छुट्यो ।

पछिल्लो पटक २०७९ जेठमा म सुर्मा र २०७८ जेठमा साइपाल गाउँपालिकाका विभिन्न यार्चा संकलन क्षेत्रमा संकलकसँगै हिँडेको थिएँ । मैले थुप्रै पात्रसँग साक्षात्कार गरेको थिएँ, जसका परिवारका सदस्य पाटनमा सधैंका लागि छुटेका थिए । बाहुलीगाड खोलाको तीरैतीर आधा दिन हिँडेपछि संकलकहरू सँगै म बाँदर लड्ने भीरको यात्रामा थिएँ । तल हेर्‍यो रिङ्गटा लाग्ने छङ्गाछुर भीर, माथि हेर्‍यो नाक ठोक्किएला जस्तो अजङ्गको पहरा । मुस्किलले आधा पैताला वा कुर्कुच्चा मात्रै टेक्न मिल्ने बाटोको निसानी पछ्याउँदै हामीले चार घण्टामा त्यो भीर छिचोलेका थियौं ।

ठाडो भीर काटेर चार हजार एक सय मिटर उचाइको पार्थीको चौरमा पुग्दा सुरक्षित भीर पार गरेकोमा संकलकहरूले पार्थीको देउरालीमा धुप बालेका थिए । हात जोडेर सुर्मादेवीप्रति कृतज्ञता जाहेर गरेको थिएँ मैले । मनमनै फर्केर त्यो बाटो नआउने प्रतिज्ञा पनि ।

फकिंदा कैयौं ठाउँमा ९० डिग्री ओरालो झर्नुपर्ने सम्झँदा मेरो आङका काँडा पटकपटक फुलेका थिए । डाँडामा पुगेपछि मलाई बाटो कटाउन सहयोग गर्ने जीवन बोहराले यही बाटो फर्कने क्रममा छ/सात वर्षको अवधिमा सात जनाको लडेर मृत्यु भइसकेको सुनाएपछि मेरो डरको पहाड अझ अग्लिएको थियो । ‘यो कुरा तलै सुनाएको भए तपाईं यहाँसम्म पुग्ने आँट गर्नु हुन्थेन सर, त्यसैले नभनेको,’ उनले कुन मान्छे लडेर कस्तो अवस्थामा भेटिएको थियो भन्ने बयान गर्दै यस्तो भनेका थिए । त्यहाँबाट खसेका दुई जनाको त छरिएका हाडखोर खोजेर दाहसंस्कार गरिएको उनले सुनाएका थिए ।

त्यो मृत्युमार्गमा हामीसाँ सुर्माको बिछाडा गाउँकी सिन्की बोहरा, उनका एक किशोर छोरा र उनका साथीहरू पनि थिए । अगाडि खोलाको अस्थायी होटलमा हामीले सँगै खाजा खाएका थियौं । उदास देखिने उनी निकै कम बोल्थिन् । ‘याँ नआया खान पुग्दैन । आयो फेरि घर फर्किन पाउने हो कि नाइँ भन्याँ चिन्ता’ उनले भीरको बाटोप्रति गुनासो सुनाएकी थिइन् । हाम्रो गन्तव्य धानसेरी हिमाल थियो, उनको व्याँसीमारे । अघिल्लो वर्ष मात्रै उनकी १३ वर्षकी छोरी यार्चा टिपेर फर्किने बेला यही बाटोमा पर्ने अगाड खोलामा बेपत्ता भएको उनको साथमा भएकी एक महिलाले मलाई खुसुक्क सुनाएकी थिइन् । सिन्कीको उदास अनुहारभित्रको पीडादायी विगत सुनाएपछि उनले भनेकी थिइन्, ‘यो बाटो हिँड्दा छोरीको सम्झनाले रोएकी रोयै छ ।’

१० दिन सुर्माका विभिन्न यार्चा पाटन घुमेर म चाँदेशिखर हिमालको बाटो हुँदै पुगें । घर पुगेकै भोलिपल्ट खबर सुनें– व्याँसीमारे हिमालमा गएको हिमपहिरोमा परेर सिन्की बेपत्ता भइन् । पहिरोको संकेत पाएर उनका पालबाट आमाछोरा हतार–हतार बाहिर निस्किसकेका रहेछन् । सिन्की भने यार्चा लिन फेरि पालभित्र जाँदा हिउँको पहाडले थिचिइन् । तीन महिनापछि भदौ अन्तिम साता मात्रै उनको शव फेला परेको थियो ।

यसरी ज्यानको बाजी राखेर संकलक किरा खोज्न झन्डै साढे पाँच हजार मिटर उचाइसम्म पुग्छन । कोही वर्ष दिन छाक टार्न पुग्ने पैसा कमाएर फर्किन्छन् । धनीमानी र सौखिनबीच हिमालयन भियग्राको नामले चर्चित किरा यहाँका स्थानीयका लागि जीविका धान्ने माध्यम हो । सम्पन्नहरूको सोख पूरा गर्न गरिबहरू भोकका कारण जोखिम मोल्छन् । कोही जीवनबुटीको खोजमा आफ्नै जीवन सदाका लागि उतै बिसाउँछन् । बझाङमा मात्रै विगत १५ वर्षको अवधिमा दुई सय ५० जनाको किराकै खोजी–क्रममा मृत्यु भइसकेको छ । घाइते र अंगभंग हुनेहरूको संख्या पनि त्यही हाराहारीमा छ ।

हिमाली कन्दराहरूमा भीर, पहरा छिचोल्दै किरा खोज्न पुग्नेहरूलाई माइनस डिग्रीको चिसोले उस्तैगरी सताउँछ । हिमाली स्याँठले मुटु काम्ने गरी हिर्काउँछ । यार्चा खोज्दाखोज्दा चिसोले हात खाइदिन्छ । सबैभन्दा समस्यामा हुन्छन्, बालबालिका । तीन–चार महिनाका दूधेबालक पिठ्युँमा बोकेर पुगेका आमाहरूलाई चिसोबाट सन्तान जोगाउन उस्तै सकस हुन्छ । यार्चा भेटिए संकलकहरू यी सबै दुःख भुल्छन्, तर पहिलाझैं यार्चा भेटिन पनि छोडेको छ । ‘उइलेका जति किरा पाइने भए त घर पुगेपछि यी दुःख बिर्सिहाल्थ्यौं,’ एक वर्षकी छोरी र तीन वर्षका छोरासहित साइपाल हिमालको बेस क्याम्पमा यार्चा टिप्न पुगेकी काजल गुरुङले भनेकी थिइन्, ‘कुनै दिन दिनभर चाहर्दा एउटा पनि भेटिँदैन । हिँड्दाहिँड्दा गलिन्छ मात्रै ।’

यार्चा बझाङसहित नेपालको दार्चुला, डोल्पा, जुम्ला, मुगु, रुकुम, म्याग्दी, मनाङ, गोरखा, सिन्धुपाल्चोक, संखुवासभा र रसुवा लगायतका जिल्लामा संकलन हुने गरेको छ । नेपालबाट मात्रै वार्षिक दुई हजार किलोग्राम हाराहारी यार्चा विदेश निकासी हुने गरेको वन विभागको तथ्यांकले देखाउँछ । नेपाल राष्ट्र बैंकको एक अध्ययन अनुसार, नेपालका ११ जिल्लामा वार्षिक ४ अर्ब ९२ करोड मूल्यको यार्चाको कारोबार हुने गरेको छ । विश्व बजारमा चीनपछि नेपाल यार्सागुम्बुको दोस्रो आपूर्तिकर्ता मानिन्छ । यार्चाको मूल्य चीनमा प्रतिकिलो ग्राम ७० लाख नेपाली रुपैयाँमा यार्चाको खरिदबिक्री हुने गरेको जानकारहरू बताउँछन् । इन्टरनेटमा उपलब्ध जानकारी अनुसार जर्मनी, फ्रान्स, अमेरिकालगायत देशमा यार्चा प्रतिकिलो ग्राम १ करोड २० लाखसम्म बिक्री हुने गरेको छ ।

तर, ज्यानको जोखिम मोल्ने संकलकहरूले प्रतिकिलो मुस्किलले १५ देखि २० लाख पाउँछन् । न त अन्तर्राष्ट्रिय बजारमा यार्चाको मूल्यबारे नै उनीहरू जानकार छन्, स्थानीय बिचौलियाले जति मूल्य तोक्छन्, त्यतिमै बिक्री गर्न बाध्य हुन्छन् । कतिसम्म भने संकलकबाट यार्चा उठाइसकेपछि बिचौलियाहरू यार्चा खरिद गर्नुपूर्व नै आपसमा बसेर कति रेट तोक्ने भन्ने सहमति गर्छन् ।

साइपालको माझावनमा किरा टिप्दै गर्दा भेटिएका रुन्छे बोहराले बेच्ने ठाउँ थाहा नहुँदा बिचौलियाले तोकेको मूल्यमा किरा बिक्री गर्नुपर्ने बाध्यता सुनाएका थिए, ‘हामी आफैं गएर बेच्ने ठाउँ थाहा छैन, अहिले दिए पनि पछि दिए पनि यहाँकै ठेकेदारलाई दिने हो ।’ उनले पाटनमै मूल्य नतोकेर (पछि लागेको रेट दिने सर्तमा) धेरैले बिचौलियालाई किरा दिने गरेको सुनाएका थिए ।

ज्यानको बाजी लगाएर किरा खोज्ने संकलकलाई पेस्कीको पासोमा पार्छन् बिचौलियाहरू । स्थानीय बिचौलियाले संकलकलाई अर्को वर्ष यार्चा टिपेर दिने सर्तमा अघिल्लै वर्ष नगद, खाद्यान्न र लत्ताकपडा पेस्की बापत दिन्छन् । संकलकहरूले जसको पेस्की खाएको छ, उसलाई आफूले संकलन गरेको सबै यार्चा मूल्य नतोकेरै दिन बाध्य पारिन्छ । सरकारले नै यार्चाको मूल्य तोकिदिए किराको आसमा ज्यान जोखिममा राख्नेहरूलाई थोरै भए पनि राहत हुने संकलकहरूको आशा छ ।

प्रकाशित : असार २२, २०८१ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×