कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

लसकुस नेपालभाषा 

आसा सफू कुथिमा सात हजार दुर्लभ हस्तलिखित ग्रन्थको संग्रह छ, एक हजार वर्षअघि हरितालिका पत्रमा लेखिएको पञ्चरक्षा ग्रन्थ पनि यहाँ भेटिन्छ

‘गुगल ट्रान्सलेसन’
गएको जुन २७ तारेख बिहीबारका दिन अन्तर्राष्ट्रियस्तरमा एउटा विशेष जानकारी सार्वजनिक गरियो । लगत्तै नेपाल तथा अन्यत्रका नेवार समुदायले निकै हर्ष अनुभव गरे । र, आपसमा खुसी बाँडे, शुभकामना आदानप्रदान भए । त्यो विशेष सुखद विषय थियो– ‘गुगल सर्च टुल्स’मा नेवार समुदायको मातृभाषा नेपालभाषालाई पनि अन्य भाषाहरूमा रूपान्तरण गर्न सकिने ‘ट्रान्सलेसन टुल्स’ अन्तर्गत सूचीकृत गरिएको आधिकारिक घोषणा !

लसकुस नेपालभाषा 

‘गुगल सर्च टुल्स’ यथार्थमा एउटा अथाह सूचना तथा ज्ञानको महासागरसम्म पुग्ने प्रभावकारी माध्यम हो । प्रारम्भमा अंग्रेजी भाषा सूचनाको प्रमुख माध्यम रहेको ‘गुगल टुल्स’मा क्रमशः संसारका अन्य प्रमुख भाषालाई पनि माध्यमका रूपमा स्थान दिइँदै आएको छ । विविध भाषा माध्यमका रूपमा उपलब्ध भएकाले अधिकतम प्रयोगकर्तालाई ‘गुगुल सर्च’ सहज र लोकप्रिय सूचना प्रविधि साधन भएको छ । यसले भाषागत विकल्पलाई व्यापक बनाइदिएको छ । आजसम्ममा विश्वका चार सयभन्दा बढी भाषा ‘गुगल सर्च’का लागि माध्यमका रूपमा व्यवस्था भइसकेको छ ।

‘वर्ल्ड नेवाः अर्गनाइजेसन’को पहलमा ‘गुगल सर्च टुल्स’का लागि नेपालभाषालाई पनि समावेश गराउनका प्रयत्न भइरहेको थियो । ‘गुगल सर्च टुल्स’ माध्यम भाषाको मान्यता दिलाउन उक्त ‘अर्गनाइजेसन’को आह्वानमा सयौं युवा नेवार अभियन्ता समुदायगत सहभागिताका रूपमा त्यस अभियानमा संलग्न हुँदै आएका थिए । विगत साढे तीन वर्ष यतादेखि निरन्तर ‘वेभनायर’मा सहभागी भएर उनीहरूले करिब पाँच लाख वाक्य सूचीकृत गराएका थिए । यद्यपि, तीमध्ये ‘गुगल ट्रान्सलेसन’को पद्धति र स्तरअनुसार सार्वजनिक प्रयोगका लागि हाललाई दस हजार वाक्य मात्रै प्रयोगका लागि अनुमोदन गरिएको छ । अबबाट नेपालभाषा पनि ‘गुगल ट्रान्सलेसन’का लागि सूचीकृत गरिएका अन्तर्राष्ट्रिय भाषामध्ये एक भएको छ । यद्यपि, ‘आर्टिफिसियल इन्टेलिजेन्स’ प्रविधिबाट गरिने यसखाले भाषा रूपान्तरमा भने अझै शुद्धताको खाँचो छँदै छ । तर, ‘गुगल ट्रान्सलेसन’का भाषाहरूको सूचीमा नेपालभाषा पनि समावेश हुनाले यसबाट अन्तर्राष्ट्रिय गरिमा वृद्धि हुनाका साथै नेपालभाषा–भाषीहरूका लागि आफ्नौ मातृभाषाको माध्यमबाट ‘गुगल सर्च’जस्तो विशाल ज्ञान भण्डारसम्म पहुँच बनाउन सहज भएको छ ।

‘अनलाइन’ शब्दकोश र ‘युटिलिटी एप्स’

राजधानीमा केही दिन पहिले एउटा सार्वजनिक समारोह भएको थियो, अलि बेग्लै प्रकृतिमा । भाषा, लिपि, साहित्य, संस्कृति र सम्पदा अनि प्रविधिको विशेष समागमनको क्षण थियो, त्यो । पुरातन सम्पदा र आधुनिक प्रविधिगत ज्ञानका सुवासका अतिरिक्त नौलो पुस्ताको सक्रिय संलग्नताले त्यसमा विशेष आकर्षण थपेको थियो । काठमाडौं महानगरपालिकाको अनुदानबाट नेपाल लिपि गुथि तथा दबुलि नामक गैरनाफामूलक संस्थाको पहलमा मोबाइल प्रयोगकर्ताका लागि तीन फरक–फरक ‘डिजिटल एप्स’ विकास गरिएको थियो । त्यस दिन ती तीनै ‘एप्स’हरू सार्वजनिक गरिएका थिए ।

विशेषतः नेपालभाषा ‘एकेडेमी’, लोक साहित्य परिषद्, कुतः प्रकाशन आदिबाट नेपालभाषाका हालसम्म मुद्रण गरी प्रकाशित शब्दकोशहरूबाट उद्धरण गरिएका शब्दहरू सार्वजनिक गरिएको ‘अनलाइन’ शब्दकोश ‘एप्स’ अन्तर्गत संकलित छन् । नेपालभाषाका त्यस्ता शब्दहरू एकचालीस हजारभन्दा बढी संख्यामा त्यस ‘एप्स’मा उपलब्ध छन् । अत्याधुनिक सूचना प्रविधि प्रयोग गरेर विकास गरिएको त्यस ‘एप्स’को माध्यमबाट नेपालभाषामा मात्र नभईकन नेपालीबाट नेपालभाषा, अंग्रेजीबाट नेपालभाषाका शब्दहरू खोजी गर्न सकिन्छ । त्यसका लागि प्रयोगकर्ताले देवनागरी लिपि, रोमन लिपिका अतिरिक्त नेपाल लिपिमध्ये कुनै एक आफ्नो सहजतामा छनोट गर्ने सुविधा छ । ती तीन लिपिमा लेखिएका कुनै शब्दलाई अन्य कुनै अर्को लिपिमा रूपान्तरण गर्दा पनि हुन्छ । कुनै एक शब्द प्रयोग गर्दा बन्न सक्ने नमुना वाक्य पनि प्रत्येक शब्द सन्दर्भमा राखिएका छन् । महत्त्वपूर्ण कुरा शब्दको सही उच्चारण कसरी गर्ने ? त्यसको सस्वर दृष्टान्त पनि सुन्न सक्ने गरी ‘एप्स’ले व्यवस्था गरेको छ । नेपालभाषाका दोलखा र भक्तपुर भाषिका अन्तर्गतका शब्दहरूसमेत त्यसमा समावेश छन् ।

बाह्र सय उखान टुक्का अनि नवजात शिशुहरूका लागि उपयुक्त हजार जति नामहरूका सूची यसै ‘एप्स’मा खोज्न सकिन्छ । भाषा सिक्न इच्छुकका लागि एकखाले नमुना सिकाइ पनि छ ।

त्यसै अवसरमा सार्वजनिक गरिएको थियो– नेपाल लिपि र रञ्जना लिपि लेख्ने विधि/शैली सिकाउने अन्य दुई ‘एप्स’ ! यद्यपि ‘माइक्रोसफ्ट’ कम्पनीसँगको लामो सहकार्यमा नेपाल लिपि गुथिको संयोजनमा यी दुवै लिपि सूचना प्रविधिमैत्री अवस्थामा केही वर्षअघि नै ‘सफ्टवेयर’ विकास गरिसकेको थियो । तर, अहिले ‘युनिकोड’सँग मेल खानेगरी तयार गरिएका यी ‘एप्स’बाट लिपिका एकल अक्षर तथा संयुक्ताक्षर कसरी सहज र सुन्दर तरिकाबाट लेख्ने भनेर पनि सिक्न सकिन्छ ।

क्यालिजात्रा ‘फाउन्डेसन’को लिपि अभियान

लोप हुन सक्ने अवस्थाका प्राचीन लिपि रञ्जना र नेपाल लिपि लेख्ने–पढ्ने व्यावहारिक ज्ञानको प्रचारप्रसारमा एकखाले अभियान सुरु गरेका थिए केही वर्ष अगाडि एक जमात युवाले । क्यालिजात्रा अर्थात् लिपिलेखन उत्सव नामकरण गरिएको थियो अभियानको । अभियान नेपालका थुप्रै ठाउँ पुग्यो । सार्वजनिक स्तरमा इच्छुक जोकोहीलाई निःशुल्क रञ्जना र नेपाल लिपि सिकाइयो । अभियान विदेश पनि पुग्यो । रञ्जना लिपि नेपालभित्र मात्रै नभई एसियाली थुप्रै देशमा श्रद्धापूर्वक धर्म, संस्कृति तथा प्राचीन ग्रन्थ लेखनका क्षेत्रमा प्रयोग हुँदै आइरहेको छ । तर, रञ्जना लिपिले त्यसअनुरूप अन्तर्राष्ट्रिय मान्यता भने पाएको थिएन । क्यालिजात्रा ‘फाउन्डेसन’ले भारतको ‘फन्ट डिजाइन कम्पनी’सँग सहकार्य गर्‍यो । नयाँ पिढीका एक जमात नेवाः प्राविधिज्ञले रञ्जना ‘युनिकोड फन्ट’ विकास गरेर त्यो सार्वजनिक गरे । नित्या रञ्जना नाम दिइएको त्यस ‘फन्ट’ देवनागरी र नेपाल लिपिमा आधारित ‘युनिकोड’मा कम्प्युटर तथा मोबाइल ‘एप्स’मा सार्वजनिक प्रयोगका लागि उपलब्ध छ ।

नेपाल संवत् प्रयोग एप्स

सरकारले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति तथा नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा घोषणा गरिसकेको छ । गएको वर्ष प्रधानमन्त्रीले यस संवत् सरकारीस्तरमा समेत प्रयोग गरिने सार्वजनिक प्रतिबद्धता पनि जाहेर गरेका थिए ।

‘स्प्रालाजिक’, सूचना प्रविधि संस्थाका युवा वैज्ञानिकको निरन्तर प्रयत्नमा यसै सन्दर्भमा एउटा विशेष ‘एप्स’ विकसित भयो । नासाद्वारा संकलित खगोलीय अध्ययनका सूचनाहरूसमेत प्रयोग गरिकन ‘एल्गोरिज्म’का आधारमा नेपाल संवत् तिथि मिति निर्धारणका अत्याधुनिक, वैज्ञानिक अनि अचुक सूचना प्रविधि ‘एप्स’ तयार गरिएको थियो । मोबाइलमा समेत प्रयोग गर्न सकिने यस ‘एप्स’को प्रयोगबाट नेपाल संवत् अनुसार प्रत्येक दिनको तिथि, घडीपला, वार, महिनामात्र होइन, चन्द्र तथा सौर्य राशी अनि नक्षत्रसमेतको सहज जानकारी पाउन सकिन्छ । यसै ‘एप्स’को प्रयोगबाट आजभन्दा पाँच सय वर्षअघि वा पाँच सय वर्षपछिका दिन, बार, तिथि आदि इस्वी वा विक्रम संवत्मा रूपान्तरण गर्न सकिन्छ वा नेपाल संवत् अनुसारका तिथिमिति थाहा पाउन पनि सकिन्छ । डा. भगवानदास मानन्धर र साथीहरूको समूहले केही समयअघि यससम्बन्धी ‘नेसंतिकोडी’ नामक सूत्र तयार गरेका थिए । त्यसैका आधारमा यस ‘एप्स’ विकसित गरिएको हो ।

‘अनलाइन डिजिटल’ पुस्तकालय

काठमाडौं महानगरको अनुदानअन्तर्गत त्रिभुवन विश्वविद्यालय, नेपालभाषा केन्द्रीय विभागको संयोजनमा गत साल एउटा पहल गरियो । त्यो थियो– ‘अनलाइन डिजिटल’ पुस्तकालयको निर्माण ।

गएको चौध/पन्ध्र महिनाभित्रमा पुस्तक तथा पत्रपत्रिका अनि शोध ग्रन्थहरू अत्याधुनिक सूचना प्रविधिबाट ‘डिजिटलाइज’ हुँदै गएको छ । भनिन्छ, अहिलेसम्ममा बीस हजारभन्दा बढी शीर्षकका पुस्तक, पत्रपत्रिका र अन्य सामग्री सूचना प्रविधिअनुसार यस पुस्तकालयका लागि संगृहीत भइसकेको छ । लक्ष्यअनुसार पहिलो चरणमा सत्तरी हजार शीर्षकका पुस्तक आदि संगृहीत हुनेछ ।

‘अनलाइन’मा खुल्ला स्रोतका रूपमा राखिएका ‘डिजिटल’ सामग्रीहरू अब कुनै पनि अध्येताले पुस्तकालयसम्म नधाइकन घरबाटै अध्ययन गर्न सकिन्छ । यसरी ‘डिजिटलाइज’ संग्रहमा मूलतः नेपालभाषाका पुस्तक पत्रिका र शोधपत्रहरू छन् भने नेपालभाषा, नेपाल संस्कृति र इतिहाससम्बन्धी अन्य भाषाका पाठ्य सामग्रीहरू पनि यस पुस्तकालय अन्तर्गत भेट्न सकिन्छ ।

प्राचीन हस्तलिखित ग्रन्थ संग्रहालय

च्वसापासा नेपालभाषाको सबैभन्दा जेठो साहित्यिक संस्था हो । हीरक जयन्ती पार गरिसकेको यस संस्थाको विशिष्ट इतिहास छ । साहित्यकार प्रेमबहादुर कंसाकारको नेतृत्वमा भारत, कलकत्ता प्रवासक्रममा गठन गरिएको यस संस्थाअन्तर्गत एउटा अर्को स्वायत्त इकाई पनि छ, त्यो हो–आसा सफू कुथि (संग्रहालय) ।

हस्तलिखित प्राचीन ग्रन्थहरू यहाँ संग्रहीत छन् । धर्मशास्त्र, स्त्रोत, आयुर्वेद, वास्तुकला, तन्त्रविद्या, पूजाविधिदेखि साहित्य, संगीत, नृत्य, इतिहास, अनि वैदिक र बौद्ध लोकाख्यान आदि विविध विधाका हस्तलिखित ग्रन्थहरू यहाँ छ । काष्ठकला, चित्रकला, मूर्तिकला, स्थापत्यकला, धातुकलाका थुप्रै लिखतहरू पनि छन् । वेद, पुराण, बौद्ध जातक, उपाख्यान तथा वंशावली र ऐतिहासिक टिपोटहरू पनि यहाँ पाइन्छन् । एकातिर सयौं वर्ष अगाडि लेखिएका प्राचीन सामग्रीहरू छन् भने अर्कोतिर त्यत्तिकै दुर्लभ सुन तथा चाँदीका धूलोबाट लेखिएका अमूल्य ग्रन्थहरू छन् । रञ्जना, भुंजिमोल, नेपाललिपि आदिमा लेखिएका ग्रन्थहरू धेरै नेपालभाषाका छन्, कतिपय संस्कृत, मैथिली, भोजपुरी, बंगाली, तिब्बती लिपिका पनि छन् । हरितालिका, ताडपत्र, भोजपत्र आदिमा लेखिएका यी महत्त्वपूर्ण ग्रन्थहरूको चोरीको खतरा त छँदै छ । साथसाथै वातावरणीय र आगलागी, प्राकृतिक प्रदूषण र कीराबाट पनि क्षय हुन सक्ने सम्भावना छ ।

दिवंगत प्रेमबहादुर कंसाकार तथा प्रोफसर कमलप्रकाश मल्लको संयुक्त प्रयासबाट आसा सफू कुथिका यी संगृहीत ग्रन्थ सुरक्षाका दीर्घकालीन योजना अगाडि बढाइएको थियो । जापान नागोया बौद्ध महाविहारका धर्मगुरु ताकाओकाबाट उपलब्ध गराइएको सहयोगबाट सुरु गरिएको थियो– प्राचीन ग्रन्थहरू आधुनिक डिजिटल प्रविधिबाट संगृहीत गर्ने कार्य । आजसम्म लगभग सात हजार अति दुर्लभ हस्तलिखित ग्रन्थहरू अभिलेखीकरण भइसकेको छ, जसमध्ये झन्डै एक हजार वर्षपहिले हरितालिकाका पत्रहरूमा लेखिएका पञ्चरक्षा ग्रन्थ पनि छन् ।

त्यस्तै पारिवारिक तथा निजी लेनदेन, सम्पत्ति किनबेच, अंशबन्डा आदिका ताडपत्र तथा तालपत्रहरू समेत गरी थप एक हजार दुई सय प्राचीन लिखतको पनि ‘डिजिटलाइज’ भइसकेको छ ।

हिजोआज फेरि जर्मनीका हायम्बर्ग विश्वविद्यालयसँगको सहकार्यमा अर्को बाह्र सय थान प्राचीन ग्रन्थको युवा जमातको संलग्नतामा अत्याधुनिक प्रविधिबाट ‘डिजिटलाइजेसन’ भइसकेको छ । यी सबै ‘डिजिटलाइज’ सामग्री स्वदेशी तथा विदेशी अध्येताका लागि सहज रूपमा आसा सफू कुथिमा उपलब्ध छन् ।

सबैका लागि सिकाइ र सन्देश

महत्त्वको कुरा यी सबै प्रयत्नमा नयाँ पुस्ताको विशेष सक्रियता र चासो छ । अनि नयाँ प्रविधि र वैज्ञानिक ज्ञान–सीप प्रयोग गरिएको छ । समुदायमा अग्रजबाट ऐतिहासिक कालक्रममा सिर्जिएका कला, साहित्य, लिपि, भाषा जस्ता अमूर्त सम्पदाको जगेर्नाका लागि युवा जमात आफैं अग्रसर भइदिनु अनि त्यसका लागि परिवर्तित समय, काल परिस्थिति अनुसार नयाँ प्रविधि, ज्ञान, सीपको प्रयोग हुनु अत्यन्त आशालाग्दो र अनुकरणीय हो ।

नेपालजस्तो विविध भाषा, साहित्य, संस्कृति र लिपि भएको मुलुकमा लामो समयसम्म जातीय एकल र संकीर्ण शासन सत्ताका कारण जुन खाले विभेद र अन्यायको अनुभव हुँदै आइरहेको थियो त्यसमा समुदायहरूको अमूर्त सम्पदामाथिको संकटको अवस्था आउनुमा राज्यलाई नै दोष दिँदै आइरहेका थियौं । अनि यिनको संरक्षण र संवर्द्धनको प्रमुख दायित्व सरकारकै हो भन्ने भाष्य पनि छ ।

तर, नेवार समुदायभित्र नयाँ पुस्ताले सचेतना र सक्रियतामा जसरी विविध आयामको प्रयत्न गर्दै, नयाँ प्रविधि र सीपबाट उपलब्धि प्राप्त गरे, त्यो अरूका लागि दृष्टान्त हुँदो हो अनि सकारात्मक सन्देशवाहक पनि ।

प्रकाशित : असार २२, २०८१ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×