कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

सास्तीको साबिती बयान 

 ‘भुक्तमान’ को प्रत्येक पृष्ठमा राज्यमाथि प्रश्न छ, यो किताब एक आक्रोशित सामान्य जनताको डायरी हो
बीएन जोशी

पत्नीको स्वास्थ्यमा गम्भीर समस्या आएपछि एक पतिले कतिसम्म दुःख भोग्छ ? कतिसम्म सास्ती पाउँछ ? त्यही सास्तीको बयान हो– संस्मरणात्मक पुस्तक ‘भुक्तमान’ । त्यसका भुक्तभोगी हुन्– धीरेन्द्र सिनाल । उनले किताबका प्रत्येक पृष्ठमा राज्यमाथि प्रश्न गरेका छन्, तर, राज्य भेट्न सकेनन् । मान्छे त्यत्तिकै विद्रोही बन्दोरहेनछ । सरकारी कर्मचारीहरूको अकर्मण्यता र तिनले दिने सास्तीले साँच्चिकै जनतालाई आक्रोशित बनाउँछ ।

सास्तीको साबिती बयान 

बैतडीमा जन्मिएका धीरेन्द्रको पहिलो काठमान्डु यात्रा १२ कक्षाको पढाइपछि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा प्रवेश परीक्षा दिन निस्कँदाबाट सुरु हुन्छ । एक महिना सरकारी अधिकृतस्तरका दाइको साथीको घरमा बस्दा भोगेका अप्रिय अनुभवले सहरसमेत विभेद मुक्त रहेनछ भन्ने बुझ्छन् उनी । त्यसपछि पढाइ र आम्दानीको स्रोत खोज्दै बैतडी–महेन्द्रनगर आउजाउका संघर्ष यथेष्ट छन् । त्यसैक्रममा भेटिएकी सोनुसँग लगन जुराउनकै लागि ससुरालीका सर्तहरू पूरा गर्न बोकेको ऋणको भारको व्यथा उस्तै दुःखद छ, जसले नेपाली समाजको कुरूप अनुहार देखाउँछ । भयानक व्यवधान छिचोल्दै अघि बढिरहँदा अफसोच बिहे गरेको अर्को सालदेखि नै श्रीमती सोनुको स्वास्थ्यमा समस्या देखापरेपछि सुरु भएको घटनाक्रम नै ‘भुक्तमान’ पुस्तकको असली सार हो ।

एक साँझ घरको छिँडीमा बसिरहँदा अचानक सर्प देखापर्छ । त्यहींबाट एकपछि अर्को समस्याका लर्कन फैलिएको छ । अझै अपत्यारिलो लाग्ने घटना त भारतकै एक अस्पतालमा सोनुको अपरेसनपछि निकालेको सात महिने नवजात मृत शिशु गाड्न लैजाँदा देखापर्छ । उनका आफन्तीले शिशुलाई बेरेको पोको झाडीछेउ राखेर गाड्नका लागि खाल्डो खोस्रँदा अचानक एउटा सर्पले उक्त पोको घिसार्दै पानीमा लैजान्छ । सर्पको मुखले च्यापेको मृत बच्चाको पोको तान्ने हिम्मत कसैमा रहँदैन । देख्दादेख्दै पोको बिस्तारै पानीभित्रै बिलाउँछ । बिलकुलै नाटकीय लाग्ने यस्ता घटनाक्रम सोनु बितेको १० औं दिनसम्म पनि जारी रहन्छ ।

इन्जिनियर बन्ने हेतुले लागिपरेका धीरेन्द्र अन्तमा गैरसरकारी संस्था हुँदै चल्तीका स्थानीय पत्रकार बन्न पुग्छन् । त्यसबीच उनले आर्थिकोपार्जनका लागि अनेकन उपाय अपनाएका छन् । दाजुभाइ मिलेर दिल्लीदेखि कपडा ल्याएर स्थानीय बजारमा बेच्नेदेखि बैतडीमै बुवाको पसलमा बम्बै टेलर्स खोल्नेसम्मका । तर, कुनैमा पनि सोचेजस्तो सफलता हात पार्न सकेको देखिँदैन । निराशाका बाबजुद आशाको जून उनमा तीव्र देखिन्छ ।

सोनुको आगमनले उनको परिवारमा एक झमट खुसी त ल्यायो, तर त्यो क्षणिक बन्न पुग्यो । बिहे गरी राम्ररी रमाउनसमेत नपाउँदै रोगका लक्षणहरू देखिन थालेसँगै दुःखका दिनहरू क्रमशः देखापर्न थाल्छन् । दुवै जना आफ्नो चढ्दो उमेरलाई ध्यानमा राखेर बेलैमा बच्चा पाउने योजनामा पुग्छन् । तर, त्यो पूरा हुने क्रममै बच्चा सँगसँगै बच्चादानीसमेत निकालेर फाल्नु परेपछिका विकसित घटनाक्रम अत्यन्तै दर्दनाक लाग्छ । त्यसपछि सुरु हुन्छ अस्पतालहरूसँगको तारान्तार साक्षात्कार । मृगौला फेलका फेहरिस्त । किताबका अधिकांश पाना तिनै सोनुको उपचारको दौडधुपले भरिएको छ । अन्ततिर बुबालाई समेत सोही रोगले ग्रसित पारेपछि आलोपालोसमेत नभनी विभिन्न अस्पताल धाउनुपर्दाका रस्साकसी उत्तिकै छन् । जत्ति गर्दा पनि दुवै जनालाई गुमाउनु पर्दाको पीडाको गहिरो महसुस परिवार सँगसँगै यो किताब पढ्ने पाठकहरूले समेत गर्छन् ।

नेपालभन्दा भारतका सहरहरूमा सहज र सस्तोमा हुने ओखतिमुलोले सुदूरका सामान्य मानिसहरूलाई केही राहत दिएको देखिन्छ । तिनीहरूका लागि स्वदेशभन्दा विदेश आत्मीय लाग्छ । यसलाई देशको दुर्भाग्य ठान्नुपर्छ । हुन पनि देशको राजधानी धाउने खर्चले उतातिर उपचार नै भएको उनको कतिपय भोगाइले बताउँछ ।

नेपालमा आम मृगौलापीडितलाई ठूलो समस्याको जड हो– डायलासिस । सरकारीस्तरमा सहज रूपमा सुविधा नपाइने हुँदा यसको खर्च उत्तिकै महँगो छ नै । नेपालमा नाम मात्रैका निःशुल्क डायलासिस, निःशुल्क तनाव । बिरामी मरेपछि मात्रै डायलासिसको पालो आउने रहेछ नेपालका अस्पतालमा । यी निराशायुक्त शब्दले सरकारलाई रत्तिभर घोच्दैन सायद । मृगौला प्रत्यारोपणका सहज कानुन नहुँदाको परिणाम जनताले लामो समयसम्म सास्ती बेहोर्नु परिरहेको छ । मृगौला बिरामीको फेहरिस्तले भरिएको ‘भुक्तमान’ पढिरहँदा लाग्छ– हाम्रो राज्य भयानक कमजोर रहेछ !

पाठेघर झिकेकी श्रीमतीबाट यौनसन्तुष्टि नहुने हल्लाले उनलाई मात्रै होइन, श्रीमतीलाई पनि तनाव थपिदिन्छ । उनलाई ससुराले अर्को बिहे नगर्ने र कुनै बच्चा पनि ग्रहण नगर्नेजस्ता कच्चा कागजमा ल्याप्चे लगाउन बाध्य पारेका छन् उपचारकै क्रममा ।

नेपालका केही नाम चलेका डाक्टरहरूको रवैया उनले उल्लेख गरेका छन् नामै किटेर, जसले पैसाका लागि डाक्टरी पेसा अपनाएको भन्ने आशय छ किताबमा । त्यसविपरीत अर्काको देशका डाक्टरले गरेको आदर–व्यवहार र सत्कारलाई उनले भावुक भएर तुलना गरेका छन् ।

नेपालमा राजनीति यतिसम्म हाबी छ कि एउटा सरकारी स्वास्थ्य संस्थाले दिएको पत्रलाई अर्कोले नमान्ने विचित्र चलन पनि उजागर गरेका छन् लेखकले । स्वास्थ्यजस्तो संवेदनशील विषयमा पनि कर्मचारीहरूसँगको मिलिभगत र सिन्डिकेटका प्रसंग किताबमा छ । स्वास्थ्य संस्था जस्तो जटिल सेवामूलक संस्थामा समेत यस्तो लापरबाही हुनु भ्रष्टाचारको पराकाष्टा हो । देशको राजधानीका ठूला अस्पतालले गर्न नसक्ने उपचार विधि भारतका सामान्य अस्पतालले गरेको देखिन्छ । झन्डै एक दशकको उपचार दौडधुपका अन्ततिर झन् कोरोनाकालका कारण स्थिति थप कष्टकर देखिएको छ । सिमाना बन्द हुँदाका झमेलाहरूले डायलासिसका लागि आउजाउमा अर्को विशाल पर्खाल ठडिन्छ । भनसुनका लागि नेता, मन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मको दैलो धाएका उल्झनहरू बग्रेल्ती छन् कितबामा । मृगौला दाता र दलालसँगको गोलचक्करको कथा पनि छ । जसरी पनि मृगौला प्रत्यारोपण गर्छु भन्ने लक्ष्य लिएर आर्थिक र कानुनी व्यवस्थापनतिर लाग्दै गर्दा सन् २०२२ को सुरुवातमै अचानक श्रीमती सोनुको निधन हुन्छ ।

किताबले राज्यलाई मात्रै होइन, निजी क्षेत्रका स्वास्थ्य संस्थाहरू र चिकित्सकलाई समेत प्रशस्तै प्रश्न गरेको छ । नेपालजस्तो मुलुकमा बिरामीले अस्पतालमा रोग मात्रै बोकेर जाँदैन, सँगसँगै ऋण पनि बोकेर जाने रहेछ । नेताहरूका लागि राज्यकोषमा जति पनि धन छ, सर्वसाधारणमाथि भने ऋण मात्रै । ‘भुक्तमान’ धीरेन्द्र सिनालको निजी भोगाइ हुँदाहुँदै पनि आम नागरिकको साझा कथा बन्न पुगेको छ ।

प्रकाशित : असार २२, २०८१ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×