टाइगर कप भलिबल : एपीएफ सेमिफाइनलमा

पुलिस र श्रीलंकन आर्मीले खेले ४१–३९ को रोमाञ्चक सेट
दीपक परियार

पोखरा — विभागीय टोली एपीएफ क्लब पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ सेमिफाइनल पुगेको छ ।

टाइगर कप भलिबल : एपीएफ सेमिफाइनलमा

महिलातर्फ ५ अंक र पुरुषतर्फ ३ अंकसहित समूह विजेता भएर एपीएफले सेमिफाइनल पुगेको हो । पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा बुधबार एपीएफले घरेलु टोली गण्डकी प्रदेशलाई २५–१६, २५–९, २५–१७ को सोझो सेटमा हरायो । राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको नेतृत्वमा मैदान उत्रिएको गण्डकी समूह ‘ए’ मा अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । एपिएफकी निरुता ठगुन्ना टाइगर अफ द म्याच घोषित भइन् ।

भारतीय राष्ट्रिय टोलीकी कप्तान मिनिमोल अब्राहमको टिम हरियाणा पनि समूह ‘बी’ बाट दुवै खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ । चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड एकेडेमीले हरियाणालाई २५–१७, २५–१८, २५–१६ को सोझो सेटमा हराएको हो । न्यु डायमन्डकी सुमित्रा रेग्मी टाइगर अफ द म्याच बनिन् ।

समूह ‘ए’ विजेता एपीएफले समूह ‘बी’ उपविजेता त्रिभुवन आर्मीसँग सेमिफाइनल खेल्नेछ । ६ अंकसहित समूह ‘बी’ विजेता न्यु डायमन्ड समूह ‘ए’ उपविजेता नेपाल पुलिससँग फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्नेछ ।

पुरुषतर्फ समूह ‘बी’ मा नेपाल पुलिस क्लब विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबसँग लिग चरणमा ३–० ले हार बेहोर्दा घर फर्किनुपर्ने भएको छ । समूह ‘बी’ बाट उपविजेता बनेको श्रीलंकन आर्मी टिम एपीएफसँगै समान ३ अंक लिएर अन्तिम चारमा प्रवेश गरेको छ । गण्डकीले आर्मीसँग बिहीबार अन्तिम लिग खेल्नेछ । उक्त खेल माघ १ मा मधुरो प्रकाशका कारण अवरुद्ध बनेको थियो । यस खेलले नै समूह ‘ए’ को सेमिफाइनल समीकरणको टुंगो लगाउने आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले बताए ।

तेस्रो दिन बुधबार पुलिस क्लबले पाहुना टोली श्रीलंकन आर्मी टिमलाई ३–१ को सनसनीपूर्ण सेटमा पराजित गरेको छ । टाइगर कप भलिबल इतिहासमा नै पहिलो सेटको र्‍याली ४१ अंकसम्म पुगेको थियो । नेपाल पुलिसले पहिलो सेट ४१–३९ ले आफ्नो पक्षमा पारेको थियो । तर दोस्रो सेट २५–१३ ले पाहुना टोलीले जित्यो । त्यसपछि पुनरागमन गरेको पुलिसले तेस्रो २५–२० र चौथो २५–१७ ले आफ्नो पक्षमा पारेर खेल जितेको थियो । तर, पुलिस प्रतियोगिताबाट बाहिरिएको छ । पुलिसका रविन चन्द टाइगर अफ द म्याच बन्न सफल भए ।

समूह ‘ए’ को अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली गण्डकी प्रदेशले टिपटप हेल्प नेपालसँग जित निकालेको हो । भारतीय राष्ट्रिय टिमका तीन खेलाडीसहित मैदान उत्रिएको गण्डकी प्रदेश भलिबल संघले तीन पाकिस्तानी खेलाडीसम्मिलित हेल्प नेपालविरुद्ध ३–२ ले जित निकालेको छ । भरिभराउ दर्शकमाझ गण्डकीले पहिलो सेट २५–१९ ले जित्दै हेल्प नेपाललाई दबाबमा राख्यो । दोस्रो सेट १५–२५ ले हेल्प नेपाललाई सुम्पिन पुग्यो । तर, तेस्रो सेटमा खेलमा फर्किंदै गण्डकीले २५–१७ ले आफ्नो पक्षमा पार्‍यो । चौथो सेट हेल्प नेपालले २५–२२ ले आफ्नो पक्षमा पार्दै खेललाई प्रतिस्पर्धात्मक बनायो । अन्तिम सेट १५–१२ ले गण्डकीले आफ्नो पक्षमा पार्न सफल भयो । गण्डकीका अमित गुलिया टाइगर अफ द म्याच भएका छन् ।

जितसँगै गण्डकीले २ अंक पाएको छ भने हेल्प नेपालले १ अंक बटुलेको छ । हेल्प नेपाल समूहले ‘ए’ मा ४ अंक बटुल्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

प्रकाशित : माघ ३, २०८० २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?