२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५२

‘विश्वकप जित्नु शिखरमा पुग्नुजत्तिकै हो’

‘अस्ट्रेलियाले यो एकदिवसीय विश्वकप जित्नु भनेको शिखरमा पुग्नु जत्तिकै हो ।’ अस्ट्रेलियन कप्तान प्याट कमिन्स
रोयटर्स

अहमदाबाद — अस्ट्रेलियाले विश्व क्रिकेटमा फेरि एकपल्ट सबैसामु देखाएको छ, ठूलो अवसरमा अझ उत्कृष्ट खेल्ने क्षमता । टोलीले भारतलाई हराएर ५० ओभरको यसपल्टको विश्वकप क्रिकेटमात्र जितेको छैन, आफूलाई यो प्रतियोगिताकै सबैभन्दा सफल टिम रहेको साबित गरेको छ ।

‘विश्वकप जित्नु शिखरमा पुग्नुजत्तिकै हो’

अस्ट्रेलियन ओपनर ट्रेभिस हेडले उत्कृष्ट शतक बनाएपछि भारतमाथि ६ विकेटको जित मज्जाले सम्भव भयो । भारतको २ सय ४० रनको स्कोर वास्तवमै औसत प्रदर्शन जस्तै थियो ।

त्यसैले त अस्ट्रेलिया ७ ओभरको खेलअघि नै त्यसलाई पछ्याउन सफल रह्यो । हेडले १ सय २० बलमा उत्कृष्ट १ सय ३७ रन बनाए । अस्ट्रेलिया र भारतबीचको फाइनल अघि जुन खाले खेलको अपेक्षा गरिएको थियो, त्यस्तो रहेन । यसअघिका १० खेलमा भारतले जसरी आक्रामक खेलेको थियो अनि नरेन्द्र मोदी रंगशालामा टोलीलाई जुन प्रकारको समर्थन प्राप्त थियो । यो पृष्ठभूमिमा घरेलु टिमको प्रदर्शन फिक्का नै रह्यो ।

त्यसैले स्टार खेलाडीले भरिएको भारतले उपाधिसँगै प्रतियोगिताको अन्त्य गर्न सकेन र उसको सन् २०१२ देखि ठूलो उपाधि जित्ने सपना पूरा हुन सकेन । प्याट कमिन्सको नेतृत्वमा रहेको अस्ट्रेलियाली टिमलाई त्यति धेरै उच्च मानिएको थिएन, जति सन् २००३ को विश्वकपमा रिकी पोन्टिङ नेतृत्वको टिम थियो । यसपल्ट अस्ट्रेलिया सुरुमै दुई खेलमा पराजित रह्यो । त्यसैले अहिलेको अस्ट्रेलियाली टिममाथि धेरै प्रश्न खडा गर्ने पनि निस्किए ।

अझ फाइनलअघि कमिन्सले लाखौं संख्यामा घरेलु दर्शकलाई चुप पार्न जत्तिको अरू मज्जा केही छैन भन्नुलाई धेरैले पचाउन सकेनन् । तर, उनको टिमले १ सय ३२ हजार दर्शक क्षमताको रंगशालामा आफ्नो जिम्मेवारीलाई गम्भीर रूपमा लिएको देखियो । नभन्दै टोलीको जितपछि पूरा रंगशाला चुपचाप र शान्त देखियो । कमिन्सले आफूलाई उदाहरणका रूपमा पेस गर्ने नेतृत्वको जिम्मेवारी पूरा गरे । टस जितेर पहिले बलिङ गर्ने अस्ट्रेलियको निर्णय पनि आफैंमा जोखिमपूर्ण थियो ।

फाइनलअघि भारतीय टिमको प्रदर्शनको स्वरूप थियो, सुरुमा कप्तान रोहित शर्माले बलियो सुरुआत दिने अनि विराट कोहलीले त्यसमै टिकेर ठूलो स्कोर खडा गर्न मदत गर्ने । त्यसमा मध्यक्रममा अरू केही ब्याटरले सहयोग गर्ने । फाइनलमा यही सूत्र लगभग लागू भएको देखियो तर अस्ट्रेलियाका नापेर तौलेर गरेको बलिङ र त्यसलाई सुहाउँदा सटिक फिल्डिङ अगाडि त्यो पनि कमजोर साबित भयो । हेडले ४७ रन बनाएका रोहितको उत्कृष्ट क्याच लिए ।

कोहली सुमधुर ५४ रन बनाउन त सफल भए तर बललाई आफ्नै स्टम्पतिर दिशा दिँदै आउट भए । तर उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी भने चुनिए । पछि केएल राहुलले ६६ रन त बनाए, तर भारतलाई २ सय ४० रनमा ठ्याक्कै ५० ओभरभित्र समेट्नु अस्ट्रेलियाको सफलता नै थियो । पछि प्रतिउत्तरमा अस्ट्रेलिया एक समय तीन विकेट गुमाएर ४७ रनमा खुम्चिएको त थियो । हेडले मार्नस लाबुस्यानसँग मिलेर निर्णायक साबित १ सय ९२ रनको साझेदारी गरे ।

अहिलेको फाइनल नतिजाले विश्वकप आयोजक देशले नै उपाधि जित्ने क्रम तोडिएको मात्रै छैन, अस्ट्रेयिाली क्रिकेट वास्तवमै उत्कृष्ट छ भन्ने पुष्टि भएको छ । यही वर्ष अस्ट्रेलियाले वर्ल्ड टेस्ट च्याम्पियनसिप मात्र जितेको छैन, इंग्ल्यान्डविरुद्ध एसेज शृंखला पनि आफ्नो पक्षमा कायम राखेको छ । त्यसैले कप्तान कमिन्सले पनि छाती खोलेर भन्न सके, ‘अस्ट्रेलियाले यो एकदिवसीय विश्वकप जित्नु भनेको शिखरमा पुग्नु जत्तिकै हो ।’

उनले भनेका छन्, ‘हामी सबैका लागि यो वर्ष ठूलो उपलब्धि रह्यो । एकै वर्ष भारतमा एकदिवसीय विश्वकप जित्नु, भारतलाई नै हराएर वर्ल्ड टेस्ट च्याम्पियनसिप चुम्नु र एसेज सिरिजको उपाधि रक्षा गर्न सक्नु ठूलै उपलब्धि साबित भएको छ । यी सबै यस्ता उपलब्धि हुन्, जसलाई आफ्नो पूरा जीवन सम्झन सकिनेछ ।’ यस विश्वकपमा अस्ट्रेलियाको प्रदर्शन वास्तवमै अनुभवी, सुझबुझपूर्ण र पूर्णतः सम्हालिएको खालकै रह्यो ।

हेड र लाबुस्यानले अस्ट्रेलियाले निर्माण गरेको जितको फर्मुला मीठोसँग फाइनलमा लागू त गरे । तर, उनीहरू दुवैको सुरुमा यस विश्वकप खेल्ने वा नखेल्ने टुंगो थिएन । प्रतियोगिताको ठीक अगाडि मात्र उनीहरूको स्थान निश्चित भएको थियो । फाइनलपछि घुँडाले टेकेर बसेका राहुल बिस्मातमा देखिन्थे । मोहम्मद सिराजले आँसु रोक्न सकेनन् । अझ कप्तान रोहित भक्कानिएको देखियो । भारतीय कप्तान राहुल द्रविडले माने, ‘हामीले राम्रो खेलिरहेका थियौं, त्यसैले धेरै आस थियो । अस्ट्रेलिया पनि त उत्तिकै राम्रो टिम हो ।’

प्रकाशित : मंसिर ५, २०८० ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?