कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५२

कीर्तिमान बलर ब्रोडले संन्यास लिने

रोयटर्स

लन्डन — इंग्लिस फास्ट बलर स्टुवार्ट ब्रोडले अस्ट्रेलियाविरुद्धको एसेज शृंखलापछि संन्यास लिने घोषणा गरेका छन् । अन्तिम तथा पाँचौं टेस्टको तेस्रो दिन शनिबार उनले आफ्नो संन्यासको योजना अप्रत्याशित रूपमा सुनाएका हुन् ।
इंग्ल्यान्डका लागि ३७ वर्षीय ब्रोड टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने दोस्रो खेलाडी हुन् ।

कीर्तिमान बलर ब्रोडले संन्यास लिने

उनले १ सय ६७ टेस्टमा अहिलेसम्म ६ सय २ विकेट लिएका छन् । उनले भन्दा बढी विकेट जेम्स एन्डरसनले मात्र लिएका छन् । ब्रोडका साथी तथा समकालीन खेलाडी एन्डरसनले भने ६ सय ९० विकेट लिएका छन् । उनको अगाडि दुई स्पिनर श्रीलंकाका मुथैया मुरलिधरन र अस्ट्रेलियाका सेन वार्न छन् । सर्वाधिक टेस्ट विकेट लिने सूचीमा एन्डरसन तेस्रो स्थानमा र ब्रोड पाँचौं स्थानमा छन् ।

‘सोमबार मेरो खेल जीवनको अन्तिम दिन हुनेछ,’ ब्रोडले स्काई स्पोर्ट्सलाई भनेका छन्, ‘अहिलेसम्मको यात्रा वास्तवमै अद्वितीय रह्यो । इंग्ल्यान्डसँगै नटिङ्घमसायरको जर्सी लगाउन पाउनु ठूलो उपलब्धि हो । मलाई अहिले पनि क्रिकेटको त्यत्तिकै माया छ, जति पहिले थियो ।’ पाँचौं टेस्ट जितेर शृंखला बराबर गर्नका लागि ब्रोड इंग्ल्यान्डका प्रमुख खेलाडी रहनेछन् ।

‘अहिलेसम्म यो शृंखला पनि खुबै रोमाञ्चक रहेको छ । यो शृंखला खेल्न पाएकामा म खुसी छु र सधैं जस्तै म उत्कृष्ट प्रदर्शन गर्न चाहन्छु,’ उनले भनेका छन्, ‘यो शृंखला वास्तवमै निकै सनसनीपूर्ण रह्यो । यसले पस्केको मनोरञ्जन पनि गज्जब रह्यो । धन्न म यो शृंखलाको एक सदस्य रहें । मलाई एसेज शृंखला भनेपछि यसको माया लाग्छ । यही शृंखलामा म ब्याट र बलबाट अझै राम्रो गर्न चाहन्छु ।’

सन् २००७ मा टेस्ट क्रिकेटमा ‘डेब्यु’ गरेका ब्रोडले इंग्ल्यान्डका लागि १ सय २१ एकदिवसीय अन्तर्राष्ट्रिय र ५६ ट्वान्टी–२० पनि खेले । २००७ मा दक्षिण अफ्रिकामा भएको ट्वान्टी–२० विश्वकपमा भारतका युवराज सिंहले ब्रोडको एकै ओभरमा छ छक्का प्रहार गरेका थिए । उनले अहिलेसम्म अस्ट्रेलियाविरुद्ध १ सय ५१ विकेट लिएका छन् र यो एसेजमा इंग्ल्यान्डका लागि कीर्तिमान हो । यसमध्ये पनि २०१५ को ट्रेन्ट ब्रिज टेस्ट उनका लागि ऐतिहासिक उपलब्धिको खेल रहेको छ । त्यसमा उनले १५ रन खर्चेर आठ विकेट लिएका थिए ।

प्रकाशित : श्रावण १४, २०८० ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?