कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खडकले जिते खप्तड म्याराथन

मोहन शाही

डोटी — त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्काले बुधबार खप्तड–शैलेश्वरी हाइअल्टिच्युड म्याराथन जितेका छन् । उनले खप्तडको ३ हजार ३ सय फिट उचाइबाट सुरु म्याराथन दुरी २ घण्टा ३७ मिनेट ४६ सेकेन्डमा पार गरे । पदमार्गमा भएको म्याराथनमा पहिलोपल्ट सहभागी जाजरकोटका खडकले एक लाख २५ हजार रुपैयाँ पुरस्कार पाए ।

खडकले जिते खप्तड म्याराथन

विभिन्न म्याराथनमा सहभागी भए पनि उकालीओरालीमा भएको पदमार्गमा पहिलो सहभागितामै च्याम्पियन हुँदा थप आत्मबल बढेको भन्दै खडकले खुसी व्यक्त गरे ।

डोटी उद्योग वाणिज्य संघ र सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना तथा नेपाली सेनाको भैरवप्रसाद गणको व्यवस्थापनमा भएको खप्तड–शैलेश्वरी म्याराथनमा विदेशीसहित ४८ धावक प्रतिस्पर्धी थिए । खप्तडको प्रचारप्रसार गर्ने उद्देश्यले म्याराथन गरिएको संघका अध्यक्ष मोहन कलेलले बताए । गतवर्ष पनि खप्तडमा लाग्ने गंगा दशहरा मेलाको अवसर पारेर म्याराथन गरिएको थियो ।

त्रिभुवन आर्मी क्लबकै नरेन्द्रसिं रावत दोस्रो भए । २ घण्टा ३९ मिनेट ३४ सेकेन्डबाट निर्धारित दुरी गरेका नरेन्द्रले ८० हजार पुरस्कार जिते । बैतडीका उनी विभिन्न म्याराथनका स्वर्णविजेता खेलाडी हुन् । उनले उकालोमा प्रतिस्पर्धीलाई पछाडि पारेको भए पनि ओरालोमा भने खडकभन्दा पछि परेका थिए ।

तेस्रो भने जुम्लाका कर्णाली स्पोर्ट्स क्लबका वीरेन्द्र पाण्ड्ये भए । उनले २ घण्टा ४२ मिनेट ४४ सेकेन्डमा दुरी पार गरे । उनले ५० हजार पुरस्कार पाए । वीरेन्द्रले विभागीय खेलाडीसँग प्रतिस्पर्धा गरेर तेस्रो स्थान प्राप्त गर्नु नै आफ्ना लागि ठूलो उपलब्धि भएको भन्दै सन्तुष्ट जनाए । म्याराथनमा सहभागी हुन थालेको ५ महिनामै कठिन बाटोमा दौडेर उनले तेस्रो स्थान सुनिश्चित गरेका थिए ।

हाफ म्याराथनमा पूर्णलक्ष्मी विजेता


महिला हाफ म्याराथनमा भने आर्मीकी पूर्णलक्ष्मी न्यौपाने विजयी भएकी छन् । उनले १ घण्टा १४ मिनेट १८ सेकेन्डमा निर्धारित २१.५ किलोमिटर दुरी पार गर्दै ५० हजार रुपैयाँ उपाधि जितिन् । पुलिस क्लबकी रेखा विष्ट १ घण्टा २२ मिनेट १० सेकेण्डबाट दोस्रो भइन् । डोटीकी रेखाले ३० हजार प्राप्त गरिन् । तेस्रो स्थानमा भैरवप्रसाद गणकी सुन्तला कडायत विजयी भइन् । अछामकी उनले एक घण्टा २६ मिनेट ८ सेकेन्डमा दुरी पुरा गरिन् । उनले २० हजार रुपैयाँ प्राप्त गरिन् ।

प्रकाशित : जेष्ठ १८, २०८० ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?