कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जित्नैपर्ने योजनाको ‘कर्मकाण्डी खेल’

बलियो टिमसँग खेलेर आफ्नो स्तरवृद्धि गर्नुपर्ने अवस्थामा एन्फाले सस्तो लोकप्रियताका लागि कमजोर टिम ल्याएर जितको तथ्यांकमात्रै बढाउने प्रयास
राजु घिसिङ

काठमाडौँ — उत्कृष्ट विद्यार्थीहरूसँगै बसेर कक्षामा पढ्न पायो भने कमजोर विद्यार्थीको पढाइमा पनि सुधार आउँछ । ठीक उस्तैगरी फुटबलमा पनि आफूभन्दा राम्रो वा उत्कृष्ट टिमसँगै खेल्न पायो भने त्यस टिमले प्रदर्शन र स्तरमा अवश्य सुधार ल्याउँछ ।

जित्नैपर्ने योजनाको ‘कर्मकाण्डी खेल’

तर, यहाँको चलन अलि फरक छ । विल्कुलै भिन्न । कमजोर टिमसँग खेल्ने । जित्नकै लागि खेल्ने । आफ्नो स्तर वृद्धिको योजना त फगत प्रतिवद्धता, घोषणा र भाषणमै खुम्चिन थालेको छ । यसको प्रस्ट उदाहरण हो, जारी प्रधानमन्त्री त्रिदेशीय कप फुटबल प्रतियोगिता । जहाँ अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय टिमसँग प्रतिस्पर्धा गर्नका लागि भुटान र लाओसलाई बोलाएर दशरथ रंगशालामा उतारेको छ । एसियाली फुटबलकै सबैभन्दा कमजोर क्षेत्र हो, दक्षिण एसिया । र, दक्षिण एसियाकै सबैभन्दा कमजोर टिम भुटान भएकोमा कुनै शंका छैन ।

सन् १९९३ मा सार्क गोल्डकपको नामले सुरु भएको क्षेत्रीय प्रतियोगिता (साफ च्याम्पियनसिप) को इतिहासमा सबैभन्दा कम एकपल्टमात्रै सेमिफाइनल पुगेको तथ्यले भुटान कति कमजोर हो भन्ने कुरा प्रस्टै पार्दछ । कागजी रूपमा साफ च्याम्पियनसिपमा नेपाललाई सधैं उपाधि दाबेदार मानिन्छ तर मैदानको खेलमा कहिल्यै त्यस्तो साबित गरेको छैन । एकपल्टमात्रै साफको फाइनल (सन् २०२१/माल्दिभ्स) खेलेको नेपाली टिमले इतिहासको पानामा हारको लागि मसी खर्च गर्नु नपरेको खेल भुटानसँग मात्रै हो ।

कुनै बेला त्यस्तो थियो, नेपालले भुटानमाथि गोलको वर्षात् नै गर्छ वा औपचारिक नै भए पनि नेपालले कुनै ठूला खेलका लागि अभ्यास भुटानविरुद्धको सहज जितबाट गर्दै छ । प्रशिक्षक पेमा दोर्जीले सम्हालेको अहिलेको भुटानी टिम त्यस्तो छैन, त्यस्तो कमजोर पनि छैन । प्रशिक्षक दोर्जीले भनेजस्तै ‘गोलीको आँखा हुँदैन’ त्यसको मतलब नेपालले भुटानलाई पराजित गर्छ नै भन्ने कुनै ग्यारेन्टी छैन/हुन्न । उनको बोलीमा एउटा सत्य के लुकेको छ भने भुटानी टिम सुधारिएको छ, पहिले जस्तो गोलको भारी बोक्ने पक्षमा छँदै छैन ।

अघिल्लो साता राउन्डग्लास पन्जाब भारतको आई लिग च्याम्पियन हुँदै इन्डियन सुपर लिग (आईएसएल) मा उक्लियो । पन्जाबको च्याम्पियन यात्रामा गोलकिपर किरण चेम्जोङ र स्ट्राइकर चेन्चो ग्याल्सेनले उत्कृष्ट प्रदर्शन गरेका थिए । तिनै किरण नेपाली टिमका कप्तान हुन् भने चेन्चो भुटानी टिमको नेतृत्व गर्छन् । यी दुईका आ–आफ्नै कीर्तिमान छन् । किरणले नेपालका लागि सबैभन्दा बढी खेल खेलेका छन् भने चेन्चो भुटानका सर्वाधिक गोलकर्ता पनि हुन् । यिनै चेन्चोले चलाखीपूर्ण गोल गरे पनि भुटान प्रधानमन्त्री कपमा शनिबार लाओसविरुद्ध २–१ ले हारेको थियो । भुटानी फुटबलकै सबैभन्दा उत्कृष्ट स्ट्राइकरलाई रोक्न नेपाली डिफेन्स पनि मंगलबार सजिलो हुने छैन ।

फिफा वरीयातमा नेपाल १७५ औं स्थानमा छ । १० स्थानमुनि भुटान र १८७ औंमा लाओस छन् । यो वरीयता फुटबल स्तर मापनको सही सूत्र भने होइन तर संकेत भने देखाउँछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराइदियो । त्यसमा अनन्त तामाङको हेडर गोल र नवयुग श्रेष्ठले करिब ३५ यार्डबाट गरेको गोलको ‘भली’ मात्रै उत्कृष्ट थिए । खेलका बाँकी समय पट्यारलाग्दो थियो । जर्मन प्रशिक्षक माइकल वेसको टिम लाओस दक्षिण–पूर्वी एसियाली क्षेत्रकै सबैभन्दा कमजोर टिममा पर्दछ ।

समूह चरणको अन्तिम खेल नेपालविरुद्ध भुटानको नतिजाले फाइनल पुग्ने टिमका फैसला गर्नेछ । त्यसअघि दुई गोलको जितले नेपाल फाइनलको बाटोमा एक कदम अगाडि नै छ । तर, १५ हजार दर्शक क्षमताको प्यारापिटमा देखिएका एकतिहाइ दर्शकलाई पनि हाई काढ्न बाध्य पार्ने स्तरको प्रदर्शनले यहाँ एउटा प्रश्न उठ्छ, नेपाली फुटबलको स्तर वास्तवमै खस्किएको हो कि जितको तथ्यांक जोड्ने हिसाबले मात्रै टिम बोलाइएको हो ? सुनील बल, तेज तामाङ, सुमन लामा, दर्शन गुरुङ, सन्तोष तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, विशाल राईलगायत खेलाडीको अस्ट्रेलिया पलायनले पनि घरेलु टिमको प्रदर्शन स्तरहीन बनाउन सहयोग गरेको हुनसक्छ । त्यही लस्करमा परेका सुजल श्रेष्ठको प्रस्थान पनि जोडिने छ ।

घरेलु भूमिका पछिल्ला ५ खेलमा बोलाइएका टिमको स्तरले पनि फुटबलप्रेमीलाई उत्साहित पार्न सकेको छैन । भलै, नेपालले पाँचै खेल जित्यो । एन्फाले अफ्रिकी देश मौरिसस, बंगलादेश, पाकिस्तानपछि भुटान र लाओसलाई काठमाडौंमा ल्याएको हो । यी सबै टिम फिफा वरीयतामा नेपालभन्दा पछाडि थिए/छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा गतिलो प्रभाव देखाउन असफल ती देशका घरेलु लिग पनि विशेष छैन, खास बलियो छैन । यस्ता टिमसँगको नियमित खेलले नेपाली खेलाडी र टिमको स्तरवृद्धिको अपेक्षा गर्नु दिवास्वप्नमात्रै हुन्छ । त्यसैले यस्ता सस्ता खेल खेलेर/खेलाएर एन्फाले ‘फिफा इन्टरनेरनेसनल म्याच क्यालेन्डर’ मा फिफा (अन्तर्राष्ट्रिय फुटबल महासंघ) बाट लिइरहेको बजेटको सदुपयोग गरेको मान्ने अवस्था छैन ।

विवादित प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेतृत्वको नेपाली टिमले पहिलोपल्ट साफको फाइनल खेलेर इतिहास रचेको थियो । त्यो टिमको निर्माण कसरी भएको थियो भन्ने पनि हेर्नुपर्छ । मैत्रीपूर्ण र विश्वकप छनोटमा इराक, चाइनिज ताइपेइ, जोर्डन, अस्ट्रेलिया, भारत र ओमानविरुद्ध खेलेको थियो । त्यसैले बलियो प्रतिद्वन्द्वीसँग खेलेर खारिएको नेपाली टिमले माल्दिभ्समा इतिहास कोरेको थियो । गत वर्ष थाइल्यान्डविरुद्ध चोनबुरीमा खेलेपछि नेपाली टिमले जोर्डन, कुवेत र इन्डोनेसियाविरुद्ध भिड्न खाडी पुगेको थियो । इन्डोनेसियाविरुद्ध (हार ७–०) बाहेकमा प्रदर्शन नराम्रो थिएन ।

फेरि बलियो टिमसँग खेलेर आफ्नो स्तरवृद्धि गर्नुपर्ने अवस्थामा एन्फाले सस्तो लोकप्रियताका लागि कमजोर टिम ल्याएर जितको तथ्यांकमात्रै बढाउने प्रयास गरिरहेको छ । भुटान वा लाओसले नेपाली टिमलाई स्तब्ध पनि पार्नसक्छ । तर, यस्ता टिम बोलाएर वा आफूभन्दा तल्लास्तरका टिमविरुद्ध नियमित खेलेर स्तरवृद्धि गर्ने भाषण छाँट्नु केवल नेपाली टिमको अधोगतिको यात्रामात्रै हुनेछ । यस्तो तयारी तीन महिनापछि बैंगलुरुमा हुने साफ २०२३ को लागि नेपाली टिम निर्माणको गतिलो आधार पनि बन्ने छैन । त्यसैले घरेलु फुटबलको गति पनि सुस्त पारेको एन्फाले आलोचित बन्ने डर छल्न सस्तो लोकप्रियताको लागि ल्याइएका कार्यक्रममात्रै बनेको छ प्रधानमन्त्री कप ।

प्रकाशित : चैत्र १३, २०७९ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?