कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जीतपुरसिमरा गोल्डकप : वीरगन्ज युनाइटेड क्वाटरफाइनलमा 

लक्ष्मी साह

बारा — १३ औं संस्करणको जीतपुरसिमरा गोल्डकपको दोस्रो दिन शुक्रबारको प्रतियोगितामा वाग्मती युवा क्लबविरुद्ध ३–० को जित निकाल्दै वीरगन्ज युनाइटेड क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जीतपुरसिमरा गोल्डकप : वीरगन्ज युनाइटेड क्वाटरफाइनलमा 

बाराको सिमरा रंगशालामा जारी खेलअन्तर्गत वीरगन्जको जितमा विवेक चौधरीले २ तथा कृपा चौधरीले १ गोल गरे । त्यसपछि पहिलो हाफ बराबरी खेलेको वाग्मतीविरुद्ध दोस्रो हाफमा वीरगन्ज हाबी भयो । वाग्मतीविरुद्ध खेलको ५४ औं मिनटमा विवेकले गोल गर्दै अग्रता टिमलाई अग्रता दिलाएका थिए । वाग्मतीका गोलरक्षक रविन बस्नेतको गल्तीको फाइदा उठाउँदै वीरगन्जका विवेकले खाता खोलेका थिए । डी एरिया छाडेर अघि बढेका गोलरक्षकलाई बिट गर्दै विवेकले बललाई डि एरिया बाहिरैबाट गोलपोष्टको दिशा दिएका थिए ।

१–० ले पछि परेको वाग्मती सम्हालिन नपाउँदै वीरगन्जकै कृपाले अग्रता दोब्बर पार्दै टिमको हौसला बढाए । खेलको ५६ औं मिनटमा विवेक चौधरीको क्रस बललाई कृपाले गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाइन् । खेल अवधिभर नै विवेक र कृपाको तालमेल उत्कृष्ट र रोचक देखिन्थ्यो । खेलको ८४ औं मिनेटमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै वीरगन्जलाई ३–० को फराकिलो अग्रता दिलाए । कृपाले पेनाल्टी एरियाबाट दिएको व्याक पासलाई विवेकले डी एरिया बाहिरैबाट गोलमा परिणत गर्दै जित सुनिश्चित गरेका थिए ।

बी डिभिजन क्लब वीरगन्जसामु निरीह देखिएको वाग्मतीले खेलमा सम्झने लायक अवसर बनाउन सकेन । उसको खेल त्यत्ति रोचक थिएन । सुरुदेखि नै वीरगन्जको तुलनामा कमजोर प्रदर्शन गरे । तर वाग्मतीका गोलरक्षक प्रम्जय गच्छदारले भने वीरगन्जका उत्कृष्ट प्रहार बचाउ गरेका थिए । खेलको आठौं मिनेटमा वीरगन्ज टिमका कृपाले उत्कृष्ट प्रहार वाग्मतीका गोलरक्षकले विफल पारेका थिए । २६ औं मिनेटमा वीरगन्न टिमका विवेकले वन भर्सेस वनको अवसर गुमाएका थिए । कृपाको क्रसमा विवेक सम्हालिन नसक्दा वाग्मतीका गोलरक्षक गच्छदारले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको ३४ औं मिनेटमा कृपाको प्रहार वाग्मतीका अफ्रिकी डिफेण्डर मौसाले गोल लाइनबाट क्लिएर गरेका थिए । किपरसमेत बीट भइसकेको अवस्थामा वीरगन्जका कृपाको प्रहार विफल भयो । लगत्तै खेलको ३८ औं मिनेटमा सागर चौधरीको क्रसमा विवेक डिबक्स भित्रबाट गरेको सशक्त प्रहार वाग्मतीका गोलरक्षकले विफल पारेका थिए ।

वीरगन्जको जितमा २ गोल गरेका विवेक म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार नगद र ट्रफी हात पारे ।

प्रतियोगिताअन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा शनिबार केबी एग्लोबाल भरतपुर फुटबल क्लब र मकवानपुर ११ बीच प्रतिस्पर्धा हुनेछ । भरतपुरले उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको हो ।

प्रकाशित : चैत्र १०, २०७९ २२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?