पीएसजीको जितमा मेसीको निर्णायक गोल- खेलकुद - कान्तिपुर समाचार

पीएसजीको जितमा मेसीको निर्णायक गोल

एजेन्सी

पेरिस — लियोनल मेसीले गरेको गोलको मद्दतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा टुलोजलाई २–१ गोलान्तरले हराएको छ । यो जितसँगै पीएसजी आठ अंकका साथ शीर्ष स्थानमा रहन सफल रह्यो ।

अंक तालिकाको मध्य भागमा रहेको टुलोजले ब्रान्को भान डेको गोलको मद्दतले आश्चर्यजनक अग्रता लिएको थियो । पहिलो हाफमा आचरफ हाकिमीको गोलले खेल बराबरीमा आएपछि मेसीले २५ यार्डबाट उत्कृष्ट गोल गरे ।

यो जितले पीएसजीको २२ खेलबाट ५४ अंक भएको छ । चोटका कारण केयलिन एम्बाप्पे र नेयमारलाई गुमाइरहेको पीएसजीका लागि मेसीले यस सिजन आफ्नो दसौं लिग गोल गरेका हुन् । उनले यो सिजन समग्रमा १५ गोल गरिसकेका छन् ।

प्रकाशित : माघ २२, २०७९ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्

धनगढीमा सातौं एलपीएल सुरु

कान्तिपुर संवाददाता

धनगढी — धनगढीमा विद्यालयस्तरीय यू–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सातौं संस्करण शनिबार सुरु भएको छ । उदघाटन खेलमा साबिक विजेता सत्यवती एकेडेमी विजयीले लोटस आई सेकेन्डरी स्कुल अत्तरियालाई २८ रनले हरायो ।

फाप्ला क्रिकेट मैदानमा टस जितेको सत्यवतीले २० ओभरमा ६ विकेट गुमाई १ सय २६ रन बनायो । लोटसले १७.३ ओभरमा सबै विकेट गुमाई ९८ रनमात्रै बनाउन सक्यो ।

लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्टसको आयोजनामा फागुन ६ सम्म चल्ने प्रतियोगितामा कैलाली र कञ्चनपुरका १० विद्यालयको सहभागिता छ । प्रतियोगिताको सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले उदघाटन गरे । विजेताले २ लाख ५१ हजार १११ र उपविजेतालाई १ लाख २५ हजार ५२५ रुपैयाँ पुरस्कार पाउनेछन् ।

विद्यालयमा लुकेर रहेका क्रिकेट प्रतिभालाई बढीभन्दा बढी एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेट विकास गर्ने उद्देश्यसहित प्रतियोगिता गरिएको आयोजकको भनाइ छ ।

प्रकाशित : माघ २२, २०७९ ०६:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×