कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

सरसफाइ गरिदै रानी ताल 

भवानी भट्ट

कञ्चनपुर — चारैतिर नरकट, जलकुम्भी लगायत मिचाहा प्रजातिका वनस्पतिले भरिएको । ताल हो कि मैदान चिन्नै गाह्रो । कहीँ कतै मात्रै पानी देखिने । यो अवस्था शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रानी तालको हो । तर अहिले भने रानीतालको अवस्था केही परिवर्तन भएको छ ।

सरसफाइ गरिदै रानी ताल 

निकुञ्ज कार्यालयले तालको सरसफाइ सुरु गरेपछि पछिल्लो समय थोरै भएपनि ताल जस्तो देखिन थालेको हो । ‘निकुञ्जभित्र पस्नेले यो पनि ताल हो र ? भन्ने प्रश्न गर्नुहुन्थ्यो,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराइले भने, ‘तर अहिले कम्तिमा ताल जस्तो देखिएको छ ।’

निकुञ्ज कार्यालयले विभिन्न संघ संस्थाको सहयोगमा तालको सरसफाइ गरिरहेको छ । विभिन्न दिवस तथा कार्यक्रममा पनि तालकै सरसफाइ गरिन थालेको छ । ६५ हेक्टर भन्दा बढी क्षेत्रफलमा रहेका तालको ६० प्रतिशत भन्दा बढी भूभाग मिचाहार प्रजातीका वनस्पतिले ढाकिएको थियो । यसबाहेक भूक्षयाका कारण पनि तालको क्षेत्र साँघुरिदै गएको थियो । पछिल्लो पटक सरसफाइ अभियान सुरु भएपछि केही सुधार भएको छ ।

चराको प्रमुख बासस्थानसँगै वन्यजन्तुका लागि पानीको प्रमुख स्रोत हो रानी ताल । निकुञ्जको मध्य क्षेत्रमा पर्ने भएकाले पनि यसको महत्व अझ बढी छ । सुख्खा याममा पानीको अभाव हुन्छ । वन्यजन्तु पानी खोज्दै भौतारिनुपर्ने हुन्छ । यस कारण समेत रानीतालको महत्व बढी छ ।

हिउँदमा चिसो छल्न आउने साइबेरियन चराको समेत प्रमुख वासस्थान हो । निकुञ्जमा सबैभन्दा बढी पानी चरा यहि ताल क्षेत्रमा पाइने गरेका छन् । ‘ताल पुर्ण रुपमा सफाई गर्न त ठुलै वजेट चाहिन्छ,’ वरिष्ठ संरक्षण अधिकृत भट्टराईले भने, ‘अहिले पनि हामीसंग वजेट छैन, विभिन्न संघ संस्थाको सहयोगमा सरसफाइ भइरहेको छ ।’ उनका अनुसार करिब ४ महिनादेखि तालको सरसफाइ भइरहेको हो । माटो, जलकुम्भी लगायतका वनस्पती हटाउने लगायतका काम भइरहेका छन् ।

डुंगाको सहायताले तालको बिचसम्मै पुगेर जलकुम्भी लगायतका वनस्पती हटाउने काम भइरहेको छ । यसका साथै तालको छेउछाउमा रहेको नरकट पनि हाटइदै छ । दैनिक १५/२० जना सरसफाइमा खटिएका छन् ।

निकुञ्जभित्रको रानीताल मात्रै होइन अन्य तालको अवस्था पनि उस्तै छ । भूक्षय र वनस्पतिले तालको क्षेत्र वर्षेनी घटदो छ । बाबाताल, बठनिया, कालीकिच, सालगौडी लगायतका तालहरु साँघुरिदै गएका हुन् । तालहरुको संरक्षण र सरसफाइ हुन नसके वन्यजन्तुको लागि पानीको अभाव समेत हुन सक्छ ।

प्रकाशित : वैशाख १३, २०८१ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?