कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

दुई सातादेखि सडक अवरुद्ध, जनजीवन प्रभावित

विप्लव महर्जन

सल्यान — कालिमाटी गाउँपालिका-७ स्थित बबई–चेपाङ–घुईयाबारी सडक अविरल वर्षाका कारण दुई सातादेखि अवरुद्ध हुँदा काप्रेचौरवासी प्रभावित भएका छन् ।

दुई सातादेखि सडक अवरुद्ध, जनजीवन प्रभावित

पहाडबाट खसेको पहिरो र खोलाले बगाई ल्याएर सडकमा थुप्रिएको ढुंगामाटो नहटाएपछि यातायात अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको हो । उक्त सडक खण्ड अवरुद्ध हुँदा काप्रेचौरस्थित घुईयाबारी, –याङ्ग, बाटुले, स्वामीबास, कुसुमतरा, हाउखोलाका स्थानीय बढी समस्यामा परेका छन् । त्यसमा पनि बिरामी र विद्यालय जाने बालबालिका बढी प्रभावित छन् । उक्त सडकको अवरोधका कारण काप्रेचौरमा कोही बिरामी भएमा कोहलपुर र सुर्खेत लैजान गाडी चल्ने स्थानसम्म पुग्न झन्डै तीन घन्टा पैदल हिँड्नुपर्ने बाध्यता छ ।

पालिकाको केन्द्रसम्म जोड्ने कालिमाटी–दम्दवाली–घुईयाबारी सडक अहिलेसम्म नजोडिएकाले सुर्खेत तथा कोहलपुर–दाङ हुँदै कालिमाटी गाउँपालिकाको कार्यालय रहेको पुतलीबजारमा कामका लागि जानु पर्दा धेरै सास्ती हुने गरेको घुईयाबारीका नारायण सुनारले बताए । उनका अनुसार बाटोको समस्याले अधिकांश स्थानीय सरकारी सेवाबाट वञ्चित भएका छन् ।

पालिकाको केन्द्रलगायत जिल्ला बाहिर जाने एउटा मात्र सडक नै अवरुद्ध हुँदा अहिले सबैले विभिन्न किसिमका समस्या भोग्नु परेको उनको भनाइ छ ।

बाहिरबाट खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तु ल्याउन नसक्दा अभाव सिर्जना भएको र गाउँमा उत्पादित वस्तु बाहिर लान नसक्दा कुहिएर खेर गएको बाटुलेका प्रेमबहादुर महतराले बताए । विभिन्न स्थानका सडक अवरुद्ध हुनुका साथै बबई नदीमा पानीको सतह ह्वात्तै बढ्दा स्थानीय बालबालिकाले दुई सातासम्म विद्यालय जान नपाएको उनले जनाए ।

सडक अवरुद्ध हुँदा वडावासीले समस्या ब्यहोर्नु परेको भन्दै वडाध्यक्ष मित्रलाल रिजालले शनिबारदेखि डोजर तथा स्थानीय मजदुर लगाएर बाढी, पहिरोले क्षति पुर्‍याएको सडक मर्मत भइरहेको बताए । 'सडकमा ठूलाठूला ढुंगा खसेकाले सडक मर्मत गर्न केही दिन लाग्छ,' उनले भने, ‘अहिले गम्भीर खालका बिरामी र गर्भवती महिलालाई बढी समस्या छ ।’

प्रकाशित : भाद्र २, २०८० १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?