कारागार नहुँदा कैदीबन्दीलाई सास्ती- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कारागार नहुँदा कैदीबन्दीलाई सास्ती

जुम्ला कारागारमा १ सय २० जनाको क्षमता भए पनि १ सय २६ जना बस्न बाध्य
राजबहादुर शाही

मुगु — जिल्लामा कारागार नहुँदा कैदीबन्दीले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् । कारागार नभएपछि मुगुका कैदीलाई जुम्ला, बर्दिया, सुर्खेत, कालिकोट, बाँके, दाङमा लैजानुपर्ने बाध्यता छ ।

जिल्लाका कैदीबन्दीलाई मुद्दा फैसला नहुँदासम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्ने गरिएको छ । मुद्दा फैसला भइसकेपछि पनि कैदीहरूलाई जिल्ला बाहिर चलानी गर्नुपर्दा सुरक्षाकर्मीलाई उत्तिकै सास्ती हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले बताए । उनका अनुसार सुरक्षाको दृष्टिकोणले पनि कैदीबन्दीलाई बाहिर पठाउँदा समस्या हुने गरेको छ । ‘गाडीबाटै सबैभन्दा नजिकको जिल्ला जुम्ला पुर्‍याउन पनि डेढ दिन लाग्छ,’ उनले भने, ‘अन्यत्र लैजाँदा त झन् समस्या छ ।’ उनले जिल्ला बाहिरका कैदीबन्दीलाई भेट्न उनीहरूका आफन्तहरू वञ्चित हुने गरेको बताए । छायानाथरारा नगरपालिकाका ७१ वर्षीय सिंहबहादुर मल्लले आफ्ना छोरा जुम्ला कारगारमा थुनिएको झन्डै ९ वर्ष भए पनि अहिलेसम्म भेट्न नपाएको बताए । ‘जिल्लामै कारागार भइदिएको भए बेलाबखत भेटघाट हुन्थ्यो, सुखदुःख बुझ्न पाइन्थ्यो,’ उनले भने, ‘म अशक्त छु, आफैं हिँडेर जान सक्दैन, अरूले पुर्‍याइदिँदैनन्, छोरालाई भेट्न पनि धेरै मुस्किल भयो ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार एक जना कैदीबन्दीलाई जुम्ला लैजान ८/९ जना सुरक्षाकर्मीले पुर्‍याउनुपर्ने बाध्यता छ । प्रहरी निरीक्षक बुढाथोकीका अनुसार त्यसरी कैदीबन्दी पुर्‍याउँदा कम्तीमा ५० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ । ‘खर्च पनि उस्तै, बाहिर लैजाँदा लैजाँदै कैदीबन्दी कतै भाग्ने हुन कि भन्ने डर पनि,’ उनले भने, ‘कहिलेकाहीं त थुनुवा कक्षमै ५० जनासम्मको चाप हुने गरेको छ ।’

भवन नहुँदा कैदीबन्दीको व्यवस्थापनमा सास्ती भएको जिल्ला कारागार कार्यालयका प्रमुख धनराज कार्कीले बताए । उनका अनुसार थुनुवाहरू जिल्लाबाहिर भए पनि उनीहरूको बहस मुगु अदालतमा हुने गरेको छ । जसका कारण उनीहरू आफ्नै बहस सुन्नबाट पनि वञ्चित भएका छन् । उनले बर्सेनि २० जनासम्म कैदीबन्दीलाई जिल्ला बाहिर पठाउनुपरेको बताए । उनका अनुसार ०७६/०७७ मा २१, ०७७/०७८ मा १२ र ०७८/०७९ मा १९ कैदीबन्दीलाई जिल्लाबाहिर पठाइएको छ । तर जुम्ला कारागारमा पनि क्षमताभन्दा बढी कैदीबन्दी हुँदा थप समस्या भएको उनले बताए । अहिले जुम्ला कारागारमा १ सय २० जनाको क्षमता भए पनि १ सय २६ जना बस्न बाध्य छन् ।

जिल्ला प्रहरी कार्यालयमा ३५ दिन कटेपछि कैदीबन्दीलाई चलानी गर्नर्पुर्ने अवस्थाले सुरक्षाकर्मी पनि हैरान हुने गरेका छन् । गमगढीस्थित थापालचौरमा निर्माणाधीन कारागार भवन अझै अलपत्र छ । उक्त भवन ९ वर्षअघि निर्माण सुरु गरिएको हो । ०७१ मा ३ करोड ५० लाख रुपैयाँमा भवन निर्माणको काम सुरु गरिएको थियो । भवन निर्माणको जिम्मा आरसी कन्स्ट्रक्सन धनगढीले लिएको छ । भवन निर्माणको झन्डै ९० प्रतिशत काम पूरा भए पनि घेरबार, सुरक्षा पोस्टलगायतको काम नहुँदा अझैसम्म पनि ठेकेदार कम्पनीले हस्तान्तरण नगरेको कार्कीले बताए । उनका अनुसार ८० पुरुष र २० महिला गरी एक सय कैदीबन्दी अट्ने क्षमताको कारागार भवन निर्माण भइरहेको छ । कारागार भवन प्रयोगविहीन भएपछि २ वर्षअघि त्यसलाई कोरोना संक्रमितहरू राख्ने आइसोलेसन बनाइएको थियो ।

प्रकाशित : माघ २४, २०७९ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्

चार मन्दिर धान्दै महिला पुजारी

पाटन दरबार क्षेत्र, बसन्तपुर, पशुपतिलगायत मन्दिरको पूजाको जिम्मामा परापूर्वकालदेखि नै मैथिल ब्राह्मण छन्
दामोदर न्यौपाने

ललितपुर — पाटन क्षेत्रका चार मन्दिरको पूजाको जिम्मेवारी एक महिलाले सम्हालेकी छन् । च्यासेन देग (सानो कृष्ण मन्दिर), ज्वालानरसिंह, हरिशंकर र भस्मेश्वरको पूजाको जिम्मेवारी बन्दना झाले पाएकी हुन् । गुठी संस्थानले तोकेका पुजारी गुरुदत्त मिश्र वृद्ध भएर मन्दिर सम्हाल्न नसक्ने भएपछि उनले मोहित झालाई जिम्मेवारी हस्तान्तरण गरेका थिए । मोहित सानै उमेरको भएकाले उनकी आमा बन्दनाले नित्यपूजाको जिम्मेवारी सम्हालेकी हुन् । 

बन्दनाको जिम्मेवारी बिहान ४ बजे उठेर भस्मेश्वरको पूजासँग सुरु हुन्छ । त्यसपछि मंगलबजारस्थित सानो कृष्ण मन्दिरको पूजा हुन्छ । प्रत्येक दिन यहाँ नित्यपूजा हुन्छ । त्यसपछि सँगै रहेका ज्वालानरसिंह र उमामहेश्वरको पूजा हुन्छ । ‘पूजा सक्दा आधा दिन सकिन्छ,’ झाले भनिन् । ८२ वर्षीय गुरुदत्तले स्वास्थ्यको कारण नित्यपूजाको जिम्मेवारी सम्हाल्न सकेनन् । दरबार क्षेत्र नजिकै थियो उनको घर । अहिले उनका छोरा यहाँबाट भैंसेपाटी सरेका छन् । ‘यही भए त जेनतेन सक्थे,’ गुरुदत्तले भने, ‘उता सरेपछि आउन सकिनँ । अनि जिम्मेवारी दिएँ ।’

बन्दनाको परिवार भने यस क्षेत्रका मन्दिरको पूजापाठमा संलग्न थिएन । भारतमा जन्मिएकी बन्दनाको विवाह पाटन क्षेत्रका झा ब्राह्मण परिवारमा भएको हो । ‘म सानैदेखि पूजापाठमा संलग्न थिएँ । पूजामा रुचि हजुरबुबाले जगाइदिनुभएको थियो । हामीले सानैमा संस्कार सिक्यौं,’ उनले भनिन्, ‘अहिले विश्वास गरेर यति धेरै मन्दिरको जिम्मेवारी पाएकी छु । निकै खुसी लागेको छ ।’ बन्दना ९ वर्षको हुँदै आमा राधादेवीको निधन भएको थियो । त्यसपछि उनी पूजापाठमा लागेकी हुन् ।

बन्दनाले जिम्मेवारी पाएका मन्दिरहरूमा नित्यपूजाको जिम्मा परापूर्वकालदेखि नै मैथिल ब्राह्मणले पाउँदै आएका थिए । पाटन दरबार क्षेत्र, बसन्तपुर, पशुपतिलगायत मन्दिरको पूजाको जिम्मामा परापूर्वकालदेखि नै मैथिल ब्राह्मण छन् । तराईको सिम्रौनगढ राज्यमाथि दिल्लीका सुल्तान गयासुद्दिनले विसं १८३१ मा आक्रमण गरेपछि राजा हरिसिंहदेव भागेका थिए । भाग्दा मैथिल ब्राह्मणलाई पनि साथ लिएर उत्तर लागेका थिए । हरिसिंहदेव पत्नी, छोरा, मन्त्रीका साथ उत्तरतिर लागेको इतिहासकार श्रीरामप्रसाद उपाध्यायले ‘नेपालको प्राचीन र मध्यकालीन इतिहास’ मा उल्लेख गरेका छन् । भागेर उत्तरतिर आउँदै गर्दा हरिसिंहदेवको विसं १८३२ मा सिन्धुलीमा मृत्यु भयो । उनको मृत्युपछि रानी देवलदेवी र छोरा जगतसिंहलाई उपत्यकाका राजा रुद्र मल्लले आफ्नो दरबारमा शरण दिए । जगतसिंहको विवाह राजकुमारी नायकदेवीसँग भयो । उनीहरूकी छोरी राजल्लदेवीको विवाह जयस्थिति मल्लसँग भएको थियो । जयस्थिति मल्लपछि काठमाडौं उपत्यकामा मल्ल राजाको शासन प्रारम्भ भएको उपाध्यायले इतिहासमा उल्लेख गरेका छन् । मल्ल वंश सुरु भएपछि पनि तराईबाट आएका मैथिल ब्राह्मणले मन्दिर बनाउने र पूजापाठमा संलग्न रहने परम्परा रहेको मिश्रले बताए ।

आफ्ना पुर्खाले सम्हाल्दै आएको पूजाको परम्परा मिश्रले पनि निरन्तरता दिए । उनका पिताको २०२६ सालमा निधन भएपछि पुर्खाले सम्हालेको मन्दिरको पुजारी नियुक्त गर्न उनले गुठी संस्थानमा निवेदन दिए । बुबाको पालामा दैनिक ४ पैसा थियो पूजाखर्च । खर्च बढाउन गुरुदत्तले राजा महेन्द्रलाई बिन्तीपत्र हाले । महेन्द्रले बढाएर १ रुपैयाँ ५० पैसा पुर्‍याइदिए । ‘बुबाको पालाको जम्मा भएको १४ रुपैया लिएँ,’ मिश्रले भने, ‘त्यसपछि बढाउन बिन्तीपत्र हाले । केही बढ्यो । त्यसपछि पनि बढाउन माग राखें । तर, जीवनभर बढेन ।’

गुरुदत्तले मन्दिरमा पूजाको जिम्मेवारी थामे । तर, उनका छोरालाई पूजा परम्परामा रुचि भएन । मिश्रको पुर्ख्यौली घर मन्दिरछेउकै बस्तीमा सर्‍यो । अहिले उनको कान्छो छोरा भैंसेपाटी बस्छन् । उनी पनि त्यहीं सरे । उहाँबाट आउन समस्या भयो । अनि आफन्त पर्ने झा खलकका मोहित झालाई पूजाको जिम्मा दिएका थिए । पूजापाठ गर्न दैनिक खटिनुपरे पनि पुजारीले पाउने पारिश्रमिक भने न्यून छ । गुठी संस्थानले च्यासेन देगः को पुजारीका लागि १ रुपैयाँ ५० पैसा र पूजाखर्चका लागि दैनिक १७ रुपैयाँ दिने गरेको छ । यो खर्चले पूजा सामग्री किन्न भने नपुग्ने झाले बताइन् । ‘पानीको मात्रै २५ रुपैयाँ पर्छ । शुद्ध पानी पाइँदैन । किनेरै चढाउनुपर्छ,’ उनले भनिन् ।

नित्य पूजाका लागि मसिनो चामल, जौ, कालो तिल, श्रीखण्ड, सिन्दुर, केशरी, धूप, कातेको बत्ती, घिउ, फूल, फूलको माला, फलफूल, नैवेद्य, भेटी गरी १६ प्रकारका सामान चाहिन्छ । पूजा खर्च नगण्य भए पनि बन्दनाको गुनासो भने छैन । ‘पूजा खर्च अपुग छ,’ उनले भनिन्, ‘पूजा भनेको व्यापार होइन । आफ्नो आनन्दका लागि गरेको हो । पैसा नभए पनि केही छैन ।’

पूजा सामग्री खर्च र पारिश्रमिक नगण्य हुँदा बन्दनाको गुनासो नभए पनि मिश्र भने यस्तो अवस्थाले परम्परामा धर्मसंकटको अवस्था आइलागेको बताउँछन् । ‘छोड्न पनि भएन,’ उनले भने, ‘निरन्तरता दिन पनि कठिन छ । यसरी कहाँ जोगिन्छ संस्कृति ? एक छाक खान पुग्ने आम्दानी त होस् । बाँच्ने नसक्ने आम्दानी भएपछि संस्कृति भनेर को बस्न सक्छ ? राज्यको नीतिले गर्दा नै धर्म संस्कृति मासिएर जाने भयो ।’ बाँच्ने आधारै नभएकाले आफ्ना तीन छोराले गुरुदत्तले धानेको परम्परा निरन्तरता नदिएकामा चिन्तित छन् । नेपालले अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी महासन्धिमा सन् २०१० मै हस्ताक्षर गरिसकेको छ । हस्ताक्षर गर्ने देश उक्त सन्धिको पक्षराष्ट्र हुन्छ । पक्षराष्ट्रले अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि अभिलेख राख्नुपर्ने हुन्छ । ‘अभिलेख राख्नु त कहाँ हो कहाँ, जोगाउन आवश्यक खर्चको व्यवस्थासमेत गर्दैन,’ मिश्रले भने, ‘यसो हुँदा हाम्रा अमूर्त सांस्कृतिक सम्पदा लोप भएर जाने अवस्थामा छन् ।’

मन्दिरमा हुने यस्ता अमूर्त सांस्कृतिक सम्पदा जोगाउन न्यूनतम बाँच्ने आधार तयार गरिदिनुपर्ने मिश्रले बताए । उनी आफैंले पनि खर्च बढाउन पहल गरे । तीन वर्ष पहिला नै मिश्रले खर्च बढाउन माग राख्दै गुठी संस्थान ललितपुर शाखामा निवेदन दिए । त्यहाँबाट सिफारिस भएर केन्द्रमा पुग्यो । केन्द्रमा पनि धाए मिश्र । ‘हामी गर्दिन्छौं, जानुस् बाजे भने,’ उनले भने, ‘तर, गएपछि कुनै कारबाही भएन ।’ निवेदन दर्ता गराएपछि मिश्र धाइराख्न पनि सकेनन् । ‘धाइराख्न स्वास्थ्यले पनि दिएन,’ मिश्रले भने, ‘धाएर पनि केही हुने होइन । यी कराउन आउँछ, कराइ राखुन् भने जस्तो गर्छन् । त्यहाँ गएर केही हुँदैन, कराउन जाने मात्र हो । कामै कराउनु हुन्छ ।’

प्रकाशित : माघ २४, २०७९ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×