बाग्चौर नगरपालिकाको सेवा ३ दिन बन्द- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाग्चौर नगरपालिकाको सेवा ३ दिन बन्द

विप्लव महर्जन

सल्यान — बाग्चौर नगरपालिका सल्यानले कार्यालयबाट दिने अत्यावश्यक बाहेक सबै किसिमका सेवा तीन दिनका लागि बन्द गरेको छ । कार्यालय नयाँ भवनमा सार्न थालेकाले नगरपालिकाले दिने अत्यावश्यक बाहेक सबै किसिमका सेवा बन्द गरेको हो ।

२०७४ देखि भाडाको घरमा बस्दै आएको नगरपालिकाको कार्यालय निर्माण सम्पन्न भएको केही वर्षपछि आफ्नै भवनमा सार्ने क्रममा सबै कर्मचारी सामान ओसारपसारमा व्यस्त हुने र सामग्री पनि लथालिङ हुने भएकाले सबै किसिमको सेवा बन्द गरिएको नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले बताए ।

नयाँ भवनमा सामग्री सारेपछि १४ गतेबाट सेवा दिने उनले जानकारी गराए । 'कार्यालयले दिने सेवा बन्द गर्ने बारेमा १० गते नै सूचना प्रकाशन गरेर पालिकाबासीलाई जानकारी गराइसकेका छौं,' उनले भने । आफ्नै भवन हुँदाहुँदै पनि भाडाको घरमा कार्यालय सञ्चालन गर्दा आर्थिक भार परेको उनको भनाइ छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तराज गौतमले कार्यालय बन्द गर्न नमिल्ने भएपनि सामग्री यताउता सार्दा काम गर्न नसकिने र कर्मचारीहरु पनि कार्यालय व्यववस्थापनमा खटिने भएकाले नै सेवा बन्द गरिएको बताएका छन् । ‘हामीले एक कक्षमा कम्प्युटर लगायतका सामग्रीसहित कर्मचारी राखेका छौं । यही कोही आवश्यक काम परेर आएमा सेवा दिएर घर फर्काउने गरेका छौं,’ उनले भने । सूचना प्रकाशन गरिसकेकाले सेवाग्राही नआएको उनको भनाइ छ ।

प्रकाशित : माघ १२, २०७९ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्

झाडापखालाबाट चारमहिने सुत्केरीको मृत्यु

विप्लव महर्जन

सल्यान — सल्यानमा झाडापखालाबाट चारमहिने सुत्केरीको मृत्यु भएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ११ रैकर बस्ने २२ वर्षीया अमृता विकको मृत्यु भएको हो । 

सोमबार बिहान ४ बजेदेखि पखाला लागेपछि स्थानीय मेडिकलबाट मेट्रो नामक औषधि किनेर सेवन गरेको तर औषधि ठिक नभई थप समस्या देखिएपछि उपचारका लागि सुर्खेतको मेहलकुना अस्पताल लैजाँदै गर्दा बाटैमा विकको मृत्यु भएको मृतक महिलाको काका ससुरा तुलसी विकले बताए । पहिला सामान्य जस्तो लागेकाले मेडिकलको औषधिको भर पर्दा समयमै अस्पताल पुर्‍याउन नसकेको उनले जानकारी दिए ।

झाडापखाला कसरी लाग्यो भन्नेबारे केही थाहा नभएको उनले उनले जानकारी गराए । ‘रैकरदेखि मेहलकुनाको अस्पताल जम्मा २०/२५ मिनेटको दूरीमा मात्र थियो । झाडापखाला लागेपछि औषधि सेवन गर्दा ठिक होला भन्ने लाग्यो‚’ उनले भने‚ ‘समस्या झनै बढ्यो । अस्पताल पनि समयमै लगिएको थियो तर बुहारीलाई बचाउन सकिएन । अस्पताल पुग्नेबित्तिकै डाक्टरले मृत घोषण गरिदिए ।’

मृतकका श्रीमान् राजकुमार विक अहिले वैदेशिक रोजगारीका लागि खाडीमुलुक दुबई गएका र घरमा बच्चालगायत अन्य कसैलाई पनि पखालाको समस्या भने नदेखिएको उनको भनाइ छ ।

चिसोका कारण महिलालाई झाडापखालाको समस्या देखिएको र औषधिको मात्र भर पर्दा शरीरमा पानी सकिएपछि डिहाइड्रेसनको समस्या देखिएका कारण मृत्यु भएको अस्पताल स्रोतबाट बुझिएको बन्गाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखा तथा स्वास्थ्यकर्मी प्रमुख वासुदेव पोखरेलले बताए ।

प्रकाशित : माघ ११, २०७९ १४:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×