कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक निर्माण सुस्त 

अर्घाखाँची — सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणको काम सुस्त छ । नेपालको एकमात्र सिकार आरक्षण बाग्लुङको ढोरपाटनमा शिकार खेल्न आउजाउ गर्ने विदेशी पर्यटकलाई सहजतासँगै पहाडी जिल्लाको ग्रामीण भेगलाई तराइसँग पहुँच पुर्‍याउने उद्देश्यले निर्माण भइरहेको सडक १३ वर्षदेखि निर्माणाधीन छ । अहिलेसम्म बल्ल २५ प्रतिशतमात्रै काम भएको छ ।

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक निर्माण सुस्त 

२०६६ सालबाट सुरु भएको सडक योजनामा १ सय ९७ किलोमिटर सडकमध्ये अहिलेसम्म १८ किलोमिटर मात्रै कालोपत्रे भएको छ । अर्घाखाँची सदरमुकामको चुत्रावेशी बजार क्षेत्रमा विवाद भएपछि ट्रयाक नै खुल्न सकेको छैन । सडकमा अहिलेसम्म २ अर्ब ७० करोड रुपैयाँ लगानी भैसकेको छ ।

१ सय ९७ किमीमध्ये सालझण्डीको कञ्चनखोला ५ किमी र अर्घाखाँचीमा १४ किमी सडक पिच भएको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाले जनाएको छ । चुत्रावेशीको बजार क्षेत्रको करिब एक किलोमिटर बाहेक अरु सबैतिर ट्रयाक खुलेको छ । एकैदिन तराई, पहाड र हिमाल जोड्ने सडक रुपन्देहीको सालझण्डी क्षेत्रमा ५ किमी, पाल्पाको छहरा–खुर्साने–ढुंग्रीखोला, अर्घाखाँचीको पाणिनि र मालारानी गाउँपालिका र सन्धिखर्क नगरपालिका क्षेत्र, गुल्मीको मदाने र मालिका गाउँपालिका, बाग्लुङको बडिगाड र निसीखोला गाउँपालिका सहित ढोरपाटनसम्म ग्रामीण बस्तीलाई समेटछ ।

ढोरपाटन देखि सालझण्डीसम्म यात्रा गर्दा तराई, पहाड र हिमालको विविधता देखाउँछ । जहाँ अधिकांश ग्रामीण बस्तीसँग साक्षत्कार हुन्छ । सुन्दर पहाडका बस्ती, मनोरम दृश्य, तराइको भूगोल र हिमालका दृश्यवालोकनले मोहित बनाउँछ । समुन्द्री सतहदेखि ४ सय २९ सय ५० मिटर उचाई छ ।

पटैटी, मैदानका स्थानीयलाई बुटवल आउजाउ गर्न पाल्पा तानसेनको बाटो हिड्नेपर्दा भाडा महंगो, बाटो अप्ठयारो र समय धेरै लाग्थ्यो । ढोरपाटन भएपछि गाउँमा उत्पादन भएको तरकारी आफैँ बुटवल, सालझण्डी बजार लगेर बिक्री गरेर आवश्यक सामान पनि ल्याएर बेलुका आइपुगिने मैदान गाउँका स्थानीय टोपलाल गैरेले बताए ।

‘प्रचार गरिएजस्तो गरी त बाटो बनेको छैन, ग्राभेल गरेको पनि भत्केको छ,’ उनले भने, ‘भविष्यमा बाटो सबै पिच होला भन्ने आशा छ । अहिले कच्चीबाटो पटैटी–सालझण्डी आउजाउ हुन्छ, गाउँमा कृषि उत्पादन बढ्कोे छ ।’

तराइसँग नजिक भएकाले गर्मी छल्न पहाड आउने पर्यटनले डाँडाकाँडा भरिभराउन हुने र यहाँ रिसोर्ट खुल्नेछन् । कृषि उत्पादन, दूध, खसीबोका उत्पादनमा वृद्धि हुँदा बसाइसराई रोकिने र युवा गाउँमै स्वरोजगार हुने आशा पलाएको गैरेले बताए । ‘मैदान र पटैटीवासीलाई यातायातको पहुँचले धेरै लाभ भएको छ,’ उनले भने, ‘उर्वभरभूमि भएकाले अहिल्यै देखि कृषि उत्पादनतिर युवा लागेका छन् । राम्रो जग्गा रिसोर्ट खोल्न र कृषि गर्न किनबेच भैसकेको छ, यो सडक पुरा भएर नियमित गाडी चल्दा यस क्षेत्र आर्थिक रुपमा कायपलट बन्न भन्ने आशा गरेका छौं ।’

अर्घाखाँचीको पटैटीमा घना बस्ती छ । यहाँबाट करिब १० किमी पूर्वमा संस्कृत व्याकरणको उद्गम थालो पाणिनि तपोभूमी रहेको छ । पटैटी डाँडोबाट ओरालो लागेपछि मैदान र पालीको बीच तलपट्टी पाणिनि गाउँपालिकाको केन्द्र दुर्गाफाँट रहेको छ । पाणिनिका स्थानीय यहीबाटो हुँदै सालझण्डीबाट बुटवल र तराई आउजाउ गर्छन् । बस, जिप, ट्रक दैनिक चल्छन् ।

बलेवाङ हुँदै सदरमुकाम सन्धिखर्क व्यवस्थित बजार छ । यहाँबाट उकालो उक्लेपछि बाँगी हुँदै पोखरा–सुर्खेत सडकको हंसपुर रतनमारे पुगिन्छ । रतनमारे, लोहोरी लेकबाट हिमश्रंखला, डाँपाकाँडा, पाखोमा बस्ती देखिन्छ । त्यहाँ यात्रा गर्ने जो कोहीले पनि गाडी रोकेर हिमाल सहितको मनोरम दृश्यको तस्बिर खिचेर केहीबेर भुल्ने गर्छन् ।

अर्घाखाँची, प्युठान र गुल्मीको सीमाना सौतमारे हुँदै पुर्कोटदह पुगेपछि बाग्लुङ देख्न सकिन्छ । सिर्सेनी, बाँझकटेरीबाट व्यवस्थित गाउँमा बस्तीमा रमाउन सकिन्छ । बाग्लुङको निसीखोला, बडिगाडबाट जंगल क्षेत्र उकालो लागेपछि ढोरपाटन पुगिन्छ । जहाँ चारैतिर जंगल सहितको बीचमा ठूलो उपत्यका देख्न सकिन्छ । अत्यधिक चिसो ठाउँ ढोरपाटनमा उत्तरगंगा नदी छ । ढोरपाटन सिकार आरक्षण कार्यालय पुगेर विदेशी पर्यटक घुम्न अनुमति पाउँछन् ।

‘स्वदेश तथा विदेशबाट लुम्बिनी आउने पर्यटकलाई ढोरपाटनसम्म पुर्‍याएर पर्यटक प्रवद्धन गर्ने सडक हो,’ सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना प्रमुख अञ्जु परियारले भनिन्, ‘पर्यटन वृद्धिसँगै आर्थिक गतिविधि फस्टाउने, सर्वसाधारणको तराई र पहाडसँग पहुँच पुग्नेछ । कृषि उत्पादन वृद्धि हुनेछ ।’

यो आर्थिक वर्ष सडक निर्माणको लागि ४० करोड रुपैयाँ बजेट छ । जसबाट कञ्चनखोला–खुर्साने १३ किमी, खुर्सार्ने देखि अर्घाखाँचीको मैदानसम्म २२ किमी सडक निर्माण गर्ने उनले बताइन् । पुर्कोटदह–बाँझकटेरी–बुर्तीवाङसम्म ठेक्का हुँदैछ । यसवर्ष बजेट थोरै भएको उनले बताइन्।

प्रकाशित : जेष्ठ १२, २०८१ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?