२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

लुम्बिनीका जिल्लामा एमाले अधिवेशनको चहलपहल

धेरै जिल्लामा पुरानै दोहोरिँदै
घनश्याम गौतम

बुटवल — एमालेको पार्टी संरचनामा प्रभावशाली नेताहरू धेरै भएको लुम्बिनी प्रदेशका जिल्लाहरूमा अहिले अधिवेशनको क्रम चलिरहेको छ । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये ४ जिल्लाको अधिवेशन भईसकेको छ । कपिलबस्तुमा बुधबार जारी छ । अन्य ७ जिल्लामा अधिवेशनको तयारी भईरहेको छ । 

लुम्बिनीका जिल्लामा एमाले अधिवेशनको चहलपहल

नेकपा एमालेको केन्द्रीय समितिले जेठ १५ गते भित्र नै प्रदेशका जिल्ला अधिवेशनहरु गरिसक्न निर्देशन दिएको थियो । तर, लुम्बिनीमा जेठ मसान्तसम्म सम्पन्न गर्नेगरी तालिका बनाएर त्यहीअनुसार अधिवेशनहरु भईरहेको प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले बताए ।

लुम्बिनीमा केन्द्रीय सचिव पद्मा अर्याल प्रदेश इन्चार्ज छन् । यही प्रदेशबाट केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव अर्याल, गोकर्ण बिष्ट, छविलाल विश्वकर्मा लगायतका नेताहरु प्रतिनिधित्व गर्छन् । जारी अधिवेशनहरुमा सबै केन्द्रीय नेता एवं पदाधिकारीहरुले आफु पक्षीय अध्यक्ष निर्वाचन गराउन आन्तरिक रुपमा भिडिरहेका छन् ।

केन्द्रीय तालिकाअनुसार बुधबारसम्ममा रुकुम पूर्व, रोल्पा, बर्दिया र पश्चिम नवलपरासीको अधिवेशन सम्पन्न भएको छ । रोल्पामा अमृत बुढा, रुकुम पूर्वमा लीलामणि गौतम, बर्दियामा शालिकराम अधिकारी र पश्चिम नवलपरासीमा दीपेन्द्र अधिकारी निर्वाचित भईसकेका छन् । अधिवेशन सकिएका र जारी रहेका अधिकांश जिल्लामा उद्घाटनका लागि अध्यक्ष केपी ओली आफैं पुगेका छन् । बुधबार पनि कपिलबस्तुका अधिवेशन पनि ओलीले नै उद्घाटन गरेका छन् ।

एमाले लुम्बिनी प्रदेश कार्यालयका सचिव कृष्ण खनालकाअनुसार बाँकी ७ जिल्ला मध्ये बाँकेमा जेठ २ र ३ गते, दाङमा जेठ ६ र ७ गते, पाल्पामा जेठ ११ र १२ गते, रूपन्देहीमा जेठ १६ र १७ गते, गुल्मीमा जेठ २९ र ३० गते अधिवेशन हुने कार्यसूची छ । अर्घाखाँची र प्यूठानको मिति तय हुन बाँकी छ ।

एमाले नेताहरुका अनुसार अधिवेशन सम्पन्न भएका अधिकांश जिल्लामा पुरानै नेतृत्व दोहोरिएका छन् । अधिवेशन सकिएका चार जिल्ला मध्ये रुकुमपूर्व र नवलपरासी पश्चिममा सर्वसम्मत नेतृत्व चयन भएको छ । २ जिल्लामा निर्वाचनबाटै अध्यक्ष, पदाधिकारी र सदस्यहरु चयन भएका छन् । एमाले लुम्बिनी प्रदेश कमिटीका एक नेताका अनुसार अधिकांश जिल्लामा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको प्यानल नै बनाएर नेतृत्व चयनका लागि निर्वाचन भईरहेका छन् ।

अधिवेशन हुन बाँकी रहेका जिल्लामध्ये दाङमा हालका अध्यक्ष हुकुम बस्नेत, उपाध्यक्ष मनोहर बुढाथोकी र सचिव राममणि पाण्डे आकांक्षी छन् । कपिलबस्तुमा बहालवाला अध्यक्ष डम्बर शर्मा दोहोरिने दाउमा छन् । उपाध्यक्ष विश्राम चौधरी र अर्का नेता बाबुराम खनालले पनि अध्यक्षमा दाबी गरिरहेका छन् । पाल्पामा पनि धनेन्द्रराज घिमिरे दोहोरिने प्रयासमा छन् । उनले सर्वसम्मत हुने प्रयास गरिरहेका छन् । तर सचिव रामजी पोखरेल र पूर्व सचिव ओमबहादुर घर्ती पनि आकांक्षी छन् । पाल्पा प्रदेश अध्यक्ष कँडेलको जिल्ला हो ।

प्युठानमा अहिलेका अध्यक्ष विजयविराट विष्ट, अर्घाखाँचीमा पनि वर्तमान अध्यक्ष पिताम्बर भुसाल दोहोरिने प्रयासमा छन् । गुल्मीमा पनि वर्तमान अध्यक्ष बालसिंह काउछा सर्वसम्मत हुने प्रयासमा छन् । काउछासँगै प्रदेश सदस्य एवं जिल्लाका युवा नेता हिरा एसी आकांक्षी छन् । एसीले आफू अध्यक्ष बन्ने गरी प्रचारप्रसार गरिरहेको एक नेताले बताए । बाँकेमा ४ जना आकांक्षी देखिएका छन् । अहिलेका अध्यक्ष किस्मत कक्षपतिसहित निरक गुरुङ, प्रदेश सदस्य घननाथ खनाल र केन्द्रीय लेखा आयोग सदस्य विजया धिताल मुख्य आकांक्षी छन् ।

केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलको गृहजिल्ला, महासचिव पोखरेलको विशेष चासो रहने जिल्ला रूपन्देहीमा पनि वर्तमान अध्यक्ष तेजेन्द्र केसी दोहोरिने तयारीमा छन् । केसीसँगै वर्तमान सचिव यज्ञ गैरे र उपसचिव चित्रबहादुर केसीले पनि अध्यक्षमा दाबी गरिरहेका छन् । सचिव र उपसचिव दुवै अध्यक्षका बलियो दाबेदारी गरिरहेका उम्मेदवार हुन् । केसी सैनामैना नगरपालिकाका पूर्वप्रमुख पनि हुन् । तर, तिनै जना कुन नेताको तर्फबाट उम्मेदवारमा अघि बढ्छन भन्ने अझै खुलेको छैन । तीनमध्ये एक जना पोखरेल समूहबाट उठ्न सक्ने एमाले बृतमा चर्चा छ । एमाले पोलिटब्यूरो सदस्य बैजनाथ चौधरीले अधिकांश जिल्लामा वर्तमान नेतृत्व नै दोहोरिन खोजेको बताए ।

‘एमाले अहिले अर्ली अधिवेशनमा गएको हो, त्यसैले नेतृत्वमा गएका साथीहरुले पुरा काम गर्न पाईएन भन्ने छ,’ उनले भने, ‘त्यसले पनि दोहोरिनेको संख्या बढी देखिएको हो ।’ नेतृत्वमा पुग्ने चाहना र क्षमता राख्नेहरुको संख्या पनि बढिरहेकाले निर्वाचनबाटै नेतृत्व छान्नु पर्ने अवस्था आएको उनले बताए ।

प्रकाशित : वैशाख २६, २०८१ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?