कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

२५ सय हेक्टर वन क्षेत्रमा डढेलो, नियन्त्रणको प्रयास असफल 

नवीन पौडेल

नवलपुर — पुर्वी नवलपरासीको  २ हजार ६ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । जसको कारण वन क्षेत्र वरपरका बस्ती आगलागीको उच्च जोखिममा छन् भने यस क्षेत्रको वातावरण नै धुवाँले ढाकेर धुम्म बनेको छ । आँखा पोलेर चस्माविना हिँडडुल गर्न नसकिने अवस्था बनेको छ । 

२५ सय हेक्टर वन क्षेत्रमा डढेलो, नियन्त्रणको प्रयास असफल 

केही दिन अगाडि जिल्लाको मध्यविन्दु नगरपालिका-१४ मा वन क्षेत्रमा सुख्खा वन क्षेत्रमा लागेको डढेलो बस्तीसम्म पुग्दा १२ वटा घरगोठ जलेर नष्ट भए । दिउँसोको समयमा डढेलो गाउँमा पसेकाले गाउँले मिलेर नियन्त्रणमा लिए । डढेलो राती गाउँमा पसेको भए गाउँ नै सखाप हुने भन्दै स्थानीय पिरोलिएका थिए ।

आगो निभाउने क्रममा ज्ञानज्योति विद्यालयका शिक्षक गंगा प्रसाद घिमिरे सामान्य घाइते भए । वन क्षेत्रमा बहुमुल्य जडीबुटी र जंगली जनावर मरेका छन् । ‘वन क्षेत्र जताततै आगो लागेको छ । राजमार्ग आसपासको क्षेत्र भन्दा पहाडी भेगमा डढेलो लगाउनेक्रम बढ्यो । भिरमा आगो निभाउन जान सकिदैन । टुलुटुलु हेरेर बस्नुको विकल्प छैन,' विनय त्रिवेणीकी सावित्री देवकोटाले भनिन्, ‘आगो लगाउने ब्यक्तिको पहिचान गरेर कारबाही नगरेसम्म वन क्षेत्रमा आगो लगाउनेक्रम नरोकिने भयो । आगोले गर्दा आँखा पोल्ने र श्वास प्रश्वासमा पनि समस्या हुने गरेको छ ।’

जिल्लाको ८० प्रतिशत भन्दा बढी वन क्षेत्र सामुदायिक वन क्षेत्रमा पर्दछ । स्थानीय उपभोक्ता आफैँले संरक्षण गर्ने वनमा समेत लुकिछिपी गलत प्रवृत्तिका मानिसले आगो लगाउँदा जोखिम बढेको डिभिजन वन कार्यालय कावासोतीका अधिकृत शिशिर लम्सालले बताए । ‘मुलुकका अन्य जिल्लामा जस्तै नवलपुरमा पनि डढेलोको जोखिम उच्च छ । गलत प्रवृत्ति भएका मानिसले जंगल क्षेत्रमा आगो लगाउँदा सयौँ बोटविरुवा मर्ने , वन्यजन्तु र मानवीय क्षति हुने र वातावरणमा समेत नकारात्मक प्रभाव परेको छ,' उनले भने ।

मौलाकाली सामुदायिक वन गैंडाकोटमा तीन दिनसम्म डढेलो नियन्त्रणमा आउन नसक्दा वरपरको बातावरण नै धुवाँले प्रदुषित बनेको वनका अध्यक्ष हरिप्रसाद सापकोटाले बताए । 'वन भित्र दमकल जान सक्दैन । हरिया पातले मात्र आगो निभाउन खोजेर आगो नियन्त्रणमा आउदैन । तराईको चर्को घाम र हावाले गर्दा डढेलो थप फैलिएको छ,' उनले भने, 'वन डढेलो नियन्त्रणको लागि जिल्लाको २ सय ९ वटा सामुदायिक वन मध्ये ८० वटामा डढेलो लागेको छ । डढेलो नियन्त्रणको लागि जिल्लाभरि विभिन्न कार्यक्रम संचालन भइरहेको छ ।'

प्रकाशित : वैशाख १७, २०८१ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?