कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार लाभान्वित 

शिविरमा छनौट गरिएका २ सय ६० जनालाई काठमाडौंमा निःशुल्क उपचार गर्ने
काशीराम डाँगी

रोल्पा — सदरमुकाम लिबाङस्थित रोल्पा अस्पतालमा दुई दिनसम्म संचालित विशेषज्ञ स्वास्थ्य शिविरबाट करिब २ हजारले सेवा पाएका छन् । रोल्पास्थित सुशील कोइराला स्मृति प्रतिष्ठानको आयोजना, रोल्पा अस्पतालको सहआयोजना र काठमाडौंस्थित काठमाडौं मेडिकल कजेलको प्राविधिक सहयोगमा फागुन २० र २१ मा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो ।  

निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार लाभान्वित 

रोल्पा अस्पतालका अनुसार शिविरमा आएका विरामीमध्ये २ सय ६० जनालाई काठमाडौं मेडिकल कलेजमै निःशुल्क उपचार गरिनेछ । उनीहरुलाई आउँदो चैतमा पठाउन कलेजले आग्रह गरेको छ । शिविरमा विभिन्न जटिल रोगबाट पीडित र यहाँ उपचार हुन नसक्नेलाई काठमाडौंमै बोलाएर पूर्णरुपमा अप्रेसन एवं उपचार गर्ने काठमाडौं मेडिकल कजेलका प्रबन्धक नारायणप्रसाद दाहालले बताए । विरामीलाई आउने जाने भाडा र खाने खर्चबाहेक अस्पतालमा अप्रेसन निःशुल्क हुने दाहालले बताए ।

शिविरमा हाड जोर्ने तथा नसा, छाला तथा यौन, स्त्री तथा प्रसूति, नाक, कान, घाँटी, शल्यक्रिया (सर्जरी), मानसिक तथा मानसिक रोग, दन्त रोग, आँखा, मुटु, बाल रोगको जाँच गर्नुका साथै इसिजी, भिडियो एक्सरे, प्रयोगशाला सुविधा र फिजिसियन सेवा प्रदान गरिएको थियो ।

कलेजका प्रबन्धक दाहालसहित करिब आधा दर्जन विशेषज्ञ चिकित्सक टोलीको सहभागितामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको रोल्पा अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ड डा लोकरत्ना ज्ञवालीले बताइन् । दुर्गममा रहेका विरामीको उपचारमा काठमाडौं मेडिकल कलेजले रोल्पालीलाई सेवा पुर्‍याएको सुशील कोइराला स्मृति प्रतिष्ठानका संरक्षक एवं पूर्व मन्त्री अमरसिंह पुनमगरले बताए ।

शिविरमा सबैभन्दा बढी हाड तथा नशा रोगबाट पीडितहरुले सेवा पाएका थिए । दुई दिनमा चलेको शिविरमा करिब ६ सय जनाले हाडको समस्या, अप्रेसन गर्नुपर्ने अवस्था र नसा च्यापिएको लगायतका समस्या जाँच गराएका थिए । रोल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले विशेषज्ञ शिविर संचालन गरिएकाले जिल्लाबासीले सेवा पाएको बताए ।

अस्पतालमा हाल विशेषज्ञ चिकित्सक नभएकाले विभिन्न क्षेत्रका विरामीले उपचार पाउन सकेका छ्रैनन् । काठमाडौं मेडिकल कजेलको उक्त विशेषज्ञ चिकित्सकको टोलीले पाल्पा, गुल्मी, अर्घाखाँची हुदै रोल्पामा निःशुल्क शिविर संचालन गर्दै आइपुगेको थियो । कलेजले हरेक वर्षमा दुर्गममा स्वास्थ्य शिविर आयोजना गर्ने क्रममा रोल्पामा यो पटक संचालन गर्न अनुरोध गरिएको सुशील कोइराला स्मृति प्रतिष्ठान रोल्पाका अध्यक्ष अनुपम जीसीले बताए ।

प्रकाशित : फाल्गुन २३, २०८० १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?